+
+

‘चाडबाडमा विलासिताका वस्तु प्रयोगले आर्थिक परनिर्भरता बढ्दैछ’

उपभोक्ताबाट बजारमा आएको पैसा आयातको माध्यमबाट विदेश पलायन भएको छ । विलासी वस्तुको खपतसँगै मुलुकबाट पूँजी पलायन भइरहेको छ । उपभोग्य संस्कृतिमा आएको परिवर्तनले नेपालको परनिर्भरता बढेको छ ।

दीपेश घिमिरे, समाजशास्त्री दीपेश घिमिरे, समाजशास्त्री
२०७९ असोज १४ गते ११:०७

दुई वर्ष कोभिडको कारणले चाडपर्वमा उत्साहित हुन नसकेका नेपाली यसपटक सामान्य रूपमा मनाउन पाइनेमा आशावादी छन् । दशैं नजिकिंदै गर्दा बढेको डेंगु प्रकोप तथा अत्यधिक मूल्यवृद्धिले यस वर्ष पनि दशैं सामान्य हुने देखिंदैन ।

उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिसँगै नागरिकको क्रयशक्तिमा आएको ह्रासले गर्दा यसपटक सर्वसाधारणले दशैं–तिहारलगायतका पर्वमा मन खोलेर खर्च गर्न सक्ने अवस्था छैन । कोभिडका कारणले चाडपर्व मनाउन गाउँ फर्किन रोकिएको सर्वसाधारण यसपटक भने गाउँ पुग्ने तरखरमा छन् । सर्वसाधारणलाई दशैंको रौनकले छोपिसकेको छ । महँगीले विगतको जस्तो आर्थिक गतिविधि नदेखिए पनि सर्वसाधारणमा किनमेलको रौनक बढेको देखिन्छ ।

दशैं खर्चिलो पर्व पनि हो । विगतदेखि नै चाडपर्व भनेको अर्थतन्त्र चलायमान हुने समय हो । यसको प्रमुख कारण औपचारिक क्षेत्रमा आवद्ध कर्मचारीहरूको हातमा दशंंै भत्ता स्वरूप मासिक रूपमा दोब्बर रकम हातमा आउँछ । दोब्बर आम्दानी हुँदा उनीहरूले गर्ने खर्च पनि बढ्छ । यसले गर्दा विगतदेखि नै दशैंको समयमा आर्थिक गतिविधि बढ्नु स्वाभाविक हो ।

चाडबाड अर्थात् अर्थतन्त्रको मेरुदण्ड

विगत र अहिलेको दशैंमा अर्थतन्त्रको आधारभूत विषयवस्तु भने परिवर्तन भएको छ । हुनेखानेले त चाडपर्व उल्लासपूर्ण रूपमा मनाउने नै भए । तर, विपन्न परिवारले चाडपर्वकै लागि भनेर ऋण लिनुपर्ने बाध्यता बनेको छ । उक्त परिवार एक वर्षभरि त्यही ऋण तिर्दै ठिक्क हुने अवस्था आउँछ । त्यसपछि फेरि अर्को वर्ष दशैं मान्नको लागि ऋण लिनुपर्ने अवस्था लामो समयसम्म थियो । पछिल्लो समय यो अवस्थामा धेरै परिवर्तन भएको छ ।

सहकारी, लघुवित्त संस्थामा मासिक बचत, विभिन्न समूहमा बचत गर्ने संस्कार बढ्दै गएको छ । जसले गर्दा दशैं मान्नको लागि साहुबाट महँगो ब्याजमा ऋण लिने प्रचलनमा आधारभूत रूपमा फरक आएको छ । अहिले ३६ प्रतिशत ब्याजदरमा होइन, अधिकांशले बचत गरेको पैसा खर्च गर्छन् भने ऋण लिनुपर्ने भए पनि १५/१८ प्रतिशत ब्याजदरमा औपचारिक माध्यमबाट ऋण लिन सकिने अवस्था छ ।

यसले विगतको जस्तो चाडपर्वले ऋण नै बोकाएर जाने अवस्था कम भएको छ । ऋण नै लिनुपर्ने भए पनि विगतको जस्तै उठ्नै नसक्ने गरी ऋणले थिचिने अवस्थामा सुधार भएको छ ।

