+

आँसु नै आएन भने के हुन्छ ? 

२०७९ मंसिर  २८ गते १३:२६ २०७९ मंसिर २८ गते १३:२६
आँसु नै आएन भने के हुन्छ ? 

काठमाडौं । आँखामा कसिंगर पस्दा होस् वा प्याज काट्दा, चसक्क मन दुख्दा होस् वा अप्रत्यासित खुसी मिल्दा, वियोगको क्षणमा होस् वा मिलनको घडी — हाम्रो शरीरले एउटै माध्यमबाट प्रतिक्रिया जनाउँछ, आँसु ।

खासमा त आँसु मानवीय संवेगको अभिव्यक्ति हो । मान्छेले भन्न नसकेका धेरै कुरा आँसुले भनिदिन्छ । चाहे त्यो असाध्यै दुःखका कुरा होस् वा उल्कै खुसीका ।

सिनेमा, संगीत, साहित्यमा आँसुको खास स्थान छ । यसमा आँसुलाई वेदनाको बिम्ब बनाइन्छ । यद्यपि आँसु कुनै कमजोरी मात्र होइन, शक्ति पनि हो । आँसुसँग अद्भुत शक्ति हुन्छ । आँसु किन र  कसरी आउँछ यसबारे कहिल्यै गम्भीर भएर सोच्नुभएको छ ? रोदन र आँसुको वैज्ञानिक खोजी आफैंमा अर्थपूर्ण छ ।

सामान्यतया आँखाका ग्रन्थिहरूबाट प्रतिदिन १.५ मिलिलिटर आँसु बन्ने गर्छ । मानव शरीरले मुख्यतया दुई प्रकारका आँसुको उत्पादन गर्छ । पहिलो कुनै पनि चोटपटक वा आँखालाई आवश्यक तरल पदार्थको लागि आउँछ । अर्को दुःखमा, सुखमा कुनै पनि भावनात्मक कारणले आँसु आउने नेत्र रोग विशेषज्ञ डा. प्रतीक्षा अमात्य बताउँछिन् ।

‘हामी रुँदा, हाँस्दा, तथा कहिलेकाहीं खुसी भएको समयमा बग्ने भावनात्मक आँसु हो । यो ल्याक्रिम्नल ग्रन्थिबाट उत्पादन हुने आँसु हो । उनी भन्छिन्, ‘अर्को आँखाको ढकनीमा हुने ग्रन्थिहरूले उत्पादन गर्ने आँसु जुन आँखाको निम्ति आवश्यक मानिन्छ । जसले आँखालाई सुक्खा हुनबाट बचाउँछ ।’

दुःखमा, खुसीमा कुनै पनि भावनात्मक कुरामा मान्छेको आँखाबाट आँसु बग्छ । त्यस्तै आँखामा कुनै चोटपटक लाग्दा, बढ्दो उमेर अवस्थामा र प्याज काट्दा कुनै पनि कुराको रिफ्लेक्समा पनि आँखाबाट आँसु बग्छ । मुख्यतया प्याथलोजिकल आँसु र भावनात्मक आँसु दुई प्रकारको आँसु मान्छेहरूको आँखाबाट बग्ने वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा बताउँछन् ।

कसरी र किन बन्छ आँसु ?

आँखाको माथिपट्टि भित्र आँसुको ‘ल्याक्रिम्नल’ ग्रन्थि हुन्छ । जसबाट आँसु बन्छ र आउँछ । ‘मेइबोमियन’ ग्रन्थि पनि आँसु उत्पादन गर्ने ग्रन्थि हो, जुन आँखाको परेलामा हुन्छ । साथै ‘म्युसिन’ लेयर लगायतले पनि आँसु उत्पादन गर्न मद्दत गर्ने नेत्ररोग विशेषज्ञ संयम बजिमय बताउँछन् ।

