+
+

किसान र अर्थ मन्त्रालयलाई छलेर दूध आयात गर्न कृषि मन्त्रालयले दियो अनुमति

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ असोज ७ गते २०:१७

७ असोज, काठमाडौं । कृषिमन्त्री मृगेन्द्रकुमारसिंह यादवले दूध उत्पादक किसान र अर्थ मन्त्रालयलाई छलेर तयारी दूध आयात खुला गरेका छन् ।

किसान र अर्थको असहमति हुँदाहुँदै उनले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर एक महिनाका लागि भारतबाट दूध आयात खोलेका हुन् ।

निर्णयलगत्तै सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले खरिद प्रक्रिया थालेको छ । २ असोजको निर्णयअनुसार संस्थानले दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए ।

‘अर्थको सहमतिमै कृषि मन्त्रीस्तरीय निर्णय भएको हो,’ उनले भने, ‘धुलो दूध आयात गर्ने निर्णय छ । संकलनमा समस्या भएर प्रणालीमा दूध अभाव भएकाले आयात अनुमति दिइएको हो ।’

मन्त्रालयले धुलो दूध आयात गर्न निर्णय गरेकोमा डीडीसीले भारतबाट प्रशोधित (पाश्चराइज्ड) दूध आयात गर्ने तयारी थालेको छ ।

बिहारको पटना डेरीबाट पाश्चराइज्ड दूध ल्याउन पहल भइरहेको संस्थानका महाप्रबन्धक सञ्जिवकुमार झाले बताए । ‘धुलो र बटर दूध आयात गर्न पाइँदैन,’ उनले अनलाइनखबरसँग भने, ‘कच्चा पदार्थको रुपमा तयारी दूध नै ल्याउने हो ।’

दुग्ध उत्पादक किसानले भने कृषिमन्त्रीको निर्णय र यसमा डीडीसीको भूमिकालाई शंकास्पद मानेका छन् । अर्थ मन्त्रालयले पनि दुग्ध पदार्थ आयातमा सहमति नदिएको प्रष्ट्याएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले अर्थ मन्त्रालयले दूध आयातका लागि सहमति नदिएको बताए । ‘अर्थ मन्त्रालयमा सहमति माग भएको थियाे तर अहिले दूध आयात गर्ने बेला हाेइन भनेर हामीले सहमति दिएका छैनौं’ उनले भने ।

दूध आयातको प्रतिबन्ध छल्न कृषि मन्त्रालयले गरेको निर्णय र डीडीसीले हतार–हतार थालेको खरिद प्रक्रिया संशयपूर्ण रहेको यस क्षेत्रका सरोकारवालाहरु बताउँछन् । अहिले धुलो दूध र बटर आयात प्रतिबन्धित छ ।

फेरि कृषिमन्त्री यादवले धुलो दूध आयात गर्ने निर्णय गरेकामा डीडीसीले तयारी दूध आयात प्रक्रिया थालेको छ । एक महिनामा ३६ लाख लिटर तयारी दूध भारतबाट भित्र्याउने डीडीसीको तयारी छ ।

किसानलाई ३ महिनादेखि उधारो

चितवनको नन्दिनी दुग्ध उत्पादक सहकारीले दुई वर्ष अघिसम्म सरकारी स्वमित्वको डीडीसीलाई दूध बिक्री गर्थ्यो । तर, समयमै भुक्तानी नपाएर चोकर समेत किन्न नसक्ने भएपछि सहकारीले डीडीसीलाई दूध बेच्न छाड्यो । दैनिक ६०० किसानबाट संकलन हुने दूध निजी डेरीलाई बेच्न थालेको सहकारीका व्यवस्थापक लिलाबहादुर थपलियाले बताए ।

पशु आहारको मूल्यसँगै लागत बढिरहेका बेला उत्पादन टिकाइ राख्नको साटो सरकारले दूध आयात गरेर किसानलाई व्यवसायबाट पलायन गराउन खोजेको उनले बताए ।

‘अहिले दूध आयात गर्नु भनेको हामीलाई दूध उत्पादन नगर भनेको हो,’ थपलियाले भने, ‘हामी सडकमा दूध फ्याक्ने अनि सरकार भारतबाट दूध किन्ने अवस्था हुन दिन्नौं ।’

चितवनका दूध किसान ।

७०० किसान आवद्ध भरतपुरको गंगानगर दूग्ध उत्पादक सहकारीमा दैनिक ६ हजार लिटर दूध संकलन हुन्छ । ती किसानले डीडीसीबाट भुक्तानी नपाएको ३ महिना भयो । सहकारीका व्यवस्थापक रामप्रसाद सापकोटा पशु दानाको मूल्य वृद्धिले हैरान पारेको बेला एकतिर उधारो राख्ने र अर्कोतिर दूध आयात गर्न दिने निर्णयको डटेर बिरोध हुनपर्ने बताउँछन् ।

‘दूध उत्पादन घट्ने यो सिजनमा उत्पादन बढाउन र बजार आउन नपाइरहेको दूध ल्याउन पहल गर्नुपर्नेमा किन आयात खोलिदैछ ?,’ उनी भन्छन् ‘भारतीय दुधमा कमिसन कुम्ल्याउन हामीलाई पेशाबाट विस्थापित गर्न लागिएको प्रष्टै छ ।’

पशु आहारमा भएको मूल्यवृद्धिको मारमा परेका नेपाली दूध उत्पादक किसानलाई सहुलियत दिएर टिकाउन पर्नेमा आयाततिर लाग्नु गलत हुने सापकोटाले बताए ।

दूध आयात हुन दिन्नौं

दूध उत्पादक सहकारीहरुको छाता संगठन केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले दूध आयात गर्ने निर्णय तत्काल फिर्ता लिन र किसानको अवस्थाबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ । सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले बताए ।

‘नेपाली किसानले बिक्री गरेको दूधको भुक्तानी दिने र उत्पादित सबै दूधलाई प्रणालीमा ल्याउन पहल गर्नुको साटो आयात गर्ने निर्णय हुनु खेदजनक छ,’ उनले भने, ‘आयात अनुमति दिने निर्णय तत्काल फिर्ता नभए सशक्त प्रतिवाद गरिने छ ।’

संघको अध्यययनअनुसार पहाडी जिल्लाका किसानले उत्पादन गरेको ४० प्रतिशत दूध अझै प्रणालीमा आउन सकेको छैन । यस्तो बेला विदेशी दूधको आयात थालिए कोभिड १९ र त्यसपछिको आर्थिक संकटकाकारण अप्ठ्यारोमा परेका किसान झनै मारमा पर्ने संघको भनाइ छ ।

कृषि मन्त्रालयकाअनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ । यसमध्ये ३१ लाख लिटर हाराहारी दूध औपचारिक बजार प्रणालीमा आएको छैन ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?