+

डा. लोचन कार्कीको सुझाव : हनहनी ज्वरो आएमा यस्ता उपाय अपनाउने

२०७९ असोज  ३० गते १८:३० २०७९ असोज ३० गते १८:३०
डा. लोचन कार्कीको सुझाव : हनहनी ज्वरो आएमा यस्ता उपाय अपनाउने

काठमाडौं । अचानक हनहनी ज्वरो आएमा के गर्ने ? पानीपट्टी गर्ने जस्ता घरेलु उपाय कति प्रभावकारी हुनसक्छ ? चिकित्सकको परामर्श बिना नै सिटामोल खान मिल्छ ? यावत् जिज्ञासा धेरैसँग हुनसक्छ ।

किनभने डेंगुको कारण धेरैजसो ओछ्यान परेका छन् । डेंगु संक्रमण भएकाले उच्च ज्वरोको सामना गर्नुपरेको बताइरहेका छन् । त्यसो त डेंगु नहुँदा पनि धेरैजसो अवस्थामा ज्वरो आउने गर्छ । ज्वरो आएमा के गर्ने, के नगर्ने जस्ता विषयमा डा. लोचन कार्कीसँग मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :

अहिले डेंगुको प्रकोप छ, धेरैलाई उच्च ज्वरोले सताएको सुनिन्छ । अचानक ज्वरो आएमा के गर्ने ?

ज्वरो आउने विभिन्न कारण हुन्छन । डेंगु, पिनास, छातीको समस्या, टाइफाइड, स्क्रब टाइफस, भाइरल ज्वरो, कोभिडजस्ता रोगको प्रमुख लक्षण नै ज्वरो हुन्छ । ज्वरोसँगै रुघाखोकी, पहेंलो खकार आउँछ भने निमोनिया पनि हुनसक्छ ।

हनहनी ज्वरो आउने, आँखाको गेडा दुख्ने, जीउ दुख्ने, बान्ता हुने जस्ता पछिल्लो समय देखिएका लक्षण डेंगुका हुन सक्छन् । ज्वरो आउने बित्तिकै के कारणले आयो भनेर बुझ्नु जरुरी छ । ज्वरोको प्रारम्भिक उपचार भनेको सिटामोल खानु नै हो । त्यसपछि शरीरको तापक्रम नाप्ने जस्ता अन्य प्राथमिक उपचार गर्न सकिन्छ ।

पानीपट्टी गर्ने घरेलु उपचार अपनाउन मिल्छ ?

ज्वरो आएपछि सिटामोल खाँदा पनि ज्वरो १०४ डिग्रीभन्दा माथि आइरहेको छ भने घरेलु उपचारको रुपमा पानीपट्टी गर्न सकिन्छ । तर यसको तरिका जान्न भने आवश्यक छ । पानीपट्टी टाउकोमा लगाएर मात्र हुँदैन । टाउको देखि काखी, खुट्टा र हातमा पनि पानीपट्टी गर्नुपर्छ ।

अरु के कस्ता घरेलु विधि हुनसक्छ, जुन उच्च ज्वरोमा प्राथमिक उपचार गर्न सकिन्छ ?

बिरामीलाई गुम्म परेको ठाउँमा राख्नुहुँदैन । कोठामा झ्याल वा भेन्टिलेसन हुनुपर्छ, जसले शरीरको तापक्रम घट्न मद्दत गर्छ । बाक्लो मोटो सिरक ओढाउन हुँदैन । पातलो सिरक वा ब्ल्याङ्केट ओढाउनुपर्छ ।

पारासिटामोल खाने प्रवृत्ति छ । के चिकित्सकलाई नसोधी सिटामोल खान मिल्छ ?

काखीमा नाप्दा ज्वरो १०० भन्दा माथि छ भने डाक्टरको सल्लाह बिना पनि सिटामोल खान सकिन्छ । अन्य औषधिको तुलनामा यसको साइड इफेक्ट कम हुने हुँदा यो औषधि सहजै सेवन गर्न मिल्छ । तर अन्य एन्टिबायोटिक औषधि भने सेवन गर्नुअघि परामर्श लिनुपर्छ ।

सिटामोल खाएर मात्र ज्वरोलाई निको पार्छ भनेर हुँदैन, यसको कारण के हो भनेर पत्ता लगाउनुपर्छ ।

यदि खान मिल्ने भए यसको मात्रा र तरिका के हुनसक्छ ?

