+
+

कोशी सभ्यता र वराहक्षेत्र

अजयकुमार झा अजयकुमार झा
२०७९ पुष १६ गते १२:३९
Photo Credit : सुमन पौडेल

वराहक्षेत्रमा हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला निकै रमाइलो हुन्छ । कात्तिक मासको शुक्लएकादशी हरिबोधिनी एकादशीको नामले प्रसिद्ध छ ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । एकादशी भगवान् विष्णुको उपासकका लागि एक व्रत हो । भगवान आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा निद्रामा लीन र हरिबोधिनी एकादशीको दिन जाग्रत हुन्छन् । जागृतिको यस अर्थमा नै यस एकादशीलाई हरिबोधिनीको संज्ञा दिइएको हो ।

भविष्योत्तर पुराणमा २४ एकादशीमध्ये हरिबोधिनीको व्रत बढी फलदायी हुने बताइएको छ । यस दिन लिइने व्रत, तीर्थजलमा गरिने स्नान, भगवानको दर्शन, दान, जप–तप आदि अक्षय फलदायी हुने कुरा भगवान श्रीकृष्णले युधिष्ठिरलाई बताएका थिए । यिनै पृष्ठभूमिमा चतराधाम (सुनसरी, नेपाल) एक तीर्थस्थलको रूपमा स्थापित भएको हो, जहाँ भक्तजन कोशी नदीमा स्नान गरी भगवान विष्णुको वराह रूपको दर्शन गर्दछन् र अक्षय पुण्य प्राप्त गर्दछन् ।

हरिबोधिनी एकादशीमा हरेक परिवारमा तुलसीको मठमा विशेष पूजा हुन्छ । मिथिला संस्कृतिमा तुलसी मठको पूजाका अतिरिक्त एक विशेष तन्त्रोक्त पूजाको पनि चलन छ । हरिबोधिनीको अवसरमा हरेक विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्छ । ठाउँ–ठाउँमा मेला पनि लाग्दछ । तर पूर्वी नेपालको चतराधाम सबैभन्दा बढी प्रख्यात छ ।

चतराधामको मेला धार्मिक पर्यटनको गन्तव्य भएको छ । यस मेलामा नेपाल र भारतका विष्णु भक्त ओइरिन्छन् । यस वराहक्षेत्रमा भगवान वराहका विभिन्न रूपको दर्शन प्राप्त हुन्छ । जस्तै– गुरुवराह, सूर्यवराह, कोकावराह । यस तीर्थस्थलमा भगवान विष्णुका अर्धाङ्गिनी लक्ष्मी र भगवानलाई क्षीर सागरमा शय्या प्रदान गर्ने शेषनाग स्वरूप नागेश्वरको मन्दिर छ ।

यसैगरी यहाँ पाञ्चायन (गणेश, विष्णु, सूर्य, दुर्गा र शिव) सहित विभिन्न देवी–देवताका मन्दिर छन् । कोकावराहको प्रसंग कोकामुख नदीसँग जोडिएको छ । तमोर, अरुण र सुनकोशीको त्रिवेणीलाई कोकामुख नदी भनिन्छ । यो स्थानलाई नाथपुर पनि भनिन्छ । यस प्रकार कोकामुख, वराहक्षेत्र, चतरा गरी यस क्षेत्रको अनेक नाम देखिन्छ । यीमध्ये कोकामुख र वराहक्षेत्रको नाम त वराहपुराणमै उल्लेख रहेको देखिन्छ ।

चतराधामको प्रसिद्धिको अर्को विशिष्टता कोशी सभ्यता हो । सातवटा नदीको संगम भएकोले कोशीलाई सप्तकोशी भनिन्छ । सप्तकोशी नदी चीनको ह्वाङहो नदीपछि तीव्र गतिमा बग्ने विश्वको दोस्रो ठूलो नदी हो । कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो । यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, दूधकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन् ।

पश्चिमी हिमालयबाट उत्पत्ति भएका यी नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको यसै चतराको गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ । सुनसरीको लौकही र सप्तरीको हनुमाननगरको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ । कोशीको काखमा विकसित जीवन प्रणाली नै कोशी सभ्यता हो ।

वराहक्षेत्रको वर्णन स्वयं वराहपुराणका अतिरिक्त ब्रह्मपुराण र स्कन्दपुराणमा पनि पाइन्छ । पुराण भनेको संस्कृतमा रचिएका धार्मिक ग्रन्थहरू हुन्, जुन शताब्दीयौंसम्म श्रुतिमा आधारित रहँदै पछि लिपि साहित्यमा वर्णन गरिएको थियो, जसमा वेद, ब्राह्मण, आरण्यक, उपनिषद र महाकाव्यहरू पनि समावेश छन् । प्राचीन धार्मिक धरोहरको ऐतिहासिक स्रोत यिनै पुराण हुन् । पुराणहरूमा उल्लेख्य थोरै मात्र सनातन तीर्थधामहरूमा वराहक्षेत्र पर्दछ र महाभारतमा नेपालमा अवस्थित सबैभन्दा पुरानो, पवित्र र चर्चित देवस्थल हो भनी उल्लेख छ ।

वराहक्षेत्र पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय स्थल पनि हो । धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढा–टाढासम्म फैलिएको छ ।

हिन्दु धर्मावलम्बीहरूको चार क्षेत्र (हरिहर क्षेत्र, कुरु क्षेत्र, मुक्ति क्षेत्र र वराहक्षेत्र) छन्, तीमध्ये मुक्ति क्षेत्र र वराहक्षेत्र नेपालमा पर्दछन् । यी चार क्षेत्रमध्ये पनि वराहक्षेत्र भगवान विष्णुको तेस्रो अवतार भएकोले पवित्र र महत्वपूर्ण तीर्थस्थल मानिन्छ ।

वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वरलगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन् । त्यहाँ आजभन्दा करिब १५०० वर्ष अगाडिदेखिका मूर्तिहरू पाइएका छन् ।

वराहक्षेत्रमा सालैभर मानिसहरूको आवतजावत र जमघट भइनै रहन्छ । यहाँ ठूलाठूला मेलाहरू लाग्ने अवसर भने कात्तिक पूर्णिमा र मकर संक्रान्ति हुन् । कात्तिक पूर्णिमाका अवसरमा विशेषगरी भारततिरबाट र मकर संक्रान्तिका अवसरमा नेपालको पहाडी भेगबाट मेला भर्न ज्यादा जसो मानिस वराहक्षेत्रमा आउने गर्दछन् ।

बालाचतुर्दशी, श्रीपञ्चमी, ऋषिपूर्णिमा, व्यासपूर्णिमा, फागुपूर्णिमा, रामनवमी, विभिन्न एकादशी तथा अन्य विशेष पर्व, व्रत र उत्सवका दिनहरूमा पनि तीर्थालु भक्तजनहरू प्रशस्त मात्रामा वराहक्षेत्र पुग्ने गर्दछन् । तसर्थ उक्त स्थानमा दिनहुँजसो मेला लाग्ने जस्तो महसुस हुने गर्दछ ।

वराह भगवान स्वयंले पितृहरूको श्राद्ध गरेर उद्धार गरिदिएको हुनाले यहाँ पौषे औंशीमा तीर्थ श्राद्ध गर्न पनि उत्तिकै भीड लाग्छ । कोका नदीमा स्नान गरेर पितृहरूको श्राद्ध गर्नाले पितृहरूले मुक्ति पाउने विश्वास छ ।

सुनसरीको धरानबाट करिब २५ किमी दूरीमा रहेको चतराधाम धरान, विराटनगर र पूर्व–पश्चिम राजमार्गको झुम्काबाट भित्र हुँदै एवं मध्य पहाडी लोकमार्गबाट पनि जान सकिन्छ । सप्तकोशी र कोका नदीको संगमको अग्लो भागमा अवस्थित वराहक्षेत्र मन्दिरभित्र रहेका मूर्ति निकै पुराना मानिन्छन् ।

