+
+

नारायणगढमा सडक विभागको डोजर

व्यवसायी भन्छन् : हामीमाथि अन्याय भयो

सुवास पण्डित सुवास पण्डित
२०७९ पुष ८ गते २०:१८

८ पुस, चितवन । शुक्रबार बिहान झण्डै ८ बजेतिर नारायणगढको पूल्चोकमा सडक डिभिजन कार्यालय भरतपुरको डोजरसहितका सुरक्षाकर्मी आए । पुल्चोकको कैलाश आयल पेट्रोप पम्प नजिकैबाट सडक सीमा मिचेर बनाइएका संरचना भत्काउन थालियो ।

केहीबेर स्थानीय घरधनी र व्यापारीहरुले त्यसलाई अवरोध गर्न खोजे । तर, पटकपटकको सूचनालाई घरधनीहरुले वेवास्ता गरेको भन्दैं सडक डिभिजनको टोली रोकिएन । नारायणगढ गोन्द्राङ्ग सडकखण्डको विस्तारको ठेक्का पाएको निर्माण कम्पनीले सडक डिभिजनलाई सडक सीमा क्लियर गरिदिन दबाब दिएको थियो । डिभिजनले सडक मिचेर बनेका संरचना नभत्काए सडक विस्तारको काम गर्न नसक्ने भन्दै दबाब दिएको थियो ।

ठेक्काको म्याद सकिन जम्मा ३ महिना मात्रै बाँकी रहेको अवस्थामा सडक विस्तारका लागि अवरोध गरी बनेका संरचना भत्काउन डिभिजन माथि दबाब परेको थियो । त्यसैले सडकको राइट अफ वे भित्रपर्ने संरचना नभत्काइ नफर्किने मुडमा देखिन्थे, सडक डिभिजनका कर्मचारी ।

नारायणगढका व्यापारी र घरधनी भने डिभिजनको सूचना र आग्रहलाई केही जस्तैं नठानेर बसेका थिए । तर यसपटक भने डिभिजनले नारायणगढ बजारको पुल्चोकदेखि झण्डै लायन्सचोकसम्म दक्षिणतर्फ सडक मिचेर बनेका संरचनामा डोजर चलाएर सकेको छ । डोजरले भत्काएको घरहरु खण्डहर जस्तो देखिएका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले शुक्रबारदेखि अतिक्रमण गरेर बनेका संरचना भत्काउन भन्दै थालिएको अभियान नरोकिने बताए । उनका अनुसार शनिबार विहान सडकको उत्तरतर्फ सडक सीमा मिचेर बनेका संरचनाहरूमा डोजर चल्नेछ ।

डिभिजनले डोजर चलाउने भएपछि कतिपय घरधनीले शुक्रबारबाट नै आफ्ना संरचनाहरु भत्काउन थालेका छन् । डिभिजनले सडकको मध्यबाट दुवैतर्फ २५-२५ मिटर आफ्नो राइट अफ वे भनेको जनाएको छ ।

‘गत कार्तिक २४ गते र त्यसअघि पनि ३३ महिनामा सूचना जारी गरेर ५० मिटरभित्र बनेका संरचना भत्काउन भनेकै हौं, छलफल पनि गरेकै थियौँ तर उहाँहरुले अटेरी गरेपछि बाध्य भएर डोजर चलाएको हो’ सूचना अधिकारी साहले अनलाइनखबरसँग भने, ‘महानगरपालिका, उद्योग वाणिज्य संघ, सम्वन्धित  व्यक्तिहरुलाई बोलाएर कुरा बुझाएर पठाएका थियौं, तर उहाँहरुले अहिले सल्लाह भएन भनेको सुनेको छु, जुन गलत छ । आफैंले भत्काउनुस् भन्दा नमानेपछि डोजरले नै भत्काउने हो, त्यो फित्ता लगाएर नापेजस्तो हुँदैन ।’

उनले अबको १२ दिनभित्र नारायणगढ क्षेत्रमा सडक क्षेत्र मिचेर बनेका सबै संरचना भत्काएर क्लियर गरेर ठेकेदारलाई काम गर्न सहज बनाइने बताए । बजार क्षेत्रमा ५८ वटा घर टहराको अगाडिको संरचना भत्काउने योजना सडकको छ ।

सूचना अधिकारी साहले शुक्रबार कति भत्किए भन्ने रेकर्ड लिन बाँकी रहेको भन्दै. शनिबार भत्काएपछि एकिन विवरण आउने बताए । ‘धेरै जसो घर धनीले सडकको राइट वे मिचेर टफ निकाल्नुभएको छ, हामीले धेरैजसो त्यही भत्काएका हौं’ सूचना अधिकारी साहले भने, ‘अब उहाँहरुको घरको भत्काएको टफ नजिकै विद्युतका पोलहरु बस्छन् र सडक फराकिलो बन्छ ।’

व्यवसायी भन्छन् : हामीलाई मर्का पर्‍यो

नारायणगढ बजार क्षेत्रका घरहरु भत्काएकोमा घरधनी तथा व्यवसायीहरुले आपत्ति जनाएका छन् । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले घरहरुको पेटी भत्काउने सहमति भए पनि घर नै भत्काउने काम गरेर सडक डिभिजनले जनताको सम्पत्तिमा क्षति गरेको बताए ।

‘हामीले सडकपेटीसम्म भत्काउन र बाँकी संरचना घरधनी आफैंले भत्काउने भनेका थियौं, तर उहाँहरुले एक्कासी डोजर लिएर आउनुभयो, संघका अध्यक्ष श्रेष्ठले भने, आर्थिक संकट र मन्दी लागेको बेलामा झनै घरधनी र व्यापारीमाथि मर्का पारियो । ’

उनले यसले बजार क्षेत्रमा ठूलो क्षति गर्ने र बजारलाई कुरुप बनाउने काम गरेको गुनासो गरे । नारायणगढका घरधनी दिनेश चुकेले भरतपुर महानगरपालिकाले नक्सापास गरेर दिएको जग्गा बनेका घर भत्काउने काम डिभिजनले गरेको भन्दै आपत्ति जनाए ।

‘सार्वजनिक वा सडकको जग्गामा बनेको थियो भने किन भरतपुर महानगरपालिकाले नक्सापास गरेर घर सम्पन्नको कागजपत्र दियो त ?’ व्यवसायी चुकेले भने, ‘अनि महानगरले घर सम्पन्नको प्रमाणपत्र दिएको ठाँउमा सडकको जग्गा भयो भने भत्काउन मिल्दैन ।’

उनले अदालतले समेत यही आशयको आदेश दिएको बताए । उनले घरधनी, व्‍यापारीसमेतको उपस्थितिमा सडकको नापजाँच गरेर मात्रै घर भत्काउनुपर्ने बताए । ‘हामीले घर नाप्दा २५ मिटरभन्दा पर नै बनाएको देखेका छौं, सडक डिभिजनले २५ मिटर भित्र बनेको भन्छ,’ चुकेले भने, ‘सँगसँगै बसेर सल्लाहले नापजाँच गरे हुन्न ?’ उनले सडक डिभिजनले घर भत्काएको विषयमा आफूहरु अदालत जाने बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?