+
+
एक्जिट पोल २ :

काठमाडौं-५ मा ईश्वर पोखरेलको विजय यात्रामा लाग्न सक्छ ब्रेक

अहिलेसम्म व्यक्त मत, मौन रहन चाहने मतदाताको पृष्ठभूमि आकलन गर्दा नेपाली कांग्रेस उम्मेदवार प्रदीप पौडेल एमाले उम्मेदवार ईश्वर पोखरेलभन्दा अगाडि देखिन्छन् ।

अनलाइनखबर टिम अनलाइनखबर टिम
२०७९ मंसिर ४ गते २०:०१

४ मंसिर, काठमाडौं । काठमाडौं–५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित हुने सम्भावना बलियो देखिएको छ । मतदानस्थलबाट बाहिर निस्किएका मतदाताहरुसँग अनलाइनखबरले गरेको सर्वेक्षणमा यसअघि निर्वाचित पोखरेल पराजित हुने संकेतहरु देखिएका छन् ।

२३३ जना उत्तरदातामध्ये ६६ जना (२८ दशमलव ४ प्रतिशत) ले कांग्रेस उम्मेदवार प्रदीप पौडेललाई र ४५ जना (१९.४) प्रतिशत मतदाताले मात्रै एमाले उम्मेदवार पोखरेललाई मत दिएको बताए ।

त्यस्तै ३४ जना (१४.७ प्रतिशत) ले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणय शमशेर राणा) लाई मत दिएको बताएका छन् भने ६.५ प्रतिशतले राप्रपा उम्मेदवार रामप्रसाद उप्रेतीलाई मत दिएको बताएक छन् । ११.६ प्रतिशतले यीबाहेक अरु उम्मेदवारलाई मत दिएको र ४५ जना (१९.४ प्रतिशत) उत्तरदाताले आफूले कहाँ मत व्यक्त गरेको खुलाउन चाहेनन् ।

मौन रहन चाहने उत्तरदाताहरुमध्ये आधाजसोले एमाले उम्मेदवार पोखरेललाई मतदान गरेको अनुमान गर्दा पनि उनी र कांग्रेस उम्मेदवार प्रदीप पौडेलबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । त्यसो हुँदा समेत एमाले उम्मेदवार पोखरेल सुरक्षित अवस्थामा रहदैनन् ।

खुल्न नचाहेको मतमध्ये आधा एमालेलाई गएको र बाँकीको केही हिस्सा कांग्रेस उम्मेदवार पौडेललाई गएको अनुमान गर्दा पौडेल सुरक्षित अवस्थामा पुग्छन् । व्यक्त नभएको मत समान रुपमा बाँडिदा भने झिनो रुपमा भए पनि कांग्रेस उम्मेदवार पौडेललाई लाभ हुन्छ र उनी निर्वाचित हुने बाटोमा पुग्छन् ।

कांग्रेसको भन्दा ज्यादा एमालेको मत बाँडियो

हामीले मौन रहन चाहने मतदाताको पृष्ठभूमि केलाउन खोज्यौं । त्यसका लागि उनीहरुलाई ‘यसअघि तपाईंले कसलाई मतदान गर्नुभएको थियो’ भनी सोधेका थियौं । आफूले कहाँ मत दिएको भनी खुल्न नचाहनेमध्ये २० प्रतिशत मतदाताले विगतमा एमालेलाई मत दिएको बताए भने करिव १० प्रतिशतले कांग्रेसलाई मत दिएको बताए । बाँकी मौन रहनेहरुको मत बाँडिएको देखिन्छ ।

सर्वेक्षणमा सहभागीमध्ये ४०.३ प्रतिशतले यसअघिको निर्वाचनमा एमाले उम्मेदवारलाई मत हालेका थिए । उनीहरुले अहिले कहाँ मत हाले भनेर हामीले केलाएका छौं । विगतको निर्वाचनमा एमालेलाई मत हाल्नेमध्ये १७ प्रतिशतले अहिले कांग्रेस उम्मेदवारलाई मत व्यक्त गरेका छन् भने त्यही नै मतदाता घण्टी चिह्न लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. प्रणय शमशेर राणालाई मत गएको देखिन्छ । विगतमा एमालेलाई मत दिएको र अहिले पनि एमालेलाई नै मत दिने मतदाता ४० प्रतिशत मात्रै छन्, बाँकी मत अन्य दलमा बाँडिएको छ ।

हामीले विगतमा कांग्रेसलाई मत व्यक्त गर्ने मतदाताहरु आज कसरी प्रस्तुत भएका छन् भनेर समेत हेरेका छौं । हिजो कांग्रेसलाई मत व्यक्त गर्ने ५ प्रतिशत मतदाताले अहिले एमालेलाई मत हालेका छन् भने १४ प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणय शमशेर राणालाई गएको छ । अरु ५ प्रतिशत मत विभिन्न दलमा बाँडिएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसलाई मत व्यक्त गरेर अहिले पनि उसैलाई मतदान गर्ने मतदाता ६३ प्रतिशत छन् ।

