+
+

लघुकथा : राजनेता हरिश्चन्द्र

प्रकाश तिवारी प्रकाश तिवारी
२०७९ कात्तिक १९ गते १६:४४

धेरै वर्षअघिको कुरा हो, अभिषेक जागिरको खोजीमा काठमाडौं हान्नियो । अनेकौं गोता खाएपछि बल्लतल्ल उसले मुखियाको जागिर भेट्टायो । खरिदार तहमा पुग्दा उसको विवाह ऋचासँग भयो । सरकारी जागिरे भएकाले शिवरामले पनि विना आनाकानी छोरी दिए । अनि छोरीका नाममा तीन आना घडेरी बकसपत्र गरिदिए ।

शिवराम ज्वाइँले छिटोभन्दा छिटो घर बनाएको देख्न चाहन्थे । परन्तु विवाहको एक दशक बित्दासम्म अभिषेकले घर बनाउन सकेन । अब भने ससुरा शिवराम कस्तालाई छोरी दिएछु भन्दै पछुताउ गर्न थाले । ‘गर्नेले सानै जागिरबाट पनि ठूलै चकचकी गरेका छन् । ह्याउ नभएको मान्छे !’ उनी दुःखेसो पोख्थे । रिटायर्ड हुन केही वर्ष बाँकी थियो । घर बनाउन नसकेको मानसिक दबावमा रहेको अभिषेकले भएभरको पैतृक सम्पत्ति बिक्री गर्‍यो । सञ्चय कोषबाट कर्जा निकाल्यो । तब उसले काठमाडौंमा एकतले घर ठड्यायो ।

अभिषेकको छिमेकमा विशिष्ट सार्वजनिक पद धारण गरेका हरिश्चन्द्रको बङ्गला थियो । दुई रोपनी जग्गाभित्र बनेको उक्त बङ्गला सिद्धहस्त बेलायती वास्तुकलाविद्कोे डिजाइन अनुसार तयार गरिएको थियो । बङ्गला यति सानदार थियो कि देख्नेहरू छक्क पर्थे । तीस वर्षअघि चप्पल पड्काउँदै काठमाडौं छिरेका हरिश्चन्द्र त्यो औकातमा कसरी पुगे ? न कसैले सोध्यो । न उनले जवाफ दिनु नै पर्‍यो ।

अभिषेकले घर बनाएको एक वर्ष पुगेपछिको कुरा हो । उज्यालो हुन बाँकी थियो । एक हूल बर्दीधारी उसको ढोका ढक्ढक्याउन पुगे । घरमा एकाबिहानै प्रहरी आएको देखेर अभिषेक अत्तालियो । श्रीमती ऋचा र छोराछोरी रुन–कराउन थाले । बर्दीधारी ढोका खोल्न भनिरहेका थिए ।

अभिषेकले डराई–डराई ढोका खोल्यो । बर्दीधारी टोली घरभित्र घुसे । उनीहरूले अभिषेकलाई भनेबमोजिम गर्न आदेश दिए । खानतलासी सुरु भयो । छरछिमेकीहरू घाँटी तन्काई–तन्काई अभिषेकको घरतर्फ हेरिरहेका थिए । केही त ‘बल्ल खाइस् खुच्चिङ्’ भन्दै कुम ठोकिरहेका पनि थिए । केही बेरमा अभिषेक प्रहरी घेरामा बाहिर निस्कियो । उसको हातमा हत्कडी थियो । ऊ आदेशको पालना गर्दै प्रहरी भ्यानमा बस्यो ।

अनुसन्धान, तहकिकात चल्यो–
‘बैंकमा कति पैसा छ ल आफैं भन्नुस् ?’
‘बैंकमा पैसा हैन, ऋण तिर्न बाँकी तमसुक छ ।’
‘खरिदारको जागिरबाट काठमाडौंमा घर कसरी बन्यो ?’

अनुसन्धान कर्मचारी र अभिषेकबीच रोचक सवालजवाफ चले । ऊमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरियो । तर अभियोग पुष्टि हुने पर्याप्त आधार नभएको कारण देखाउँदै अदालतले सफाइ दियो ।

अभिषेकले न्यायिक नजरबाट त सफाइ पायो तर जोरीपारी र छरछिमेकीका नजरबाट सफाइ पाउन सजिलो थिएन । ‘ठूलै मुठो बुझाएर जितेजस्तो छ ! धन भनेपछि भगवानका तीन नेत्र …!’ जोरीपारी र छरछिमेकीहरू भन्थे । ऊ सामाजिक बहिष्करणमा पर्‍यो । छरछिमेकी ऊसँग भेट्दा साइत बिग्रन्छ भन्दै मुख फर्काएर हिंड्थे । त्यसबाट अभिषेकमा ठूलो मानसिक आघात पुग्यो ।

अभिषेकको बानी–व्यहोरामा नजानिंदो परिवर्तन आउन थाल्यो । ऊ निकै कम बोल्दथ्यो । अक्सर टोलाइरहन्थ्यो । कहिलेकाहीं त पागलजस्तो व्यवहार पनि गर्थ्यो । अन्ततः अभिषेकले घर बेच्ने निर्णय लियो ।

घर बेचेको दुई महिनापछिको कुरा हो । झिसमिसे बिहानी थियो । अभिषेक सपरिवार ट्याक्सीमा चढ्योे । ऊ कहाँ जाँदैथियो, कसैलाई थाहा थिएन । ट्याक्सी गुड्नुअघि उसले आफू बसेको घरमा एकसरो नजर दौडायो । अनायास अभिषेकका आँखा रसाएर आए । आँखाबाट आँसुको मूल फुट्यो । मुटुमा भक्कानो छुटेर आयो । छोरा निर्मलले ‘नरुनुस् बाबा !’ भन्दै आँसु पुछिदियो ।

ऊ चढेको ट्याक्सी बसपार्कभित्र छिर्‍यो । केही बेरमा ऊ सवार बस गन्तव्यतर्फ अघि बढ्यो । अपराह्नको तीन बजे अभिषेक चढेको बस नेपाल बोर्डर पुग्यो । देशमा संसदीय चुनावको सरगर्मी उच्चतम विन्दुमा पुगेको समय थियो, त्यो ।

उसका आँखा पुनः एक पटक चुनाव प्रचारका पोस्टर–व्यानरमाथि परे । त्यसमध्येको एउटा व्यानर उसका चिरपरिचित छिमेकी हरिश्चन्द्रको थियो ।

‘हरिश्चन्द्र अर्थात् देशका भाग्य विधाता ! राजनेता हरिश्चन्द्रलाई भारी मतले विजयी गराऔं !’ पोस्टरको माथिल्लो किनारामा लेखिएको थियो ।

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?