+
+
जनरल फिजिसियन डा. लोचन कार्कीसँग अन्तर्वार्ता : :

‘किटो डाइट गरेपछि दीर्घरोगको औषधि खानै पर्दैन भन्नु भ्रामक हो’

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ मंसिर १५ गते १८:१८

काठमाडौं । मोटोपन घटाउने, मधुमेहलाई काबुमा राख्ने र उच्च रक्तचाप नियन्त्रण गर्ने एक सूत्रीय प्याकेज अहिले खुब चल्तीमा छ । दीर्घरोगबाट जादुयी ढंगले छुटकारा पाइन्छ भन्ने प्रचारबाजीसँगै थुप्रै सर्वसाधारण यसतर्फ आकर्षित भएका छन् । खासगरी किटो डाइट, जसमा उच्च प्रोटिन र अनि न्यून कार्बोहाइड्रेट सम्मिलित भोजन तालिका हुन्छ, सो अनुसरण गर्न थालेका छन् । यस किसिमको आहार–व्यवस्थापन र १६ घण्टे फास्टिङबाट कतिपयले स्वास्थ्यलाभ लिइरहेको पनि बताइरहेका छन् ।

यद्यपि दीर्घरोग र मोटोपनबाट छुटकारा पाउने यो विधि कति दिगो र प्रभावकारी छ त ? यसमा भने बहस भएको छैन ।

स्वास्थ्य जस्तो संवेदनशील कुरामा भइरहेको यस किसिमको अभ्यासले भोलिका दिनमा कुनै समस्या निम्त्याउने जोखिम छ वा छैन ? मोटोपन र दीर्घरोग निको बनाउने यो सूत्रमाथि चिकित्सा विज्ञान ढुक्क छ वा छैन ? यससँगै उठ्ने अर्को चोटिलो प्रश्न हो, यसले दीर्घकालमा कुनै जटिलता ल्याएमा जवाफदेही को हुन्छ ?

यसै सन्दर्भमा नेपाल चिकित्सक संघका अध्यक्ष समेत रहेका जनरल फिजिसियन डा. लोचन कार्कीसँग गरिएको कुराकानी :

अहिले इन्टर्मिटेन्ट फास्टिङ, किटो डाइटले चमत्कारिक रूपमा तौल नियन्त्रण हुन्छ भन्ने व्यापक प्रचार गरिएको छ । साथै यसले मधुमेह र उच्च रक्तचाप पनि च्वाट्टै हुन्छ भनिंदै छ । के यो साँचो हो ?

इन्टर्मिटेन्ट फास्टिङका केही फाइदा छन् । यसले मधुमेह र उच्च रक्तचापलाई नियन्त्रण गर्न पनि सहयोग गर्छ भनेर विभिन्न अध्ययनले देखाएको छ । १६ घण्टाको अन्तरमा खाना खाने प्रक्रिया इन्टर्मिटेन्ट फास्टिङ हो ।

तर सबैले यो इन्टर्मिटेन्ट फास्टिङ गर्न मिल्छ भन्ने हुँदैन । मधुमेह उच्च भएको मान्छेले यो फास्टिङ गर्दा सुगर लेबल स्वाट्टै घट्ने, ग्यास्ट्रिकको समस्या भएकालाई यो प्रभावकारी नहुन सक्छ । तर एउटा स्वास्थ्य व्यक्तिले मधुमेह र उच्च रक्तचापलाई नियन्त्रण गर्न मोटोपना घटाउन इन्टर्मिटेन्ट फास्टिङ गर्नु त्यति हानिकारक नहोला ।

किटो डाइटको विषयमा भने फाइदा बेफाइदाका कुरा छन्  । खाना भनेको सन्तुलित हुनुपर्छ । किटो डाइटमा खाली प्रोटिन मात्र खान दिइन्छ । शरीरलाई फ्याट, कार्बोहाइड्रेट पनि चाहिन्छ । प्रोटिन मात्र खाँदा शरीरमा फ्याट र कार्बोहाइड्रेटको कमी हुन्छ ।

किटो डाइट जिन्दगीभर गर्न सम्भव पनि हुँदैन । लामो समय यस्तो डाइट गर्दा शरीरलाई चाहिने अन्य तत्त्वको कमी हुन्छ । जसले कालान्तरमा मिर्गौलालाई असर गर्ने वा अन्य अंगलाई असर पो गर्छ कि भन्ने प्रश्नहरू पनि छन् । त्यसैले यसलाई विशेषज्ञ डाक्टरको, पोषणविद्को सल्लाहमा मात्र गर्नुपर्छ । फेसन जसरी एउटाले गर्‍यो म पनि गर्छु भनेर गर्नु हुँदैन ।

अहिले धेरै मान्छे मोटोपन, मधुमेह र उच्च रक्तचापले ग्रस्त छन् । उनीहरूलाई किटो डाइट र १६ घण्टे फास्टिङ गराएर यी समस्याबाट छुटकारा मिल्छ भन्दै चिकित्सकहरू क्लिनिक खोल्ने होडबाजीमा लागेको देखिन्छ ।

यही विधि अपनाएर कतिपयले औषधि समेत खान छाडेका छन् नि ?

