+

आवश्यक छ कोलेस्टेरोल पनि

२०७९ असोज  ९ गते १६:२० २०७९ असोज ९ गते १६:२०
आवश्यक छ कोलेस्टेरोल पनि

काठमाडौं । ‘कोलेस्टेरोल बढ्यो ।’ यस्तो सुन्नासाथ हाम्रो मन बेचैन हुन पुग्छ । जब कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ, मुटुको जोखिम बढ्दै जान्छ । हाम्रो साझा धारणा यस्तै छ ।

जबकि कोलेस्टेरोल शरीरको लागि अति जरुरी हुन्छ । तर कस्तो कोलेस्टेरोल ?

मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल भन्छन्, ‘बुझ्ने भाषामा भन्नुपर्दा कोलेस्टेरोल भनेको हाम्रो शरीरमा हुने चिल्लो पदार्थको तह हो ।’ उनका अनुसार रगतको नलीहरूमा राम्ररी रक्तप्रवाह गर्न र शरीरको कोषको बनोटमा कोलेस्टेरोलको भूमिका र आवश्यकता हुन्छ ।

तर रगतमा कोलेस्टेरोलको मात्रा चाहिने भन्दा बढी भयो भने रक्तनली, कलेजो र मुटुमा जम्मा हुन्छ । ‘विशेषगरी रगतको नलीमा यो जम्मा हुन्छ र रगतको नली साँघुरिएर रक्त प्रवाह राम्ररी हुँदैन,’ डा. लम्साल भन्छन्, ‘त्यसले गर्दा पक्षघात, हृदयघात र मुटुरोगको जोखिम बढ्न सक्छ ।’

उनका अनुसार कोलेस्टेरोल बढेको पहिचान गर्ने कुनै लक्षण हुँदैन । जाँच गरेपछि मात्र यसबारे जानकारी पाइन्छ ।

दुई प्रकारका कोलेस्टेरोल

कोलेस्टेरोल मुख्यतया दुई किसिमका हुन्छन् । शरीरमा राम्रो काम गर्ने ‘एचडीएल कोलेस्टेरोल’ र शरीरमा नराम्रो प्रभाव पार्न सक्ने नराम्रो ‘एलडीएल कोलेस्टेरोल’ ।

राम्रो कोलेस्टेरोलले हृदयघात, पक्षघात हुनबाट बचाउँछ भने नराम्रो कोलेस्टेरोलले हृदयघात र पक्षघात गराउने डा. लम्साल बताउँछन् ।

अत्यधिक चिल्लो प्रयोग भएको खानेकुरा, बोसो भएको मासु, प्रशोधित तेल, बढी गुलियो प्रयोग भएको पेय पदार्थ, अण्डाको पहेंलो भाग, कार्बोहाइड्रेट बढी भएको खानेकुरा र लामो समयदेखि प्याक गरिएको खानेकुरा, जंकफुड र धुम्रपान मद्यपानको सेवनले शरीरमा खराब कोलेस्टेरोलकोे मात्रा बढाउने लम्साल बताउँछन् ।

गुड कोलेस्टेरोलको कुरा

गुड कोलेस्टेरोल, जसले रक्तनलीमा बोसो जम्नबाट बचाउँछ । बढी भएको नराम्रो कोलेस्टेरोललाई कलेजो मार्फत निष्क्रिय बनाइदिन्छ ।

शरीरको कोषहरूको बनोटको लागि गुड कोलेस्टेरोल जरुरी हुन्छ । डा. लम्साल भन्छन् ‘गुड कोलेस्टेरोलले नराम्रो कोलेस्टोललाई निष्क्रिय पारेर खराब कोलेस्टेरोलका कारण शरीरमा देखापर्ने मधुमेह, मुटुरोग, उच्च रक्तचाप जस्ता समस्याबाट बचाउँछ ।’

कति हुनुपर्छ कोलेस्टेरोल ?

कोलेस्टेरोल नाप्ने विभिन्न इकाई हुन्छन् । मिलिग्राम र मिलिमोलमा कोलेस्टेरोल नापिन्छ । सामान्यतया शरीरमा ४० मिलिग्रामभन्दा बढी गुड कोलेस्टेरोल हुनुपर्छ । तर अहिले  विभिन्न अनुसन्धान हेर्दा धेरै मानिसमा गुड कोलेस्टेरोल भन्दा नराम्रो कोलेस्टेरोलको मात्रा बढी पाइएको डा. लम्साल बताउँछन् ।

‘शरीरमा गुड कोलेस्टेरोलको मात्रा बढाउन बदाम, ओखरजस्ता ड्राइ फ्रुट, माछा, माछाको तेल, ओलिभ आयल आदिको सेवन गर्नुपर्छ,’ उनी भन्छन् ।

कोलेस्टेरोल स्वास्थ्य
डा. कमल शर्मा लम्साल
लेखक
डा. कमल शर्मा लम्साल
वरिष्ठ मुटुरोग विशेषज्ञ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल हाल काठमाडौं चावहिलस्थित ओम अस्पतालर र नयाँ बानेश्वरस्थित एभरेष्टअस्पतालमा कार्यरत छन् । उनले इन्टरनल मेडिसिनमा एमडी र कार्डियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३३३८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय