+
+

वास्तु विज्ञान अनुसार घरको कोठामा कस्तो फोटो सजाउने ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ मंसिर २७ गते १५:२२

काठमाडौं । घरको आन्तरिक सज्जाले हाम्रो भावनासँग पनि खास सम्बन्ध राख्छ । त्यसैले घरका कोठाहरु आकर्षक र रचनात्मक हुनुपर्छ भनिन्छ । यसैको एउटा हिस्सा हो, भित्तामा सजाइने फोटो पनि ।

चाहे त्यो चित्रकारले तयार गरेको पेन्टिङ होस् वा विभिन्न सन्दर्भमा खिचिएको परिवारका सदस्यकै फोटो । त्यसलाई सही ठाउँमा, सही ढंगले सजाउनु जरुरी हुन्छ ।

जस्तो, दम्पतीको शयन कक्षमा प्रेमिल भाव पैदा गर्ने फोटो उपयुक्त हुनसक्छ भने बच्चाको कोठामा रचनात्मक र ऊर्जावान् बनाउने । भान्सामा भोक जगाउने खालको फोटो राख्न सकिन्छ भने बैठक कोठामा मनोरम दृश्यका ।

त्यसो त विभिन्न सन्दर्भमा खिचिएका फोटो पनि आकर्षक र अनमोल हुन्छन् । त्यस्ता फोटोले विगतका रमाइला स्मृतिलाई ताजा गराइदिन्छ ।

यद्यपि घरको भित्तामा फोटो सजाउँदा केही कुरामा ध्यान दिनुपर्छ । कतिपय यस्ता चित्र हुन्छन्, जसलाई देख्नासाथ हाम्रो मन खिन्न हुन्छ । त्यसबाट हामी भावुक हुन्छौं, दुःखी हुन्छौं, कतिपय अवस्थामा क्रोधित पनि । यस्ता फोटोहरु भने सजाउन हुँदैन ।

सकारात्मक ऊर्जा दिने फोटो

घरमा विशेषगरी सकारात्मक ऊर्जा दिने खालका पेन्टिङ राख्ने चलन भएको डिजिटल नाइन इन्टेरियर डिजाइन स्टुडियोकी इन्टेरियर डिजाइनर सन्ध्या नगरकोटी बताउँछिन् । ‘घरमा पारिवारिक फोटो, देवीदेवताको फोटो, प्राकृतिक वनजंगल, हिमाल पहाडको फोटो राख्ने चलन बढी छ ।’

पेन्टिङको छनोट गर्दा वास्तुअनुसार भन्दा पनि घरधनीको रुचिअनुसार बढी छनोट गरेको पाइन्छ । घरको भान्सा, शौचालय, आदिमा चाहिं मानिसहरुले वास्तु हेर्छन् । तर पेन्टिङ छनोट गर्दा भने आफ्नो रुचिअनुसार नै राख्ने गरेको गरेको उनी बताउँछन् ।

बैठक कोठामा

बैठक कोठामा प्राकृतिक मनोरम दृश्यहरू नै राख्नु उचित हुन्छ । त्यसले सकारात्मक ऊर्जा दिने नगरकोटी बताउँछिन् । ‘घरभित्र प्रवेश गर्ने बित्तिकै हामी बैठक कोठामा प्रवेश गर्छौं, त्यसैले त्यहाँ खुसी र सकारात्मक बनाउने पेन्टिङ राख्नुपर्छ ।’

दम्पतीको शयन कक्षमा

दम्पतीको शयन कक्षमा प्रेम दर्शाउने खालको युगल जोडी चराको पेन्टिङ मायाको संकेत गर्ने खालका फोटोहरू राख्नु राम्रो हो । यसले दम्पतीबीचको सम्बन्धलाई झन् कसिलो बनाउने उनको तर्क छ ।

बालबच्चाको कोठामा

बालबच्चाको कोठामा उनीहरूको रुचि अनुसारको फोटो राख्नुपर्छ । उनीहरूलाई जनावरहरू मन पर्छ भने जनावरको पेन्टिङ, उनीहरूले आइडल मान्ने व्यक्तिको फोटो र उनीहरूलाई कोही खेलाडी मन पर्छ भने खेलाडीको पेन्टिङ उनीहरूको कोठामा राखिदिनुपर्ने नगरकोटी बताउँछिन् ।

वास्तुअनुसार घरमा कस्तो पेन्टिङ उचित ?

वास्तुअनुसार घरमा युगल जोडी चरा, प्राकृतिक बगैंचा, आफूलाई मन पर्ने व्यक्ति र सूर्य उदाउँदै गरेको लगायतका सकारात्मक ऊर्जा दिने पेन्टिङहरू राख्नु उचित हुने ज्योतिषी तथा वास्तुशास्त्री आचार्य पण्डित बलराम खकुरेल बताउँछन् । ‘युद्ध झल्काउने हिंस्रक पेन्टिङ र मनमा नकारात्मक कुरा ल्याउने खालका पेन्टिङहरू भने घरमा नराख्नु उचित हुन्छ,’ उनी भन्छन् ।

कुन कोठामा कस्तो पेन्टिङ ?

