+

चर्को आवाजमा बोल्ने व्यक्तिको स्वरयन्त्रमा मासु पलाउन सक्छ : डा. केसी

२०७९ कात्तिक  १३ गते १७:४६ २०७९ कात्तिक १३ गते १७:४६
चर्को आवाजमा बोल्ने व्यक्तिको स्वरयन्त्रमा मासु पलाउन सक्छ : डा. केसी

काठमाडौं । नाक, कान र घाँटीको समस्या लिएर अस्पताल पुग्नेको संख्या अत्यासलाग्दो छ । यी तीन अंगमा देखापर्ने अनेक समस्याले मान्छेलाई मृत्युको मुखसम्म पुर्‍याउने गरेको छ । त्यसमध्येको एउटा हो, स्वरयन्त्रको समस्या ।

स्वरयन्त्र यति संवेदनशील हुन्छ कि चर्को स्वरमा वा चिच्याएर बोलिरहँदा यसमा क्षति पुग्छ । आवाजको घर्षणले घाउ हुने, मासु पलाउने, घाँटीको क्षयरोग हुनेजस्ता जटिलता देखिन्छन् । कतिलाई त क्यान्सर समेत हुनसक्ने जोखिम हुन्छ ।

कसरी आवाज निकाल्दा स्वरयन्त्रमा क्षति पुग्छ ? यसले के कस्ता जटिलता निम्त्याउँछ ? यिनै विषयमा वीर अस्पतालका वरिष्ठ नाक कान घाँटीरोग विशेषज्ञ डा. अरुण केसीसँग गरिएको कुराकानीको सम्पादित अंश :

स्वरयन्त्र कस्तो स्थितिमा हुन्छ र यो कति संवेदनशील हुन्छ ?

स्वरयन्त्रभित्र दुईवटा भोकल कर्ड हुन्छ । भोकल कर्ड तारजस्तो हुन्छ । भोकल कर्डको भाइब्रेसनबाट नै आवाज निस्किने हो । श्वासनली र खानानलीको बीचमा यो रहेको हुन्छ ।

आवाज बिना मानिसले आफ्नो कुरा अरूलाई बताउन सक्दैन । चर्को स्वरमा बोल्ने व्यक्तिको स्वरयन्त्रमा कुनै समस्या भयो भने स्वर परिवर्तन हुनेदेखि स्वर नै नआउने समस्या समेत हुन्छ । धुम्रपान, मद्यपान गर्ने व्यक्तिमा त स्वरयन्त्रको क्यान्सर भएर मृत्यु समेत हुने जोखिम हुन्छ । यो एकदमै संवेदनशील हुने भएकाले यसमा समस्या आउन नदिन सावधानी अपनाउनुपर्छ ।

कडा आवाजमा वा चिच्याएर बोल्दा स्वरयन्त्रमा के कस्तो समस्या हुनसक्छ ?

कडा स्वरमा चिच्याएर बोल्दा स्वरयन्त्रमा विभिन्न किसिमका संक्रमण जस्तै, भाइरल इन्फेक्सन, फंगल इन्फेक्सन, ‘भोकल नोडल’, स्वरयन्त्रमा मासु  पलाउने, घाँटीको क्षयरोग, कसैकसैमा प्यारालाइसिस भएर एउटा भोकल कर्ड नै नचल्नेजस्ता समस्या देखा पर्न सक्छ ।

चर्को आवाजमा बोल्ने र लामो समयसम्म बोल्ने व्यक्तिमा भोकल कर्डमा समस्या आउन सक्छ । चर्को र लगातार बोल्ने व्यक्तिको भोकल कर्डमा जोड पर्छ र एकअर्कामा घर्षण बढी भएर मासु पलाउने, पानीको फोका आउने लगायतको समस्या देखा पर्छ ।

स्वरयन्त्रलाई सुरक्षित राख्ने वा सही राख्ने उपाय के हुन् ?

स्वरयन्त्रलाई सुरक्षित राख्न चर्को स्वरले लामो समय बोल्नु हुँदैन । समय–समयमा विश्राम गरेर बोल्नुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ जसले घाँटीलाई हाइड्रेसन राख्छ । चर्को स्वरमा बोल्नुपर्ने पेसा भएकाले बोल्दा माइकको प्रयोग गर्नुपर्छ । साथै बिहान बेलुका ५ मिनेट सादा पानीको बाफ लिने गर्दा घाँटीको संक्रमणलाई कम गर्न गर्छ । स्वरयन्त्रको विभिन्न समस्या तथा क्यान्सरको जोखिमबाट बच्न चुरोट, सुर्तीजन्य पदार्थको सेवन नगर्नु राम्रो हुन्छ ।

स्वयन्त्रमा समस्या आएमा कस्तो जटिलता आउन सक्छ ?

