+

पाठेघरको मर्मस्पर्शी कुरा : जब भ्रुणको हलचल सुरु हुन्छ

२०७९ असोज  २० गते १४:४२ २०७९ असोज २० गते १४:४२
पाठेघरको मर्मस्पर्शी कुरा : जब भ्रुणको हलचल सुरु हुन्छ

महिलाहरुको शरीरमा भएको एउटा अत्यान्तै महत्वपूर्ण अंग, पाठेघर । यो फगत अंग मात्र होइन सृष्टिको मूल स्रोत पनि हो । यही भित्र एउटा सुक्ष्म भ्रुण विकास हुन्छ । अनि त्यसमा प्राण बन्छ । आज दुनियाँमा जे–जति मान्छे छन्, उनीहरुको उद्गम थलो भनेको यही गर्भदानी हो ।

एउटी आमाको शरीरमा समाहित यो गर्भदानीबाट आज विश्वमा कति वैज्ञानिक, कति कवि कलाकार, कति दार्शनिक, कति समाज सुधारक जन्मिए होलान् । तर, त्यही गर्भदानी, जसले धेरैजसो आमालाई रोगको शिकार बनाएको छ । विश्वमा थुप्रै महिला त्यही गर्भदानीको समस्या बोकेर बसिरहेका छन् । कतिपयले ज्यानकै बाजी हारिरहेका छन् ।

कुनैपनि महिलामा पाठेघर कस्तो अवस्थामा हुन्छ ? त्यहाँ कसरी भ्रुणको विकास हुन्छ ? पाठेघर के कस्ता कारणले रोगको घर बन्न पुग्छ ? अनि एउटी आमाको ज्यानै हरण गर्न पुग्छ ?

पाठेघरको विकास

आमाको गर्भमै हुँदा ५ महिना देखी नै महिलाहरूको पाठेघरको विकास भइसकेको हुन्छ । शरीरमा एउटा ‘मुलेरियन डट’ भन्ने अङ्ग हुन्छ । दुई वटा ‘मुलेरियन डट’ मिलेर पाठेघर बन्छ । गर्भमै रहँदा ९ महिनामा यसको पूर्ण विकास भइसकेको हुन्छ भने । उमेर बढेसँगै यसको आकार बढ्दै जान्छ ।

पाठेघरको संरचना

पाठेघर खोक्रो, नाशपाती आकारको मांसपेशीले बनेको अङ्ग हो । यो मूत्राशय र मलद्वार बिचमा अवस्थित हुन्छ । पाठेघरसँग अण्डाशयको भाग पनि जोडिएको हुन्छ ।

अण्डाशय पाठेघरको दुवै छेउमा अवस्थित हुन्छ ।  अण्डाशयले अण्डाहरू उत्पादन गरेर पाठेघरको नली हुँदै पाठेघरमा पुर्याउँछ । त्यो अण्डा शुक्राणु द्वारा उत्पन्न हुन र निषेचन हुनको लागि तयार हुन्छन् ।

पाठेघरको सक्रियता

२१ वर्षको उमेरमा पाठेघर सक्रिय हुन्छ र उ गर्भवती हुनको लागि तयार पनि हुन्छ । २१ वर्ष देखी २८ वर्षको उमेर सम्ममा पाठेघर सक्रिय हुन्छ ।

वीर्य र डिम्बको मिलन

महिनावारी भएको ९ दिन देखी १९ दिन सम्ममा महिलाको अण्डा पाठेघरको नलीमा आएको हुन्छ । त्यो बेला यौन सम्पर्क भयो भने पाठेघरको मुखबाट वीर्य पाठेघरको नलिमा प्रवेश गर्छ र यी दुईको मिलन हुन्छ । मिलन भएको २४ देखी २८ घण्टापछि नलीबाट पाठेघरको भित्रको मासुमा गएर टाँसिन्छ र भ्रूणको विकास हुन्छ ।

भ्रुणको रुपान्तरण

निषेचन भएको २६ -२८ घण्टा पछि, जाइगोट विभाजित हुन थाल्छ र नयाँ बहुकोशिकीय भ्रूण बनाउँछ । निषेचन भएको दुई दिनपछि भ्रुणमा ४ कोषहरू हुन्छन्, ३ दिनमा ८ कोषहरू हुन्छन्, ४ दिनमा १०–२० कोषहरू हुन्छन् र ५ दिनमा त्यसमा दर्जनौँ कोषहरू हुन्छन् । त्यसपछि बिस्तारै ६ हप्तामा इन्द्रिय बन्छ र १२ हप्ता पछि त बच्चा नै विकास हुँदै जान्छ ।

पाठेघरमा भ्रुणको पालनपोषण

पाठेघरमा गर्भ रहेको ७  देखी ८ हप्तामा साल बन्न सुरु हुन्छ । त्यो सालको माध्यमबाट नै बच्चाले सम्पूर्ण पोषक तत्त्व पाउने हो ।  २० हप्तामा पूर्ण रूपमा सालको विकास हुन्छ र त्यो सालबाट नै अक्सिजन देखी लिएर आमाले खाएको खानेकुराबाट पाइने पोषण तत्त्व प्राप्त गर्छ ।

पाठेघरमा भ्रुणको हलचल

भ्रुणको विकास हुँदै गएपछि विभिन्न अङ्गहरू बन्न थाल्छ । १२ हप्ता देखी नै भ्रुण पेटमा हलचल गर्न थाल्छ । तर, त्यो बेला आमालाई थाहा हुँदैन । २० हप्ता पछि बच्चा बिस्तारै किरा हिँडेको जस्तै चल्न थाल्छ । मुटुको चालहरू पनि थाहा हुन्छ । ७ महिना पछि हात खुट्टा चलाउने ,पाठेघर तलमाथि घुम्ने गर्न थाल्छन् ।

पाठेघरमा हलचल, आमाको पीडा

गर्भदानीमा बच्चा रहँदा आमाको शरीरमा विभिन्न परिवर्तनहरू देखिन थाल्छन् । गर्भ रहेको सुरुको ३ महिनामा नै हर्मनको गडबडीले गर्दा गर्भवती महिलालाई टाउको दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन  नलाग्ने र छिटो छिटो पिसाब लाग्ने जस्ता समस्याहरू देखा पर्न थाल्छन् ।

स्तन ठुलो हुने, तौल बढ्ने, खुट्टा सुन्निने, जस्ता शारीरिक परिवर्तनहरू देखा पर्छन् । केहि महिलाहरूमा गर्भावस्थामा मधुमेह, थाइराईड जस्ता समस्याहरू पनि देखा पर्छ ।

पाठेघरमा बच्चाको विकास

बच्चाको प्राय सबै अङ्गहरूको विकास ५ महिनामै भइसकेको हुन्छ । त्यसैले ५ महिना, २१ हप्तामा गर्भवतीको अल्ट्रासाउन्ड गराउने सल्लाह दिइन्छ । त्यो अल्ट्रासाउन्डमा बच्चाको अङ्गमा केही खराबी छ भने पत्ता लगाउन सकिन्छ ।

५ महिनामा धेरै अङ्गहरूको विकास भए पनि फोक्सो चाहिँ ३४ हप्तामा विकास हुन्छ । त्यसैले ९ महिना सम्ममा त बच्चाको सम्पूर्ण अङ्गको विकास भइसक्छ ।

बच्चा जन्मिएपछि

बच्चा जन्मिएपछि गर्भ दानीलाई स्वाभाविक अवस्थामा आउन ६ हप्ता लाग्छ । ६ हप्तामा पाठेघर पहिलाकै अवस्थामा आउँछ ।

आमालाई सताउने पाठेघरको रोग

हाम्रो जस्तो विकासशील देशहरूमा महिलाहरूको पाठेघरमा सबैभन्दा बढी मात्रामा देखिने भनेको पाठेघरको मुखमा घाउको समस्या हो । त्यसको साथै पाठेघरमा ट्युमरहरू पलाउने, पानीको फोकाहरू देखा पर्ने पनि हुन्छ ।

पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर, अण्डाशयमा पिप रगत जम्ने, अण्डाशयको क्यान्सर र बाझोपन जस्तो समस्या पनि देखिन्छ ।

रोगको कारण

पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण सरसफाइको कमी हो । पाठेघरको मुखको क्यान्सर वंशाणुगत कारणले पनि हुन्छ  । त्यसको साथै आजभोलिको अस्वास्थ्यकर खानपान र अव्यवस्थित जीवनशैलीको कारणले पनि पाठेघरको रोग लाग्छ ।

सानै उमेरमा विवाह र गर्भधारण, धेरै जनासँग यौन सम्बन्ध राख्ने र चुरोटको सेवन गर्ने महिलाहरूमा पनि पाठेघरको रोग लाग्ने सम्भावना हुन्छ ।

रोगको जटिलता

पाठेघरको ट्युमर, पाठेघरको मुखको क्यान्सर र आँग खस्ने  जस्ता समस्या  एकदमै जटिल हुन्छ । यस्ता रोगहरूको कारणले पाठेघर निकाल्नु पर्ने, बाझोपना हुने र क्यान्सर फैलिएर अन्य अङ्गहरूमा समेत पुग्ने र निकै नहुने अवस्थामा समेत पुग्न सक्छ

ज्यानै जाने जोखिम

पाठेघरको क्यान्सरको समयमै उपचार भएन भने यो फैलिएर अन्य अङ्गहरूमा पनि पुग्छ  । महिलाहरुले लाज र जनचेतनाको कमीको कारण आँग खस्ने समस्या लामो समयसम्म लुकाएर राख्ने खसेको पाठेघरमा घाउहरू भएर क्यान्सर नै हुने ज्यान नै जाने पनि हुन्छ ।

जब पाठेघर नै निकाल्नुपर्ने हुन्छ

पाठेघरको मुखको क्यान्सर फैलिएको छ  वा पाठेघर खसेको लामो समय भएको छ । पाठेघरमा तथा अण्डाशयमा ५  सेन्टिमिटर भन्दा ठुलो ट्युमरहरू पलाएको छ भने पाठेघर नै निकाल्नुपर्ने अवस्था पनि आउँछ ।

पाठेघरलाई स्वस्थ र बलियो राख्न के गर्ने ?

पाठेघर स्वस्थ राख्न ‘हाइजिन मेन्टेन’ शरीर तथा यौन अङ्गको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सुतीको पेन्टीको प्रयोग गर्नुपर्छ र दिनमा दुई पटक पेन्टी परिवर्तन गर्नुपर्छ । कलिलो उमेरमा २० वर्ष अघि यौन सम्पर्क  तथा गर्भधारण गर्नुहुँदैन । एक भन्दा धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु हुँदैन । स्वास्थ्यकर खानेकुरा खानुपर्छ । पाठेघरलाई बलियो तथा स्वास्थ्यकर बनाउनको लागि शारीरिक व्यायाम गर्नु पनि त्यत्तिकै जरुरी छ । पाठेघरमा कुनै पनि प्रकारको समस्या देखा पर्यो भने चिकित्सकको सल्लाह अनुसार उपचार गरेर पाठेघरलाई स्वस्थ राख्न सकिन्छ ।

अनलाइनखबरका लागि सुमित्रा लुइटेलसँग गरिएको कुराकानीमा आधारित

पाठेघर
लेखक
डा. विभूति शाही
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय