+
+
काठमाडौं–३ :

रिसाएका मतदाताले भने- ‘उम्मेदवार सबै उस्तै हुन्’

उम्मेदवारप्रतिको वितृष्णा काठमाडौं क्षेत्र नम्बर ३ मा देखिएको छ । त्यहाँका मतदाताले भने, ‘कोहीले केही गर्ला जस्तै लाग्दैन ।’

लिलु डुम्रे लिलु डुम्रे
२०७९ कात्तिक १७ गते ८:१२

१७ कात्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ३ का जयबहादुर तामाङलाई चुनावको माहोलले तानेकै छैन । जितेर गएकाले बेवास्ता गरेको उनको बुझाइ छ । निर्वाचितहरूको भूमिकामा चित्त नबुझाएका उनलाई हाल प्रतिस्पर्धामा देखिएका उम्मेदवारप्रति पनि विश्वास छैन ।

काठमाडौं क्षेत्र नम्बर ३ मा जन्मे–हुर्केका तामाङ पेशाले सुरक्षा गार्ड हुन् । उनले हरेक निर्वाचनमा फरक दललाई आफ्नो मत प्रयोग गर्दै आएका छन् । ३८ वर्षीय तामाङले मूलधारका दलहरूप्रति वितृष्णा व्यक्त गर्दै भने- ‘सबै उस्तै हुन् ।’

क्षेत्रभित्रको बाटो, शिक्षा, रोजगारी, स्वास्थ्य सेवालगायतमा निर्वाचितले ध्यानै नदिएको उनको गुनासो छ । ‘म जन्मे–हुर्केको यही ठाउँमा हो । पाँच/पाँच वर्षमा जिताएर पठाउँछौं । चुनावको बेलामा सबै गर्छौं भन्छन्’ तामाङले भने, ‘बाटो पिच हुनसकेको छैन । पार्टीहरूदेखि दिक्क लाग्छ ।’

जोरपाटी चोकमा कपडा पसल गर्दै आएका नानीप्रसाद बन्जाराको यो चुनावमा दल र उम्मेदवार हेर्ने दृष्टिकोण पनि तामाङको जस्तै छ । मैदानमा देखिएका उम्मेदवारबाट उनी उत्साही छैनन् । ‘सबै पेट भर्न जितेर जान खोजेका हुन् । सबै उस्तै हुन्’, बन्जाराले अनलाइखबरसँग भने ।

गोकर्णेश्वर– ८ का रतन श्रेष्ठकहाँ घरमै मत माग्न हालसम्म कोही आइपुगेको छैन । निर्वाचन आयोगले घरदैलो तथा सभा सम्मेलनका लागि १७ कात्तिक पछिको समय तोकेको हुँदा उनको घरमा दलका नेताहरू नपुगेका हुन् ।

ग्याँस सिलिण्डर बिक्री गरेर जीविकोपार्जन गर्दै आएका उनी नारायणचौर चोकदेखि गोकर्ण जाने कच्ची बाटोको दुर्दशामा दलहरूको दोष देख्छन् । उम्मेदवारप्रति निराशा व्यक्त गर्दै श्रेष्ठले भने, ‘कोहीले केही गर्ला जस्तै लाग्दैन ।’ निर्वाचनले आफ्नो दैनिक जीवनमा सुधार ल्याउनेमा उनी रत्तिभर विश्वास गर्दैनन् ।

नारायणचौर चोकदेखि गोकर्ण जाने बाटो

तामाङ, बन्जारा र श्रेष्ठले दलहरूप्रति देखाएको अविश्वास सुनेर अनलाइनखबरकर्मी टोली नेकपा एमालेको चुनावी सम्पर्क कार्यालयमा छिर्‍यो । जोरपाटी चोकबाट उत्तरतिर करिब २०० मिटर दुरीमा रहेको कार्यालयमा पुग्दा रामशरण ढुङ्गाना र विकास चालिसे भेटिए । भूमि आयोग काठमाडौंका पूर्व अध्यक्ष समेत रहेका ढुङ्गाना यस क्षेत्रका एमाले इन्चार्ज हुन् । विकास चालिसे यसै क्षेत्रका निवर्तमान सांसद कृष्ण राईको स्वकीय सचिव भइसकेका व्यक्ति हुन् ।

