+
+
आम चुनाव २०७९ :

मतदाताले हराएका यी छोराछोरी उम्‍मेदवार

रामकुमार डिसी रामकुमार डिसी
२०७९ मंसिर ११ गते १५:४६

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले यसपटक मोरङमा चुनाव हारिन् ।

विगतमा गिरिजाले चुनाव लड्दै आएको क्षेत्रमा यसपटक सुजाताले उम्मेदवारी दिएकी थिइन् र चुनाव प्रचारका क्रममा पनि आफू गिरिजाको उत्तराधिकारी भएको बताएकी थिइन् ।

तर गत वर्ष वाम गठबन्धन हुँदा पनि चुनाव जितेको यो क्षेत्रमा कांग्रेसले माओवादीसँग गठबन्धन गरेका बेला पनि चुनाव जित्न सकेन । एमालेका ऋषिकेश पोखरेलले ३३ हजार १४८ मत ल्याउँदा सुजाताले ३१ हजार ९४० मत मात्रै पाइन् ।

गिरिजाप्रसाद कोइरालाकी छोरी भएका कारण कांग्रेसमा धेरैपटक उच्च तहमा पुगेर लाभ लिएकी सुजाताले यसपटक मोरङ–२ को टिकटको प्रतिस्पर्धामा अघिल्लो पटक यसै क्षेत्रबाट चुनाव जितेका डा. मिनेन्द्र रिजाललाई पछि पारेकी थिइन् ।

सुजाता मात्र होइन विभिन्न पार्टीका शीर्ष नेताका आफन्त र परिवारका सदस्य यो पटकको चुनावमा पराजित भए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई पनि उदाहरणको रुपमा लिन सकिन्छ ।

बिना मगर

माओवादी केन्द्रीय सदस्यसमेत रहेकी बिना मगर यसपटक कञ्चनपुर–१ बाट पराजित भइन् । २०७४ मा यसै क्षेत्रबाट चुनाव जितेकी विनालाई यसपटक नेकपा एमालेका तारा लामा तामाङले ५ हजार भन्दा बढी मतान्तरले पराजित गरे । लामाले २४ हजार ८९२ मत पाउँदा बिनाले १९ हजार ३४६ मात्र पाइन् ।

हुन त माओवादीमा बिनाको आफ्नै राजनीतिक योगदान पनि छ, तर प्रचण्डको परिवारकाे सदस्य भएको लाभ पनि उनले पाउँदै आएकी छन् । २०७४ को केपी शर्मा ओली नेतृत्वको सरकारमा बिना खानेपानी मन्त्री बनेकी थिइन् ।

मानुषी यमी भट्टराई

चुनावको केही महिनाअघि मात्र जनता समाजवादी पार्टीबाट अलग भएका डा. भट्टराईले आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन गरे र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने निर्णय लिए ।

माओवादीको चिह्नबाट प्रतिनिधिसभामा चुनाव लड्ने नेसपाका जम्मा दुई उम्मेदवार थिए, अर्का अध्यक्ष महिन्द्र राय यादव र नेता मानुषी यमी भट्टराई । बाबुरामकी छोरी मानुषीले काठमाडौं–७ बाटै टिकट पाइन् ।

कतिपयले प्रचण्डलाई गोरखा–२ लगेर मानुषीका लागि काठमाडौं– ७ को टिकट मिलाएको भनेर बाबुरामको आलोचनासमेत गरे । तर मानुषी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भइन् ।

पराजुलीले ८ हजार ७४३ मत पाएर चुनाव जित्दा मानुषी ६ हजार ६३ मत पाएर तेस्रो स्थानमा रहिन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्याम घिमिरेले ६ हजार ८०० मत पाए ।

फिरदोस आलम

रौतहट–२ बाट कांग्रेस उम्मेदवार बनेका फिरदोस आलम पूर्वसांसद मोहम्मद अफताब आलमका छोरा हुन् । उनले आफ्नै राजनीतिक योगदान भन्दा पनि बाबुको कारण टिकट पाएको कांग्रेस नेताहरु बताउँछन् । यो क्षेत्रबाट २०५६ देखि २०७४ सालसम्म अफताब आलमले चुनाव लडेका थिए ।

तर २०६४ सालको चुनावका बेला रौतहटकै राजपुरमा इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा थुनामा रहेका पूर्वसांसद मोहम्मद अफताब आलमले यसपटक चुनाव लड्न पाएनन्, ३५ वर्षका छोरा फिरदोसले टिकट पाए तर, फिरदोस स्वतन्त्र उम्मेदवार किरणकुमार साहसँग पराजित भए । साहले ३२ हजार ८४२ मत ल्याएर चुनाव जित्दा आलमले २८ हजार २४८ मात्रै मत पाए ।

मधुमालाकुमारी यादव

सर्लाहीका शिवपूजन राय २०६४ सालको संविधानसभा सदस्य थिए । तर कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग प्रकरणमा उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले माओवादी केन्द्रबाट टिकट पाए पनि सर्वोच्च अदालतले चुनाव लड्न नपाउने ठहर गरिदियो ।

यसपटक काठमाडौंमा नर्सिङ पढिरहेकी शिवपूजनकी छोरी मधुमालाकुमारी यादव सर्लाही-४ बाट उम्मेदवार बनिन्, शिवपूजन उनको चुनाव प्रचारमा निकै खटिए । तर यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह निर्वाचित हुँदा मधुमालाकुमारी तेस्रो स्थानमा रहिन् ।

सिंहले २० हजार १७ मत ल्याएर निर्वाचित हुँदा मधुमालाले १४ हजार ६२२ मत पाइन् । बाबुको सहयोगबाट संसद बन्ने मधुमालाकुमारीको योजना यसपटक मतदाताले अनुमोदन गरेनन् ।

श्रीमान् निर्वाचित, श्रीमती पराजित

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट निर्वाचित हुँदा उनकी पत्नी ओनसरी घर्ती भने काठमाडौं–२ बाट पराजित भइन् । पूर्वसभामुखसमेत रहेकी ओनसरीका लागि काठमाडौं नयाँ निर्वाचन क्षेत्र थियो । त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम १५ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा ओनसरीले ९ हजार ४५९ मत मात्रै पाइन् ।

श्रीमती निर्वाचित, श्रीमान् सकसमा

नेकपा एमालेका नेता रघुवीर महासेठ र उनकी पत्नी जुलीकुमारी महतो दुवै यसपटक धनुषाबाट उम्मेदवार थिए । रघुवीर धनुषा–४ मा थिए भने जुली धनुषा–३ मा । तर रघुवीर कांग्रेस नेता महेन्द्र यादवसँग प्रतिस्पर्धामा पछि परिरहेका छन् भने जुलीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिलकुमार झालाई पराजित गरिन् । जुलीले ३३ हजार ३५५ मत पाउँदा झाले २३ हजार ६८६ प्राप्त गरे ।

तर रघुवीर भने करिब एक हजार मतान्तरले पछि छन्। महेन्द्रले २१ हजार २२४ मत पाए भने रघुवीरले २० हजार २०३ मत पाएका छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?