+
+
सहमतिको अन्तरकथा :

गगन कसरी देउवा इतर समूहका साझा उम्मेदवार बन्न सके ?

कतिपयले नेताहरुबीच लेनदेन भएको हुन सक्ने आशंका गरे पनि डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत नेताहरुले निरन्तरतासहितको पुस्तान्तरणका पक्षमा आफूलाई उभ्याएका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ पुष ५ गते २०:५८

५ पुस, काठमाडौं । प्रतिनिधि सभा चुनावमा मत माग्दै गर्दा काठमाडौं-४ का उम्मेदवार गगन थापाले मतदाता सामू भन्ने गर्थे, ‘एउटा मात्रै दलमा संसदीय दलको निर्वाचन हुन्छ । त्यो नेपाली कांग्रेसमा हुन्छ ।’

थापाले भने जस्तै कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन बुधबार बिहान (६ पुस) हुँदैछ । संसदमा रहेका अन्य दलले भने आफ्नो पार्टी अध्यक्षलाई निर्विरोध संसदीय दलको नेता बनाएका छन्/बनाउँदै छन् । कांग्रेसले संसदीय दलको निर्वाचन निरन्तर गर्दै आएको छ ।

संसदीय दलको नेताका लागि हुने विगतमा निर्वाचन र यसपटक नितान्त फरक छ । एउटै उमेर समूहका नेताहरु प्रतिस्पर्धा गर्ने परम्परा भत्किएको छ । पहिलो उमेर समूहका उम्मेदवारसँग तेस्रो पुस्ताले प्रतिस्पर्धा गर्ने अवस्था बनेको छ ।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा निर्विकल्प उम्मेदवार बनेपछि संस्थापनइतरमा उम्मेदवारको अन्योल थियो । ती अन्योलहरु चिर्दै महामन्त्री थापाले संसदीय दलमा देउवालाई चुनौती दिने भएका छन् । संस्थापनइतरबाट एकल उम्मेदवार बन्ने निर्णय गराउन भने उक्त पक्षलाई सहज भने भएन

संसदीय दलका लागि प्रतिस्पर्धा गर्ने उद्घोषसहित मत थापाले मत मागेका कारण उनी पछि हट्ने अवस्था थिएन । अर्कोतर्फ, नेता डा शेखर कोइराला मौन रहँदा समूहभित्र संशय पैदा भएको थियो । शेखरले मुख नखोले पनि उनी निकटका केही नेताले संसदीय दलमा प्रतिस्पर्धा गर्न सुझाएका थिए ।

शेखर पक्षमा रहेका दोस्रो उमेर समूहका अधिकांश नेता उनलाई नै संसदीय दलमा उभ्याउने पक्षमा थिए । संस्थापनइतरका एक नेताका अनुसार २४ जिल्ला सभापतिले शेखरलाई नै प्रतिस्पर्धा गर्न सुझाव दिएका थिए ।

संस्थापनइतरका पाको उमेर समूहका केही नेता तथा जिल्ला सभापतिहरुको सुझाव सुन्दै बसेका शेखरले ‘म उम्मेदवार बन्छु’ भनी कहीँं बोलेनन् । उम्मेदवार बन्ने घोषणा गरिसकेका थापा र मौन बसेका शेखर वीच सहमतिमा ल्याउन सोही पक्षका नेताहरु खटिए । दुई नेतालाई सहमतिमा ल्याउन उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्धय जीवन परियार, बद्री पाण्डे, गुरुराज घिमिरे, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, गोविन्द पोखरेल लगायतले मुख्य भूमिका खेलेका थिए ।

आफ्नो टीममा आन्तरिक सल्लाह नगरि गगनले उम्मेदवारको घोषणा गरेको भन्दै केही नेतामा असन्तुष्टिका स्वर समेत सुनिएका थिए ‘गगनले उम्मेदवार घोषणा गर्नुअघि हाम्रो टीममा सल्लाह गरेको भए हुने थियो भन्ने हो ।’ संस्थापनइतरका एक नेता भन्छन्,‘उहाँ नै उम्मेदवार हुने कुरालाई चुनाव अघि सल्लाह गरेको भए अझै राम्रो हुने विचार आएका हुन् ।’

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३ पुसमा संसदीय दलको निर्वाचन तोक्ने बेलासम्म इतरमा एकल उम्मेदवार तय हुन सकेको थिएन । संस्थापनबाट देउवाको एकल उम्मेदवार हुँदा इतरमा दुई प्रतिस्पर्धी चुनावी मैदानमा उत्रने हुन कि भन्ने भय व्याप्त थियो ।

त्यसअघि भएका सामूहिक र द्विपक्षीय संवादले निष्कर्ष निकाल्न नसकेपछि उक्त समूह चिन्ता बढेको थियो । संस्थापनइतरका नेता गुरुराज घिमिरेका अनुसार सोमबार साँझ एक तहको सहमतिमा नेताहरु पुगे ।

मंगलबार विहान ८ बजेका लागि दोस्रो बैठक बोलाइयो । मंगलबार विहान बैठक सुरु हुनु अघि नै शेखरलाई भेट्न गगन उनको निवास बसुन्धरा पुगे । संस्थापनइतरका नेताहरुका अनुसार सोही भेटले सहमति बनाउन थप सहजता बनाइदियो । लैनचौरस्थित एम्बासडर होटलमा विहान सहमति गरेर नेताहरु निस्के

शीर्ष तहका नेताहरुको बैठकबाट निस्केर शेखर, गगनसहित नेताहरु सञ्जय गौतम र रामनाथ अधिकारी अर्कै कक्षमा संवादमा जुटेका थिए । चार नेताहरुका वीचमा भएको छलफल पछि पुन एकत्रित भए । संस्थापन पक्षबाट एकल उम्मेदवार हुने निर्णय गरेर नेताहरु बसेरा होटलमा हुने अर्को छलफलतिर लागे । जहाँ, शेखर–गगन पक्षका केन्द्रीय सदस्य र सांसदहरु उपस्थित थिए ।

उक्त समूहका नेताहरुका अनुसार संसदीय दलमा आफ्नो पक्षले देउवालाई टक्कर दिने गरि अंक गणित समेत सुनाइएको थियो । सभापति देउवाको विग्रँदो छविका कारण राजनीतिक जीवन खोज्ने सांसदहरु तान्न सकिने आकलन समेत उक्त समूहले गरेको छ ।

आत्मबल बढेको भावभंगीमा उक्त पक्षका नेताहरु उक्त बैठकमा देखिएका थिए । करिब दश मिनेट बैठकमा बोलेका नेता शेखरले संसदीय दलको उम्मेदवारमा गगनको प्रस्तावक आफू बन्ने बताए । ‘पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा छु । महाधिवेशनमा यही मुद्दासहित प्रतिस्पर्धा गरेका थियौं । म गगन माननीयलाई संसदीय दलको उम्मेदवारको लागि प्रस्ताव गर्दछु ,’ शेखरले भने ।

उनी लगत्तै धारणा राख्ने क्रममा थापाले आफ्नो समूहको नेता शेखर नै भएको बैठकमा दोहोर्‍याए । सोही बैठकमा थापाले अर्को दूरगामी महत्वको अर्को घोषणा गरे । ‘१५ औं महाधिवेशनमा हाम्रो समूहको सभापतिको उम्मेदवार शेखर दाइ हो,’ थापाले भने । थापाको प्रतिवद्धताले शेखर विश्वस्त हुने आधार बन्यो ।

पटक पटक भएका संवादले दुई नेता वीच एउटा सहमति बनेको छ । शेखरले संसदीय दलको नेतामा गगनलाई हाल सघाउने र १५ औं महाधिवेशनमा सभापतिमा गगनले शेखरलाई सघाउने सहमति बनेको छ । पार्टी भित्र यसलाई लेनदेनको राजनीतिका रुपमा विश्लेषण गर्ने पनि छन् ।

गुरुराज घिमिरे यसलाई लेनदेनको राजनीति भनी स्वीकार गर्दैनन् । उनी भन्छन्, ‘शेखर दाइले १५ औं महाधिवेशनमा मलाई सघाउनु पर्छ कुनै प्रस्ताव गर्नु भएकै थिएन । पार्टी हितका लागि गगन जीले गर्नुभएको प्रस्ताव हो ।’

संस्थापनइतरले एकल उम्मेदवार बनाउँदा पार्टी भित्रका फरक फरक समूहमा पक्षधरता लिएका नेताहरु एकत्रित हुने अवस्थासमेत बनेको छ । मूलतः युवापुस्ताका नेताहरु एकठाउँमा उभिएका छन् । गगनका लागि प्रस्तावक बन्ने घोषणा महामन्त्री विश्वप्रकाश शर्माले चुनाव अघि देखि नै गरेका थिए ।

महामन्त्रीमा प्रतिस्पर्धा गरेका तर गगनको पक्षमा मुख नखोलेका नेता प्रदीप पौडेल समेत एकाएक उनको पक्षमा देखिए । शेखर–गगन पक्षको बैठक बसिरहेको स्थल बसेरा होटल पुगेर थापालाई बल पुर्‍याए । सम्मानजनक बर्हिगमनका लागि बाटो खाली गरिदिन शर्माले सभापति देउवालाई आग्रह गरे ।

गगनको पक्केषामा न्द्रीय सदस्य गोविन्द पोखरेल, योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले र राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले पनि भूमिका खेलेका थिए । तेस्रो उमेर समूहका तीन नेताहरु एउटै धारमा देखिँदा पार्टीमा उर्जा र उत्साह थपिएको केन्द्रीय सदस्य पोखरेल बताउँछन् ।

संस्थापनइतरको पछिल्लो निर्णयले आफ्नो समूह एकतावद्ध राख्न सफल भएको सन्देश प्रवाह त गरेको नेताहरुको दाबी छ । साथै, मंगलबारको निर्णयले कांग्रेसको भावी जीवनको दिशानिर्देश गर्नसमेत उक्त पक्षको विश्वास छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?