+

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

२०७९ असोज  २७ गते १३:२२ २०७९ असोज २७ गते १३:२२
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा दम्पतीले शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यसले गर्भको बच्चामा कुनै हानि पो गर्छ कि ? यो आम जिज्ञासा हो ।

गर्भावस्थामा महिलालाई कुनै पनि जटिल समस्या छैन भने दम्पतीले शारीरिक सम्बन्ध बनाउन मिल्छ । तर यदि गर्भावस्थाको बेलामा रक्तस्राव भइरहेको छ, साल तल बसेको छ, पहिलो बच्चा समय अगावै जन्मिएको छ भने शारीरिक सम्बन्ध नराख्नु नै उचित हुन्छ ।

गर्भवती भएको ९ महिनासम्म महिलाको इच्छा छ भने जुनसुकै समयमा पनि सम्बन्ध राख्न सकिन्छ । यदि सम्पर्क राख्दा महिलालाई अत्यधिक पेट दुख्ने, यौनांग चिलाउने वा उसलाई इच्छा छैन भने चाहिं सम्बन्ध नराख्नु नै उचित हुन्छ ।

गर्भको बच्चालाई असर पर्दैन

गर्भवती महिलालाई कुनै पनि समस्या छैन भने गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउँदा गर्भको बच्चामा पनि कुनै असर हुँदैन । गर्भावस्थाको बेलामा अल्ट्रासाउन्ड गराउँदा बच्चा तथा आमाको स्वास्थ्यमा कुनै समस्या छैन भने सम्बन्ध राख्दा बच्चामा कुनै असर गर्दैन ।

गर्भावस्थाको कुन महिना जटिल ?

पहिलो तीन महिना र अन्तिम तीन महिना यौन सम्बन्ध बनाउन हुँदैन भनेर पनि हामीले सुन्छांै । तर त्यसको कुनै पनि वैज्ञानिक आधार छैन । यदि गर्भवती महिलाको स्वास्थ्यमा कुनै पनि समस्या छैन भने र उनमा यौन इच्छा छ भने आठौं, नवौं महिनामा शारीरिक सम्बन्ध रह्यो भने त्यसको कुनै पनि असर हुँदैन ।

कहिलेकाहीं श्रीमानको वीर्यमा संक्रमण भइरहेको छ भने श्रीमतीलाई पनि संक्रमण सर्छ कि भन्ने जोखिम हुन्छ । तर श्रीमान् एकदमै स्वस्थ छन् भने सम्बन्ध राख्दा आमा बच्चा दुवैलाई केही पनि असर गर्दैन ।

यौन सम्बन्ध बनाउँदा यौन स्वास्थ्यमा असर

गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउँदा प्रजनन् स्वास्थ्यमा कुनै पनि असर गर्दैन । यो बेला यौन सम्बन्ध राख्दा परिवार नियोजनको केही साधन पनि प्रयोग गर्नु पर्दैन । अनिश्चित गर्भ रहन्छ कि भन्ने चिन्ता पनि भएन । यो बेला झन् चिन्तामुक्त भएर सम्बन्ध बनाउन सकिन्छ ।

गर्भावस्थामा कस्तो यौन आसन ?

शारीरिक सम्बन्धको क्रममा विभिन्न आसन प्रयोग गर्न सक्छन् । जस्तो आसन प्रयोग गरे पनि गर्भवती महिलालाई अप्ठ्यारो नहुने खालको अपनाउनुपर्छ । श्रीमतीलाई कुन आसनमा सहज हुन्छ त्यो आसन अपनाउनु उपयुक्त हुन्छ ।

सुत्केरीपछि शारीरिक सम्बन्ध

सुत्केरी भएको ६ हप्तासम्म शारीरिक सम्बन्ध बनाउनु हुँदैन । डेलिभरीको बेलामा पाठेघर ठूलो भएको हुन्छ । पाठेघरलाई आफ्नो अवस्थामा फर्किन र घाउ निको हुन समय लाग्ने तथा संक्रमण हुने सम्भावना धेरै हुन्छ । त्यसैले सुत्केरी भएको ६ हप्तापछि मात्र शारीरिक सम्बन्ध बनाउन मिल्छ ।

सुत्केरी भएपछि महिलाको पाठेघर ठूलो हुने, रगत बग्ने, प्रजनन् अंगमा घाउ हुने भएकाले त्यसमा संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले सुत्केरी भएलगत्तै शारीरिक सम्बन्ध बनाउनु हुँदैन । लगत्तै सम्बन्ध बनाउँदा घाउ ठूलो हुने पाठेघरमा संक्रमण हुने जस्ता समस्या देखा पर्न सक्छन् ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. श्रेष्ठसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

गर्भावस्था शारीरिक सम्बन्ध
लेखक
डा. नीरा सिंह श्रेष्ठ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय