+
+

मनोविद् भन्छन्, ‘जुवातासको तलतलले डरलाग्दो मनोरोगी बनाउँछ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते ११:१०

दशैंमा मनोरञ्जनको लागि तास खेल्ने चलन छ । कहिल्यै तास नछोएकाहरु पनि यतिबेला खेल्न तम्सन्छन् । सबैजना आफन्त, इष्टमित्र, नातागोता भेटघाट भएको बेला तास खेलेर रमाइलो गर्नु राम्रै कुरा हो ।

तर, नराम्रो कुरा चाहिँ के भने जब यो मनोरञ्जन भन्दा बढी लत बन्छ । कतिपयलाई दशैं यस्तो वाहना बनिदिन्छ कि, उनीहरु खुलमखुला तास खेल्न पाउँछन् । पारिवारिक मनोरञ्जनका लागि नभई हार र जीतको छटपटीले उनीहरुलाई तासको खालसम्म तानेर राख्छ ।

नेपाली समाजमा एउटा भनाई छ नि, ‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको बनवास ।’

सबैलाई थाहै छ, जुवातासको लतले कसैलाई उँभो लगाएको छैन । यसले कतिको धन स्वाह बनाइदिएको छ, कतिलाई ऋण बोकाइदिएको छ र कतिलाई मर्नु न बाँच्नुको अवस्थामा पु¥याइदिएको छ ।

यसर्थ जुवातास स्वास्थ मनोरञ्जनका लागि मात्र हुनुपर्छ । त्योभन्दा अगाडि बढेर यसको तल लाग्यो भने त्यसले कुनै न कुनै दिन समस्याको चौघेरामा फँसाइदिन्छ ।

जुवाको लत : एक मनोरोग

जुवा तास खेलेपछि या त जीत हुन्छ या त हार । जीत भएमा फेरी खेलौं खेलौं लाग्छ । एक प्रकारको उत्साह जाग्छ । यसैगरी हार भएपनि फेरी खेलौं लाग्छ, ताकि पुनः खेलबाट जितेर अघिल्लो घाटापूर्ति गर्न सकियोस् ।

हारे पनि वा जीते पनि खेलौं खेलौं लागिरहन्छ । यस खेलमा रहस्य र रोमाञ्चकता हुन्छ, जसले मान्छेलाई तानिरहन्छ ।

हो, यस अवस्थामा पुगेपछि मान्छेलाई जुवातासको तल लाग्छ । यसलाई चिकित्सकिय भाषामा ‘प्याथोलोजिकल ग्याम्बिलङ’ भनिन्छ । यस्तो अवस्थामा मान्छेले जुवातास खेल्न पाएनन् भने उनीहरु एकदमै छटपटीमा हुनेगर्छ । के गरौं, कसो गरौं भन्ने कुराले उनीहरुलाई बेचैन बनाइरहेको हुन्छ ।

जब जुवातासको लत लाग्छ उनीहरुले आफ्नो भावआवेगलाई नियन्त्रणमा राख्न सक्दैनन् । अन्ततः यो उनीहरुको वाध्यकारी व्यवहारमा विकास हुन्छ । यसलाई पनि एक किसिमको मानसिक डिसअर्डर नै भन्ने गरिएको छ । विश्व स्वास्थ्य संगठन र अमेरिकन साइकियट्रिक एशोसिएसनले समेत यसलाई मानसिक रोग भनी वर्गिकरण गरेको छ ।

यसले पार्ने असर

यसरी लत लागिसकेपछि मान्छेको व्यवहार नै बद्लिन्छ । उनीहरु हरक्षण जुवातासकै बारेमा सोच्न थाल्छन् । अतः खेल्नका लागि अनेक बाहनाको खोजीमा लाग्छन् ।

यसले उनीहरुलाई आफ्नो मूल काम, व्यवसायबाट विमुख गराउँछ । आफ्नो काम, कर्तव्य के हो ? यो भन्दा बढी उनीहरुको ध्यान अन्यत्रै मोडिन्छ । अतः उनीहरु आफ्नो मूख्य काम सही ढंगले गर्न असमर्थ हुन्छन् । यसले उनीहरुलाई व्यवसायिक जीवनमा असफल त बनाउँछ नै व्यक्तिगत एवं पारिवारिक जीवन पनि तहसनहस बनाइदिन्छ ।

अपराध गर्न उक्साउने

हामीले देखेको, सुनेको कुरा हो, जुवातासमा कतिपय मान्छेले घरबार नै दाउमा राख्छन् । श्रीमतीको गहना चोर्नेदेखि आमाबुवाको अमूल्य सामाग्री चोर्नेसम्मको कृत्य गर्न पनि जुवातासले नै उक्साउँछ ।

जुवातासमा जति जति मान्छे डुब्दै जान्छ, स्वभाविक रुपमा उनीहरुलाई पैसाको खाँचो पर्दै जान्छ । यस्तो अवस्थामा मान्छेले श्रम गरेर, मिहेनत गरेर, धैर्य गरेर धन आर्जन गर्ने सोंच राख्दैन । बरु छिटो छरितो ढंगबाट कसरी पैसा आउँछ भन्ने सोच्न थाल्छन् । यसको एउटै उपाय हुन्छ, चोरी–डकैती ।

ढाँट्ने, छल्ने, चोर्ने काम गर्न उक्साउँछ । ऋणमा डुब्दै गएर आफुलाई उकास्नै नसक्ने स्थितीमा पुगेपछि पनि मान्छेले यस्तो उपाय अपनाउन थाल्छन् । अन्ततः नचाहेरै मान्छेहरु अपराधकर्ममा मिसिन पुग्छन् ।

अनलाइन गेमिङको लत

आखिर जुवातास भर्चुअल माध्यामबाट पनि खेल्ने र खेलाउने क्रम बढेको छ । यसले प्रौड वा वयस्क भन्दा पनि किशोरकिशोरी र बालबच्चालाई समेत नराम्ररी फसाउँदैछ ।

अनलाइन गेमिङको लत कतिसम्म डरलाग्दो हुन्छ भने यसले बालबच्चालाई आमाबुवाकै हत्या गर्न उक्साउनेदेखि आफ्नै आत्महत्या गर्नसमेत पछि नपर्ने हुन्छ ।

अब के गर्ने त ?

यसको लतमा परेर छुटकाराको उपाय खोज्दै हिँड्नुभन्दा पहिले नै सतर्क रहनु उचित हो । जानीजानी खाल्डोमा पस्नुभन्दा पहिले नै सजक रहनु राम्रो हो । त्यसैले जुवातासको जोखिमलाई बुझेर यसबाट दूरी बढाउनुपर्छ ।

मनोविद गोपाल ढकालसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?