समग्रमा, अहिलेसम्म व्यक्त मत, मौन रहन चाहने मतदाताको पृष्ठभूमि आकलन गर्दा कांग्रेस उम्मेदवार प्रदीप पौडेल एमाले उम्मेदवार ईश्वर पोखरेलभन्दा अगाडि देखिन्छन् ।

मतदाताहरु अहिले कसरी प्रस्तुत भएका छन् भन्ने आँकडा केलाउदा यसअघि एमालेमा मत व्यक्त गर्ने मतदाता छरिएका छन् भने कांग्रेसमा मत व्यक्त गर्ने मतदाता तुलनात्मक रुपमा कांग्रेसमै छन् । जसका कारण एमाले उम्मेदवार पोखरेललाई निर्वाचित हुन कठिन देखिन्छ भने कांग्रेस उम्मेदवार पौडेल सहज अवस्थामा छन् ।

समानुपातिकमा घण्टी

काठमाडौं–५ का मतदाताले समानुपातिकमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा मत व्यक्त गरेका छन् । सर्वेक्षणमा सहभागीमध्ये २१ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टीलाई, १९.७ प्रतिशतले राप्रपालाई, १६.३ प्रतिशतले नेपाली कांग्रेसलाई, १५ प्रतिशतले नेकपा एमलेलाई मत दिएका छन् । २.१ प्रतिशतले माओवादीलाई दिएको बताए भने १५.५ प्रतिशतले भने आफूले कहाँ मत व्यक्त गरेको हो खुलाउन चाहेनन् ।

भ्रष्टाचार नियन्त्रण : पहिलो प्राथमिकता

सर्वेक्षणमा सहभागीमध्ये सबैभन्दा बढीले अब निर्वाचित हुने सांसदले ‘भ्रष्टाचार नियन्त्रण’लाई प्राथमिकता दिनुपर्ने बताए । ३७.८ प्रतिशतले भ्रष्टाचार नियन्त्रणको सवाल नै अबको प्रमुख एजेण्डा हुनुपर्ने बताए । शिक्षा र स्वास्थ्यमा सुधार (२४.५ प्रतिशत) मतदाताको दोस्रो प्राथमिकतामा परेको छ । विधिको शासन, आर्थिक विकास र शान्ति सुरक्षा त्यसपछिका प्राथमिकता छन् ।

सर्वेक्षण विधि

अनलाइनखबरले काठमाडौं ५ का भित्री सहरका घना बस्ती, सहर छेउका बस्ती र ग्रामीण क्षेत्र गरी तीन किसिमका ठाउँमा एक्जिट पोल गरेको थियो । ती तीन किसिमका क्षेत्रका बुथहरुमा मतदान गरेर फर्केका ९०–९० जना गरी २ सय ७० जना मतदातासँग हामीले गरेको सर्वेक्षणले यस्तो आँकडा देखाएको हो ।

अनलाइनखबरले यो ‘एक्जिट पोल’ देशभरिका १६५ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ ४ निर्वाचन क्षेत्रमा गरेको छ । असअघिको निर्वाचन परिणामलाई आधार मानेर हामीले निर्वाचन क्षेत्र छनौट गरेका हौं ।

छनौट गरिएका प्रत्येक निर्वाचन क्षेत्रमा मतदाता संख्या घटीमा ७० हजारदेखि बढीमा १ लाख २४ हजार रहेकाले उक्त संख्याको ९० प्रतिशत ‘कन्फिडेन्स इन्टर्भल’ मा ५ प्रतिशत ‘इरर मार्जिन’ राख्दा निस्कने ‘स्याम्पल’ संख्या २७० आयो । जुन यस पोलको ‘स्याम्पल’ संख्या हो ।

निर्वाचन क्षेत्रहरुमा धेरै बुथ हुने तर सबै बुथमा पुग्न स्रोतको अभाव हुने भएकोले प्रति निर्वाचन क्षेत्रमा ३ बुथ छनोट गरी प्रतिबुथ ९० जनासँग प्रश्नावली सोधियो । सर्वेक्षणलाई प्रतिनिधिमूलक बनाउन मतदानका लागि बिहान, दिउँसो र अबेर आउने मतदाताहरुसँग प्रश्नहरु सोधिएको थियो । मतदानस्थलमा मत दिएर आउने प्रत्येक ११ जना पछिका नयाँ मतदातालाई प्रश्न गरिएको थियो ।

एक्जिट पोल सर्वेक्षणका अतिरिक्त हामीले सोही निर्वाचन क्षेत्रमा हाम्रो सम्पादकीय टोलीसहित राजनीतिक संवाददाताहरुलाई परिचालित गरेका थियौं, जसले आम सर्वसाधारणको मनोभाव बुझ्न अझै सहज भयो ।

अनलाइनखबरको टिमले संकलन तथा प्रशोधन गरेको तथ्यांकलाई ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) का अध्येताहरुको डाटा टिमले अध्ययन तथा विश्लेषण गरेको थियो ।

कृष्ण ज्ञवाली, दिपेश शाही, रामकुमार डिसी, अच्युत पुरी, विजय पराजुली, नसना बज्राचार्य, नुनुता राईको रिपोर्टिङ

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?