+

हिउँद लागेसँगै उदासी बढ्यो ? विन्टर डिप्रेसन हुनसक्छ

२०७९ मंसिर  २२ गते २०:१४ २०७९ मंसिर २२ गते २०:१४
हिउँद लागेसँगै उदासी बढ्यो ? विन्टर डिप्रेसन हुनसक्छ

२२ मंसिर, काठमाडौं । के तपाईं आज–भोलि उदास हुनुहुन्छ ? मौसम परिवर्तन भएसँगै तपाईंको व्यवहारमा अचानक परिवर्तन आएको छ ? अन्य दिनभन्दा धेरै सुस्त, निराश र एकान्तमा बस्न मन लाग्छ ?

जाडो मौसम र डिप्रेसनबीच के सम्बन्ध होला र ? सायद तपाईं यस्तै सोच्नुहुन्छ । चिसो मौसम सुरु भएसँगै व्यवहारमा परिवर्तन आएको छ भने सम्भवतः तपाईं ‘विन्टर डिप्रेसन’को सिकार हुनुभएको हुनसक्छ ।

मकवानपुर घर भएकी ५६ वर्षीया गीता बस्नेत (नाम परिवर्तन) लाई हरेक वर्ष मंसिर सुरु भएसँगै उदासीनताको लक्षण देखिन्थ्यो । फागुनपछि डिप्रेसनको समस्या विस्तारै कम हुन्थ्यो । उनी हरेक पटक आउँदा चिकित्सकले डिप्रेसनको औषधि दिने गरेका थिए । दुई–तीन वर्षसम्म बस्नेत अस्पताल धाउने क्रम जारी रह्यो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डा. पवन शर्माले बस्नेतको हिस्ट्री लिंदा ‘विन्टर डिप्रेसन’ भएको पहिचान गरे । जीवनशैली तथा व्यावहारिक जीवनमा गर्नुपर्ने क्रियाकलापबारे मनोपरामर्श दिए ।

‘करिब दुई वर्ष अगाडि हामीले औषधि चलाएका थियौं । अहिले उहाँ फलोअपमा हुनुहुन्छ र मानसिक स्वास्थ्य पनि ठीक छ’, डा. शर्माले सुनाए ।

गृष्मा पनेरु ।

अहिलेको मौसममा ‘विन्टर डिप्रेसन’को समस्या लिएर मनोपरामर्श तथा उपचारका लागि पुग्नेको संख्या बढ्ने गरेको मनोचिकित्सक बताउँछन् । तर, मौसमी डिप्रेसन केही समयपछि भने विस्तारै कम हुँदै जान्छ । ‘विन्टर डिप्रेसन धेरै जनालाई हुन्छ । तर, अधिकांशले पहिचान गर्न सकेका हुँदैनन् र अस्पतालसम्म यस्ता केस थोरै आउँछन्,’ मनोविद् गृष्मा पनेरु भन्छिन्, ‘जाडोमा हुने डिप्रेसन गर्मी लाग्न थालेपछि हराएर जान्छ ।’

‘विन्टर डिप्रेसन’को समस्याबाट व्यक्ति हरेक वर्ष एकै समयमा पीडित हुन्छन् । उनीहरूलाई चिन्ता, डिप्रेसन र थकानको लक्षण देखिन्छ । यस समयमा काममा रुचि नहुनु र निराशाको भावना व्यक्तिको दिमागमा आउँछ ।

‘विन्टर डिप्रेसन’ यही कारण पूर्ण रूपमा हुन्छ भन्ने यकिन तथ्य छैन । शरीरमा मेलाटोनिन र सेरोटोनिन नामक दुई हर्मोनको अनुपातमा उत्पन्न हुने असन्तुलनका कारण जाडोमा गम्भीर रूपमा डिप्रेसन हुने गर्छ ।

‘विन्टर डिप्रेसन’ प्रायः छोटो शरद ऋतु र जाडो दिनमा घामसँग जोडिने गरिएको छ । चिकित्सकका अनुसार घामको कमीले मस्तिष्कको एक भागलाई हाइपोथालेमस भनिने कामलाई रोक्ने गर्छ ।

यसमा मेलाटोनिन हर्मोनले ठूलो भूमिका खेल्छ । हाम्रो मस्तिष्कमा दुई कानको बीचमा रहेको ‘पाइनल ग्रन्थी’ बाट मेलाटोनिन नामक तरल पदार्थको सानो मात्रा बाहिर निस्कन्छ र पछि रगतमा मिसिन्छ । पिनियल ग्रन्थी हाम्रो आँखासँग प्रत्यक्ष सम्बन्धित हुन्छ ।

