+
+
कास्की २ :

मतदाताको आग्रह : बाटो बनाइदेऊ, बाँदर धपाइदेऊ

विकास रोकामगर विकास रोकामगर
२०७९ कात्तिक २१ गते २०:१२
उम्मेदवारका प्रतिबद्धता हेर्दै आँटीघरका मतदाता।

२० कात्तिक, पोखरा । घर नजिकै सत्तारुढ गठबन्धनले चुनावी कोणसभा राखेको छ । माइकको चर्को आवाजमा उम्मेदवारले आफ्ना चुनावी एजेन्डा सुनाइरहेका छन् । भाषण सुन्न फाटफुट गाउँलेहरु आउजाउ गरिरहेका छन् ।

सगुना गुरुङ (७१) लाई नेताको भाषणमा कुनै चासो छैन । उनी आँगनमा छरिएका दाउरा गोठभित्र थन्क्याउन ब्यस्त छिन् । उनका श्रीमान् गोपालजंग गुरुङ(८०) कान कम सुन्छन्, बरु गठबन्धनले बाँडेको चुनावी पर्चा पढ्दै मुसुमुसु हाँसिरहेका छन् ।

पोखरा महानगरपालिका-२०, आँटीघर कास्की-२ र प्रदेश सभातर्फ २ ‘२’ मा पर्छ । उम्मेदवार मत माग्दै घरघरमा पुगेका छन्, तर मतदाता बर्खायाममा लगाएको उब्जनी थन्क्याउने ध्याउन्नमा छन् ।

‘उनका कुरा सुनेर हाम्ले के गर्ने हो र ? बरु पानी परेर दाउरा रुझायो भने के बाल्ने ?’, सगुनाले प्रश्न गरिन्, ‘यति नगरे जाडो कसरी कटाउने ?’

पोखराको मुख्य बजारदेखि ७ किलोमिटर टाढा रहेको यो गाउँ महानगरकै सबैभन्दा अग्लो ठाउँमा पर्छ । यो क्षेत्रबाट २०७४ सालको प्रतिनिधिसभामा नेकपा एमालेबाट रवीन्द्र अधिकारी विजयी भएका थिए ।

तर, हेलिकप्टर दुर्घटनामा उनको निधन भएपछि उपनिर्वाचन हुँदा उनकै पत्नी विद्या भट्टराई निर्वाचित भएकी थिइन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि एमालेबाट विद्या नै उम्मेदवार बनेकी छन् भने सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् ।

२०७४ मा प्रदेशसभामा यो क्षेत्रबाट नेपाली कांग्रेसका विन्दुकुमार थापा प्रत्यक्ष निर्वाचित भए भने यसै क्षेत्रका वासिन्दा कुमार खड्का समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य भए । उनीहरु दुबै गण्डकी सरकारमा मन्त्री नै भए । भौतिक तथा पूर्वाधारमन्त्रीसमेत खड्काले एउटै वडामा ३० करोड रुपैयाँसम्म बजेट हाल्दा आँटीघर प्राथमिकतामा नपरेको गाउँलेको गुनासो छ ।

यसपटक पनि प्रदेश सभामा कांग्रेसका विन्दुकुमार थापा उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट मीना कुमारी गुरुङ उम्मेदवार छिन् ।

साविक मौजा गाविसको वडा नं. ४ मा पर्ने आँटीघरका वासिन्दा महानगरबासी भएकामा खुशी छैनन् । स्थानीय भुपाल रानामगर महानगरवासी बनाएर करको भारीमात्रै बोकाएको तर्क गर्छन् । ‘पहिले सय रुपैयाँ तिर्ने कर महानगर भएपछि ४ सय रुपैयाँ परेको छ । महानगर भन्नेमात्रै भयो, हामीले के फाइदा पायौं त ?’ उनले प्रश्न गरे ।

पोखरा शहरबाट गाडीले आधा घण्टामा नै गाउँमा पुर्‍याउँछ । तर सडकको अवस्था राम्रो छैन । बर्खामा जाने पहिरोले पोखरा शहरसँग गाउँको सम्पर्क नै टुट्छ ।

भएको सडक पनि उचित मर्मतसम्भार नहुँदा गाउँले आजित छन् । ‘बाटो त बिजोग छ । बाटो राम्रो भयो भने त पोखरा धेरै टाढा होइन नि’, स्थानीय दिलबहादुर सुनारले भने, ‘बनाउँछु भन्छन्, जहिल्यै यस्तै । धुलोहिलो खाएर हिँड्नुपर्छ ।’

बर्खामा मोटरबाटो बिग्रँदा वृद्ध, बिरामीलाई पोखरासम्म पुर्‍याउन पनि सास्ती भोग्नुपर्ने हात्तीगौंडाकी उजीर परियारले गुनासो गरिन् । ‘मेरो घरबाट यहाँ (आँटीघर) आउनै एक बिहानजस्तो लाग्छ । यहाँ आइपुग्यो, गाडी छुट्छ’, उनले भनिन्, ‘बर्खामा त झन् गाडी नचल्दा दुखबिमार परेकाले चारखुट्टा टेकेर पनि पोखरा पुर्‍याउनुपर्छ ।’

आँटीघर गाउँ।

आँटीघरमा करिब ८० घरधुरी छन् । त्यसमध्ये ४२ घर दलित समुदायका छन् । छपक्क ढुंगाले छाएको र १४ वटा हिमाल एकै आँखाले देख्न सकिने उक्त गाउँ पर्यटनका हिसाबले पनि उत्तिकै सम्भावना बोकेको छ । गाउँमा पर्यटक तान्न होमस्टे पनि सञ्चालन गरिएको छ ।

तर, बाटोकै कारण एकाध विदेशीबाहेक अन्य पाहुना कमै पुग्ने गरेको स्थानीय विकास गुरुङ दुखेसो पोख्छन् । ‘यो गाउँको सबैभन्दा ठूलो समस्या भनेकै बाटो हो । बाटो राम्रो बनाइदियो भने त पोखराबाट आधाघन्टामै यहाँ आउन सकिन्छ’, गुरुङले भने, ‘आएका टुरिस्टले कस्तो राम्रो ठाउँ भन्छन् । तर, बाटो देखेरै आउन खोज्दैनन् ।’

फलाएको फसल बाँदरको हातमा !

बाटोको दुर्दशासँगै आँटीघर, मौजाावासीको अर्को समस्या हो बाँदर । खेतबारीमा लगाएको बाली बाँदरले सबै खाइदिने भएपछि स्थानीय वासिन्दा आजित छन् । जसले जिते पनि बाँदर नियन्त्रण गरिदिए हुन्थ्यो भन्ने उनीहरुको अपेक्षा छ ।

‘बर्खाभरि दुःख गर्‍यो, २ महिना पनि खान पुग्दैन । बाँकी समय बेसाएरै खानुपर्छ’, स्थानीय शान्तकुमारी परियारले भनिन्, ‘त्यसमाथि दुख गरीगरी मकै लायो, भटमास लायो, खानेबेला बाँदरको हातमा पर्छ । हामी त हेरेको हेर्‍यै हुन्छम् नि !’

स्थानीयका अनुसार आँटीघर, मौजा क्षेत्रमा पहिले उतिसारो बाँदर लाग्ने थिएन । तर, केही वर्षयता अचाक्ली नै बढेको छ ।
दिलबहादुर सुनार पनि चुनावमा उठेकाहरुले बाँदर धपाउने कुनै जुक्ति निकालिदिए आफूहरु ढुक्क हुने सुनाउँछन् ।

‘बर्खाभरि दुख गर्‍यो, खानेबेला एक मुठी पनि हातमा पर्दैन । यी नेताहरुले बाँदर धपाइदिए त हामीजत्ति खुसी को हुन्थ्यो होला र ?’ उनले भने ।

स्थानीय भूपाल रानामगरले चुनावको मुखमा झुटा कुरा गर्नमात्रै गाउँमा नेताहरु आएको भन्दै आक्रोश पोखे । ‘नेपाल र इन्डिया यही भएर बिगि्रएको हो । अन्त यसरी चुनाव प्रचार कहाँ हुन्छ भन्नुस् त ?’ उनले प्रश्न गरे, ‘हामीले राजा, कांग्रेस, एमाले, माओवादी सबै भोग्यौं । केही फेरिएको छ त ?’

बसाइँसराइले रित्तिँदै बस्ती

८० वर्षीय गोपालजंग गुरुङको घर बस्तीभन्दा केही माथि भएकाले तलतिरका घरहरु जम्मै देखिन्छन् । आफू जन्मिनुभन्दा अगाडि नै बनाइएको उनको घरमा ठूलो आँगन छ । अहिले यो घरमा उनी र उनकी जीवन संगिनीमात्र बस्छन् ।

घरजम गर्दै सन्तान शहर झरिसके । ‘पहिलेपहिले त यो आँगनमा बस्ने ठाउँ नै हुँदैन थियो । घरभरि मान्छे हुन्थिम् । कति रमाइलो हुन्थ्यो’, गुरुङले भने, ‘अहिले त सुनसान छ । के गर्नु ? गाउँ छोड्न सकिएन ।’

हुन पनि अहिले आँटीघरमा आधाभन्दा बढी घर रित्तो भइसकेको छ । गाउँमा बुढाबुढी र शहर र्झन नसक्ने केही परिवारमात्रै बस्छन् । गाउँ रित्तिँदै जान थालेसँगै शताब्दीभन्दा पुरानो इतिहास बोकेका पुराना शैलीका घरहरु भग्नावशेषमा परिणत हुँदैछन् ।

कोही सुखको खोजीमा, कोही रोजगार र उच्च शिक्षाको खोजीमा शहर र्झन थालेपछि गाउँ सुनसान बन्न थालेको हो ।

गोपालजंगका तीन दाजुभाइमध्ये उनीमात्र गाउँमा बसेका छन् । उनका दुई दाजु उहिले नै शहर झरिसके ।

पोखरा बस्दै आएका आँटीघरकै अञ्चल रानामगर धान काट्ने मान्छे नभएकाले गाउँमा आएको बताए । ‘गाउँमा खेतबारी भएपछि त्यसै छोड्न पनि मन नलाग्दो रहेछ । गाउँमा काम गरिदिने मान्छे पनि छैनन् । आफैं धान काट्न आउनुपर्‍यो’, उनले भने ।

बाटो, स्कुल र स्वास्थ्यको राम्रो सुविधा भए गाउँ छोड्न नपर्ने स्थानीय वासिन्दा बताउँछन् । ‘गाउँमा दुखैदुख छ । को बस्न मन पराओस् र ? न बाटो राम्रो छ न स्कुलमै राम्रो पढाउँछन् । जागिर खोज्न सबै शहर झरिसके’, दिलबहादुर सुनार भन्छन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?