+
+

बुर्लाकोटीको साथ पाउँदा विश्व पौडेललाई राहत

सुवास पण्डित सुवास पण्डित
२०७९ असोज ३१ गते २१:२२
राजेन्द्र बुर्लाकोटी र विश्व पौडेल ।

३१ असोज, चितवन । नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटी यो पटक हरहालतमा चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । २०७० र २०७४ मा टिकट पाएर पनि उनले चुनाव जित्न सकेका थिएनन् ।

एमालेमा आएको विभाजन र माओवादीसहित सत्ता गठबन्धनको साथका कारण यो पटक एमालेका सुरेन्द्र पाण्डेसँग ‘बदला लिने’ उपयुक्त अवसर लागेको थियो ।

तर उनले टिकट पाएनन्, कांग्रेसले योजना आयोगका उपाध्यक्ष रहेका विश्व पौडेललाई उम्मेदवार बनायो । ‘विश्व पौडेल भनेको कांग्रेस होइन’ भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गरे । पार्टीले कारबाही गर्ने चेतावनी दिँदा पनि टसकामस नभएका बुर्लाकोटी कांग्रेस उम्मेदवार पौडेललाई टाउको दुखाइ बनेको थियो ।

सोमबार दिउँसो १ बजे विश्व पौडेलसहित काठमाडौं उडेका बुर्लाकोटी सिधैं प्रधानमन्त्री निवास, बालुवाटार पुगे । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुसँग छलफल गरे । नेताहरुले राष्ट्रिय सभामा लैजाने आश्वासन दिएपछि बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय मात्र बनाएनन्, डा. पौडेललाई चुनाव जिताउन लाग्ने वाचा गर्दै वक्तव्य दिए ।

यससँगै सत्ता गठबन्धनले चितवन १ मा राहतको सास फेरेको छ । किनकी बुर्लाकोटीले उम्मेदवारी कायम राख्दा ८ देखि ९ हजार मत ल्याउने र डा. पौडेलको पराजयका लागि पर्याप्त हुने सत्ता गठबन्धनका नेताहरुको विश्लेषण थियो ।

चितवन–१ (क) मा सत्ता गठबन्धनको उम्मेदवार रहेका कांग्रेस क्षेत्रीय सभापति किरणभूषण ओली बुर्लाकोटीलाई आफूहरुले उम्मेवारी फिर्ता गराउन आग्रह गर्दै आएको बताउँछन् ।

‘यसपटक उहाँले नै टिकट पाउनुपर्ने हो, तर टिकट दिने त हामीले हैन, उहाँले टिकट नपाउँदा कांग्रेसभित्र ठूलो असन्तुष्टि पनि थियो’ उनले भने, ‘उहाँको उम्मेदवारी निष्क्रिय बनाउने कामले गठबन्धनमा खुसीको सञ्चार भएको छ, हामी दृढतापूर्वक चुनावमा लाग्छौं ।’

एमाले भने बुर्लाकोटीले समर्थन गरेपनि कांग्रेसभित्र कायम असन्तुष्टिमा खेल्ने नीतिमा छ । चितवन–१ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डे, व्यक्ति र मुद्दाका विषयमा कांग्रेसभित्र रहेको असन्तुष्टि उम्मेदवारी फिर्ताले समाधान नगर्ने दाबी गर्छन् ।

एमाले चितवन उपाध्यक्ष कमल पाठक भन्छन्, ‘पार्टीभन्दा बाहिरबाट उम्मेदवार ल्याएको र त्यागी एवम् समर्पण गर्ने नेता कार्यकर्तालाई बहिष्करणमा पारिएको मुद्दा उम्मेदवारी निष्क्रिय पार्दैमा सकिएको छैन ।’

तर बुर्लाकोटीको उम्मेदवारी निष्क्रिय भएसँगै चितवन–१ को प्रतिस्पर्धा बढी प्रतिस्पर्धी हुने देखिन्छ ।

२०७४ सालमा वाम गठवन्धनबाट उम्मेदवार रहेका पाण्डेले ५१ हजार ८० मत ल्याएर जित्दा बुर्लाकोटीले ३५ हजार ३६० मत पाएका थिए । त्यो बेला पाण्डेको साथमा रहेको माओवादी र एमालेबाट फुटेर बनेको समाजवादी पौडेलसँग छ ।

यस्तो छ अंकगणित

पूर्वी चितवन ३ वटा पालिका यो निर्वाचन क्षेत्रमा पर्छन् । राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाका गरी क्षेत्र नं. १ मा १ लाख ३९ हजार ८४५ मतदाता छन् । यसअघिको निर्वाचनमा यो क्षेत्रमा १ लाख १९ हजार ९९८ मतदाता थिए ।

३० वैशाखको स्थानीय निर्वाचनमा यो क्षेत्रमा पर्ने तीन वटै पालिकाको प्रमुखमा एमाले पराजित भएको थियो । २०७४ मा तीनवटै नगरपालिकामा एक्लै प्रमुख र उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्य जितेको एमाले यसपटक गठवन्धनका अगाडि केही कमजोर देखिएको छ ।

एमालेले खैरहनी र रत्ननगर नगरपालिकामा उपमेयर जितेको छ । तीन स्थानीय तहबाट एमालेका वडाध्यक्षहरूले ३९ हजार ६०६ र गठबन्धनमा रहेका दलका वडाध्यक्षको मत ४६ हजार ५७७छ । राप्ती र खैरहनीमा वडागत रुपमा एमाले बलियो देखिएको छ । रत्ननगरमा एमाले केही कमजोर देखिएको छ । यहाँ एकीकृत समाजवादीको बढी प्रभाव छ ।

राप्तीका १३ मध्ये एमाले एक्लैले ८ वडा जितेको छ । खैरहनी नगरपालिका १६ वडामध्ये एमालेले ७ वडा जितेको छ । रत्ननगर नगरपालिकाका १६ वटा वडामध्ये कांग्रेसले ९, एमालेले ५, एक स्वतन्त्र र एक माओवादी केन्द्रले जितेका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?