डा. शर्मा भन्छन्, ‘पिनियल ग्रन्थीमा उज्यालो र अन्धकारको प्रत्यक्ष प्रभाव हुन्छ । साँझ बढ्दै जाँदा मेलाटोनिनको स्राव सुरु हुन्छ । यसलाई रातको वा अँध्यारोको हर्मोन पनि भनिन्छ । जसले गर्दा चिसो मौसममा निद्रा बढी लाग्ने, खाना बढी रुच्ने र शारीरिक र मानसिक रूपमा कमजोर भएका लक्षण देखापर्छन् ।’

वंशाणु कारण पनि हुनसक्छ

हिउँदको समयमा घामको प्रकाश पनि कम हुन्छ, जसले गर्दा सेरोटोनिन रसायनको उत्पादनमा कमी आउने मनोविद्को भनाइ छ । ‘सेरोटोनिनको उत्पादनमा कमी हुँदा डिप्रेसनको जोखिम बढी हुन्छ । चिसो मौसममा बादल लाग्दा, कुहिरो लाग्दा, शरीरमा घाम कम पर्छ । यस्तो अवस्थामा शरीरमा सेरोटोनिन रसायनको कमी हुन्छ । दिनमा थोरै घाम लाग्दा यस्तो समस्या झनै बढ्छ’, पनेरू भन्छिन् ।

जसले गर्दा राम्रोसित राति निद्रा नलाग्नु या अत्यधिक निद्रा लाग्नु, मनमा नकारात्मक विचार बारम्बार आइरहनु, शरीरको तौल तीव्र गतिले बढ्नु, थकान, जोर्नी दुख्ने, पेट दुख्ने वा गडबडी जस्ता शारीरिक लक्षण र व्यवहार सम्बन्धी समस्या देखा पर्छन् ।

‘मानिसको विचार, भावना र क्रियाकलापमा चिसो मौसमका कारण बारम्बार उतारचढाव आउँछ । जसले शरीरको प्रणालीलाई सीधै असर गर्छ र चिसो दिनमा यस्ता अधिकांश बिरामी डिप्रेसनका सिकार हुन्छन्’, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत मनोचिकित्सक पुरुषोत्तम अधिकारी थप्छन् ।

नर्वे, रूसको नर्थपोल, डेनमार्क, फिनल्यान्ड, ग्रीनल्यान्ड, स्वीडेन जस्ता ठाउँमा बढी चिसो हुने भएकाले त्यस्ता ठाउँमा विन्टर डिप्रेसनको प्रभाव पनि बढी देखिने गरेको मनोविद्को भनाइ छ ।

‘यस्ता बिरामी चिड्चिडापन र एक्लोपनको गुनासो बढी गर्छन् । आजभोलि धेरैजसो अवस्थामा बिहान घाम नलाग्दा बिरामीको अवस्था बिग्रने गरेको देखिन्छ’ पनेरू भन्छिन्, ‘यस्तो समस्या हामीले समयमै व्यवस्थापन गर्न सकिएन भने बर्सेनि समस्या र गम्भीर अवस्था निम्तिन सक्छ ।’

यसबाहेक, मनोवैज्ञानिकको विचारमा वंशाणु पनि यो रोगको मुख्य कारण हो । यदि आमाबाबुमध्ये एक पहिला नै ‘विन्टर डिप्रेसन’को सिकार छ भने, बालबालिकामा यस्ता समस्या हुने सम्भावना बढी हुनसक्छ ।

‘विन्टर डिप्रेसनले आत्महत्यासम्म’

मौसम चिसो भइरहने ठाउँमा भने यस्तो समस्या लामो समय हुनसक्ने मनोविद् डा. अधिकारी बताउँछन् । तर, नेपालमा केही समय मौसम धुम्म भए पनि खुल्ने भएकाले विन्टर डिप्रेसनको समस्या त्यति धेरै नरहेको उनको भनाइ छ ।

चिकित्सकको भनाइ अनुसार ‘विन्टर डिप्रेसन’को बिरामीलाई डिप्रेसन भएकै बिरामी जसरी उपचार भएकाले पनि पहिचान गर्न गाह्रो भएको हो ।

चिकित्सकका अनुसार कमजोर मन भएका व्यक्तिहरूले बढी सावधानी अपनाउनुपर्छ किनभने यो मौसम घातक मात्र होइन यसले आत्महत्या पनि निम्त्याउन सक्छ । चिसो मौसममा डिप्रेसनका बिरामीको संख्या पनि सामान्य दिनको तुलनामा दोब्बर हुन्छ ।

यस्तो अवस्थामा बिरामीमा आत्महत्याको विचार आउँछ र उसले प्रयास पनि गर्छ । इलाममा धुम्म कुहिरो तथा बादल लाग्ने, चिसो हुने जस्ता कारणले निराश तथा उदास महसुस हुने समस्या रहेको पनेरू बताउँछिन् । ‘इलाममा धेरै जनालाई मानसिक समस्या छ । जसका कारण आत्महत्याको दर पनि बढी छ । किनभने त्यहाँ चिसो मौसममा धुम्म कुहिरो तथा बादल लाग्ने हुन्छ’ पनेरू भन्छिन्, ‘केही वर्ष अगाडि नेपाल अनुसन्धान परिषद्ले गरेको एक प्रतिवेदनमा आत्महत्या बढ्नुको एक कारण मौसमी प्रभाव पनि थियो ।’

