+
+
ब्लग :

ऋषिको सफलतामा खुसी मनाउने, गैरआवासीयलाई नागरिकता अड्काउने ?

बाराक ओबामा र ऋषि सुनकहरूले अमेरिका र बेलायतमा पाएको अवसरको प्रशंसा गर्ने तर आफ्नो देशमा यस्तै नीतिको विरोध गर्ने विरोधाभासबाट हामी मुक्त हुनैपर्छ ।

रामशरण सिम्खडा रामशरण सिम्खडा
२०७९ कात्तिक १० गते १७:११
ऋषि सुनक ।

४९ दिन अघिमात्र ६ सेप्टेम्बर २०२२ मा कन्जरभेटिभ पार्टीको तर्फबाट बेलायतको संसदीय सत्ता सम्हालेकी ४७ वर्षीय प्रधानमन्त्री लिज ट्रसले आफ्नो पार्टी कन्जरभेटिभले दिएको म्यान्डेट पूरा गर्न नसकेको कारण देखाउँदै पदबाट राजीनामा दिइन् । ४५ दिन प्रधानमन्त्रीको कार्यभार सम्हालेही ट्रसले पार्टी संसदीय दलको नेताबाट समेत राजीनामा दिइन् । यससँगै ७ हप्तामा ३ वटा प्रधानमन्त्री प्रजातन्त्रको जननी मानिने वेष्टमिनिष्टरमा देखियो ।

हाम्रो जस्तो विकासोन्मुख देशमा राजनैतिक अस्थिरताको सनाही बजाई रहँदा विकसित र प्रजातन्त्रको मसिहा ठान्ने देशको हविगत हाम्रो सामु स्पष्ट भएको छ ।

चतुर फ्याउरोले कागलाई गीत गाउन लगाएर कागको मुखबाट रोटी खोस्न सफल भयो । उसलाई आफू निकै चलाख भएको घमण्ड थियो । एकदिन उसले कछुवा भेट्यो र खबटा फोरेर कछुवालाई खान निकै मेहनत गर्न थाल्यो । कछुवा खबटा भित्र खुम्चिएको थियो र खबटा फुट्न सकिरहेको थिएन ।

एकछिन पछि कछुवाले आफैं भन्यो, ‘तिमीले यो हड्डी फोर्न कसैगर्दा पनि सक्ने छैनौ । बरु म नै तिमीलाई एउटा सजिलो उपाय बताउँछु । मलाई लगेर केहीबेर पानीमा भिजाउ र हाड जब गिलो हुन्छ अनि खाउ ।’ फ्याउरोले त्यसै गर्‍यो र उसलाई लगेर नदीको छेउमा भिजाउन छोडिदियो । अनि कसोकसो कछुवा फुत्त नदीको बीचमा पुग्यो र पानीमाथि टाउको निकालेर भन्यो, ‘यो दुनियाँमा तिमीभन्दा पनि चलाख हुन्छन् !’

हाल बेलायती राजनीति यस्तै घनचक्करमा फसिरहेछ । मैले अघिल्लो आलेख बोरिसको धर्मराएको कुर्सी र सिटामोल दिन नसक्ने नेताका फूर्तिमा कन्जरभेटिभ पार्टीको अधोगतिको बारेमा सबिस्तार उल्लेख गरेको थिएँ । युरोपियन युनियनबाट अलग गराउन सफल चरम राष्ट्रवादको ट्रम्पेली शैली अपनाउने बोरिस जोनसन आफूलाई परिवर्तनको मसिहा ठान्दै आम निर्वाचनमा होमिए र लामो समयपछि कन्जरभेटिभ दललाई प्रचण्ड बहुमत समेत दिलाउन सफल भए । सभ्य देखिन बाहिर नभने पनि मनभित्र चरम ब्रिटिस र गैर-ब्रिट्रिसको दरार पालेर बसेका अंग्रेजहरूले अनुमान बाहिरको ब्रेक्जिट र त्यसपछिको जोनसनको राष्ट्रवादी उन्मादलाई अनुमोदन गरे ।