पुरातत्वविद्हरूका अनुसार यहाँ रहेका केही मूर्ति एक हजार पाँच सय वर्ष पुराना पनि छन् । छैटौं किराँती राजा जितेदास्तीले हरिबोधिनी एकादशी र मकर संक्रान्तिमा यहाँ मेला लगाउन आरम्भ गरेका थिए । उनले पूजा व्यवस्थाको स्थायित्वका लागि गुठी कायम गरेका थिए । किराँती जनजीवन कोशी सभ्यता प्रमुख धरोहरको रूपमा रहेको छ ।

वराह मन्दिरहरू धेरै दुर्लभ छन् । भगवान विष्णुको तेस्रो ‘अवतार’ वराहको अर्को मन्दिर नेपालको नारायणी नदीको देवघाटमा रहेको छ । त्यस्तै तालवाराही मन्दिरको नामले पोखरामा पनि देखिन्छ । भारतमा पनि वराह मन्दिरहरू रहेका देखिन्छन् ।

युनेस्कोद्वारा सन् १९८६ मा घोषित विश्व सम्पदा खजुराहो (मध्यप्रदेश) को वेस्टर्न ग्रुप अफ टेम्पलको कम्प्लेक्स ग्रुप अफ मोन्युमेन्ट्समा वराह मन्दिर अवस्थित छ । यस मन्दिरमा भगवान विष्णुको वराह अवतारको विशाल प्रतिमा स्थापित छ ।

दक्षिण भारतीय राज्य तमिलनाडुको श्रीमुष्णममा भुवराह स्वामी मन्दिर अवस्थित छ । विजयनगर राजवंशका तंजावुर नायक राजा अच्युथप्पा नायकले दक्षिण भारतीय वास्तुकलामा आधारित यो मन्दिर निर्माण गराएका थिए ।

मन्दिरमा दैनिक अनुष्ठान र तीनवटा वार्षिकोत्सव मनाइन्छ, जसमध्ये तमिल महिना वैकासी (अप्रिल–मे) मा मनाइने रथ उत्सव सबैभन्दा प्रमुख हो । यो पर्व यस क्षेत्रको हिन्दु–मुस्लिम एकताको प्रतीक पनि हो । रथको झण्डा मुस्लिमहरूद्वारा प्रदान गरिन्छ; तिनीहरू मन्दिरबाट प्रसाद लिन्छन् र मस्जिदहरूमा अल्लाहलाई चढाउँछन् ।

यस्तै दक्षिण भारतको आन्ध्रप्रदेशको तिरुमला, करिमनगर, सिम्हाचलम, कालीदायकुरुची, वारापुज, चेरय, येलन्दुर, सिकन्दरावाद, अलु, चेन्नईको थिरुभिदान्दै, उडिसाको जयपुरमा वराह मन्दिरको उपस्थिति देखिन्छ । केही वराह मन्दिर उत्तर भारतमा पनि रहेको देखिन्छ । तर चतराधामको वराह मन्दिर संसारकै सर्वाधिक पुरानो मन्दिर रहेको भन्नुपर्ने हुन्छ ।

किनभने यस क्षेत्रको उल्लेख वराह पुराण र अन्य पुराणहरूमा नै भएको पाइन्छ । यसको खास कारण यो क्षेत्र कोशी सभ्यता क्षेत्रमा पर्दछ, जो आदिकालदेखि तपस्यास्थलको रूपमा रहेको छ । कोशी क्षेत्रमा आदिकालका ऋषिहरूले तपस्या गरेको कुरा समस्त पुराणहरूले उल्लेख गरेका छन् ।

कोशी नदी वा कोशी सभ्यताको आफ्नै विशिष्ट महत्व छ । आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिएका केही थोरै मात्र नदीहरूमा कोशी नदीलाई उच्च स्थान प्राप्त छ । कोशी नदीको चर्चा सबैभन्दा पुरानो ऋग्वेदमा नै उल्लेख छ । कोशीलाई ऋग्वेदमा कौशिका पनि भनिएको छ । यो गंगा नदीको प्रमुख सहायक नदी पनि हो ।

यो नदीलाई महाभारतमा कौशिकी भनेर उल्लेख गरिएको छ । पहिले ‘कौशिकी’ भनेर चिनिने, ऋषि विश्वामित्रको नामबाट नामकरण गरिएको, जसले नदीको किनारमा ‘ऋषि’ को दर्जा प्राप्त गरेको भनिन्छ ।

