+
+

को हुन् यस वर्ष रसायन विज्ञानमा नोबेल पुरस्कार पाउने वैज्ञानिक ? यस्तो छ नालीबेली

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १०:३६

काठमाडौं । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले यस वर्ष सन् २०२२ मा रसायनशास्त्र तर्फको नोबेल पुरस्कारको घोषणा गरेको छ ।

जस अनुसार यो वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकहरुले प्राप्त गरेका छन् । क्लिक केमिस्ट्री र बायोअर्थोगोनल केमिस्ट्रीको विकासमा योगदान पुर्याएबापत क्यारोलिन आर बर्टोज्जी, मोर्टेन मेल्डाल र के ब्यारी शार्पलेसलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।

यी वैज्ञानिकहरु को हुन् ? र उनीहरुको योगदान के कस्तो छ ? विस्तारमा जानौँ ।

क्यारोलिन आर बर्टोज्जी

अमेरिकी रसायनशास्त्री क्यारोलिनको जन्म सन् १९६६ अक्टोबर १० मा बोस्टनमा भएको हो । उनले रसायन विज्ञान र जीव विज्ञान दुबै क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी छिन् । जीवित प्रणालीहरुसँग हुने रासायनिक प्रतिक्रियालाई उनले नै ‘बायोअर्थोगोनल केमिस्ट्री’ नामाकरण गरेकी हुन् । ५५ वर्षकी क्यारोलिनले सन् १९८८ मा हार्वर्ड विश्वविद्यालयबाट स्नातक र सन् १९९३ मा बर्कले विश्वविद्यालयबाट रसायन विज्ञानबाट पीएचडी गरिन् । सेलुलर इम्युनोलोजीको क्षेत्रमा पोस्टडक्टोरल गरेसँगै सन् १९९६मा उनले बर्कलेमै प्राध्यापन सुरु गरिन् । त्यस्तै सन् २०१५ मा उनी स्टानफोर्ड विश्वविद्यालयमा आबद्ध भइन् ।

क्यारोलिनको अनुसन्धान तथा प्रयोगशाला क्यान्सर, जिवाणु संक्रमण तथा सुन्निने समस्यामा हुने कोषीय सतह ग्लाइकोसिलेसनको परिवर्तनसँग सम्बन्धित छ । त्यही अनुसन्धानबाट उनले विभिन्न सम्मान तथा पुरस्कार पनि प्राप्त गरेकी छिन् । उनी इन्स्टिच्यूट अफ मेडिसिन, नेसनल एकेडेमी अफ साइन्सेज तथा अमेरिकन एकेडेमी अफ आर्टस् एण्ड साइन्सेजकी निर्वाचित सदस्य पनि हुन् । उनले यसअघि लेमेल्सन एमआईटी पुरस्कार, हेनरिक भ्यालेन्ड पुरस्कार तथा म्याकआर्थर फाउन्डेसन फेलोसिप प्राप्त गरिसकेकी छन् । क्यारोलिनका पिता विलियम बर्टोज्जी एमआईटीमै भौतिक विज्ञानका प्राध्यापक थिए ।

मोर्टन मेल्डल

डेनिस रसायनशास्त्री मोर्टन पी मेल्डलको जन्म सन् १९५४ को जनवरी ६ मा भएको हो । उनी कोपनहेगन विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक हुन् । उनलाई CuAAC क्लिक रिएक्सनको प्रयोगका लागि चिनिन्छ ।

उनले सन् १९८१ मा डेनमार्क टेक्निकल युनिभर्सिटीबाट केमिकल इन्जिनियरिङमा एमएससी गरे भने सन् १९८३ मा अर्गानिक केमेस्ट्रीमा विद्यावारिधी गरे । सन् १९८८ देखि २०११ सम्म उन कोपनहेगन विश्वविद्यालयमा विभिन्न पदमा कार्यरत रहे । त्यस्तै कार्ल्सबर्ग ल्याबमा लिडर अफ सिन्थेसिस समेत रहेका उनी सन् २००३ मा प्राध्यापक बनेका थिए ।

उनले कम्बिनेटरियल केमेस्ट्री तथा पेप्टाइड केमेस्ट्रीका विभिन्न नयाँ प्रविधिको विकास गरेका छन् । उनको रुचि बायो अर्गानिक केमिस्ट्री तथा पोलिमर, इन्जाइमोलोजीको विकास तथा जीपीसीआरमा रहेको छ । उनले राल्फ एफ हिर्सम्यान तथा भिन्सेन्ट डू भिग्नाड लगायतका विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन् ।

के ब्यारी शार्पलेस

अमेरिकी रसायनशास्त्री कार्ल ब्यारी शार्पलेसको जन्म सन् १९४१ को अप्रिल २८ मा फिलाडेल्फियामा भएको हो । उनी स्टेरियोसेलेक्टिभ रिएक्सन तथा क्लिक केमेस्ट्रीको क्षेत्रमा गरेको योगदानका लागि सुपरिचित छन् । उनले यअसघि सन् २००१ मा पनि नोबेल पुरस्कार प्राप्त गरिसकेका छन् । सन् २००१ मा उनले Chirally catalyzed Oxidation Reaction  को क्षेत्रमा गरेको योगदानका लागि रसायनशास्त्रमै नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

सन् १९५९ मा फ्रेन्ड्स सेन्ट्रल स्कूूलबाट स्नातक गरेका उनले चिकित्साशास्त्र पढ्ने इच्छा हुँदाहुँदै शोध प्राध्यापकको सल्लाहमा रसायन विज्ञानको अध्ययनलाई निरन्तरता दिए । सन् १९६८ मा उनले स्टानफोर्ड विश्वविद्यालयबाट अर्गानिक केमेस्ट्रीमा विद्यावारिधि गरे र पोस्ट डक्टरेटपछि हार्वर्ड विश्वविद्यालय गए । त्यहाँ उनले कोनराड ई बलोचको ल्याबमा इन्जाइमोलोजीमा अध्ययन गरे । उनी म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीमा धेरै वर्षसम्म प्राध्यापक रहे । स्टानफोर्डमै हुँदा उनले शार्पलेस एसिमेट्रिक एपक्सीडेसनको खोज गरे ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?