देखासिकीको लहर

चाडपर्वको बेलामा देखासिकी बढी हुन्छ भनिन्छ । दशैंमा नयाँ लुगा लगाउने कुरा अब देखासिकी रहेन । नयाँ लुगा अब सबैको पहुँचको विषय भइसक्यो । नयाँ लुगा दशैंको बेलामा नै किन्नुपर्छ भन्ने पनि रहेन । पछिल्लो समय बजारमा हेर्दा दशैंको बेलामा व्यापार सामान्यतया वृद्धि हुन्छ । तर, विगतको जस्तो उल्लेख्य रूपमा बढ्ने हुँदैन ।

विशेष गरेर चाडबाडमा कपडाको व्यापार उल्लेख रूपमा बढ्ने गरेको देखिंदैन । कपडाको पहुँच सहज भएको छ, कपडाकै लागि ठूला खर्च गर्नुपर्ने अवस्था नहुँदा पनि यसमा परिवर्तन भएको हो ।

विश्वव्यापीकरण र औद्योगिकीकरणको कारण कपडा लगाउने र खानको लागि चाडपर्वले ऋणको भारी बोकाएर जाने अवस्थामा परिवर्तन आएको छ । अर्थ–सामाजिक अवस्था नै परिवर्तन भएको छ । पैसाको सहज उपलब्धता भएको छ । वस्तुको सहज पहुँच छ । त्यसले गर्दा विगतमा दशैं मनाउँदा जुन किसिमले ऋणको भारी बोक्नुपर्ने हुन्थ्यो, त्यसमा परिवर्तन आएको छ ।

दशैंको आकर्षण नै राम्रो लगाउने र मीठो खाने हो । तर, अब लगाउने र खाने कुरा सामान्य भइसक्यो । हामी बच्चा हुँदा दशैंमा नयाँ लुगाको जुन महत्व थियो । अब हाम्रो बच्चामा नयाँ लुगाको त्यो महत्व छैन । यो सबै नयाँ पुस्ताको बच्चाहरूको प्रवृत्ति हो ।

खानेकुरामा पनि सोही अवस्था छ । खानेकुरामा पनि मेरो बाल्यकाल सम्झँदा सोह्रश्राद्ध सकिने बेलाको चिउरा खाने भनेपछि छुट्टै खुसी छाउँथ्यो । घरमा खसी काटेर मासु खाने कुराले दशैं आएको झल्को हुन्थ्यो । तर, अब त्यो रहेन । फुड ह्याबिट पनि सामान्यकृत भइरहेको छ । खाने र लगाउने कुराले चाडपर्व आयो भन्ने कुरा बच्चाहरूको हकमा पनि ठूलो प्रभाव पर्न छोडिसक्यो ।

यसो भन्दैमा उपभोग्य वस्तुको प्रयोग सामान्यीकृत भएको होइन । उपाभोग्य वस्तुको प्रयोग दशैंमा सहरी क्षेत्रमा मात्रै नभएर गाउँमा पनि भड्किलो हुँदै गएको छ । त्यसले चाडपर्वमा नयाँ विकृति थपिंदै गएको छ । दशैंको बेलामा महँगा गाडी, मोटरसाइकल अथवा अन्य कुनै नयाँ महँगो वस्तु किन्ने भड्किलो परम्परा बस्दै गएको छ । दशैं भनेको विलासी वस्तुमा खर्च गर्ने समय हो भनेजस्तै हुँदै गएको छ । विगतमा चाडपर्वमा कसले राम्रो लाउने र राम्रो खाने भन्ने कुरामा हुने देखासिकी अहिले कसले कस्तो सामान बोक्ने र चढ्ने अनि कहाँ घुम्ने र कति खर्च गर्ने भन्नेमा पुगेको छ ।

सहरमा मात्रै होइन गाउँमा पनि दशैंको बेलामा खानेपिउने प्रवृत्तिमा परिवर्तन भएर भड्किलो बन्दै गएको छ । हामी सर्वत खाएर हुर्केको मान्छे अहिले गाउँ–गाउँमा पनि दशैंमा मासुसँग हल्का पेयपदार्थ नभई हुँदैन । ब्राह्मण गाउँमा समेत दशैंको बेलामा अल्कोहल सामान्य भइसक्यो । आहार–विहारको व्यवहार फरक किसिमले परिवर्तन भएर भड्किलो बन्दै गएको छ । अहिले सामान्य किसिमले चाडपर्व मनाउनेको लागि सहज बन्दै गएको छ । तर, देखासिखी गर्नेको लागि थप कठिन बन्दैछ ।

हाम्रोमा चाडपर्वकै समयमा घुम्न जाने प्रवृत्ति पनि बढ्दो छ । चाडपर्वमा कहाँ घुम्न जाने भन्न कुराले सहरी मध्यमवर्गीयलाई चाडपर्व कति भड्किलो हुँदैछ भन्ने कुरा निर्भर गर्छ । थाइल्याड, इन्डोनेसिया जाने कि, मुस्ताङलगायत आन्तरिक गन्तव्यमा जाने ? विगतमा दशैंंमा घुम्न जाने भन्ने प्रवृत्ति थिएन । पारिवारिक जमघट गर्ने, रमाइलो गर्ने हुन्थ्यो । तर, अहिले स्वदेश तथा विदेश घुम्ने लहर चलेको छ । यसले अर्थतन्त्रलाई प्रत्यक्ष हेर्दा सकारात्मक प्रभाव पार्छ । तर, आर्थिक रूपमा नसक्ने वर्गको मान्छेलाई अनावश्यक आर्थिक भारको महसुस भएको छ ।

विगतमा दशैंमा खसी काट्न कुराले जति आर्थिक भारको महसुस गराउँथ्यो अहिले मध्यम वर्गीयलाई घुम्ने अथवा महँगा वस्तु किन्न कुराले त्यस्तै महसुस गराएको छ । हाम्रो चाडपर्वको उपभोग्य संस्कृति नै परिवर्तन भएको देखिन्छ ।

बढ्दो परनिर्भरता

उपभोग्य संस्कृतिमा भएको परिवर्तनसँगै नेपालको परनिर्भरता थप बढेको छ । विभिन्न इलेक्ट्रोनिक साधन तथा सवारी साधन बिक्रेताले विभिन्न योजना ल्याएर ग्राहक तान्ने प्रतिस्पर्धा गरिरहेका छन् । यो ठीक र बेठीक भन्नेतिर नलागौं । तर, दशैंको बेलामा एउटा लुगा किन्ने कुराले हाम्रो परनिर्भरता बढाएको छ ।

हिजो एउटा खसी किन्दा त्यो पैसा हाम्रै देशभित्र रहन्थ्यो । खसी हुनेले खसी बेचेर अन्य सामानको जोहो गथ्र्यो भने खसी नहुनेले अन्य उत्पादन बेचर खसी किन्थे । जसले गर्दा आर्थिक गतिविधिसँगै ग्रामीण अर्थतन्त्र चलायमान हुन्थ्यो । अहिले पनि सहरमा रहेको युवा गाउँ फर्किंदा केही मात्रामा ग्रामीण अर्थतन्त्र चलायमान भए पनि विगतको जस्तो आन्तरिक रूपमा सीमित रहेन । गाउँ–गाउँमा पनि चाडपर्व मान्नको लागि आयातित मदिरादेखि उपभोग्य वस्तुको प्रयोग सामान्य भइसक्यो ।

अहिले उपभोग्य प्रवृत्तिमा भएको परिवर्तनले उपभोक्ताबाट बजारमा आएको पैसा आयातको माध्यमबाट विदेश पलायन भएको छ । हाम्रोमा चाडपर्वमा विलासी वस्तुको उपभोग गर्ने चलन बढेको छ । दशैंमा औपचारिक क्षेत्रमा आबद्ध भएकाले अन्य महिनाको तुलनामा दोब्बर रकम हात पार्दा बजारमा आएका नयाँ–नयाँ मोबाइल, मोटरसाइकल अथवा त्यस्तै अन्य सामान किन्ने परम्परा बस्दै गएको छ ।

यसले हाम्रो अर्थतन्त्रको परनिर्र्भरता चाडबाडको बेलामा झनै डबल बढायो । डबल पैसा बजारमा आउँछ, त्यही मात्रामा औपचारिक माध्यमबाट वस्तु आयात गर्दा विदेश पलायन भएको छ । विगतमा चाडबाडमा बढ्ने आर्थिक गतिविधि आन्तरिक स्रोत परिचालनको कारणले वृद्धि हुन्थ्यो । अहिले विलासी वस्तुको खपत बढेसँगै मुलुकबाट पूँजी बाहिरिइरहेको छ ।

(समाजशास्त्री घिमिरेसँग अनलाइनखबरकर्मी विजय पराजुलीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?