+
+

‘डायलसिस नपाउँदा श्रीमान् बचाउन सकिनँ’

मेरो श्रीमान् रवि थारू तीन वर्षदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा हप्तामा दुई पटक डायलसिस गराउँदै आएका थियौं । तर १ मंसिरदेखि हामीले त्यो सेवा पाएनौं । ६ मंसिरमा २४ वर्षकै उमेरमा उहाँको निधन भयो ।

पूजा थारू पूजा थारू
२०७९ मंसिर १९ गते २१:४७

मेरो श्रीमान् रवि थारू साढे ३ वर्षदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । रोग देखिएपछि नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल, कोहलपुरमा डायलसिस गराउँदै आएका थियौं । हप्तामा दुई दिन मंगलबार र शुक्रबार डायलसिस हुन्थ्यो ।

मेडिकल कलेजको भवनमा यो सेवा भए पनि डायलसिस गर्ने ठेक्का स्वास्थ्य मन्त्रालयबाट बिरंग हेल्थ केयर भन्ने प्राइभेट कम्पनीले पाएको रहेछ । सुरुका वर्षहरूमा सेवा राम्रै थियो । पालो परेको बेला राम्रैसँग डायलसिस गर्न पाइन्थ्यो । दुई÷तीन महिनाअघिदेखि यो सेवा राम्रोसँग चलेको छैन । १८ भदौ २०७९ देखि बिरामीहरूले राम्रोसँग डायलसिस सेवा पाउन सकेका छैनन् ।

मेसिन बिग्रिएका कारण समयमा पालो नै पाइँदैन । पालो पाए पनि पूरा समय डायलसिस गर्नै पाइन्नथ्यो । सुरुका दिनहरूमा चार वटा मेसिनबाट बिरामीको डायलसिस गरिन्थ्यो । तीमध्ये दुई वटा मेसिन बिग्रिएपछि बाँकी दुई वटा मेसिनबाट मात्रै काम हुन्थ्यो । अहिले त ५÷६ दिनदेखि त्यो पनि बन्द छ । नियमित डायलसिस गराउने ४४ जना बिरामी थिए ।

डायलसिस गर्नका लागि आवश्यक पर्ने सामान पनि त्यहाँ हँुदैनथ्यो, हामी आफैंले किनेर ल्याएर उनीहरूलाई दिनुपथ्र्यो । हप्तामा दुई पटक डायलसिस गराउनुपर्ने मेरा श्रीमान्ले २६ कात्तिकपछि पालो नै पाउनुभएन । मेसिन बिग्रिएको भनेर पालो दिएनन् । यसरी डायलसिस गराउन नपाउँदा श्रीमान्को स्वास्थ्य बिगँ्रदै गइरहेको थियो ।

१ मंसिरमा उहाँ सिकिस्त बिरामी भएपछि नेपालगञ्ज मेडिकल कलेज लिएर गयौं । त्यहाँ राम्रो उपचार सेवा नपाएपछि फेरि भेरी अस्पताल नेपालगञ्जमा लग्यौं । एउटा अस्पतालबाट अर्कोमा लैजाँदै गर्दा श्रीमान् बेहोश हुनुभयो । होश नखुल्दै भेरी अस्पतालमा ६ मंसीरमा उहाँको निधन भयो । समयमा डायलसिस नपाएर २४ वर्षको उमेरमै श्रीमानको मृत्यु भएको हो ।

मेरो श्रीमानको ज्यान गएको बेलामा एक सातामै तीन जनाको मृत्यु भएको थियो । मेडिकल कलेजमा डायलसिस गराउँदै आएका बिरामीमध्ये भदौदेखि अहिलेसम्म मेरो श्रीमान्सहित करिब १५ जनाको मृत्यु भइसकेको छ । अहिले त ५÷६ दिनदेखि यो सेवा पूरै बन्द नै छ ।

समयमा डायलसिस गर्न नपाएपछि हामीले अस्पतालमा गएर मेसिन बनाउन भनेका थियौं । तर उनीहरूले हाम्रो अनुरोध सुन्दै सुनेनन् । यो सेवा बन्द भएका कारण अझै कति बिरामीको मृत्यु हुने हो कुनै ठेगान छैन । मेडिकल कलेजमा पालो नपाएका बिरामी आजभोलि भेरी अस्पतालमा जान थालेका छन् । त्यहाँ पहिलेकै बिरामीको चाप थियो, यताका पनि गएपछि झनै पालो पाइँदैन ।

हाम्रो ७ वर्षअघि विवाह भएको हो, ६ वर्षको छोरा छ । श्रीमान् बिरामी हुनुअघि घर बनाउने मिस्त्रीको काम गर्नुहुन्थ्यो । तर बिरामी भएपछि काममा जान सक्नुभएको थिएन । उहाँको उपचारमा हिंडडुल गर्दा मैले पनि तीन वर्षदेखि अरू केही काम गर्न सकेकी थिइनँ । मैले ९ कक्षासम्म मात्र पढेकी छु ।

निजी अस्पतालमा एक पटक डायलसिस गराउँदा ७÷८ हजार लाग्छ । हामी जस्ता गरिब परिवारका बिरामीले पैसा तिरेर डायलसिस गराउन सक्ने अवस्था छैन । हाम्रो ४ कट्ठा मात्रै जग्गा–जमिन छ । हाम्रो घर मेडिकल कलेजबाट नजिक भएकाले केही सजिलो थियो । अस्पताल छेवैमा कैलालीबाट आएर ५ वर्षदेखि डेरा लिएर डायलसिस गरिरहनुभएका व्यक्तिहरू पनि हुनुहुन्छ । हामी अर्काको जग्गामा खेतीपाती गरेर गुजारा चलाउँदै आएका छौं । श्रीमान्को उपचार गराउँदा गराउँदै हामी ऋणमा डुबेका छौं । त्यो ऋण कसरी तिर्ने हो, थाहा छैन ।

सरकारले डायलसिस सेवा निःशुल्क भनेको छ रे ! तर अस्पतालमा उपचार मात्रै निःशुल्क भयो, त्यसको सामान किनेको पैसा सरकारले दिनुपर्छ । अरू उपचारको खर्च लाग्छ । पछिपछि त सामान छैन भनेर अस्पतालले सबै किन्न लगाउँथ्यो । सेवा नपाएर बिरामीको ज्यान गएको सुन्दा मलाई मेरै घरको अवस्थाको झल्को आउँछ । अब डायलसिस नपाएर कसैको ज्यान नगए हुन्थ्यो, सरकारले यसमा ध्यान दिनुपर्‍यो ।

(समयमै डायलसिस नपाएर ज्यान गुमाएका बाँकेका रवि थारूकी श्रीमती पूजा थारूसँग नेपालगञ्जबाट पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?