+
+

धाँधली भएन भने मैले चुनाव जित्छु : नन्दराम देवकोटा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १९:४४

१ मंसिर, काठमाडौं । रुकुमपश्चिमबाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटा पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् ।

लगातार तीनवटा चुनाव जितिसकेका माओवादी केन्द्रका बलिया उम्मेदवार जनार्दन शर्माको यात्रालाई विश्राम लगाउने चुनौती उनीसँग छ । चुनावी तयारीका सम्बन्धमा देवकोटासँग अनलाइनखबरले गरेको कुराकानी :

तपाईंको चुनावको तयारी कस्तो छ ?

आज चुनाव प्रचारको अन्तिम दिन हामी सानीभेरी गाउँपालिकाको कार्यक्रममा छौं । कार्यक्रम अत्यन्त सफल भइरहेको छ ।

जनताले विकल्प खोजिरहेका छन् । विकल्पको रूपमा हामीलाई रोजेका छन् । माओवादीको लामो समयदेखिको सत्ताले जनता आजित भइसकेको पाएको छु ।

माओवादीका नेता जनार्दन शर्माले लगातार तीन पटक चुनाव जितिसक्नुभएको छ, तपाईंले चाहिं जनताले विकल्प खोजेको भन्नहुन्छ ?

लगातार तीनपटक होइन, चार पटक भन्नुस् न । २०५२ सालदेखि नै उहाँहरूले रुकुममा आफ्नो सत्ता चलाउनुभयो । २०६४ सालदेखि लगातार चुनाव जितेर पटक–पटक माननीय बन्नुभयो, मन्त्री पनि बन्नुभयो । उहाँ आफू त बन्नुभयो तर जनताको जीवनस्तर सुध्रिएन । रुकुमका बस्तीमा अझै पनि उस्तै गरिबी र अभाव छ ।

अब त्यो अवस्था अन्त्य गर्ने र समतामूलक विकास गर्ने नेता जनताले खोजेका छन् । रुकुममा मनोवैज्ञानिक त्रास उस्तै छ । रुकुममा प्रजातन्त्र छैन । रुकुममा प्रजातन्त्र बहालीका लागि हामीले उम्मेदवारी दिएका हौं ।

चुनावमा कस्ता एजेण्डा लिएर जनतामाझ जानुभएको छ ?

पहिलो कुरा गठबन्धन सरकारले गरेका भ्रष्टाचारहरूको न्यूनीकरण गर्ने, पक्षपातपूर्ण विकासका कामलाई रोक्ने र समतामूलक वितरण प्रणालीको रूपमा विकास गर्नेछौं । जनताका आधारभूत आवश्यकता पूरा गर्दै सामाजिक न्याय दिनेछौं र समृद्धिको बाटोबाट देशलाई अगाडि बढाउने छौं । गुणस्तरीय स्वास्थ्य, शिक्षा दिने र कृषिलाई व्यवसायीकरण गर्ने कुरामा हामी ध्यान दिनेछौं ।

रुकुम पश्चिममा दुई ठूला पार्टी माओवादी र कांग्रेसबीच गठबन्धन छ । गठबन्धन उम्मेदवारसँग तपाईंको प्रतिस्पर्धा कस्तो हुने आकलन गर्नुभएको छ ?

गठबन्धन त छ, तर अपवित्र छ । निहित स्वार्थ पूरा गर्नका लागि गठबन्धन भएको छ । जनताले देश बर्बाद हुनेभयो, बचाउनलाई तपाईंहरू अगाडि बढ्नुस् है भन्नुभएको छ । त्यो जन–इच्छालाई पूरा गर्न म चुनावी मैदानमा छु र म चुनाव जित्छु ।

त्यो जितको आधार के हो ?

म एक–एक घर र बस्ती–बस्तीमा पुगेको छु । उहाँहरूले, हामीले तपाईंलाई विकल्पमा रोजेका छौं भन्नुभएको छ । चुनावमा धाँधली भएन, मतदान केन्द्रमा शान्तपूर्ण वातावरण सिर्जना गर्नका लागि कर्मचारी, सुरक्षा निकायले उचित भूमिका निर्वाह गर्नुभयो र स्वतन्त्र रूपमा जनताले जनप्रतिनिधि रोज्न पाउने वातावरण बन्यो भने मैले नै जित्नेछु ।

उहाँहरूले त ९० प्रतिशत जनता गठबन्धनको पक्षमा छन् भन्नुभएको छ त ?

उहाँहरूले भनेको मैले पनि सुनेको छु । तर उहाँहरूले जिल्ला बाहिर भएका, मृत्यु भएका व्यक्तिहरूको नाममा पनि भोट हाल्नुपर्छ भनेर सल्लाह गरेको सूचना पाएको छु । पवित्र साथीहरूले त्यो सल्लाह मानिरहनुभएको छैन । अपवित्र गठबन्धनभित्र पवित्रताको खाँचो छ भनिरहनुभएको छ ।

जनताले स्वतन्त्र ढंगले छान्न पाउनुभयो भने मैले धेरै मतान्तरले जित्छु । जनताको अपार विश्वास पाएको छु । रुकुमेलीले विकल्पको रूपमा मलाई चुनिसकेका छन् ।

यदि चुनाव जित्नुभयो भने रुकुमेली जनताले तपाईंलाई यो राजनीतिक व्यवस्थामा कस्तो रूपमा पाउँछन् ?

रुकुमेली जनताले मलाई एउटा साझा नेतृत्वको रूपमा पाउँछन् । मैले पहिले ट्रेड युनियनमा रहेर निर्वाह गरेको भूमिका रुकुमेली जनताको मनमा ताजा छ । अहिले पनि उहाँहरूले भनिरहनुभएको छ– नन्दराम देवकोटा एमाले पार्टीबाट चुनाव लडे पनि साझा भूमिका निर्वाह गर्ने मान्छे हो, कांग्रेस–कम्युनिस्ट भनेर पक्षपात गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?