+
+

नोबेल पुरस्कार विजेतालाई किन फ्याँकियो पोखरीमा ? (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १२:४१

काठमाडौं । यो वर्ष सन् २०२२ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार स्विडेनका वैज्ञानिक स्वान्ते पाबोले प्राप्त गरे । उनले लोप भैसकेको होमिनिन तथा मानव विकासको जिनोमसँग सम्बन्धि विभिन्न विषयमा गहन अनुसन्धान गरेका थिए ।

यस्तो सम्मानित कार्यका लागि विश्वकै सबैभन्दा ठूलो पुरस्कार पाउने ती वैज्ञानिकलाई उनको मुलुकमा कसरी स्वागत र सम्मान भयो होला ? अनुमान गर्न सकिन्छ कि उनको स्वागत र सम्मानमा स्विडेनको सरकार र त्यहाँका आम जनताले कुनै कसर बाँकी राखेनन् ।

तर अनौठो त के भयो भने नोबेल पुरस्कार विजेता पाबोलाई कुनै भव्य कार्यक्रम गरेर होइन एउटा पोखरीमा फ्याँकेर स्वागत गरिएको छ । अक्टोबर ८ का दिन द नोबेल प्राइजको आधिकारिक ट्वीटर अकाउन्टमा एउटा भिडियो शेयर गरिएको छ ।


जसमा केही मानिसहरुले नोबेल विजेता स्वान्ते पाबोलाई उठाउँछन् र एउटा पोखरीमा फ्याँकिदिन्छन् । एउटा भवन नजिकै बनेको उक्त पोखरीको पानी पनि फोहोर देखिन्छ । त्यसमा झारपात पलाएका छन् । पोखरीमा फ्याँकेसँगै केही मानिसहरुले उनको तस्वीर पनि खिचिरहेको देखिन्छ । आखिर नोबेल पुरस्कार विजेताको यस्तो खालको स्वागत (अपमान !) किन त ?

देख्दा अनौठो र अपमानजनक देखिएपनि कुराको चुरो अर्कै रहेछ । ट्वीटरमा शेयर गरिएको भिडियोको क्याप्सनमा प्रष्टसँग लेखिएको छ ः हाम्रा नयाँ नोबेल विजेता स्वान्ते पाबोले तब तहल्का मच्चाए जब उनका सहयोगीहरुले उनलाई म्याक्स प्लांक इन्स्टिच्यूट फर इभोल्यूसनरी एन्थ्रोपोलोजी परिसरमा रहेको एक तलाउमा फ्याँकिदिएका थिए । सामान्यतया कसैले विद्यावारिधि उपाधि हासिल गर्दा उसलाई साथीहरुले तलाउमा फ्याँक्ने चलन छ । तर पाबोका साथीहरुले भने उनलाई नोबेल पुरस्कार जितेको खुसीयालीमा पनि तलाउमा फ्याँक्न चाहे ।

स्मरण रहोस् पाबोले लामो समयदेखि मानिसको पुर्खा निएन्डरथलको जिनोमको अनुसन्धान गरिरहेका छन् । उनी जर्मनीको लेइपिगस्थित म्याक्स प्लांक इन्स्टिच्यूटमा जेनेटिक्स विभागका निर्देशकको रुपमा काम गरिसकेका छन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?