खुसी हुँदा, दुःखी हुँदा बग्ने आँसु ल्याक्रिम्नल ग्रन्थिबाट उत्पादन हुन्छ । त्यस्तै आँखाको परेलामा हुने ‘मेइबोमियन’ ग्रन्थिले आँखालाई मोस्चर प्रदान गर्न र आँखालाई सुख्खा हुनबाट बचाउन आँसु उत्पादन गर्ने बजिमय बताउँछन् ।

‘हाम्रो आँखामा सामान्य अवस्थामा पनि आँसु बनिरहेको हुन्छ । जुन आँखामा रहेको सानो प्वालबाट ‘ल्याक्रिमनल डक्टस’बाट नाक हुँदै घाँटीमा जान्छ,’ उनी भन्छन् ।

हरेक पटकको आँखा झिम्काइमा कम मात्रामा भए पनि हरेक पटक आँसु आउँछ । आँसुले नै हाम्रो देख्ने क्षमताको विकास गर्ने डा. अमात्य बताउँछिन् । ‘आँसुको केही भाग हाम्रो नाकबाट पनि उत्पादन हुने गर्छ । धेरै हाँसो वा पीडामा हाम्रो नाकबाट समेत आँसु आउँछ,’ उनी भन्छन् ।

आँसु हाम्रो आँखाको संरक्षणको लागि आउँछ । आँसुमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ, जसले आँखालाई विभिन्न रोगबाट पनि बचाउने बजिमय बताउँछन् । ‘आँखाको सतहलाई स्वस्थ अवस्थामा राख्न आँखालाई निरन्तर आँसुको आवश्यकता पर्छ,’ उनी भन्छन्, ‘आँसुले आँखा मात्र होइन, नाकलाई पनि विभिन्न संक्रमणबाट बचाउँछ । रुँदा आँखाबाट निस्किएको आँसु लक्रिमल डक्ट्सबाट नाकमा पुग्छ र नाकमा जम्मा भएको कीटाणु र फोहोर हट्छ ।’

आँसु आएन भने के हुन्छ ?

बाथ, मधुमेह र थाइराइड लगायतमा आँसु कम आउने समस्या हुन्छ । कसैकसैमा आँसु नै नआउने समस्या पनि हुन्छ । आँखाबाट आँसु नै आएन भने आँखाको नानी सुख्खा भएर  सानो सानो घाउ हुन्छ र आँखाको ज्योति नै कम हुँदै हुन्छ । पछि घाउ ठूलो भएर आँखा नै नदेख्ने समस्या हुन्छ । बढ्दो उमेरसँगै आँसु उत्पादन कम हुँदै जाने र आँखा सुक्खा हुने समस्या पनि हुने बजिमय बताउँछन् ।

आँसुको भावनात्मक सम्बन्ध

हाम्रो शरीरमा एउटा ‘एन्डोर्फिन’ भन्ने हर्मोन हुन्छ । जुन हर्मोन मस्तिष्कमा उत्पादन हुन्छन् र शरीरमा सन्देशवाहकको रूपमा काम गर्छ । कुनै पनि भावनात्मक कुरा सुनेपछि त्यो दिमागमा बस्छ र त्यसबाट तत्कालै आँखामा आँसु आउँछ । जब कुनै मान्छे तनावमा वा भावनात्मक रूपमा उथलपुथल हुन्छ, यो हर्मोन बढी मात्रामा उत्पादन हुन्छ । अनि आँसुको माध्यमबाट बाहिर निस्कने डा. झा बताउँछन् ।

‘कुनै व्यक्ति धेरै तनावमा छ भने रोएर आँसु बगाएपछि उसले केही राहत महसुस गर्छ, तनावमुक्त हुन्छ,’ उनी भन्छन्, ‘किनकि उसले एन्डोर्फिन हर्मोनलाई आँसुको माध्यमबाट बगाउँछ । भावनात्मक आँसु बगाइसकेपछि मान्छे तनावमुक्त हुन्छ ।’

आँसु भावना
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय