+
+

शोभराज छुटेपछि उनका फ्रेन्च वकिलको प्रतिक्रिया : यो पहिल्यै हुनुपर्थ्यो

गौरव पोखरेल गौरव पोखरेल
२०७९ पुष ८ गते १३:३९

८ पुस, काठमाडौं । कुख्यात सिरियल किलर चार्ल्स शोभराज थुनामुक्त भएपछि सन् २००३ देखि उनलाई कानूनी परामर्श दिइरहेकी अन्तर्राष्ट्रिय कानून व्यवसायी फ्रेन्च नागरिक इसाबेल काउन्टेन्ट पिट्रेले खुशी व्यक्त गरेकी छन् ।

फ्रान्सबाट अनलाइनखबरसँग कुराकानी गर्दै उनले ढिलै भएपछि आफूहरुको लडाइँले सार्थकता पाएको बताएकी छन् ।

नेपाल आउन सम्भव नभएकाले शोभराजलाई अब पेरिसमै भेट्ने जनाउँदै उनले भनिन्, ‘सन् २००३ देखि नै शोभराजको स्वतन्त्रता खोसिनु हुने थिएन ।’ नेपालमा प्रमाणहरुमा छेडखानी गरेर उनलाई फसाइएको इसाबेलको दाबी छ ।

इसाबेलले नै शोभराजको विषयलाई संयुक्त राष्ट्रसंघको मानव अधिकार समितिसमक्ष पुर्‍याउन सहयोग गरेकी थिइन् ।

शोभराजलाई नेपालको गोलघरमा राखेर नेपालले नागरिक तथा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको धारा १०, १४ र १५ उल्लंघन गरेको समितिले निष्कर्ष निकालेको थियो । ती धारामा स्वास्थ्य उपचारको हक, विना ढिलाइ मुद्दामा सुनुवाइ गर्न पाउने अधिकार जस्ता विषय समावेश छन् ।

सन् २०१० जुलाई २७ मा संयुक्त राष्ट्र संघको मानवअधिकार समितिले शोभराजको विषयमा तत्काल पुनर्विचार गर्न भनेको थियो । इसाबेल भन्छिन्, ‘शोभराजको तर्फबाट मैले दुई वटा पत्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि पठाएकी थिएँ ।’

तर उनले राष्ट्रपति भण्डारीबाट कुनै जवाफ नपाएको बताउँदै यो आश्चर्यजनक भएको बताइन् । उनले भनिन्, ‘वास्तवमा नेपालमा शोभराजविरुद्ध स्वच्छ सुनुवाइ नै भएको थिएन ।’

मानवता, उमेर र स्वास्थ्य अवस्थाका कारण पनि शोभराज पहिल्यै छुट्नुपर्ने उनले लेखेको दोस्रो पत्रमा उल्लेख छ ।

उनले राष्ट्रपति भण्डारीलाई ६ अगष्ट २०२१ मा पहिलो र २५ मे २०२१ मा  दोस्रो पत्र लेखेकी थिइन् । पत्रमा शोभराजलाई तत्काल थुनामुक्त गर्न पहल गरिदिन आग्रह गरिएको थियो ।

‘अहिले शोभराज ७७ वर्ष पुगेका छन् र सन् २००३ देखि थुनामा छन्’, पत्रमा भनिएको छ, ‘जेलमा उनको अवस्था एकदमै असामान्य र आश्चर्यजनक छ ।’ शोभराजलाई जेलमा राख्दा मानव अधिकारका न्यूनतम सिद्धान्तहरु पनि पालना नगरिएको पत्रमा भनिएको थियो ।

शोभराजको २९ जेठ २०७७ मा बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

इसाबेलले संयुक्त राष्ट्र संघको मानवअधिकार समितिसमक्ष पनि शोभराजलाई स्वच्छ सुनुवाइविनै उनलाई जन्मकैदको सजाय तोकिएको भन्दै अवैध थुनामा राखिएको दाबी गरेकी थिइन् । इसाबेलको दाबीमा सन् २००३ सेप्टेम्बर १३ मा शोभराजलाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गर्न भिसा अवैध भएको आरोप लगाइएको थियो ।

‘त्यसबेला २५ दिनसम्म कानून व्यवसायीको सहयोग पनि लिन नदिइ राखिएको थियो’, उनी भन्छिन्, ‘सुरुमा उनलाई फर्जी कागजातको आरोप लगाइएको थियो, पछि हत्या आरोप लगाइयो ।’

उच्च अदालत पाटनमा त्यसविरुद्ध अपिल गर्दा पनि पटकपटक पेशी सारिएको भन्दै उनी भन्छिन्, ‘अन्तिम समयमा आएर पेशी सारिन्थ्यो, जबकि यही कामका लागि फ्रान्सदेखि कानून व्यवसायीहरु आएका हुन्थे ।’

उनले सरकारले शोभराजको विरुद्धमा प्रस्तुत गरेको प्रमाणहरुमा पनि अधिकांश फोटोकपीहरु मात्रै भएको भन्दै नेपालको कानूनले त्यसलाई मान्यता नदिने दाबी गरेकी छन् ।

को हुन् इसाबेल ?

शोभराजलाई कानूनी सहयोग गरिरहेकी वकिल इसाबेल भेनेजुएलाका आतंकवादी भनिएका कालोर्स ज्याकलकी पत्नी हुन् । कार्लोस अहिले फ्रान्सको जेलमा छन् ।

उनीमाथि १९७५ मा फ्रेन्च सरकारका सूचकको हत्या र दुई प्रतिआतंकवादी एजेन्टको हत्या गरेको आरोप छ । कार्लोस जेलमै भएका बेला उनीमाथि ११ जनाको मृत्यु हुने गरी फ्रान्समा भएको आतंकवादी हमला संलग्न भएको आरोप थियो ।

चर्चित फ्रेन्च कानून व्यवसायी इसाबेलले अलकायदाका फ्रेन्च सदस्य जाकारियस मुस्याउको मुद्दा पनि लडेकी थिइन् । उनी एकपटक फ्रेन्च प्रहरीलाई जर्मनीको खुफिया प्रहरी गेस्टापोसँग तुलना गरेको आरोपमा पक्राउ समेत परेकी थिइन् ।

‘विकिनी किलर’ भनेर चिनिने शोभराज २ असोज २०६० मा काठमाडौंको क्यासिनो रोयलबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

शोभराजले २१ डिसेम्बर १९७५ मा भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियरे र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेका थिए ।

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानस्थान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।

उनी भारतको जेलमा पनि १० वर्ष बसेर फरार भएका थिए । कारागार सुरक्षामा खटिएकासहित कैदबन्दीलाई बेहोस हुने औषधि खुवाएर उनी भागेका थिए ।

शोभराज मोतीको व्यापार गर्थे । त्यसक्रममा विभिन्न देश जाँदा मानिसहरुको हत्या गरेर उनीहरुको पहिचानमा डुल्ने गरेको रिचार्ड नेभिल र जुली क्लार्कले उनीबारे लेखेको पुस्तक ‘लाइफ एण्ड क्राइम्स अफ चार्ल्स शोभराज’ मा उल्लेख छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?