लेखक ।

लोकतन्त्र जब सनक र अहंकारमा परिणत हुन्छ, नतिजा यस्तै हुन्छ । जोनसन बेलायती समाजमा अपाच्य दुई नैतिक समस्यामा अल्झिएका छन् । लकडाउनको बेलाको गार्डेन पार्टी र सरकारी निवास मर्मतमा दाताबाट लिएको रकम समयमा सार्वजनिक नगरी पदीय हैसियतको दुरूपयोग गरेको अभियोग उनीमाथि यो । यो अभियोग अहिले पनि संसदीय समितिको छानबिनको दायरामै छ । कथाको चलाख फ्याउराले कछुवालाई खेलाए झै जोनसनले पात्रहरू खेलाइरहेका छन् । आफ्नो बहिर्गमन पछि विद्रोह गरेका ऋषिलाई भन्दा आफ्नो आज्ञाकारी लिज ट्रसलाई पार्टी सदस्यबाट हुने अन्तिम मतदानमा पराजित गराई आफ्नै निर्देशनमा राजनीति राखी राख्ने कुत्सित मनसायबाट अघि बढे ।

बेलायती राजनीतिलाई नियालिरहने हामी जस्ता जो कसैको पनि यसको पूर्वानुमान थियो । बोरिसलाई ढिलै भए पनि आफ्नै बफादर ऋषि सुनकले चुनौती दिए । सेप्टेम्बरको पार्टी नेता छनौटमा ऋषि मौजुदा संसदको सबै चरणमा आफ्नो प्रचण्ड बहुमत हुँदा समेत पार्टी सदस्यहरूको मतदानको आधारमा उनै बोरिस जोनसनको प्रतिशोध र भारतीय मूलका भएकै कारण प्रधानमन्त्री चुनिनबाट रोकिएका थिए ।

प्रधानमन्त्री डेभिड क्यामरुन, थेरेसा मे र बोरिस जोनसनको नेतृत्वमा विभिन्न क्याबिनेटमा विभिन्न जिम्मेवारी सम्हालिसकेकी ट्रसले २०२१ देखि २०२२ सम्म परराष्ट्र मन्त्रीको रूपमा काम गरेकी थिइन् । ब्रेक्जीटको पक्षधर रहेकी ट्रसले सन् २०१७ मा जनमतसंग्रह पछि आफूले ब्रेक्जिटपछि ब्रिटेनमा ठूलो आर्थिक संकट देखा पर्ने बताएकी थिइन् । उनले ब्रेक्जिट नहुँदा थुप्रै अवसरहरू हुने बताएकी थिइन् । ब्रेक्जिटको समर्थनले कन्जरभेटिभ पार्टीका सदस्यहरूमा लोकप्रिय बनेर प्रधानमन्त्रीको रूपमा चयन भएकी लिज ट्रसको त्यो खेलले सुनकलाई नक आउट गरिदियो ।

बेलायती राजनैतिक इतिहासमा ट्रसले ६ हप्ताको छोटो शासन गरिन् । उनको सरकारले वित्तीय बजारमा परेको प्रतिकूल प्रभाव पार्ने निर्णय गर्ने गल्ती गर्‍यो । धितो बजार र आयात लागत समेत उच्च वृद्धि भई बेलायतको अर्थतन्त्र उथलपुथल भयो । यति मात्र नभई कन्जरभेटिभ पार्टीमा ट्रस शक्तिको उदयसँगै पार्टी विभाजनको शुरुवात भयो । यो राजनीतिक खेलको केन्द्रमा ऋषि सुनक, अगस्टमा ट्रससँग पराजित पूर्वअर्थमन्त्री तथा हाउस अफ कमन्सका नेता पेनी मोर्डन्ट र रक्षा सचिव बेन वालेस थिए । यहाँ छुटाउनै नहुने अर्को नाम हो ६ हप्ता अघि मात्रै डाउनिङ स्ट्रिटबाट बाहिरिएका पूर्वप्रधानमन्त्री बोरिस जोनसन पनि ।