भोकल कर्डमा समस्या भयो भने बोल्न गाह्रो हुँदै जान्छ । समयमै उपचार भएन भने उपचार प्रक्रिया पनि जटिल हुन्छ र स्वर पहिलेको अवस्थामा नफर्कने समेत हुन्छ । गीत गाउने व्यक्ति र शिक्षकले आफ्नो पेसा नै छाड्नुपर्ने पनि हुन सक्छ ।

कतिपय पेसा, क्षेत्र नै यस्तो हुन्छ, जहाँ चर्को स्वरले बोल्नुपर्ने हुन्छ । के उनीहरू यस्ता समस्याको जोखिममा छन् ?

जसको पेसा नै चर्को स्वरले बोल्नुपर्ने हुन्छ । शिक्षक, गायक–गायिका, राजनीतिज्ञ लगायतलाई यस्ता समस्या देखिने जोखिम अन्यमा भन्दा बढी हुन्छ । त्यसैले उनीहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

नेताहरू प्रायः चर्को आवाजमै बोल्नुपर्ने हुन्छ, कलाकारहरूले फरक आवाजमा क्यारिकेचर गर्नुपर्ने हुन्छ, उनीहरूलाई यस्तो समस्या कति देखिएको छ ?

नेताहरू प्रायः चर्को आवाजमै बोल्छन् । कलाकारहरूले पनि फरक आवाजमा क्यारिकेचर गर्नुपर्ने हुन्छ, त्यसैले उनीहरूलाई यस्ता समस्या बढी देखिएको छ । चर्को स्वरमा बोल्दा तथा भोकल कर्डमा दबाब परेर यस्ता समस्या लिएर नेता र कलाकार आउने गरेका छन् ।

‘स्वरमा समस्या भएर मलाई बोल्नै गाह्रो भयो । गीत गाउँदा हाई र लो पिचमा गाउन सक्दिन’ भन्दै थुप्रै कलाकार अस्पताल आउने गरेको हामी पाउँछौ ।

स्वरयन्त्रमा समस्या भएपछि त्यसको के कस्ता लक्षण देखिन्छन् ?

भोकल कर्डमा समस्या भएपछि सबैभन्दा पहिले र प्रमुख लक्षण भनेको आवाजमा परिवर्तन हुने हो । आवाजमा परिवर्तन हुने बित्तिकै भोकल कर्डमा समस्या भएको हो कि भनेर अस्पताल आउनेको संख्या एकदमै कम छ । घाँटी बस्यो कि भनेर लामो समयसम्म कुरेर पनि बस्छन् । तर आवाजमा परिवर्तन आएको छ भने भोकल कर्डमा समस्या हो कि भनेर जाँच गर्नु जरुरी छ ।

भोकल कर्डमा हुने विभिन्न समस्यामा कतिलाई निल्न अप्ठ्यारो हुने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण पनि देखिन सक्छन् ।

यसको उपचार के हो ? औषधिले हुन्छ वा शल्यक्रिया गर्नुपर्छ ?

समस्या अनुसार यसको उपचार फरक–फरक हुन्छ । संक्रमण भएको छ भने कम बोल्ने, धेरै पानी पिउने, पानीको बाफ लिने गर्दा पनि समस्या कम हुन्छ । कसैलाई एन्टिबायोटिकको सेवन गर्नुपर्ने हुनसक्छ । आवाजको थेरापी र शल्यक्रिया गरेर पनि यसको उपचार गर्नुपर्ने हुनसक्छ ।

यसले क्यान्सर हुने जोखिम निम्त्याउँछ ?

धेरै चर्को स्वरमा बोल्दा भोकल कर्डमा समस्या भयो भने स्वर परिवर्तन हुन्छ । साथै स्वर यन्त्रमा क्यान्सर हुँदा पनि स्वरमा परिवर्तन हुन्छ । त्यसैले धेरै बोल्ने चर्को स्वरमा क्यान्सर हुन्छ भन्ने भ्रम पनि छ । तर धुम्रपान, सुर्तीजन्य पदार्थहरूको सेवन गर्ने व्यक्तिमा क्यान्सरको जोखिम हुन्छ । चर्को  स्वरमा बोलेका कारण र भोकल कर्डमा समस्या भएकै कारण क्यान्सर हुने भने होइन ।

डा.अरुण केसी श्वासनली स्वरयन्त्र
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

डा. केसी वीर अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत छन् । उनले सीएमएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ६४१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?