बालबालिकाको कोठा भनेको सृजनशील, नयाँ कुरा सिकाउने हुनुपर्छ त्यसैले त्यहाँ सरस्वती तथा अन्य देवीदेवता, महापुरुष र केही न केही ज्ञान दिने खालका पेन्टिङहरू राख्नुपर्छ । बेड रुममा युगल जोडीहरूको, प्रेम र स्नेहलाई  झल्काउने खालका फोटो राख्नुपर्छ भने बैठक कोठामा रुचिअनुसार प्राकृतिक चित्र सकारात्मक ऊर्जा दिने चित्र राख्नुपर्ने खकुरेल सुझाउँछन् ।

परिवारको फोटो

खकुरेल भन्छन्, ‘परिवारको फोटो राख्नको लागि ठ्याक्कै यही ठाउँ उचित हो भनेर कतै उल्लेख गरिएको छैन । तर आवश्यकता र रुचिअनुसार भर्‍याङको छेउ, बैठक कोठा, बेड रुममा राख्न सकिन्छ ।’

बैठक कोठामा पश्चिमबाट पूर्वतिर फर्काएर अथवा पूर्वबाट पश्चिमतिर फर्काएर राख्न सकिने उनी बताउँछन् । सकेसम्म दक्षिणतिरको भित्तामा चाहिं फोटो नराख्नु राम्रो हुने उनी सुझाउँछन् ।

फोटो र घरपरिवारको मनोविज्ञान

मनोविज्ञ गृष्मा पनेरु भन्छिन्, ‘हामी जस्तो वातावरणमा हुर्किरहेका र बसिरहेका छौं हाम्रो मनोविज्ञान पनि त्यस्तै हुन्छ । गर्भावस्थामा आमाले आफ्नो बच्चा कस्तो होस् भन्ने चाहन्छिन्, त्यस्तै फोटो राख्ने गरिन्छ । त्यो फोटो हेर्दा अवचेतन मनमा पुग्छ र जुन कुरा मनमा पुग्छ त्यो कुरा पूरा हुन्छ ।’

त्यसैले कस्तो जीवन जिउन चाहने हो घरको भित्तामा त्यस्तै फोटो राख्नुपर्छ । कुनै व्यक्तिले घरको भित्तामा कस्तो फोटो राखेको छ, कस्तो रंगको छ भन्ने कुराले त्यो व्यक्तिको अवचेतन कस्तो छ भन्ने कुरा थाहा हुने पनेरु बताउँछिन् ।

फोटोको भावनात्मक सम्बन्ध

हाम्रो संस्कृति र मनोविज्ञान कतै न कतै एकअर्कासँग सम्बन्धित हुन्छ । कुनै कुराले तपाईंलाई मानसिक रूपमा विचलित बनाएको छ भने शान्त र सुन्दर प्राकृतिक दृश्य भएको फोटो भएको कोठामा गएर बस्यो भने केही राहत मिल्ने पनेरु बताउँछिन् ।

‘धर्ममा आस्था भएको व्यक्तिको घरमा कोठामा धार्मिक आस्था झल्कने फोटो राख्दा ऊ खुसी हुन्छ । केही नराम्रो सोच आयो भने पनि त्यो फोटो हेरेर त्यो व्यक्ति सकारात्मक हुन्छ,’ उनी भन्छिन्, ‘प्रकृति नै सबै कुरा हो भन्ने विश्वास राख्ने व्यक्ति छ भने सुन्दर बगैंचा, पहाड हिमालको फोटो देखेर ऊ ऊर्जावान् हुन्छ ।’

बालबच्चाको कोठामा कस्तो फोटो ?

बालबालिकाको कोठामा हिंस्रक फोटो राख्नु हुँदैन । कुनै पनि कुरा देखेर बच्चा ऊर्जावान् हुन्छ, उत्साहित हुन्छ भने त्यो कुराको फोटो उसको कोठामा राखिदिनुपर्छ । बालबालिकाको रुचिअनुसारको घरपालुवा जनावरको फोटो, सुन्दर बगैंचाको फोटो र केही नयाँ कुरा सिकाउने प्रतीकात्मक फोटो उसको कोठामा राखिदिनुपर्ने पनेरु बताउँछिन्  ।

‘सूर्य उदाउँदै गरेको फोटो बच्चाको कोठामा राखिदिनु एकदमै उपयुक्त हुन्छ । उठ्ने बित्तिकै त्यो सूर्यलाई हेरेर ऊ ऊर्जावान् हुन्छ,’ उनी भन्छिन् ।

नकारात्मक प्रभाव पार्ने फोटो 

कुनै व्यक्तिको मनोविज्ञान कस्तो छ उसले त्यसै फोटो आफ्नो घर कोठामा राख्छ । कुनै व्यक्तिको घरमा कस्तो फोटो वा चित्र राखेको छ, त्यसले उसको मनोविज्ञान त्यस्तै हुने पनेरु बताउँछिन् ।

‘कुनै व्यक्तिको मनमा केही कुराको डर चिन्ता छ र उसले त्यो कुरालाई चित्रमा देख्यो भने उ झन् आत्तिन्छ,’ उनी भन्छिन्, ‘रोएको, हत्या हिंसाको फोटो सधैं देखिराख्यो भने त्यो कुरा अवचेतनमा पुग्छ र त्यसले दुःखी बनाउँछ ।’ त्यसैले बाहिर नसके पनि घरमा कोठामा रोएको, हत्या भएको, हिंस्रक, अँध्यारो चित्रहरू राख्न नहुने पनेरु सुझाउँछिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?