+
+

‘जितेपछि नेताले महल ठड्याउँछन्, हामी मजदुरी गर्न भारत जानुपर्छ’

कालीबहादुर नेपाली कालीबहादुर नेपाली
२०७९ कात्तिक २८ गते ६:४९

२८ कात्तिक, जाजरकोट । बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न हिजोआज कुनै न कुनै दलका नेता आइरहन्छन् ।

सानै उमेरदेखि शारीरिक अपाङ्गता भोगिरेहका उनलाई हरेक चुनावमा यसैगरी उम्मेदवारहरु भेट्न आउँछन् । ‘चुनावका बेला त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्’, वीरे भन्छन्, ‘तर जितेर गएपछि वैशाखी पनि दिँदैनन् ।’

भेरी नगरपालिका-११ कटीगाउँका १५७ घर परिवारमध्ये अधिकांश ऋणमा छन् । जीविकाकै लागि ऋण लिनुपर्ने बाध्यतामा रहेका यो गाउँका पुरुषहरु आर्थिक उपार्जनका लागि भारत जान्छन् । धेरै परिवार ऋणकै कारण विस्थापित समेत भइसकेका छन् ।

निर्वाचनको बेला यो गाउँमा पुग्ने उम्मेदवारले ऋण तिरिदिने वाचा गर्ने गरेको स्थानीय नरबहादुर वरले बताए  । ‘हामी त भोट बैंक मात्र भयौं’, उनले भने, ‘मत माग्नका लागि झुटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन् ।’

यसपटक ऋण तिर्ने गरी आर्यआर्जनमा जोड्ने लिखित प्रतिवद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनी बताउँछन् । गत निर्वाचनमा गरेका वाचा पूरा नगरेकाले अहिले पनि उम्मेदवारप्रति भरोसा नभएको नरबहादुर बताउँछन् ।

हरेक चुनावमा आफूहरुलाई प्रयोग मात्र गरेको यहाँका दलित समुदायको गुनासो छ । कुशे गाउँपालिका-४ का दत्तबहादुर नेपाली भन्छन्, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि भारत जानुपर्छ ।’ त्यसैले यस वर्ष उम्मेदवारले लिखित प्रतिबद्धता जनाएपछि मात्र भोट दिने दत्तबहादुर बताउँछन् ।

नलगाड नगरपालिका-३ का गंगाराम नेपालीले उम्मेदवारले मतदाता फकाउने एजेण्डा मात्र लिएको बताउँछन् । ‘यो पल्ट पनि हाम्रा लागि फकाउने एजेण्डा मात्र छन्’, उनले भने, ‘अब त पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’

त्यस्तै, भेरी नगरपालिका- १३ कुदुका ६९ वषर्ीया आइती गिरीले वर्षौंदेखि भोग्दै आएको खानेपानी समस्याबारे हरेक चुनावमा उम्मेदवारसँग कुरा उठाउँछिन् । नेताले खानेपानी समस्या समाधान गर्ने वाचा गर्दै भोट माग्छन् । तर चुनाव जितिसकेपछि फर्केर हेर्दैनन् ।

एक घण्टा पैदल हिँडेर भेरी नदीबाट पानी ल्याएर खान बाध्य कुदुबासीको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि अहिलेसम्म ठोस काम हुन सकेको छैन । यहाँको खानेपानी मुद्दा पञ्चायत कालदेखि नै उठ्दै आएको भए पनि समस्या समाधान हुन नसकेको गिरीले बताइन् ।

जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटका ७३ वर्षीय अनु शाहीले भोट माग्न आएका नेतासँग मोटरबाटो, टेलिफोन, विद्युत र सुविधा सम्पन्न अस्पतालको माग गर्ने गरेको बताए । ‘गाउँसम्म पुग्ने गतिलो मोटरबाटो छैन । गाउँमा टेलिफोन र विद्युतको अभाव कायमै छ । बिरामी पर्दा उपचार गर्ने भरपर्दो अस्पताल छैन । नेताले हुन्छ भन्न छोड्दैनन् । तर काम खासै हुँदैन । जितेका नेता र्फकदैनन्’ उनले भने ।

जिल्लाका अधिकांश गाउँका वासिन्दाको माग सडक, खानेपानी, सिँचाइ, बिजुली, सञ्चारलगायतका पूर्वाधार छ । साथै गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्य सेवाको ग्यारेन्टीको माग पनि गर्छन् ।

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा ६ जना उम्मेदवार छन् । जसमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, एमालेका निरज आचार्य र स्वतन्त्र नरबहादुर कार्कीबीच मुख्य प्रतिस्पर्धा छ ।

बस्नेतले यसअघि २०७० र २०७४ को चुनाव जितेका थिए । आचार्य र कार्की नयाँ अनुहार हुन् । भोट माग्न गएका यी उम्मेदवारलाई मतदाताले विकास निर्माणको माग अघि सार्दै आएका छन् । प्रदेशसभा -१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वेदराज सिंह र एमालेबाट डम्बरबहादुर सिंहबीच मुख्य प्रतिस्पर्धा छ । दुवै नयाँ अनुहार हुन् ।

त्यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका राजीव विक्रम शाह र एमालेका खिमबहादुर शाहीबीच मुख्य प्रतिस्पर्धा छ । शाही नयाँ अनुहार हुन् भने राजीव २०७० सालको संविधानसभामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?