सन् २०१९ को पुसदेखि २०२० को पुससम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालका सातै प्रदेशका किशोर–किशोरीमा लक्षित रहेर सर्वेक्षण गरेको थियो । त्यसमा सबैभन्दा बढी प्रदेश–१ मा ११ प्रतिशत किशोर–किशोरीमा मानसिक समस्या देखिएको थियो ।

चिसो मौसमको सुरु भएपछि डिप्रेसनको लक्षण दुई हप्ताभन्दा बढी देखिनुलाई विन्टर डिप्रेसनको रूपमा लिन सकिने डा. अधिकारीको भनाइ छ । सामान्य व्यक्तिमा डिप्रेसनका यस्ता लक्षण देखिए पनि निरन्तर रूपमा भने यस्ता लक्षण नदेखिने मनोविद् बताउँछन् ।

त्यसो त चिसो ठाउँमा बस्ने मानिसहरूलाई मात्र यो रोग लाग्छ भन्ने होइन । तातो ठाउँबाट बढी जाडो हुने ठाउँमा आएका मानिसलाई यस किसिमको समस्या हुने सम्भावना बढी हुन्छ । यसैगरी, महिलाहरूमा यो रोग लाग्ने सम्भावना पुरुषको तुलनामा बढी हुने डा. अधिकारी बताउँछन् । १५ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिहरू यस रोगबाट बढी पीडित भएको पाइन्छ ।

मौसमी डिप्रेसनबाट टाढा रहने उपाय

सामान्य किसिमका विन्टर डिप्रेसन मनोपरामर्शले ठीक हुने मनोचिकित्सक बताउँछन् । तर, बिरामीले लक्षणहरू व्यवस्थापन गर्न चाँडै कदम चाल्दा थप जटिलता हुने जोखिमलाई रोक्न सकिन्छ । विन्टर डिप्रेसनलाई रोकथाम गर्नका लागि आफ्नो दिनचर्या निर्धारित गर्ने; प्रत्येक दिन योग अभ्यास, ध्यान र व्यायाम गर्ने; खाना थोरै तर दिनको तीन/चार पटक खाने ।

हरियो सागपात, फलफूलको जुस, माछा बढी मात्रामा खाने, बिहान अबेरसम्म नसुत्ने, दिउँसोको खाना सम्भव भए घाममा बसेर खाने, बिदाको दिनलाई आनन्दमय बनाउने र कुनै पार्कमा गएर मजाले घाम ताप्ने, यदि घरमै बसेर काम गर्नुपरेमा आफ्नो टेबुललाई घाम लाग्ने ठाउँमा राख्ने गर्नुपर्छ ।

‘चिसो मौसममा शारीरिक र मानसिक स्वास्थ्यको लागि घाम असाध्यै महत्वपूर्ण हुन्छ । दैनिक घाममा १५ मिनेट बस्ने र खानपानमा ध्यान दिंदा विन्टर डिप्रेसनबाट जोगिन सकिन्छ’, डा. पनेरू भन्छिन् ।

विन्टर डिप्रेसनको समस्या हुन नदिन र भइहाले पनि छुटकारा पाउनका लागि जीवनशैलीमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । आराम, शारीरिक व्यायाम, खानपान, साथीभाइसँग भेटघाट गर्नाले यस्तो समस्याबाट छुटकारा पाउन सकिने मनोविद्को सुझाव छ ।

मौसमी डिप्रेसनको समस्या विशेषगरी जाडोयाम र मधुरो घामसँग सम्बन्धित हुन्छ । तसर्थ घामको उज्यालो नभए तापनि यस्तो समयमा घाममा बस्नुपर्छ ।

मौसमी डिप्रेसनको कारण व्यक्तिलाई विशेषगरी गुलियो तथा कार्बोहाइड्रेटयुक्त खाना खान मन लाग्ने हुन्छ । त्यस्ता खाना स्वास्थ्यको दृष्टिकोणले उचित नभएको र त्यसले कालान्तरमा गएर नकारात्मक असर पार्ने भएकोले व्यक्तिले यस समयमा फलफूल, हरियो तरकारी, गेडागुडी तथा गहुँ जस्ता पौष्टिकयुक्त खानाहरूको प्रयोग गर्नुपर्दछ ।

‘विन्टर डिप्रेसनको असर धेरै भएको अवस्थामा औषधि पनि प्रयोग गर्नुपर्ने हुन सक्छ । लाइट थेरापी विधि अपनाएर पनि उपचार गरिन्छ । तर, औषधि साथै लाइट थेरापी विधि नेपालमा उपलब्ध छैन’, डा. शर्मा भन्छन् ।

विन्टर डिप्रेसन
लेखक
पुष्पराज चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?