मैले भात नै खाइन भने त मेरो शरीरमा सुगर नै बन्दैन । सुगर नै नबनेपछि औषधि पनि चाहिएन । तर जिन्दगीभर म त्यही डाइटमा बस्न सक्छु त ? भन्ने प्रश्न महत्त्वपूर्ण छ । जुन दिनसम्म भात खान्न त्यो दिनसम्म त सुगर कम होला औषधिको डोज घट्ला ? तर फेरि भात खान थालेपछि सुगर बढ्छ ।

त्यसैले औषधि खान नै छोड्दा केही समयपछि समस्या झन् बढ्न सक्छ । डाइट गरेर औषधि च्वाट्टै छोड्नु हुँदैन । औषधि च्वाट्टै छोड्ने भन्दा पनि खानपानमा ध्यान दिएर औषधिको डोज घटाउने चाहिं सम्भव हुन्छ ।

कतिले क्लिनिक नै खोलेर मोटोपन घटाउन, उच्च रक्तचाप र मधुमेह नियन्त्रण गर्न किटो डाइट अनि १६ घण्टे फास्टिङको सिफारिस गरिरहेका छन् नि ?

कति चिकित्सकले क्लिनिक नै खोलेर मोटोपन घटाउन, उच्च रक्तचाप र मधुमेह नियन्त्रण गर्न किटो डाइट अनि १६ घण्टे फास्टिङको सिफारिस गरिरहेका छन् । तर कस्तो चिकित्सकले सिफारिस गरेका हुन् त्यो एकदमै महत्त्वपूर्ण कुरा हो ।

चिकित्सकले के पढेको हो ? के सम्बन्धी विशेषज्ञ हो ? पोषणसम्बन्धी विशेषज्ञ हो कि होइन ? भन्ने कुराको जानकारी लिएर मात्र सिफारिस लिनुपर्छ । यो कुरामा सर्वसाधारण एकदमै सजग हुनुपर्छ ।

१६ घण्टे फास्टिङ र किटो डाइटबाट मधुमेह, रक्तचाप पूर्णतया निको हुन्छ भने अन्य औषधि उपचार जरुरत नहोला नि ?

हो, यो एकदमै महत्त्वपूर्ण कुरा हो । १६ घण्टे फास्टिङ र किटो डाइटले मधुमेह र उच्च रक्तचाप पूर्णतया निको हुने भए औषधि नै नखाई रोग निको हुने भए यत्रो औषधिहरू किन बन्थ्यो ? मेडिकल साइन्स पढ्ने भनेकै रोग पत्ता लगाउन र उपचार गर्न हो ।

त्यसैले फास्टिङ र किटो डाइटबाट मधुमेह, रक्तचाप पूर्णतया निको हुने भन्दा पनि नियन्त्रण गर्न चाहिं उपयोगी हुन्छ । भइसकेको समस्यालाई निको पार्ने भन्दा पनि हुन नदिन र नियन्त्रण गर्न यी केही मात्रामा उपयोगी हुनसक्छ ।

एकातिर चिकित्सकहरूले नै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि औषधि सिफारिस गर्छन्, अर्कोतिर कति चिकित्सकले नै किटो डाइट र १६ घण्टे फास्टिङ अपनाएर यस्तो औषधि नखान सल्लाह दिइरहेका छन् । यस किसिमको विरोधाभासले सर्वसाधारणलाई कस्तो असर गर्छ ?

डाइट प्लान पनि महत्त्वपूर्ण  छ । बेलाबेलामा फास्टिङ पनि गर्नुपर्छ त्यो पनि स्वास्थ्यलाई फाइदाजनक नै हुन्छ । तर च्वाट्टै औषधि छोड्नु हुँदैन । विशेषज्ञ चिकित्सकको निगरानीमा मात्र औषधि खाने कि नखाने तय गर्नुपर्छ । किटो डाइट जिन्दगीभर गर्न सकिंदैन । त्यसैले विशेषज्ञ डाक्टर चिनेर सही सल्लाह लिनुपर्छ ।

औषधि छोड्ने भन्ने सल्लाह कुन चिकित्सकले दिएको हो । त्यो रोगको बारेमा ऊ विशेषज्ञ हो कि हैन भन्ने कुरामा सर्वसाधारणले ध्यान दिनुपर्छ ।

सुरुमा किटो डाइट लिएका, १६ घण्टे फास्टिङ अपनाएकामध्ये कतिपयमा अन्य स्वास्थ्य समस्या देखिएको पनि सुनिन्छ । उनीहरू फेरि मधुमेह, उच्च रक्तचापको औषधि खानुपर्ने स्थितिमा पुगेको बताउँछन् । यसरी जनस्वास्थ्यमाथि खेलवाड भइरहेको त छैन ?

