+
+

इन्स्टाग्रामबाट सञ्जोगका फोटो हटाएकोबारे वर्षाको प्रष्टीकरण : हो, हामीबीच ठूलै झगडा परेको थियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १४:०४

काठमाडौं । केही समयअघि अभिनेत्री वर्षा राउतले पति सञ्जोग कोइरालाका तस्वीर इन्स्टाग्रामबाट हटाएपछि त्यसले ठूलै चर्चा पाएको थियो । दुवैले आफूहरुबीच समस्या नरहेको प्रष्टीकरण बाहिर दिनुपरेको थियो ।

प्रेम विवाह गरेको केही वर्षमै इन्स्टाग्रामबाट फोटो हटाएको कुरा बाहिर आएपछि यो जोडीबीच ठीकठाक नरहेको चर्चा चल्यो । तर यतिबेला आएर वर्षाले आफूहरुबीच ठूलै झगडा परेको खुलासा गरेकी छन् ।

उनी अभिनित पछिल्लो फिल्म ‘के घर के डेरा’को प्रमोसन अभियानमा हिंडेकी वर्षाले वैवाहिक सम्बन्धमा आएको समस्या, सोचमा आएको उतारचढाव र बेबी प्लानबारे बताएकी छन् ।

वर्षा भन्छिन् :

हाम्रो बीचमा वास्तवमै ठूलो झगडा भएको हो । मेरो केसमा चाहिं के के भयो भने दर्शकले हामीलाई एकदमै धेरै माया गर्नुभएको छ । हाम्रो झगडा पर्‍यो, एकदमै ठूलो झगडा परेको थियो । रिसमा मैले फोटो अर्काइभ गरें ।

मलाई एकदमै रिस उठेको थियो । मलाई यो मान्छेको फोटो प्रोफाइलमा राख्नु नै छैन भनेको जस्तो । अझ पनि छोरा पराई भइसक्यो भन्ने भएको छैन । म अझै पनि त्यही घरको छोरी हो । त्यो घरको बुहारी पनि हो हुन त ।

झगडा पर्दा बेक्कार छिटो बिहे गरेछु कि भन्ने जस्तो लाग्यो । यस्तो कुरा सुनेर कति जनाले फोन गर्नुभयो । तर कसैले पनि तिमी खुसी छौ कि छैनौ भनेर सोधेन । मलाई कस्तो नराम्रो लाग्यो ।

पछि कति जनाले यस्तो राम्रो जोडी छुट्टिनु हुँदैन भन्नुभयो । यस्तो नगर है नगर भन्नुभयो । तर कसैले पनि तिमीहरुको बीचमा के प्रब्लम भएको हो भनेर सोध्नुभएन । उहाँहरुले उदाहरणीय जोडी भन्नुभयो । उदाहरणीय हुनुहुन्छ कति जना, तर कहिलेकाहीं खुसी भइँदैन ।

एउटा टाइममा पुगेपछि सोच मिल्दैन । मान्छेको सोच न हो, चेन्ज भइराख्छ । मलाई लाग्छ, दिनदिनै झगडा गरेर बस्नुभन्दा त छुट्टिएकै राम्रो हो जस्तो लाग्छ मलाई चाहिं । तपाईं जब छुट्टिनुहुन्छ, तब आफ्नो बाटोमा खुसी हुन सक्नुहुन्छ ।

सबै कुराको ज्ञान पनि हुनुपर्छ । म पढेलेखेको त हो, तर एकदमै कमजोर विद्यार्थी हुँ । मलाई सोसल स्टडिज र भूगोलको केही पनि आउँदैन । मलाई राजनीतिको केही पनि आउँदैन । कलाकार भइसकेपछि सबै कुरा जान्नैपर्छ भन्ने प्रेसर जुन छ नि हामीलाई, त्यसले चाहिं एकदम गाह्रो बनाउँछ । 

सञ्जोग अब के छ त प्लान, सुरसार गर्ने होइन त भन्दाखेरि एक–दुई वर्ष कुरुम न त भन्ने कुरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?