काठमाडौं । सुन्दा सामान्य लाग्ने तर डरलाग्दो विवरण छ, मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज)को । चिकित्सकका अनुसार जाडोयाम सुरु हुनासाथ मस्तिष्क रक्तश्रावको घटना ह्वात्तै बढ्छ । यो नियमितजसो भइरहेको ठूलो दुर्घटना नै हो ।
वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा भन्छन्, ‘जाडो बढ्नासाथ धमाधम मस्तिष्क रक्तश्राव भएकाहरु अस्पताल आइरहेका छन् ।’ उनका अनुसार यो याममा अन्य बेलाभन्दा पाँच गुणा बढी मस्तिष्क रक्तश्रावको समस्या देखिने गरिएको छ ।
शौचालयमा लड्छन्
मस्तिष्क रक्तश्रावको धेरैजसो घटना शौचालयमा हुने गरेको पाइएको छ । डा. झा भन्छन्, ‘दिसा वा पिसाब गर्ने क्रममा धेरैको मस्तिष्क रक्तश्राव हुने गरेको छ ।’
खासगरी दिसा पिसाब गर्दा मान्छेले बल गर्छन् । यसरी बल गर्ने क्रममा त्यसको चाप मस्तिष्कको नसामा पर्न जान्छ । यस्तो चाप थेग्न नसक्दा नसा फुट्छ र रक्तश्राव हुन्छ । जब मस्तिष्कमा रक्तश्राव हुन्छ त्यसको असर निकै घातक हुनसक्छ । ‘मस्तिष्कमा रगत बग्न थालेपछिको स्थिति निकै जटिल हो । यस्तो स्थितिमा जतिसक्दो चाँडो अस्पताल पुर्याउन र उपचार थाल्नुपर्ने हुन्छ,’ डा. झा भन्छन् ।
खासगरी ४० वर्ष उमेरमाथिका व्यक्ति यस किसिमको जोखिममा छन् । त्यसमाथि उच्च रक्तचाप वा मुटुको समस्या भएका, मदिरा पिउने व्यक्तिको नसा कमजोर भइसकेको हुन्छ । जब उनीहरु शौचका क्रममा बल गर्छन्, त्यसको चाप मस्तिष्कको नसामा पर्छ र फुट्ने जोखिम हुने डा. झा बताउँछन् । ‘दिसा र पिसाब गर्दा बल गर्नै हुन्न । सामान्य लागे पनि यो कुरामा हेक्का राख्नुपर्छ,’ उनी भन्छन् ।
रक्सी पिउनेहरु जोखिममा
रक्सी पिउनेहरुमा मस्तिष्क रक्तश्राव हुने जोखिम उच्च हुन्छ । कतिपयले जाडोमा न्यानो हुन्छ भन्ने भ्रम पालेर रक्सी पिउने गर्छन् । यसरी रक्सी पिउँदा मस्तिष्कमा सोझो असर पुग्छ । मस्तिष्कका नसाहरु कमजोर हुन थाल्छन् ।
चिसो मौसममा शरीर अन्य बेलाजस्तो लचिलो भइरहेको हुँदैन । जब रक्सी पिउँछन् त्यसले ह्वात्तै रक्तचाप बढाइदिन्छ र नसा फुट्ने भय हुन्छ ।
कसरी हुन्छ मस्तिष्कमा रक्तश्राव ?
डा. झाका अनुसार मस्तिष्क लचकदार एवं खुम्चन सक्ने प्रकृतिको हुन्छ । यो दहीजस्तो जमेको स्थितिमा हुन्छ । जब मस्तिष्कमा रक्तश्राव हुन्छ, तब त्यसले मस्तिष्कलाई खुम्चिन र फैलन दिंदैन । रगत तरल अवस्थामा भए पनि बाहिर बगेपछि यो ठोस हुन्छ । यसले मस्तिष्कलाई दबाब दिन थाल्छ । जति धेरै रक्तश्राव हुन्छ, उत्ति नै बढी जोखिम हुन्छ । र, कतिपय अवस्थामा मस्तिष्क रक्तश्रावले तुरुन्तै मान्छेको मृत्यु हुन सक्छ ।
मस्तिष्कमा रक्तश्राव हुनासाथ सास फेर्न कठिन हुने र पक्षघात हुन सक्ने डा. झा बताउँछन् । मस्तिष्कघात हुने अवस्था दुई किसिमको हुन्छ, मस्तिष्क रक्तश्राव भएर हुने र मस्तिष्कमा रगत आपूर्ति नभएर हुने । मस्तिष्कमा रगत जाने नली सुक्यो वा बन्द भयो भने यस्तो समस्या हुन्छ ।
‘मस्तिष्क रक्तश्राव भएका १० प्रतिशत बिरामीको मृत्यु हुन सक्छ भने पक्षघात हुने जोखिम ७० प्रतिशत हुनसक्छ,’ डा. झा भन्छन् ।
के छ उपचार ?
मस्तिष्क रक्तश्राव कति भएको छ त्यही अनुरुप उनको उपचार कति सम्भव छ वा छैन भन्ने टुंगो लाग्छ । ‘पाँच एमएल मात्र रक्तश्राव भएको छ भने उपचारपछि त्यसको नतिजा सकारात्मक हुन्छ । यदि सय एमएल रक्तश्राव भएको छ भने उनीहरुको दुई घण्टामै मृत्यु हुन सक्ने जोखिम उच्च छ,’ डा. झा भन्छन् ।
मस्तिष्क रक्तश्राव भएको स्थितिमा तुरुन्तै अस्पताल लैजानुपर्ने र उपचार सुरु गर्नुपर्ने डा. झा सुझाउँछन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4