काठमाडौं । एकैछिन ध्यान आफैंतिर केन्द्रित गर्नुहोस् त, हत्केलाभरको मोबाइलले कसरी पृथ्वीको एउटा गोलार्द्धबाट बोलेको कुरा अर्को भूगोलमा दुरुस्तै र तुरुन्तै सम्प्रेषण गर्छ होला ? अघिल्तिरको ल्यापटपले कसरी तपाईंको डिटिजल काम निमेषभरमै तमाम गरिदिन्छ होला ?
सयौं मान्छेलाई आरामपूर्वक बोकेर गह्रौं न गह्रौं हवाइजहाज कसरी खुला आकाशमा उड्छ होला ? ग्रह-नक्षत्रहरुको गतिलाई गणितीय आँकलन गरेर कसरी पृथ्वीमा पार्ने प्रभावकारी नतिजा निकालिन्छ होला ? शरीरको कुनै सूक्ष्म अंशलाई प्रयोगशालामा राखेर कसरी उनको वंशवृक्ष पहिल्याइन्छ होला ?
एकछिन स्थिर भएर सोचमग्न हुँदा हाम्रो दिमाग रन्थनिन्छ । जबकि यी सम्पूर्ण चमत्कार त्यही दिमागको उपज हो ।
आइन्स्टाइनलाई वैज्ञानिक बनाउने, सुकरातलाई दार्शनिक बनाउने, सिद्धार्थ गौतमलाई बुद्ध बनाउने करामत त्यही दिमागको हो । उही दिमाग, जसले विश्व-ब्रह्माण्डमाथिका अनगिन्ती प्रश्न हल गरेको छ । नतिजा- जीव विकासदेखि मानव शरीरसम्म, धर्तीको उत्पत्तिदेखि भूगर्भसम्म, आकाशीय पिण्डदेखि ग्रह-नक्षत्रसम्म मान्छे रजाइँ गर्न समर्थ छ ।
यति विराट र जादूयी काम गर्ने त्यो दिमाग कस्तो हुन्छ ?
आफ्नै टाउकोभित्र रहेको यो जिनिस हेर्न-देख्न नपाई हाम्रो जीवन शेष हुन्छ । कति विस्मातको कुरा !
त्यही रहस्यको जवाफ खोज्दै हामी वीर अस्पताल पुग्यौं, प्रा. डा. राजीव झालाई भेट्न । डा. झाले १९ हजार बढी टाउकोको शल्यक्रिया गरिसकेका छन् । हामीले उनको आँखाबाट मस्तिष्कको संरचना चिहाउने निधो गर्यौं ।
यति विराट र जादूयी काम गर्ने त्यो मस्तिष्क कस्तो हुन्छ ?
आफ्नै टाउकोभित्र रहेको यो जिनिस हेर्न-देख्न नपाई हाम्रो जीवन शेष हुन्छ । कति विस्मातको कुरा !
जब टाउको खोतल्छौं
खुला आँखाले हेर्दा यो कस्तो देखिंदो हो ? यसको जवाफ दिनुअघि टाउको र मस्तिष्कबारे केही अद्भूत र अनौठो तथ्यबारे कुरा गरौं ।
हरेक दिन टाउकोमा आधा लिटर पानी उत्पादन भएर शरीरमा सिञ्चित हुन्छ । यो पानीलाई चिकित्सकहरुले ‘पवित्र पानी’ भन्ने गरेका छन् । किनभने मस्तिष्कको कार्यसम्पादनमा यसको मुख्य भूमिका हुन्छ ।
वयस्क मानव शरीरमा चानचुन पाँच किलोको टाउको हुन्छ । त्यही टाउकोमा कराहीजस्तो हड्डीको ढकनीले जतनसाथ राखेको मस्तिष्क हुन्छ । जमेको दहीजस्तो थलथल स्थितिमा रहेको उक्त मस्तिष्कको तौल औसत १.४ किलोग्राम हुन्छ । यति सानो मस्तिष्कले सम्पूर्ण शरीरमाथि शासन गर्छ ।
मस्तिष्कको संघटनमा ६५ प्रतिशत बोसो हुन्छ । बाँकी प्रोटिन हुन्छ । यो ठोस हो तर यसको बीच-बीचमा पानी घुलनशील भएर रहेको हुन्छ ।
महिलाको तुलनामा पुरुषको मस्तिष्कको आकार २०० ग्रामले ठूलो हुन्छ । यसको अर्थ यो होइन कि महिलाको तुलनामा पुरुषको दिमाग बढी हुन्छ । केवल संरचनागत हिसाबले आकार ठूलो मात्र हो ।
मस्तिष्कमा असंख्य नसाहरु जोडिएको हुन्छ, जसले अलग-अलग ढंगले काम गरिरहेको हुन्छ । सोच्ने, कल्पना गर्ने, रचना गर्ने, मूल्यांकन गर्ने, तर्क गर्ने, सजग बनाउने, डर लाग्ने, दुःख लाग्ने, खुसी लाग्ने, गर्व लाग्ने, उत्साह जाग्ने सबै-सबै संवेगात्मक क्रिया मस्तिष्कका तिनै अलग-अलग संयन्त्रबाट भइरहेको हुन्छ ।
शरीरका अंगहरुले खपत गर्ने रगतमध्ये धेरैजसो अंश मस्तिष्कले गर्छ । केटा र केटीको मस्तिष्कको आकार फरक हुन्छ । केटाहरुको २०० ग्रामले ठूलो हुन्छ ।
बिजुलीको तारजस्तै जेलिएको मस्तिष्क
ओखर फुटाएर हेर्दा देखिनेजस्तै कतै खुम्चिएको, कतै फुलेको ढाँचामा हुन्छ, मस्तिष्क । यसलाई हड्डीको ढकनीजस्तो पत्रले ढाकेर जतनसाथ राखेको हुन्छ । हड्डीको यो पत्र तीन तहमा हुन्छ । प्रकृतिले यसरी मस्तिष्कलाई अत्यन्तै सुरक्षा दिएर जतनसाथ राखिदिएको छ । मस्तिष्कको दुईवटा पत्र हुन्छ, माथिल्लो अलि गाढा र भित्री पूरै सेतो ।
झट्ट हेर्दा एउटा ढिक्का देखिए पनि यो मूलतः दुई भागमा बाँडिएको छ, दायाँ र बायाँ । यो दुई भागलाई जोड्ने अर्को संयोजक हुन्छ, जसलाई कार्पस कालोसम भनिन्छ । यसले मस्तिष्को दुई अलग भागमा सञ्चार स्थापित गराइरहेको हुन्छ । यसमा पनि विभिन्न ग्रन्थी हुन्छ । थालामस, हाइपो थालामस, पोन्स, मेडुला, पिट्युटरी र पाइनल ग्रन्थि हुन्छ ।
मस्तिष्कको दायाँ-बायाँ, अगाडि-पछाडि अलग-अलग भाग हुन्छ र यी सबैको काम-कर्तव्य पनि अलग-अलग हुन्छ ।
मस्तिष्कले सोच्ने, सुन्ने, सुँघ्ने र हेर्ने काम कसरी गर्छ ?
अगाडिको भाग, जसलाई सेरेब्रेम भनिन्छ । सेरेब्रेम अर्थात् फ्रन्टल लोप भनेको मान्छेको स्वभाव, प्रवृत्ति, प्रतिक्रिया, मूल्यांकन, आचरणजस्ता कुरासँग सम्बन्धित हुन्छ ।
मस्तिष्कको माथिल्लो तह अर्थात् पराइटल लोव जसले मान्छेमा स्वाद, स्पर्श, तापक्रम महसुस गराउँछ । जाडो वा गर्मी भएको, दुखेको, केही वस्तुले बिझेको कुरा यसैले महसुस गराउँछ । श्रवणशक्तिसँग पनि यसको सम्बन्ध हुन्छ । कुनै पनि ध्वनिलाई सुन्ने वा बुझ्ने काम यसले गर्छ । दायाँतर्फ टेम्पोरल लोव हुन्छ, जुन मान्छेको स्मरण शक्तिसँग सम्बन्धित छ । श्रवण क्षमताका लागि पनि यसले काम गर्छ ।
माथिल्लो भागमा जुन ओसिपिटल लोव हुन्छ, यसको खास नाता हाम्रो दृष्टि शक्तिसँग छ । हामीले कुनै पनि वस्तुलाई हेरेपछि त्यसको आकृति छुट्याउने र पहिचान गर्ने काम यसैको हो ।