राई यस क्षेत्रका पूर्व निर्वाचित सांसद भएकाले हामीले मतदाताका ती प्रश्नहरू उनकै प्रतिनिधितिर तेर्स्यायौं । ‘जनतालाई सांसदको भूमिका के हो भनेर बुझाउनै सकिएन । नीतिनिर्माणमा सांसदको भूमिका हुने हो’ मतदातामा देखिएको नैराश्यताको जवाफमा सम्पर्क कार्यालयमा भेटिएका चालिसेले भने, ‘मतदाताले विकास निर्माणका साना–ठूला सबै काममा केन्द्रको सांसद नै खोज्छन् । गौरवका योजना तथा नीतिगत तहमा मात्रै सांसदको भूमिका हुन्छ ।’

चालिसेले भने, मूलतः सांसदको भूमिका विधिनिर्माणमा हुने बताए । विकासका कार्यमा नीतिगत समस्या भए कानुनी अड्चन हटाउने कार्यमा सांसदको भूमिका रहन्छ । तर पनि आफूले निर्वाचित गराएर पठाएका व्यक्तिको क्षेत्रको विकासमा प्रत्यक्ष भूमिका मतदाता खोज्छन् ।

रामशरण ढुङ्गाना

यहाँका स्थानीय मतदाता, विपक्ष दल, प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरू अघिल्लो पटक निर्वाचित राईको भूमिका संसदमा प्रभावकारी नदेखिएको आरोप लगाउँछन् । ‘जसले उनलाई मत दिए, ती मतदाताकै पहुँचमा राई थिएनन्’ कांग्रेसका स्थानीय नेता शंकर ढकाल भन्छन्, ‘जितेर गएपछि सबैको सांसद हुनुपर्ने हो । एमालेका केही व्यक्ति मात्रै उनको पहुँचमा थिए ।’

तर पूर्व सांसद राई अहिले दोहोरिने आशासहित चुनावी मैदानमा छन् । मतदाताको पहुँचमा नपुगेको उनीमाथि गुनासो आइरहँदा सांसदको भूमिका बुझाउन नसक्दा यो परिस्थिति आएको राईको विश्लेषण छ । ‘दलहरूले तीन तहका जनप्रतिनिधिहरूको अधिकार बुझाउन नसकेकै कारण यस्तो भएको हो । अब जितेर गएपछि सांसदको भूमिका जनतालाई बुझाउन म यो विषय संसदमा उठाउँछु’, राईले भने ।

राईको भूमिका प्रति यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका दुर्गाविक्रम थापा क्षेत्री पनि असन्तुष्ट छन् । ‘चुनेर पठाएको व्यक्ति पाँच वर्ष कहीं पनि सुन्न र देख्न पाइएन’, थापा क्षेत्री भन्छन् ।

तर, राई यसमा सहमत छैनन् । उनले यस क्षेत्रका नागरिकले भेट्न नपाएको तथा संसदमा नदेखिएको भन्नु भनेको चुनावी आरोप मात्रै भएको बताए ।

जस लिने होडबाजी

यो क्षेत्रको मूल विशेषता हस्तकलाका सामग्री, गलैंचा, पश्मिना उत्पादन हो । यी वस्तु उत्पादनका लागि घरेलु, लघु र मझौला उद्योग उल्लेख्य छन् । निर्यातजन्य वस्तु उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने क्षेत्रमा यसलाई मूलधारका राजनीतिक दलले सरोकारको विषय बनाएका छैनन्

राई र कांग्रेस उम्मेदवार सन्तोष चालिसेमा एउटा विषयमा चाहिं समानता छ । २०७४ सालमा संघमा निर्वाचित हुँदा चालिसे गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । यस क्षेत्रको अधिकांश भाग गोकर्णेश्वर नगरपालिकामा पर्दछ ।

संघमा जित्ने राई र स्थानीय तहमा निर्वाचित चालिसे यस क्षेत्रमा भएका विकासका काममा जस लिन प्रयत्नरत छन् । क्षेत्रको प्रमुख समस्याका रूपमा रहेकाले सडक निर्माण दुवैले आफ्नो पहलमा सम्भव भएको दाबी गर्छन् ।

जोरपाटी–सुन्दरीजल पिच एमालेका पूर्व सांसद राईकै बलमा सफल भएको एमालेका रामशरण ढुङ्गाना दाबी गर्छन् । २२ मिटर चौडा बाटो बनाउने प्रयास कांग्रेसका कारण असफल भएको उनले बताए ।

धुलाम्मे बाटोले स्थानीय विरोधमा उत्रने तथा सडक फराकिलो बनाउँदा केही घरमा समेत क्षति पुग्ने भएपछि बाटोको मापदण्ड परिवर्तन गरिएको थियो । उक्त बाटो पिच गर्नमा राईको कुनै भूमिकै नभएको कांग्रेसको दाबी छ ।

केन्द्र सरकारले स्थानीय तहलाई नै पिच गर्ने अधिकार दिएपछि गोकर्णेश्वर नगरपालिकाका प्रमुख चालिसेको बलमा सडकको सुधार भएको कांग्रेसको दाबी छ । ‘उहाँ (राई) त बाटो पिच गर्ने पक्षमै हुनुहुन्थेन । मेयरकै प्रयासले सडक बन्यो’, कांग्रेसका स्थानीय नेता शंकर ढकालले भने ।

बागमतीलाई सफा गराउन पानी बगाउने तथा काठमाडौंमा पानीको रिचार्ज गर्ने उद्देश्यले निर्मित धापको ड्याम निर्माण भएको छ । यस कार्यमा समेत कांग्रेस-एमाले एकले अर्कोलाई जस दिन तयार छैनन् । राई आफ्नो बलमा बनेको दाबी गर्छन् । गोकर्णेश्वर नगरपालिकामा बनेको यो योजना आफ्नै प्रयासमा भएको कांग्रेस उम्मेदवार चालिसेको दाबी छ ।

कागेश्वरीमा संसारकै ठूलो कागको प्रतिमा बनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन काग बनाइएको एमालेको भनाइ छ । प्रदेश ‘ख’ मा एमालेबाट अघिल्लोपल्ट निर्वाचित रामेश्वर फुँयालको नेतृत्वमा उक्त कार्य सम्पन्न भएको एमालेको दाबी छ ।

विश्वकै ठूलो कागको मूर्ति बनाएपछि पर्यटकका लागि होटल, रेस्टुरेन्ट सञ्चालनमा आउँदा रोजगारी सिर्जना भएको एमालेका स्थानीय नेताहरू बताउँछन् । आदर्श क्याम्पसमा बनेका दुई भवन तथा वडा नम्बर ६ मा निर्मित बागमती नगर र पिजन पार्क एमालेका पूर्व सांसद राईको पहलमा सम्भव भएको उक्त दलको दाबी छ ।

नारायणचौर चोक–गोकर्ण जानेबाटो यो क्षेत्रका लागि समस्या बनेको छ । ट्यांकरहरूको बाक्लो ओहोरदोहोर हुने क्षेत्रका सडकमा सवारी साधन गुडाउनेहरूले सास्ती भोग्दै आएका छन् । यो सडकखण्ड गत फागुनमा निर्माण सम्पन्न हुने गरी टेन्डर आह्वान हुँदा समेत स्थानीय तहले रोकिदिएको एमालेका स्थानीय नेता विकास चालिसे बताउँछन् ।

विकास चालिसे

क्षेत्रमा मूल समस्या सडकको छ । जोरपाटी–सुन्दरीजल बाटो पिच भए पनि अन्य सडकको स्तरोन्नति प्रमुख मुद्दा बनेको छ । क्षेत्रमा रहेका गागलफेदी, मूलखर्क, जगडोल, तारेभिरलगायत क्षेत्रका बाटोको स्तरोन्नतिको मुद्दालाई समेत उम्मेदवारले उठाएका छन् ।

मेलम्ची खानेपानीको सुन्दरीजलस्थित पानी संकलन तथा वितरण केन्द्र यसै निर्वाचन क्षेत्रमा अवस्थित हुँदा पनि यस क्षेत्रका बासिन्दाहरू उक्त खानेपानीबाट वञ्चित रहेको तथा स्थानीय स्रोतसाधनको उपयोग हुँदा स्थानीय क्षेत्रलाई कुनै प्रतिफल प्राप्त नभएको विषय पनि उठेको छ ।

मेलम्चीको पानी काठमाडौंमा वितरणको प्रमुख प्रस्थानबिन्दु काठमाडौं–३ मै पर्छ । तर, यो क्षेत्रका अधिकांश बासिन्दाले मेलम्चीको पानी प्रयोग गर्न पाउँदैनन् । कांग्रेसले मेलम्चीको पानीलाई जोडेर नयाँ मुद्दा उठाएको छ । मेलम्चीमा आएको पानीको केही मात्रा नियमित बागमतीमा बगाउन सकिए स्वच्छ बागमती बनाउन सकिने कांग्रेसका एकजना क्षेत्रीय नेता बताउँछन् । ‘मेलम्चीको २० देखि २५ प्रतिशत पानी बागमतीमा मिसाउन सकिए ३६५ दिन नै स्वच्छ बागमती बनाउन सकिन्छ’, ती क्षेत्रीय नेता भन्छन् ।

यो क्षेत्रको मूल विशेषता हस्तकलाका सामग्री, गलैंचा, पश्मिना उत्पादन हो । यी वस्तु उत्पादनका लागि घरेलु, लघु र मझौला उद्योग उल्लेख्य छन् । निर्यातजन्य वस्तु उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने क्षेत्रमा यसलाई मूलधारका राजनीतिक दलले सरोकारको विषय बनाएका छैनन् ।

कांग्रेसएमालेलाई आफ्नैको डर

राई एमालेका पोलिटब्यूरो सदस्यसहित काठमाडौंका सह–इन्चार्ज हुन् । कांग्रेसका उम्मेदवार चालिसेले क्षेत्रीय सभापति दोहोर्‍याएका छन् । निर्यात क्षेत्रमा लामो समय काम गरेका व्यक्ति दुर्गाविक्रम थापा क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । थापा क्षेत्री निर्यात व्यवसायी महासंघको उपाध्यक्ष समेत हुन् ।

कांग्रेसका उम्मेदवार चालिसेलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले असहयोग गर्ने चर्चा हुने गरेको छ । कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘गोकर्णेश्वरको मेयरको टिकट दीपकले ल्याएपछि सन्तोषजीले उहाँलाई जिताउन सहयोग गर्नुभएन । अहिले दीपकजीले कांग्रेसकै उम्मेदवारलाई सहयोग नगर्ने हुन् कि भन्ने आशंका छ ।’

अघिल्लो पटक चालिसेले जितेको गोकर्णेश्वर नगरपालिकामा यसपटक रिसाल निर्वाचित भएका छन् । चालिसे सक्रिय भएर रिसालका पक्षमा नलाग्दा कम मतान्तरबाट जित निकाल्न सम्भव भएको स्थानीय कांग्रेस नेताहरू बताउँछन् ।

त्यस्तै, प्रतिनिधिसभाका एमाले उम्मेदवार राईले स्थानीय तहमा एमालेका प्रतिस्पर्धी  उद्धव विष्टलाई साथ नदिएको चर्चा क्षेत्रमा हुने गरेको छ । राईकै असहयोगले एमालेले मेयर पद गुमाएको विषय पनि यहाँ चर्चामा छ । कांग्रेसका रिसालले ९ हजार ६९२ ल्याउँदा एमालेका विष्ट ८ हजार ५०४ ल्याई पराजित भएका थिए ।

कांग्रेसलाई हालसम्मको अवस्थामा गठबन्धन दल माओवादी केन्द्रले पनि पूर्ण सहयोग गर्ने देखिंदैन । प्रदेशतर्फ (ख) मा गठबन्धनबाट आफ्नो उम्मेदवार नपाएपछि माओवादीले संघ र प्रदेश दुवैतर्फ उम्मेदवार उठाएको छ । माओवादीबाट संघमा बद्री बजगाईं, प्रदेशतर्फ (क) मा कपिलमुनि उप्रेती, (ख) मा महेश्वर फुँयाल उम्मेदवार छन् । तर बुधबार मात्रै माओवादी केन्द्रले बजगाईं र उप्रेतीलाई आफ्नो उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ ।

कांग्रेसलाई पनि प्रदेश सभामा बागी उम्मेदवारको भय छ । प्रदेशतर्फ (क) मा कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा छन् भने ख मा विमल ठकुरी छन् । दोर्जे उम्मेदवार भएकै क्षेत्रमा दीपेन्द्र लामा कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका छन् । लामा काठमाडौं महानगरको वडा नम्बर ६ का पूर्व वडाअध्यक्ष हुन् । महानगरको एउटा मात्रै वडा यस क्षेत्रमा पर्दछ । जहाँ क्षेत्रभरिका अन्य वडाको तुलनामा धेरै मतदाता छन् । यस वडामा १५ हजार ५३१ मतदाता छन् ।

गोकर्णेश्वर नगरपालिकाको प्रमुख हुँदा गरेका कामकै बलमा कांग्रेसका उम्मेदवार चालिसे विजयी हुने उक्त दलको दाबी छ । ‘कोरोनाको समयमा गरेका कार्य, सडकको स्तरोन्नति/पिच, फोहोर व्यवस्थापन जस्ता धेरै काम सन्तोष दाइले गर्नुभएको छ’ कांग्रेस स्थानीय नेता शंकर ढकाल भन्छन्, ‘हाम्रो कामकै आधारमा हामीलाई जित्न गाह्रो छैन ।’

गत निर्वाचनको अंकगणित

गोकर्णेश्वर नगरपालिका पूरै यो निर्वाचन क्षेत्रमा पर्दछ । त्यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर ६ सहित कागेश्वरी मनोहरा नगरपालिकाको १, २ र ३ वडा यस क्षेत्रमा पर्दछन् । गोकर्णेश्वर, काठमाडौं वडा नम्बर ६ मा कांग्रेसले जितेको छ । कागेश्वरी मनोहराको २ नम्बर वडामा कांग्रेस निर्वाचित भएको छ । स्थानीय तहको मतको आधारमा कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले १५ हजार ७९५, एमालेले १४ हजार ८७६, माओवादी केन्द्रले १ हजार ७३०, एकीकृत समाजवादीले एक हजार ५६ मत पाएका छन् ।

२०७४ सालमा वामगठबन्धनबाट एमालेका राई १९ हजार १६९ मतसहित विजयी हुँदा कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन् । बस्नेत हाल समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् । कांग्रेसबाट उम्मेदवारको आकांक्षी रहेका हरिबोल भण्डारीले प्रचार संयोजन गरिरहेका छन् ।

कृष्ण राई

कुल १३ वडामा मतदाताको संख्या ५८ हजार ८८९ छ । चुनावी प्रतिस्पर्धामा दल र स्वतन्त्र गरी २३ जना छन् ।

सांसदको भूमिका जनतालाई बुझाउनुपर्नेछ : कृष्ण राई (उम्मेदवार, एमाले)

आम निर्वाचनमा व्यक्तिको चुनावी एजेण्डा हुँदैन । वडाअध्यक्ष वा पालिकाको प्रमुखमा उठ्दा व्यक्तिले आफ्नो वडा वा पालिकामा यस्तो यस्तो गर्छु भन्ने योजना हुन्छ ।

सांसद भनेको त राष्ट्रिय कानुन बनाउने ठाउँमा पुग्ने व्यक्ति हो । दलले ल्याएको घोषणापत्रमा जे हुन्छ, त्यही नै मेरो चुनावी एजेण्डा हुन्छ । जितेर गएपछि त्यसलाई कार्यान्वयन गर्ने व्यक्ति सांसद हो । आफ्ना मुद्दा कार्यान्वयन गर्ने कार्यकारी अधिकार समेत सांसदलाई हुँदैन । कार्यकारी पद त मन्त्री वा प्रधानमन्त्री हो ।

जनतालाई सांसदको भूमिका के हो भनेर बुझाउनै सकेका छैनौं । जनतालाई बुझाउन नसक्दा उनीहरूले विकास निर्माणका काम सोधिहाल्छन् । भौतिक विकासका विषयमा एउटा सांसदको हैसियतमा जे गर्न सकिन्छ, त्यही गर्ने हो ।

मैले सांसद भइसकेपछि नीतिगत रूपमा उठाउनुपर्ने विषय हुन्छन् । तर पनि विकास निर्माण वा भौतिक पूर्वाधारका क्षेत्रमा मतदाताको चासो सुन्नैपर्दछ । स्थानीय, प्रदेश र केन्द्र सरकारले गर्ने कामहरू बुझाउने प्रयास गर्छु । संविधान पढेको भन्ने धेरै भेटिन्छन्, अनुसूची पढेका हुँदैनन् । संविधानले तोकेको क्षेत्राधिकार बुझाउने काम त नागरिक समाजको पनि हो नि ! नागरिक समाजले बुझाउँदैन ।

यो विषय मैले संसदमा उठाएँ पनि । जितेर गएर फेरि पनि उठाउँछु । तर, मेरो आवाज कमजोर वा मलिन भयो होला ।

कतिपयले दोहोर्‍याएर तपाईंलाई भोट किन भनेर पनि सोध्छन् । एउटै कार्यकालमा कायापलट गर्न नसकिने बाध्यता मतदातालाई भन्ने गरेको छु । एकपटक जित्दैमा कायापलट हुने भए त आवधिक निर्वाचन नै किन गर्नुपथ्र्यो र ?

पालिका प्रमुख भएर गरेका काम देखाएर मत माग्छु : सन्तोष  चालिसे (उम्मेदवार, नेपाली कांग्रेस)

सन्तोष  चालिसे

गोकर्णेश्वर नगरपालिकाको प्रमुख भएर पाँच वर्ष काम गरें । मैले पाँच वर्षमा गरेका राम्रा कामको आधारमा भोट माग्ने हो । मलाई थाहा छ सांसदको काम कानुन बनाउने हो । क्षेत्रका जल्दाबल्दा समस्या उजागर गर्ने हो ।

काठमाडौं–३ मा सुकुम्बासीको ठूलो समस्या छ । यो समस्या समाधान गर्न आफूले गर्नसक्ने काम गर्छु । सुकुम्बासी आयोगद्वारा समस्या निराकरण गर्नुपर्ने हुन्छ । उनीहरू सबैको स्थायी बसोबासका लागि आवाज उठाउनु छ ।

सुन्दरीजलभन्दा माथि आवतजावत गर्दा पैसा तिर्नुपर्ने अवस्था छ । त्यसलाई तुरुन्त हटाउने काममा म लाग्छु । प्राथमिक स्वास्थ्य सेवा निःशुल्क, महिला सुरक्षा, ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, बेरोजगार समस्यालगायत कुरा मेरा एजेण्डा हुन्छन् ।

कांग्रेस–एमालेलाई गाली गरेर मत माग्दिनँ : दुर्गा विक्रम थापा क्षेत्री (उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी)  

घूसको विरोध गर्ने र घूस लिने र दिने कार्यको अन्त्य गर्ने मेरो चुनावी मुद्दा हुन्छ । ‘घूसका विरुद्ध विष’ हाम्रो नारा नै छ । उम्मेदवारी हिसाबले यो मेरो व्यक्तिगत मुद्दा पनि हो ।

नागरिकको दैनिक कठिनाई पनि मेरो चुनावी मुद्दा हो । सरकारी अड्डामा जनतालाई दुःख दिने, समयमा काम नगरिदिने गर्छन् । नागरिकले समयमा शुल्क नबुझाउँदा जरिवाना तिर्नुपर्दछ । सरकारले समयमा नागरिकको काम नगरेपछि उसले पनि जनतालाई जरिवाना तिर्नुपर्दछ । यो मेरो एउटा मुद्दा हो । सीपमूलक शिक्षा, स्वास्थ्य बीमा मेरो चुनावी मुद्दामा पर्छन् ।

दुर्गा विक्रम थापा क्षेत्री

यस क्षेत्रमा सडक र ढल व्यवस्थित छैनन् । सांसद भएर यी समस्या बनाउने त होइन, त्यसलाई जनतालाई पनि प्रष्ट गर्नुपर्दछ । क्षेत्रमा बस्ने सबैले नागरिकका आधारभूत अधिकार पाउनै पर्दछ । स्थानीय तहको सरकारसँग मिलेर काम गर्ने संकल्प गरेको छु ।

तीन तहका जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार मतदातालाई बुझाउँछु । मातहतका निकायले जनताका समस्या समाधान गरे/नगरेको बुझेर झक्झकाउने काम गर्छु । तीनै तहमा मेरो समन्वय गर्ने भूमिका पनि हुनेछ ।

क्षेत्रभित्रका मतदाताहरूको धारणा बुझिसकेको छु । थोरै स्थानमा पुगेको छु, तर धेरैभन्दा धेरै जनाको प्रतिक्रिया सुनेको छु । कांग्रेस एमालेप्रति जनतामा वितृष्णा छ त्यो मत मात्रै पाउँछौं भन्ने छैन । हामीले विश्वास पनि दिलाउन सक्नुपर्दछ । त्यसैले हामी लागू हुनसक्ने एजेण्डा मात्रै भन्छौं । गलैंचा, पश्मिना, हस्तकलालगायतका वस्तुको उत्पादन र बजार विस्तार गर्ने मेरो उद्देश्य छ ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?