विश्वामित्र ऋषि कुशिकका वंशज थिए । विश्वामित्रलाई कोशीको किनारमा धेरै प्रसिद्ध वैदिक मन्त्रहरूको रचना गरेको श्रेय दिइएको छ । विश्वामित्र रचित गायत्री मन्त्र वैदिक संस्कृत श्लोकमा आधारित एक उच्च सम्मानित मन्त्र हो । यस श्लोकलाई देवी सावित्रीलाई आह्वान गर्न उच्चारण गरिन्छ । यसलाई सावित्री (..सवितुर..) पनि भनिन्छ । मनुस्मृति, हरिवंश पुराण र श्रीमद्भागवद् गीता जस्ता प्रसिद्ध ग्रन्थहरूमा यसको प्रशंसा गरिएको छ ।

कोशी धेरै प्राचीन आध्यात्मिक कथाहरूसँग सम्बन्धित छ । वाल्मीकि रामायणको बालकाण्ड खण्डमा सत्यवतीको मृत्युपछि धारण गर्ने कौशिकीको रूपमा उल्लेख गरिएको छ । सत्यवती कुशिक वंशका विश्वामित्रकी जेठी बहिनी थिइन् । मार्कण्डेय पुराणमा कोशीलाई आदिशक्तिको रूपमा वर्णन गरिएको छ । वर्षायाममा कोशीको हिंस्रक प्रकृतिका कारण शिवकी पत्नी पार्वतीले दुर्ग राक्षसलाई परास्त गरेपछि योद्धा देवी दुर्गा भनेर चिनिएकी र कौशिकीमा परिणत भएकी थिइन् ।

रामायणमा गंगा नदीलाई कोशीकी दिदीको रूपमा चित्रण गरिएको छ । महाभारत महाकाव्यका अनुसार मृत्युका देवताले नारीको रूप लिएर जनसंख्या वृद्धिलाई सीमित गर्न कोशीको किनारमा बास गर्नुभयो । कोशी मिथिलाको लोककथामा पनि प्रतिध्वनित छ । कोशी लोककथाका सबैभन्दा महत्वपूर्ण चित्रणहरू कोशी पूर्ण रूपमा हेरचाहमुक्त र ऊर्जाले भरिएको कुमारीका रूपमा र हिमालयमा घुम्ने वृद्ध संन्यासी रिचीककी निराश पत्नीको रूपमा हुन् । कोशी सभ्यताकी जन्मदात्री कौशिकी अर्थात् कोशी नदीलाई मानिसले आमा भनेर पुकार्दछन् ।

वराह पुराणको प्रारम्भमा सुतजी भन्नुहुन्छ– पूर्वकालमा जब सर्वव्यापी भगवान नारायणले वराह रूप धारण गरी आफ्नो शक्तिद्वारा एकार्णवको अनन्त जलराशिमा निमग्न पृथ्वीको उद्धार गरे, त्यस समय पृथ्वीले उनीसँग संवाद गरिन् । यहाँ एकार्णवको अर्थ जलप्लावित स्थान भन्ने बुझिन्छ तर पृथ्वीको खास कुन स्थान हो भन्ने तथ्य खुल्दैन ।

हुनत यस पुराणमा वराह–द्वादशी व्रतबारे वर्णन गर्दै ऋषि दुर्वाशाले जसरी मार्गशीर्षमा भगवान नारायणले मत्स्यको रूप तथा पौष मासमा कच्छपको रूप धारण गरे, त्यसैगरी माघ मासको शुक्ल पक्षमा द्वादशीको दिन पृथ्वीको उद्धार गर्नका लागि उनै प्रभु वराहको रूपमा प्रकट भएको भनी भनेका छन् । यसबाट श्रीभगवान विष्णु वराहको रूपमा कुन स्थानमा अवतरित भएका थिए भन्दा सम्भवतः त्यो स्थान कोशी सभ्यता अर्थात् चतराधाम नै थियो । किनभने वराहक्षेत्रको रूपमा यसभन्दा बढी प्राचीन अर्को स्थान देखिंदैन ।

