+
+

जरुरी छ कमाउने, जोगाउने र खर्च गर्ने कला

राम वि शाम राम वि शाम
२०७९ कात्तिक २३ गते १७:४४

‘जसले बचाउन जान्दैन, उसले बाँच्न जान्दैन’ ।

हामी बच्चालाई कसरी असल, सफल, कुशल बनाउने भन्ने ध्याउन्नमा हुन्छौं । त्यसैको लागि शिक्षादीक्षा दिन्छौं । तर पैसाको कुरा गर्दैनौं ।

न घर व्यवहारको कुरा सुनाउँछौं, न आर्थिक योजनाको कुरा नै । केही जान्नेबुझ्ने भएपछि बालबच्चालाई आर्थिक व्यवस्थापनका कुरा सिकाउनुपर्छ । पैसाको महत्व बोध गराउनुपर्छ ।

जरुरी चार कला

जीवनमा पैसाको महत्व कति छ ? यसबारे उनीहरुलाई बुझाउनुपर्छ । पैसा सबैथोक होइन । यद्यपि जीवनका थुप्रै आवश्यकता पूरा गर्न पैसा चाहिन्छ । त्यसो भए पैसा कसरी कमाउने त ? यो प्रश्नसँगै अन्य तीनवटा कुरा पनि बुझाउनु जरुरी छ ।

पैसाको कुरामा चारवटा कुरा महत्वपूर्ण छन् ।

एक, आम्दानीको कला ।

दुई, बचतको कला ।

तीन, लगानीको कला ।

चार, खर्चको कला ।

आफ्नो श्रम, विवेक, मेहनत नै पैसा आर्जन गर्ने मूल स्रोत हुन् । इमान्दारपूर्वक कुनै पनि काम, पेसा, व्यवसायबाट पैसा आर्जन हुनुपर्छ । यसका लागि सही समयमा, सही ढंगले, सही ठाउँमा लगानी गर्नुपर्ने हुन्छ । पैसा लगानीका लागि बचतको कला पनि जरुरी हुन्छ । पैसा कसरी जोगाउने ? कसरी फजुल खर्चबाट बच्ने ? यो कुरा जान्नुपर्छ ।

बालबच्चाले ठूला–ठूला काम गरेर आयआर्जन गर्न सक्दैनन् । यद्यपि आफ्ना पुराना किताब कपी बेचेर, आफूले बनाएको चित्र बेचेर, आफूले रोपेको फूल बेचेर आयआर्जन गर्न सक्छन् । यी सामान्य लाग्ने कुराबाट नै उनीहरुले पैसाको महत्व बुझ्छन् र श्रमको पनि ।

त्यसैगरी उनीहरुले पाउने पकेट खर्च कसरी राख्ने ? के कुुरामा खर्च गर्ने ? खर्च गर्दा के कस्ता होसियारी अपनाउने भन्ने कुरा बोध गराउन जरुरी छ ।

खुत्रुकेको कुरा

बालबालिकालाई बचत गर्ने कला सिकाउन घरमा एउटा खुटुके किनेर ल्याइदिनुपर्छ । आम्दानीको कम्तीमा पनि १० प्रतिशत बचत गर्नुपर्छ भन्ने कुरा सिकाउनुपर्छ । केही फजुल खर्च कटाएर दैनिक १०० रुपैयाँ मात्र बचत गर्न सक्यो भने २५ वर्षमने उमेरसम्ममा करिब १० लाख रुपैयाँ जम्मा हुन्छ । त्यसकारण सबैभन्दा पहिले बच्चालाई बचत गर्ने कुरा सिकाउनुपर्छ ।

राम वि शाम

अर्को कुरा बच्चालाई आम्दानी कसरी गर्ने भन्ने कुरा पनि सिकाउनुपर्छ । बच्चालाई बेच्ने र बोल्ने कला सिकाउनुपर्छ । केही न केही कुरा कसरी बेच्ने कसरी बोल्ने भन्ने कुरा सिकाउनुपर्छ । आम्दानीको निम्ति पहिले पैसाको महत्त्व बुझाउनुपर्छ । बच्चालाई बेच्ने र बोल्ने कुरा सानैदेखि सिकाइदियो भने ऊ संसारको जुनसुकै कुनामा गएर पनि बाँच्न सक्छ ।

बच्चालाई आम्दानी गर्न योग्य बनाउन सिकाइमा लगानी गर्नुपर्छ । त्यसैले पाठ्यक्रमभन्दा बाहिरको पुस्तक पढ्ने बानी बसाउने, अहिलेको डिजिटल युगमा बच्चालाई डिजिटाइलेसन सम्बन्धी ज्ञान पनि दिनुपर्छ ।

बालबच्चाको सिकाइमा लगानी

१६ देखि २० वर्षको उमेरमा बालबालिकाको सिकाइमा लगानी गर्नुपर्छ । सिकाइमा गरेको लगानीबाट नै उनीहरूले पछि उनीहरूले आम्दानी गर्न सक्छन् ।

बचत र लगानीमा के फरक छ भने बचतमा शून्य जोखिम हुन्छ भने लगानीमा जोखिम हुन्छ, त्यसैले लगानीको कुरा बिस्तारै सिकाउनुपर्छ ।

आम्दानी र लगानीभन्दा पनि महत्त्वपूर्ण कुरा भनेको खर्च हो । त्यसैले बालबालिकालाई कसरी खर्च गर्ने, कुन कुरामा खर्च गर्ने भन्ने सिकाउनुपर्छ ।

कम खर्च, धेरै आम्दानी

हामीले अहिलेसम्म सम्पूर्ण कुरा अरूलाई देखाउनका लागि गरिरहेका छौं । स्कुल गयो देखाउन, बिहे गर्‍यो देखाउन, कुनै नयाँ सामान किन्यो देखाउनकै निम्ति । त्यसैले देखाउनका लागि हामी धेरै खर्च गर्छौं । कुनै पनि व्यक्तिको खर्चभन्दा आम्दानी कम्तीमा पनि तीन गुणा बढी हुनुपर्छ ।

आम्दानीभन्दा खर्च भने बढी छ भने उसले कहिल्यै बचत गर्न सक्दैन । १५÷१६ वर्षको बालबालिकाको आम्दानीको स्रोत भने केही छैन । तर उसलाई १० हजारको जुत्ता लगाउनु परेको छ, बाइक चढ्नु परेको छ र आइफोन चलाउनु परेको छ भने उसलाई त्यो फजुल खर्च हो भनेर सिकाउनुपर्छ । उसको हरेक इच्छा पूरा गरिदियो भने उसले पैसाको महत्त्व बुझिंदैन । त्यसैले कसरी खर्च गर्ने, कसरी आम्दानी गर्ने, कसरी बचाउने र कसरी लगानी गर्ने भन्ने कुरा बच्चालाई सिकाउनैपर्छ ।

आर्थिक अवस्थाअनुसार खर्च गर्न सिकाउने

बालबालिकालाई पकेट खर्च दिएर उनीहरुलाई खर्च गर्न सिकाउन सकिन्छ । बालबालिकालाई दिएको पैसा उनीहरुलाई इच्छाअनुसार खर्च गर्न दिनुपर्छ । तर पैसाको बारेमा उनीहरुलाई बेलाबेला सम्झाइरहनुपर्छ । यदि समयभन्दा अगाडि नै बालबालिकाले पैसा खर्च गरिसके भने उनीहरुलाई अतिरिक्त पैसा दिनु हँुदैन । यसो गर्दा उनीहरु मनपरी खर्च गर्न सक्छन् ।

खर्च व्यवस्थापनबारे बताउने

किशोरावस्थामा पुगेका बालबालिकालाई पैसा तथा बचतका बारेमा बताएर उसलाई पैसा खर्च गर्न दिनुपर्छ । आवश्यकता अनुसार खर्च गर्न दिएर पैसाको महत्व बुझाउन सक्नुपर्छ । यदि दिएको पैसा कम भए उसलाई आफ्नो खर्च कटौती गर्न भन्नुपर्छ ।

जिम्मेवारी दिने

किशोरावस्थाका बालबालिकालाई अरुको सहायता बिना गर्नसक्ने काम दिनुपर्छ ।  उनीहरुलाई घरको कामको जिम्मेवारी बहन गर्न सिकाउनुपर्छ । बालबालिकालाई बिजुली बत्ती, खानेपानी, घरबहाल कर तथा सवारीसाधनको कर चुक्ता गर्ने जस्ता काम दिएर जिम्मेवार र व्यावहारिक बनाउन सकिन्छ । उसलाई घर व्यवहारप्रति जिम्मेवार बन्न प्रेरित गरिहनुपर्छ ।

लक्ष्यका लागि बचत गर्न दिने

बालबालिकालाई उसको इच्छाअनुसार उच्च शिक्षा तथा व्यावहारिक खर्चका लागि बचत गर्न सिकाउनुपर्छ । उसलाई पैसाले घर–व्यवहारमा तथा शिक्षादीक्षामा पार्न सक्ने असर प्रभावबारे बताउनुपर्छ । काम गर्न थालेपछि आफ्नो लक्ष्य तथा उद्देश्यका लागि उनीहरुलाई बचतका लागि प्रेरित गर्नुपर्छ ।

बीमा गर्ने डेडलाइन तय गर्ने

बालबालिकाले कुनै काम गर्दा ऋण लिए उनीहरुलाई त्यसबारे बताउनुपर्छ । सवारी बीमा, स्वास्थ्य बीमा लगायतमा लाग्ने प्रक्रिया र समयमा ब्याज बुझाउने कुरा सम्झाइबुझाइ गर्नुपर्छ ।

बालबालिकाको नाममा सम्पत्ति नकिन्ने

छोराछोरीले काम गर्न थालेपछि उनीहरुका लागि सम्पत्ति किनिरहन पर्दैन । यसो गर्दा उनीहरु बुवाआमाप्रति निर्भर हुन्छन् । उनीहरुलाई आफूले लिएको ऋण तथा बीमाजस्ता काम आफैं गर्न प्रेरित गर्नुपर्छ । आफ्नो आर्थिक समस्यालाई बालबालिकाको समस्यामा मिसाउनु हुन्न ।

बालबालिकाको घर-व्यवहार नचलाउने

पढ्नका लागि सन्तान सहर गए उनीहरुका सबै आवश्यकता भनेको समयमा पूरा गर्न हुँदैन । यसो गर्दा उसलाई पैसाको अर्थ थाहा नहुन सक्छ । बालबालिकालाई अभाव महसुस गर्न दिनुपर्छ । जसले उसलाई काम गर्न तथा कमाउन प्रेरित गर्छ ।

उसलाई आफैं कमाएर घर-व्यवहार चलाउन सिकाउनुपर्छ । यस्तो गर्दा बालबालिकामा जिम्मेवारी बढाउनुका साथै उनीहरु आफैं काम गरेर घर–व्यवहार चलाउन  सक्षम हुन्छन् ।

(राम वि शाम शैक्षिक अभियन्ता हुन् ।)

सुमित्रा लुइटेलसँगको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?