यो कुरा हेर्ने मेडिकल काउन्सिलले हो । चिकित्सकहरूले कस्तो अभ्यास गरिरहेका छन् ?  त्यो ठीक हो कि होइन ? कतै जनस्वास्थ्यमा खेलवाड त भइरहेको छैन भन्ने कुरा मेडिकल काउन्सिल नै हेर्ने हो ।

सबै जनालाई किटो डाइट र १६ घण्टे फास्टिङले फाइदा नै गर्छ भन्ने पनि हुँदैन । त्यसैले हामीले पनि यस विषयलाई अध्ययन गरिरहेका छौं । यो कुरालाई विशेषगरी मेडिकल काउन्सिलले ध्यान दिनुपर्छ ।

अहिले धेरै मान्छे मोटोपन, मधुमेह र उच्च रक्तचापले ग्रस्त छन् । उनीहरूलाई किटो डाइट र १६ घण्टे फास्टिङ गराएर यी समस्याबाट छुटकारा मिल्छ भन्दै चिकित्सकहरू क्लिनिक खोल्ने होडबाजीमा लागेको देखिन्छ । यसले भोलि कुनै स्वास्थ्य समस्या खडा गरेमा को जवाफदेही हुन्छ ?

अहिले धेरै मान्छे मोटोपन, मधुमेह र उच्च रक्तचापले ग्रस्त छन् । उनीहरूलाई किटो डाइट र १६ घण्टे फास्टिङ गराएर यी समस्याबाट छुटकारा मिल्छ भन्दै चिकित्सकहरू क्लिनिक खोल्ने होडबाजीमा लागेको देखिन्छ ।

तर चिकित्सकहरूले यस्तो अभ्यास गरिरहेका छन्, त्यो ठीक हो कि होइन ? सही डाक्टरले सही अभ्यास गरिरहेका छन् कि छैनन् ? एउटा विषय पढेको डाक्टरले अर्को कुरा पो अभ्यास गरिरहेको छ कि ? यस कुराको निगरानी गर्ने काम मेडिकल काउन्सिलको हो । त्यसैले यो कुरामा मेडिकल काउन्सिलको ध्यान आकर्षण हुनु जरुरी छ । यसको जवाफदेही पनि मेडिकल काउन्सिल नै हुनुपर्छ ।

वास्तवमा किटो डाइट के हो ? यो कुनै पनि दीर्घरोग निको पार्न कति प्रभावकारी हुन्छ ?

मधुमेह र उच्च रक्तचाप जस्तो दीर्घरोग हटाउन भन्दा पनि यसलाई नियन्त्रण गर्न चाहिं यो केही मात्रामा प्रभावकारी हुन्छ । मधुमेह पनि टाइप वान र टाइप टु गरेर दुई किसिमको हुन्छ । टाइप वान मधुमेहमा शरीरमा इन्सुलिन नै नबन्ने हुन्छ । त्यो अवस्थामा इन्सुलिन नदिई हुँदै हुँदैन उसलाई किटो डाइटले हुँदैन ।

टाइप टु मधुमेहमा शरीरमा इन्सुलिन त बन्छ तर त्यसले राम्ररी काम गरेको हुँदैन । त्यसले राम्ररी काम नगर्नुको विभिन्न कारणमध्ये एउटा मोटोपन हो । त्यसका लागि मोटोपन  घटाउन किटो डाइटले केही सहयोग गर्न सक्छ । तर मोटोपन घटाउँदैमा मधुमेह निको नै हुन्छ भन्ने हुँदैन । त्यसैले किटो डाइट गरेपछि रोग निको हुन्छ औषधि खानु पर्दैन भन्ने कुरा गलत हो ।

१६ घण्टे फास्टिङ कति प्रभावकारी र वैज्ञानिक छ ?

१६ घण्टे फास्टिङको केही प्रभावकारिता छ । यसको बारेमा केही अध्ययन पनि भएका छन् । १६ घण्टे फास्टिङबाट तौल नियन्त्रण, कोलेस्टेरोल र उच्च रक्तचाप नियन्त्रण हुन्छ । साथै मधुमेह र थाइराइड नियन्त्रणका लागि पनि यो लाभदायी हुनसक्छ ।

तर यो फास्टिङ सबैको लागि उपयुक्त हुँदैन । कसैको लागि यो फास्टिङ उपयोगी भयो भन्दैमा सबैको लागि यो उपयोगी नहुन सक्छ । कसैको शरीरमा यो हानिकारक हुनसक्छ भने कसैका लागि लाभदायक पनि । त्यसैले चिकित्सक तथा पोषणविद्को सल्लाहबिना यो फास्टिङ गर्नुहुँदैन ।

मधुमेह, उच्च रक्तचाप भनेको खाली खानाको कमी कमजोरी गर्दा मात्र हुँदैन । वंशाणुगत पनि हुन्छ, कसैको शरीरको बनावटको कारणले पनि हुन्छ अन्य कारण पनि हुन सक्छ । त्यसैले आहार र व्यायामले पूर्ण कुनै पनि रोगलाई नियन्त्रण गर्न सक्ला तर पूर्ण रूपमा  निको बनाउने भने होइन ।

लेखकको बारेमा
सुमित्रा लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?