+
+

फराकिलो विजय जोगाउने चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १५:२३

२०२३ असारमा धादिङको मलेखुमा जन्मिएका भूमिप्रसाद त्रिपाठीले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । २०३६ सालमा अनेरास्ववियु पाँचौंको प्रारम्भिक कमिटी सदस्य भएर विद्यार्थी राजनीतिमा आएका उनी २०४९ मा नेपाल ल क्याम्पसको स्ववियु सचिवमा निर्वाचित भए ।

२०५५ मा नेकपा (एमाले)को धादिङ जिल्ला कमिटी सदस्य भएका त्रिपाठी २०६६ मा सचिव, २०६९ मा उपाध्यक्ष र २०७१ मा अध्यक्ष निर्वाचित भए । २०७८ मा जिल्ला अध्यक्षमा दोहोरिएका उनी हाल त्यही भूमिकामा छन् ।

त्रिपाठीले पहिलो पटक २०७४ मा संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने मौका पाए, त्यो पनि वाम गठबन्धनको बल भएको बेला । धादिङ–१ बाट उठेका उनले पहिलो प्रयासमै कांग्रेसका विश्वप्रसाद अर्याललाई २७ हजार १५३ मतको फरकले पराजित गरे । उक्त चुनावमा त्रिपाठीले ४९ हजार १२१ र अर्यालले २१ हजार ९६८ मत पाएका थिए ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी फेरि धादिङ–१ बाटै उठेका छन् । २०७४ मा उनका लागि भोट मागेका मलेखुकै राजेन्द्रप्रसाद पाण्डे यसपटक सत्तारुढ गठबन्धनको तर्फबाट धादिङ–१ मै चुनावी प्रतिस्पर्धामा छन् । वागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका उनी नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष पनि हुन् ।

२०४३ सालदेखिको निर्वाचनका अनुभवी पाण्डे २०७४ मा धादिङ–१ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार थिए, वाम गठबन्धनबाटै ।

धादिङ–१ मा यसपटक दलका र स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् । पाण्डे र त्रिपाठीसँग चारदशक लामो राजनीतिक सहयात्रा गरेका उत्तम कँडेल पनि स्वतन्त्र उम्मेदवार बनेका छन् । खास प्रतिस्पर्धा भने चार दशक एउटै पार्टी र चुनाव चिह्नमा सहकार्य गरेका पाण्डे र त्रिपाठीबीच नै हुनेछ ।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा धादिङ–१ मा दलगत रूपमा वडाअध्यक्षहरूले पाएको मतमा एमाले अगाडि छ । उक्त चुनावमा एमालेले ३१ हजार ३४०, नेकपा (माओवादी केन्द्र)ले २१ हजार ३०३, नेपाली कांग्रेसले १६ हजार १३१, एकीकृत समाजवादीले ६ हजार ९०९, राप्रपाले ८१५ र स्वतन्त्र उम्मेदवारले ३१० मत पाएको देखिन्छ ।

त्रिपाठी ३१ हजार ३४० मतको बलमा चुनावी मैदानमा उत्रँदा गठबन्धनको पक्षमा ४४ हजार ३४३ मत छ । त्यसमाथि, यही क्षेत्रको प्रदेशसभा (क) मा पार्टीका पुराना नेता नेत्र पौडेल बागी उम्मेदवार बनेका छन् । पार्टीभित्रको विवादले एमाले पंक्ति एकीकृत रूपमा चुनावी मैदानमा उत्रन सकेको छैन ।

त्यसबाहेक उत्तम कँडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका कमेडियन हिमेश पन्तले पनि भोट तान्ने नै छन् । यो सबै अवस्था एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीका लागि बढी प्रतिकूल देखिन्छ । उनी अघिल्लो पटकको फराकिलो विजय जोगाउने कडा चुनौतीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?