मस्तिष्कको पछाडितर्फ दुईवटा भागलाई सेरिबेलम भनिन्छ । यसको काम हाम्रो इन्द्रियलाई सन्तुलन राख्ने हो । हिंड्न चाहेपछि खुट्टाहरु चल्छ, कुनै कुरा टिप्नु परेमा हात अग्रसर हुन्छ, कुनै कुरा हेर्न परेमा आँखाले नियाल्छ । यो छुनु, यो ल्याउनु, यो गर्नु भन्ने संयोजन यसैले गर्छ । यी सबै कामको सन्तुलन मिलाउने काम त्यही सेरिबेलमले गर्छ ।
यी सम्पूर्ण मस्तिष्कका भागलाई जोड्ने काम गर्छ, ब्रेन स्टिमले । मस्तिष्कमा मूलतः १२ वटा कार्नियल तान्त्रिका हुन्छ । सम्पूर्ण शरीरका अंग-प्रत्याङ्गलाई चलायमान राख्ने काम यसैबाट हुन्छ ।
ताल-तलैयाजस्तो मस्तिष्क
मस्तिष्कलाई अर्को दृष्टिबाट हेर्दा यो कुनै विशाल जलकुण्ड जस्तै देखिन्छ । यसलाई हामी भेन्ट्रिकल्स भन्छौं । यहाँ दैनिक आधा लिटर पानी उत्पादन भइरहेको हुन्छ ।
मस्तिष्को त्यो तलाउमा लेउहरु जस्तो हुन्छ । यसैले पानी निकाल्छ । किनभने मस्तिष्कलाई पानी, चिल्लो पदार्थ जरुरी हुन्छ । यो भनेको मस्तिष्कको खाना हो ।
यसरी लेउ जस्तो चीजबाट निस्कने पोषणयुक्त पानी मस्तिष्कको माथिल्लो, मध्यम र तल्लो तहमा सिञ्चित हुँदै शरीरमा पुग्छ र विभिन्न माध्यमबाट निस्कन्छ । जब यो पानी निस्कने बाटोमा कुनै बाधा पुग्छ, टाउकोमा पानी जम्छ । यो एकदमै नराम्रो स्थिति हो ।
त्यसैले उक्त पानी आफ्नै गति र लयमा हुनुपर्छ । यसलाई हामी ‘पवित्र पानी’ भन्छौं ।
गलाको दुई भागमा ठूलो-ठूलो नलीजस्तो हुन्छ, जसको माध्यमबाट मस्तिष्कमा रगत आपूर्ति हुन्छ । यससहित अन्य दुई माध्यमबाट मस्तिष्कले रगत लिन्छ । शरीरमा हुने रगतमध्ये २०-२२ प्रतिशत रगत मस्तिष्कले नै खपत गर्छ ।
मस्तिष्कले फरक-फरक कामका लागि धेरै किसिमको रसायन स्राव गर्छ ।
अद्भूत ‘मास्टर ग्लान्ड’
मस्तिष्कको मध्यमागमा एउटा चामलको गेडा बराबरको ग्रन्थि हुन्छ, जसलाई पिट्युटरी ग्लान्ड भनिन्छ । यस ग्रन्थिबाट नौवटा हर्मोन स्राव हुन्छ ।
दिसापिसाब नियन्त्रण गर्ने, महिलामा मासिक स्राव गराउने, दूध आउने, शरीर बढ्नेजस्ता सबै कुरा यही हर्मोनले गर्ने हो । यसमा असन्तुलन भयो भने महिनावारी नहुने, दिसापिसाब नरोकिने, दूध नआउने, होचो वा धेरै अग्लो हुने, अति मोटो वा दुब्लो हुने हुन्छ । शरीरलाई सही मापदण्ड अनुसार कार्यसम्पादन गराउन यिनै हर्मोनको खास भूमिका हुन्छ ।
यी हर्मोनहरु स्राव हुने पनि निश्चित समय हुन्छ । कुनै हर्मोन बिहान आठ बजे सबैभन्दा बढी स्राव हुन्छ भने कुनै राति । अर्थात् २४ घण्टा हर्मोन स्राव भइरहेको हुँदैन । प्रकृतिसँग शरीरको लय मिलाउने गरी यस्तो हर्मोन स्राव हुने गर्छ ।
तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर
भिडियो सम्पादन : गारव योञ्जन
प्रतिक्रिया 4