लिज ट्रसको राजीनामाले उनै ट्रससँग पराजित भएका ४२ वर्षीय भारतीय मूलका ऋषि सुनकलाई एक महत्वपूर्ण अवसरको ढोका खोलिदियो । अफ्रिकामा जन्मिएका भारतीय मूलका हिन्दु डाक्टर पिता तथा भारतका नामुद व्यापारी नागावारा रामाराव नारायण मुर्तीका ज्वाईं सुनकले आफ्नो करिअरको सुरुवात बैंकबाट गरेका थिए । राजनैतिक करिअर शुरुवात अक्टोबर २०१४ मा वेन्डी मोर्टनलाई हराउँदै रिचमण्ड (योर्क्स) को लागि कन्जरभेटिभ उम्मेदवारको रूपमा चयन भएसँगै सुरु भयो । पहिले पार्टी नेता विलियम हेगले १९८९ देखि अपार बहुमतसहित निर्वाचित हुँदैआएको सिट उनले पाए । विगत १०० वर्षदेखि कन्जरभेटिभ पार्टीको सुरक्षित सिटमा सुनक चुनिएका थिए ।

जम्माजम्मी ७ वर्ष लामो राजनैतिक यात्रामा उनले आफ्नो क्षमता प्रदर्शन गरेरै छाडे । फलस्वरूप अमेरिकाले सन् २००९ देखि २०१७ सम्म बराक ओबामालाई एक अश्वेत राष्ट्रपतिको रूपमा पाए झैँ बेलायत पनि ७० वर्ष लामो राजगद्दी सम्हालेर दिवंगत भएकी रानीको उत्तराधिकारी राजा चार्ल्सको उदयसँगै एसियाली मूलका प्रधानमन्त्री पाएको छ ।

विश्वकै सर्वश्रेष्ठ अक्सफोर्ड र स्टान्फोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालयबाट पढेका र गोल्डम्यान स्याकजस्ता विश्वकै ठूला बैंकिङ संस्थामा काम गरेका युवा अर्थशास्त्री ऋषि सुनक राजनीतिमा जोडिन चाहेपछि बेलायतको ठूलो र पुरानो दल कन्जरभेटिभले उनलाई सजिलै टिकट दियो । जहाँ अल्पसंख्यक (जातीय अल्पसंख्यक) को संसदमा प्रतिनिधित्व सुनिश्चित गराउन सुरक्षित क्षेत्रबाट निर्वाचन लडाउने परम्परा अनुसार पार्टी अध्यक्षले जित्दै आएको क्षेत्रबाट निर्वाचन लडे र स्वभाविक जित निकाले । यो जिते जितिहालोस् भनेर मात्र दिइएको टिकट थिएन । उतिबेला पार्टीले उनको अनुहार कालो वा गोरो हेरेन । उमेर हेरेन । कति वर्ष पार्टीको झोला बोकेको भन्ने खोजेन । न त जेल यात्राको लेखाजोखा नै गर्‍यो । उनको योग्यता हेर्‍यो र उनी जस्ता प्रतिभावान युवा पार्टीमा जोडिनुलाई नै गौरव मान्यो ।

अनायास यूरोपियन युनियनबाट अलग्गिने निर्णयपछि बेलायतको अर्थतन्त्र दिन प्रतिदिन कमजोर र अस्थिर बन्दै गइरहेको थियो । पुराना र दिग्गज नेताहरूलाई पाखा लगाउँदै युवा अर्थशास्त्री ऋषि बेलायतका अर्थमन्त्री बनाइए । कोभिड महामारीले आक्रान्त विश्वसहित बेलायत पनि यसको चपेटामा पर्‍यो । उनको सुझबुझ र योग्यताले ठाउँ पायो । लाखौं व्यवसाय र दशौं लाख रोजगारी डुब्नबाट बचाए । संचित कोषबाट सैयौं बिलियन पाउण्ड बजारमा प्रक्षेपण गरे ।

ऋषिसँगै उनी आबद्ध पार्टीमाथि पनि मानिसको नजरिया आशालाग्दो बन्यो। उनको दक्षता, दूरदर्शिता र कार्यनीतिहरूलाई यति मन पराइयो कि राजनीति सुरु गरेको ८ वर्ष मै उनी पार्टी प्रमुखका दाबेदार बने । केही हप्ता अघि अश्वेत भएकै कारण झिनो मतले उनी पार्टीप्रमुख र प्रधानमन्त्री हुनबाट त चुके तर यहाँसम्म उनलाई ल्याइपुऱ्याएको उनको योग्यताले नै थियो र अन्ततः आज उनी बेलायतको प्रधानमन्त्री चुनिने अवस्थामा आइपुगे ।

हाम्रो देशमा पनि चुनावको माहौल छ । बेलायतलाई ऋषिको जति खाँचो थियो, नेपाललाई पनि कैयौं गुना बढी योग्य, विज्ञ र अनुभवी राजनेताहरूको खाँचो छ । विश्व भूमण्डलीकरण र चरम प्रतिष्पर्धाको यो युगमा चाहे लगानी भित्र्याउन होस् या द्विपक्षीय-बहुपक्षीय व्यापार प्रबर्धन किन नहोस्, दीर्घकालीन महत्त्वका अन्तर्राष्ट्रिय या द्विदेशीय सम्झौताहरू हुन् या भूराजनैतिक रणनीति निर्माण होस्, देशलाई सक्षम, शिक्षित र विज्ञ शासकको अत्यन्त खाँचो छ । जसबाट मात्र सुशासनको प्रत्याभूति हुन सक्छ । विकसित देशहरूलाई औसत भए पुग्ला, हामीलाई औसत भन्दा माथिको सर्वश्रेष्ठताको खाँचो छ ।
बाराक ओबामा, ऋषि सुनकको उदयबाट हामीले पाठ सिक्न अब ढिला गर्नु हुँदैन । प्रविधिले संसारलाई साँघुरो बनाउँदै थुप्रै अवसरका ढोकाहरू खोलिदिएको छ तर निजी जीवनमा नेपाली समाजले आधुनिकतालाई अंगीकार गरे पनि नेपाली राजनीतिमा भूराजनीतिको प्रभावमा उदारता देखाउन सकेको देखिंदैन । डेढ सय वर्ष लामो नेपालीहरूको आप्रवासनले विश्व बजारमा नेपाली मूलका व्यक्तिहरूलाई अवसरको ढोका खोलिदिएको छ ।

संसारभर छरिएका क्षमतावान नेपालीहरू अन्तर्राष्ट्रिय समुदायसँग प्रतिस्पर्धा गर्दै आफू बसोबास गरेको मुलुकहरूमा मूलधारको राजनीतिमा अगाडि बढिरहेका छन् भने अरु क्षेत्रमा पनि सहभागिता बढ्दो छ तर वर्षौ‌देखि संसारभर छरिएका नेपालीहरूले माग्दै आएको गैर आवासीय नेपाली नागरिकता विभिन्न कारण रोकिएको छ ।

नागरिकता वितरणमा मापदण्ड तोकिनुपर्छ । बुहारी र ज्वाईलाई समान मापदण्ड लागु हुनुपर्छ तर यो विधेयकलाई विवादास्पद बनाइनु हुँदैन । विधेयकका सम्बन्धमा उठेका सकारात्मक र नकारात्मक प्रश्न आ-आफनै ठाउँमा जायज छन् तर गैर आवासीय नागरिकता ´सहज रूपमा पाउन मुटुभित्र नेपाली राष्ट्रियता बोकेका नेपाली, तिनीहरूका दरसन्तानहरूले अझै कति कुर्नुपर्ने हो, अनिश्चित छ । नागरिकता विधेयकलाई ठोस रूप नदिँदा यसले दूरगामी प्रभाव पार्न सक्छ ।

उदारता नागरिकता वितरण मात्र होइन, वैदेशिक लगानीमा पनि हुनुपर्छ । किनकि लगानीको क्षेत्रमा पनि विदेशमा रहेका नेपालीहरू सक्षम छन् । तर उनीहरू नेपाली राजनीतिमा देखिएको अस्थिरता, सरकारी नीति, नेपाल सरकारको आयातनिर्यात र उत्पादन नीतिका कारण आफ्नो लगानी नेपालमै सीमित नराखी लगानीको लाभांश आफू बसेको देशमा लैजान चाहन्छन् । सरकारले उदारता नदेखाएकै कारण यहाँ पनि अंकुश लागेको छ ।

बाराम ओबामा र ऋषि सुनकहरूले अमेरिका र बेलायतमा पाएको अवसरको प्रशंसा गर्ने तर आफ्नो देशमा यस्तै नीतिको विरोध गर्ने विरोधाभासबाट हामी मुक्त हुनैपर्छ ।

(लण्डन बसोबास गर्ने लेखक गैर आवासीय नेपाली संघका उपमहासचिव हुन् ।)

लेखकको बारेमा
रामशरण सिम्खडा

लन्डनमा बसोबास गरिरहेका सिम्खडा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय उप-महासचिव हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?