सिटामोल कति मात्रामा खाने भन्ने कुरा व्यक्तिको शरीरमा निर्भर रहन्छ । ६० देखि ७० किलो तौल भएका व्यक्तिले एकपटकमा ५०० मिलिग्रामको डेढदेखि दुई चक्की खान सकिन्छ । त्यहाँभन्दा बढी तौल भएका व्यक्तिलाई भने दुई चक्की आवश्यक हुन्छ । ज्वरो आइरहेको छ भने ६ घण्टा वा ८ घण्टाको अन्तरमा सिटामोल खान सकिन्छ । ज्वरो क्रमशः घट्दै गएमा यसको सेवन रोक्न सकिन्छ ।

बालबच्चालाई सिटामोल कति मात्रामा खुवाउने ?

यदि बच्चालाई ज्वरो आएको छ र एक महिनाभन्दा कम उमेरको छ भने प्रतिकेजी वजनको १० देखि १५ मिलीग्राम पारासिटामोल दिन सकिन्छ । जुन ४ देखि ६ घण्टाको फरकमा दिनुपर्छ । १२ वर्षसम्मका बच्चालाई ६ देखि ८ घण्टाको अन्तरमा सोही मात्रामा दिनुपर्छ ।

अन्य रोगको औषधि खाइरहेकाले सिटामोल खाए हुन्छ ?

सिटामोलको साइड इफेक्ट कम हुन्छ । तर पनि आफ्नै ओभरडोज पनि हुन्छ । लिभरका बिरामीले सिटामोल खानुहुँदैन । खानै परेमा दिनमा ६ ग्रामभन्दा कम खानुपर्छ । अन्य बिरामीले यसलाई खान सुरक्षित मानिन्छ ।

यस्तो बेला के कस्ता खानेकुरा बार्नुपर्छ ?

ज्वरो आउँदा पूरा शरीर नै कमजोर हुन्छ । पाचनप्रणाली पनि कमजोर हुने हुँदा पच्न समय लाग्ने खानेकुरा पचाउन कठिन हुन्छ । त्यसैले सुपाच्य खानेकुरा खानुपर्छ । जाउलो, खिचडी, सुपजस्ता झोलिलो तागतिलो खानेकुरा खानुपर्छ । माछामासु, अण्डा, गेडागुडी जस्ता पच्न कठिन हुने खानेकुरा सकेसम्म नखाएको नै राम्रो हुन्छ । त्यस्तै चिल्लो, पीरो खानेकुरा खानुहुँदैन ।

कुनै यस्तो खाना हुन्छ, जसले ज्वरो नियन्त्रणमा सहयोग गर्छ ?

खानेकुराबाट नै ज्वरो नियन्त्रण हुन्छ भन्ने हुँदैन । झोलिलो खानेकुरालाई प्राथमिकता दिने र पचाउन सकिने खानेकुराले शरीरलाई ज्वरो आएको समयमा शक्ति प्रदान गर्छ । ज्वरो नियन्त्रण गर्न प्रमुख भूमिका सिटामोलकै हुन्छ ।

कतिसम्मको औसत तापक्रमलाई सामान्य मान्ने ?

शरीरमा ९८ दशमलव ६ डिग्री सेल्सियस फरेनहाइटसम्म सामान्य तापक्रम मानिन्छ । त्यसभन्दा माथि छ भने ज्वरो आएको भन्ने बुझिन्छ । यद्यपि रातको समयमा भने ९९ डिग्री फरेनहाइटलाई पनि सामान्य मान्न सकिन्छ । १०३ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भए त्यसलार्य उच्च ज्वरो मानिन्छ ।

ज्वरो आएको कुन अवस्थामा अस्पताल जाने ?

बिरामीमा ज्वरोसँगै सास फेर्न कठिन भइरहेको छ । लगातार बान्ता, झाडापखाला आइरहेको छ, हिंडडुल गर्न सकिरहेको छैन, खान सकिरहेको छैन, रक्तचाप घटिरहेको छ भने तुरुन्तै अस्पताल जानुपर्छ ।

ज्वरो घट्दै घटेन भने के गर्ने ?

औषधि  खाँदा र पानीपट्टी लगाउँदा पनि ज्वरो घटेन भने अस्पताल जानुपर्ने हुन्छ । उच्च ज्वरो आउँदा घरमै राखिराख्यो भने अन्य जोखिम पनि आउन सक्छ । अनियन्त्रित ज्वरो आइरहेको छ भने कहिलेकाहीं सुई पनि दिनुपर्ने हुनसक्छ । त्यसको कारण पत्ता लगाउनुपर्ने हुन्छ ।

ज्वरो डा. लोचन कार्की
प्रा.डा. लोचन कार्की
लेखक
प्रा.डा. लोचन कार्की
जनरल फिजिसियन 

मेडिकल काउन्सिल दर्ता नम्बर : ४६८७ एमबीबीएस, एमडी, पोस्ट ग्राजुएसन इन एभिएसन मेडिसिन वीर अस्पताल, फ्रन्टलाइन अस्पताल, हिमाल अस्पतालमा कार्यरत, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय