+
+
स्थलगतः झापा १ :

विश्वप्रकाश शर्माको तुफान गति

बिनु सुवेदी बिनु सुवेदी
२०७९ कात्तिक २० गते ११:३४

२० कात्तिक, चार आली (झापा) । पोहोर पार्टीको १४ औं महाधिवेशन चल्दै गर्दा महामन्त्रीका दावेदार विश्वप्रकाश शर्माको गलामा रातो गलबन्दी छुट्दैनथ्यो । लामो समय संस्थापन पक्षमै रहेको र पार्टीभित्र संकट आइलागेका बेला प्रवक्ता भएर काम गरे पनि महामन्त्रीको दावेदारी पेश गर्दा शर्मालाई पार्टी सभापति शेरबहादुर देउवाले पत्याएनन् । बरु विद्यार्थी राजनीतिबाटै उदाएका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए, त्यसमा कृष्णप्रसाद सिटौलाको ठूलो भूमिका रह्यो ।

शर्मा उछिट्टिएर सबैभन्दा कमजोर समूह मानिएको प्रकाशमान सिंह समूहबाट महामन्त्रीका उम्मेदवार बने । महाधिवेशन अवधिभर त्यही रातो मफलर नछोडेका शर्मा जसै महामन्त्रीमा विजयी भए, मफलर थपक्कन झिकेर राखिदिए । त्यसपछि उनको गलामा निकै समय मफलर देखिएन ।

झण्डै १० महिनापछि आम चुनावको घोषणा भयो, शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बने । उनको गलामा आइपुग्यो हरियो मफलर । महाधिवेशनका बेला संस्थापनसँग विद्रोह गरेर उम्मेदवारी दिएका उनले रातो मफलरलाई विद्रोहको प्रतीक बनाएका हुन् या अरु केही ? मुख खोलेका छैनन् । अहिले हरियो मफलर एकछिन पनि नछुटाउनुको कारणबारे पनि शर्मा खुलेनन् । यद्यपि त्यसबेला रातो र अहिले हरियो रंग रोजेर शर्माले केही सन्देश दिन खोजेको चाहिँ प्रष्ट हो ।

त्यही हरियो मफलरसहित शर्माले गरिरहेका छन् टोलटोलसम्मको पैदल यात्रा । हरेक दिनमा सात ठाउँमा पैदलयात्रा गर्ने तयारीसहित सुरु भएको विश्वप्रकाशको चुनावी हिँडाइ एक दिनमा २० किलोमिटर हाराहारी हुन्छ । त्यसैले यो हिँडाइमा उनले स्थानीयका कुरा सुन्ने, भलाकुसारी गर्ने, सुखदुःखका कुरा गर्ने केही पनि गर्न भ्याउँदैनन् । अघि–अघि हिँडिरहेका विश्वप्रकाशलाई भेट्न चुनाव प्रचारमा सहभागी अरुलाई हम्मे नै पर्छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआलीबाट शर्माले चुनावी हिँडाइ सुरु गरे । बिहान ८ बजे उनी त्यहाँ पुग्दा कांग्रेसको झण्डासहित कार्यकर्ता हिँड्न तम्तयार भएर बसेका थिए । गत स्थानीय तह निर्वाचन एमालेले जितेको उक्त वडाबाटै शर्माले औपचारिक पैदल यात्रा गर्नुको रणनीतिक अर्थ पनि थियो सम्भवत । त्यसैले उनले भिडमा गठबन्धनका साझेदार दल माओवादीको झण्डा खोजे, समाजवादीका साथीहरु कता हुनुहुन्छ भनेर सोधे ।

एकछिनमा माओवादीका कार्यकर्ताहरुले माओवादीको झण्डा लिएर आएपछि विश्वप्रकाशको यात्रा सुरु भयो । झापा १ (ख) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका श्यामवीर लिम्बु उम्मेदवार छन् । उनी जनयुद्धका घाइते पनि हुन् । हिँडाइमा शर्माले प्रदेश सभा सदस्य उम्मेदवार श्यामवीरका लागि पनि भोट मागे । ‘अहिले पनि श्यामवीरजीको शरीरभित्र गोली भेटिनसक्छ,’ शर्माले भने, ‘तर अब उहाँले बन्दुक होइन, कलम रोज्नुभएको छ । प्रदेशमा माओवादी र संघमा कांग्रेसलाई मतदान गरौं ।’

चुनावी यात्रामा शर्मा सकभर माओवादीका कार्यकर्ता र झण्डा छुटाउन चाहन्नन् । यसको कारण पनि छ । गत स्थानीय तहको चुनावमा गठबन्धन भएपनि कांग्रेसले आफ्नो उम्मेदवारलाई मतदान नगरेपछि झस्किएको माओवादीलाई विश्वासमा लिन शर्माले बलियो गठबन्धनको कुरा गरिरहेका हुन् ।

एउटा वडाको पद यात्राका लागि १ घण्टाको समय छुट्याएका शर्माको तुफानी गतिको हिँडाइ समूहमा सँगै भोट माग्न हिँडिरहेका कतिपयलाई मन परेको थिएन । शर्मालाई स्थानीय नागरिक भेटेर नमस्कार म विश्वप्रकाश शर्मा भन्ने बाहेक अर्काे कुरा गर्ने फुर्सद नै थिएन । कहीँ–कहीँ चाहिँ नागरिकले उनलाई रोकेरै आफ्ना कुरा सुनाइरहेका थिए । चारआलीबाट छिरेर अठारकट्ठे, तोलीबारी हुँदै आइतबारे पुगेर वडा नम्बर १३ को पदयात्रा सक्दा शर्माले सुकुम्वासी समस्या, पुल नबनेर भएको सास्ती, फुलवासाको तटबन्धलगायत विषयमा मतदाताका कुरा सुने ।

०७० को संविधानसभा निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार भएर त्यसबेला पराजय व्यहोरेका शर्मालाई यसपाली त जसरी पनि जिताउनुपर्छ भन्दै भोट मागरिरहेका कांग्रेस कार्यकर्ता शर्मा अघि–अघि हिँडे पनि घर–घर छिरेर भोट मागिरहन्छन् । यसपाली शर्मा पार्टीको पनि महामन्त्रीमा निर्वाचित भएको हुनाले उनलाई चुनाव जिताएर पठाए झापा क्षेत्र नम्बर १ का लागि नै गर्वको विषय बन्ने कार्यकर्ताहरुको भनाइ छ ।

शर्मा चार आलीबाट अठारकट्ठे, सुकुम्वासी टोल हुँदै आइतबारेको बाटो लाग्दा बीचमा उत्तरगंगा खोला भेटियो । पुल नभएका कारण खोला तर्दा जुत्ता खोल्नुपर्ने भयो । उनलाई कार्यकर्ताले मोटरसाइकलमा राखेर पारी तारे पनि चुनाव प्रचारमा हिँडेका सबैजना लगाएको जुत्ता खोलेर बल्लतल्ल खोलापारी पुगे । खोला तर्दै गर्दा एक जना कार्यकर्ताले भनिरहेका थिए, ‘यही देखाउनकै लागि हामीले उहाँलाई यो बाटो ल्याएका हौं ।’

बीचमै अर्का कार्यकर्ता बोलिहाले । उहाँ मोटरसाइकलमा गइहाल्नुभयो, समस्या जनतालाई भयो नि ! नेताहरुले जनताको दुःख बुझ्दैनन् ।’

त्यही खोलामा पुल बन्न थालेको तीन वर्ष भएको रहेछ । तीन वर्षमा तीनवटा पिलर उठाएर अलपत्र पारिएको र आफूहरुलाई हिँड्नै समस्या भएको स्थानीयको भनाइ छ । त्यसैले चुनावमा भोट माग्न आउने उम्मेदवारलाई समस्या देखाउने उपयुक्त मौका यही हो भनेर नागरिकले बुझेका छन् ।

शर्माले पनि सुकुम्वासीलाई लालपूर्जा वितरणका लागि पहल गर्नेदेखि पुल बनाउनेसम्म आश्वासन दिए । उनले झापा १ का ४१ हजार बढी घर र २५० बढी टोलमा पुगेर सबैसँग भेटघाट गर्ने बचनबद्धता पनि व्यक्त गरेका छन् ।

कांग्रेस महामन्त्री शर्माको तुफान गतिको दौडलाई जनताको विवेकले कति परख गर्नसक्छ, त्यसकै शर्माको जीत हार तय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?