वराह पुराणको कोकामुख तीर्थ (वराहक्षेत्र) को माहात्म्य खण्डमा उल्लेख भए अनुसार देवी पृथ्वी भगवान वराहसमक्ष जिज्ञासा राख्दछिन् कि वाराणसी, चक्रतीर्थ, नैमिषारण्य, अट्टहासतीर्थ, भद्रकर्णहद, द्विरण्ड, मुकुट, मण्डलेश्वर, केदारक्षेत्र, देवदारुवन, जालेश्वर, दुर्ग, गोकर्ण, कुब्जामे्रश्वर, एकलिङ्ग जस्ता प्रसिद्ध एवं पवित्र तीर्थस्थानहरूलाई छाडेर तपाइँ कोकामुख क्षेत्रको नै यति प्रशंसा किन गर्नुहुन्छ ? भगवान वराह उनको जिज्ञासा शान्त पार्दै भन्छन् कि तिम्रो कथन ठीक हो, कुरा यस्तै हो, कोकामुख मलाई अत्यन्तै प्रिय छ भन्दै उनले कोकामुख क्षेत्र जुन कारणले अधिक प्रसिद्ध छ त्यसको वर्णन गर्छन् । त्यस क्रममा उनले उपाख्यान पनि सुनाउँछन् । यसको उल्लेख १३७, १३८ र १४०औं अध्यायमा पनि पाइन्छ ।

पुराणका अनुसार वराहको अवतरणको पृष्ठभूमिमा धरा (पृथ्वी) लाई जलप्रपातबाट रक्षा गरेको घटना देखिन्छ । कर्ता र कारकको रूपमा सुर (भगवान) र असुर (हिरण्याक्ष) देखिन्छ । कर्ता र कारकको कुरालाई एकछिन पछाडि पारेर हेर्ने प्रयास गर्दा त्यसताकको मुख्य घटना भनेको धरालाई जलप्रपातबाट जोगाएको भन्ने देखिन आउँछ ।

यसरी हेर्दा अमूक समय कोशी नदीमा उत्पन्न भएको जलप्रपातमा यहाँका सम्पूर्ण (किराँती) भूखण्ड भासिने महासंकट उत्पन्न भएको थियो र त्यतिबेला त्यो महासंकटबाट भगवानले रक्षा गरेका थिए, त्यो समय वराह अवतरणको समय थियो भन्न वा बुझ्न सकिन्छ । किनभने जलप्रपातमा क्षति हुने भनेकै भूखण्ड र त्यस भूखण्डका जीवन तथा अन्य प्रकृति वा संरचना हो ।

यसरी बुझी दिनुपर्ने मुख्य दुईवटा कारण देखिन्छन् । पहिलो यो कि वराह मन्दिर प्रायः ती स्थानहरूमा देखिन्छन् जहाँ नदी वा ठूला जलकोश रहेका छन् । यसको अर्थ जलप्रपातबाट भूमिको रक्षा संरक्षण घटना एक मात्र होइन, अनेक र अनेक समयका घटना हुन् । यो कुरा आज पनि उत्तिकै सान्दर्भिक छ । र दोस्रो कारण भनेको यस प्रसंगमा पृथ्वी हेर्दा सम्पूर्ण पृथ्वीलाई माटैमाटोको रूपमा हेरिनुहुन्न । यहाँ माटादेखि बाहेकका कुराहरू पनि छन् । यसै पनि पृथ्वी भनेको ११ आनाभन्दा बढी जल र ५ आनाभन्दा कम माटोको अंश रहेको तथ्यलाई नकार्न सकिंदैन ।

वराह पुराणमा भगवान श्रीहरिको वराह अवतारको मुख्य कथाका साथ अनेक तीर्थ, व्रत, यज्ञ, दान आदिको विस्तृत वर्णन गरिएको छ । यसमा भगवान नारायणका पूजन–विधान, शिव–पार्वतीका कथाहरू, वराह क्षेत्रवर्ती आदित्य तीर्थको महिमा, मोक्षदायिनी नदीहरूको उत्पत्ति र माहात्म्य एवं त्रिदेवहरूको महिमा आदि विषयमा विशेष प्रकाश पारिएको छ । हरेक पुराणको साहित्यिक प्रकृति एकै जस्तो पाइन्छ ।

पुराणको नामबाट त्यसको सन्दर्भ स्पष्ट हुन्छ र त्यस अतिरिक्त इतिहास, वर्तमान घटना र भविष्यमा घटित हुने आशंका वा सुखद कुराहरू पुराणका आधारभूत विषय हुन् भने अन्य परिशिष्टहरू राखिएका हुन्छन् । यो प्रवृत्ति वर्तमान प्रकाशनहरूमा पनि देखिन्छन् । यस पुराणको रचना वेदव्यासले गरेका थिए । यसमा भगवानको वराह अवतारको मुख्य कथाको साथै अनेक तीर्थ, व्रत, यज्ञ–यजन, श्राद्ध–तर्पण, दान र अनुष्ठान आदिको शिक्षाप्रद र आत्मकल्याणकारी वर्णन छ ।

भगवान श्रीहरिको महिमा, पूजन–विधान, हिमालयकी पुत्रीको रूपमा गौरीको उत्पत्तिको वर्णन र भगवान शंकरको साथ उनको विवाहको रोचक कथा यसमा विस्तारसित वर्णित छ । यसका अतिरिक्त यसमा वराह–क्षेत्रवर्ती आदित्य–तीर्थको वर्णन, भगवान श्रीकृष्ण र उनका लीलाहरूको प्रभावले मथुरामण्डल र व्रजका समस्त तीर्थको महिमा र तिनको प्रभावको विशद तथा रोचक वर्णन छ ।

सत्ययुगको वृत्तान्त, रैभ्य र दुर्जेय मुनिको चरित्र, श्राद्धकल्प, गौरीको उत्पत्ति, विनायक, नागगण सेनानी (कार्तिकेय), आदित्यगण, देवी धनद तथा वृषको आख्यान, सत्यतपा व्रत कथा, अगस्त्य गीता, रुद्रगीता आदि वराह पुराणमा राखिएको छ । त्यस्तै महिषासुरको विध्वंसमा ब्रह्मा, विष्णु, रुद्र त्रिदेवको शक्तिको महात्म्य, पर्वाध्याय श्वेतोपाख्यान गोप्रदानिक इत्यादि बताइएको छ ।

व्रत र तीर्थहरूको कथा, बत्तीस अपराधको शारीरिक प्रायश्चित पनि बताइएको छ । प्रायः सबै तीर्थको पृथक् पृथक् महात्म्यको वर्णन छ । मथुराको महिमा, यमलोक, कर्मविपाक आदि सम्पूर्ण धर्मको व्याख्या र पुष्कर नामक पुण्य पर्वको वर्णन पनि गरिएको छ ।

वराह पुराणमा असुर हिरण्याक्ष कथा पनि छ । कथाको सार के हो भने हिरण्याक्षले संसारमा उत्पात, प्रलय मच्चाएका थिए । ऊ यति बलशाली थियो कि उसलाई मार्न कुनै पनि मानिस असमर्थ थियो । अन्ततः पशुको मारबाट उसको अन्त्य भयो । संसारले हिरण्याक्षको नाश गर्ने पशुमा भगवानको रूप देखे । यो घटना वराह युगको घटना हो ।

त्यसैले वराहदेवको रूपमा स्थापित भए । पुज्य भए । ठाउँठाउँमा पूजास्थल स्थापित भए । वराह क्षेत्र पनि त्यसैमध्येको एक तीर्थ स्थल बन्यो । भनिन्छ, हिरण्याक्षले उत्पात मच्चाउँदा भूखण्ड नै जलमग्न भयो । मानौं कसैले कुनै विशाल जलभण्डारको बाँध अचानक टुटाई–फुटाई दिएको होस् । पछिल्लो दशक कोशी नदीको पूर्वी बाँध अनायास फुट्दा उत्पन्न भएको संकट झैं महासंकट उत्पन्न भएको होस् ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?