+
+

राप्रपाका १३ सांसदको शपथ : भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १७:३२

७ पुस, काठमाडौं । बिहीबार प्रतिनिधिसभा सदस्यहरुले शपथ लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ जना सांसदले थप शपथग्रहण गरेका छन् । अर्थात् संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा भन्दा उनीहरुले एक वाक्य थप शपथ लिए ।

राप्रपाका सांसदहरुले संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा पढिसकेपछि ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने वाक्य पढेर हस्ताक्षर गरी संघीय संसद सचिवालयमा बुझाएका छन् ।

४ मंसिरको चुनावबाट राप्रपाका १४ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जसमध्ये पशुपतिशमशेर जबरा ज्येष्ठ सदस्यको हैसियतमा अरु सांसदहरुलाई शपथ गराएका थिए । त्यसैले उनले राप्रपाका अरु सांसदले जस्तो थप वाक्य शपथ लिएनन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०७४ मा पनि यही भनेर थप शपथ लिएका थिए । उनले यसपटकको शपथपछि उनले फेसबुकमा लेखेका छन्, ‘अघिल्लो कार्यकालझैं आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भइयो ।’

०७४ को संसदमा उनी एक्लै थिए । यसपटक राप्रपाका १४ जना सांसद छन् । लिङ्देनले यसपटक आफ्नो दलका अरु सांसदहरुलाई पनि आफूले जस्तै भ्रष्ट्राचारविरुद्ध शपथ गर्न लगाएका हुन् ।

राप्रपाबाट संसदमा लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा नेपाली निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?