+

मिर्गौला प्रत्यारोपणपछि कस्तो खानपान गर्नुपर्छ ?

२०७९ पुष  १८ गते १७:०६ २०७९ पुष १८ गते १७:०६
मिर्गौला प्रत्यारोपणपछि कस्तो खानपान गर्नुपर्छ ?

काठमाडौं । मिर्गौला प्रत्यारोपण शल्यक्रियामार्फत गरिन्छ । शल्यक्रिया गर्दा घाउ भएको हुन्छ । त्यो घाउलाई निको पार्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

मिर्गौला प्रत्यारोपणपछि कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, फ्याट, सूक्ष्म पोषकतत्त्व जस्ता सबै पौष्टिक तत्व भएको सन्तुलित खाना खानुपर्छ ।

प्रत्यारोपण गर्नुअघि धेरै बिरामी डायलाइसिसमा बस्नुपर्ने हुन्छ । डायलाइसिसमा बस्दा शरीरमा प्रोटिनको कमी हुन्छ र शरीर दुब्लो हुन्छ । त्यसैले प्रत्यारोपणपछि खानामा प्रोटिनको मात्रा बढाउनुपर्छ ।

मिर्गौला पीडितलाई कस्तो खानपान ?

मिर्गौलाको समस्या भएकाले प्रोटिन भएको खाना कम खानुपर्छ । मिर्गौलाको समस्या भएकाहरूले माछा मासु, अण्डा, गेडागुडी, दूध, दही लगायतका प्रोटिन बढी भएको खानेकुरा कम खानु उचित हुन्छ ।

साथै शरीरमा सोडियमको मात्रा बढ्न नदिन बढी मात्रामा नुन प्रयोग भएको प्याकेटमा बन्द भएका खानेकुरा जस्तै चिप्स, चाउचाउ, क्रेकरहरु पनि कम खानु उचित हुन्छ ।

शरीरमा सोडियम, पोटासियम र फस्फोरस यी सबै मिर्गौलाले सन्तुलन गरेर राखेको हुन्छ  । जब मान्छेको मिर्गौलामा समस्या हुन्छ तब यी सबै कुरा शरीरमा बढ्छ । त्यसैले सोडियम, पोटासियम र फस्फोरस भएका खानेकुरा पनि कम खानुपर्छ ।

मिर्गौलामा समस्या आउनुको कारण

मिर्गौलामा आउनुको समस्या हुने कारण सबैमा एउटै हुँदैन । कुनै समस्यामा खानपान मिलाउँदा खराब भइसकेको मिर्गौला झन् खराब हुन दिंदैन । तर सही खानपान गर्दैमा खराब भइसकेको मिर्गौला पुनः राम्रो हुने भने हुँदैन । खानपान सन्तुलित गर्दै जाँदा समस्या बढ्नबाट भने रोक्छ ।

तारेको, भुटेको, धेरै मसला प्रयोग भएको र बजारका  खानाको प्रयोगले मिर्गौलामा समस्या देखिनेको संख्या बढ्दो छ ।

स्वस्थ शरीरका लागि पानी धेरै पिउनु राम्रो हुन्छ । तर आवश्यकताभन्दा बढी पानी पिउँदा भने मिर्गौलामा समस्या ल्याउँछ । त्यसैले पानीको मात्रा मिलाएर पिउनुपर्छ ।

नुनको प्रयोग बढी भएका खानेकुरा खाँदा पनि मिर्गौलामा असर गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक पाँच ग्राम मात्र नुन एउटा स्वस्थ व्यक्तिले प्रयोग गर्नुपर्छ । तर विभिन्न अध्ययनअनुसार हामीले १० ग्राम जति नुन प्रयोग गरेका छौं । नुनको अत्यधिक प्रयोग भएर उच्च रक्तचाप र सिधै मिर्गौलामा असर गर्ने पनि हुन्छ ।

फास्टफुड र जंकफुडको धेरै प्रयोग तथा विशेषज्ञको सल्लाह नलिई अन्धाधुन्द डाइटिङ गरेर तौल नियन्त्रण गर्न खोज्दा पनि मिर्गौलामा असर गरेको पाइएको छ । कार्बोहाइड्रेटको मात्रा स्वाट्टै घटाउने र हाई प्रोटिन धेरै सेवन गर्ने गर्दा मिर्गौला खराब हुन पुग्छ ।

मिर्गौला स्वस्थ बनाइराख्न कस्तो खानपान ?

मिर्गौला स्वास्थ बनाइराख्न सन्तुलित खाना खानुपर्छ । बजारका खानाभन्दा घरमा बनेका खानेकुरालाई बढी प्राथमिकता दिनुपर्छ । कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन सबै पोषकतत्त्व मिलाएर खानुपर्छ । हरियो सागपात, फलफूल, सलाद बढी मात्रामा खानुपर्छ भने नुन बढी भएको खानेकुरा, बजारमा पाइने प्याकेट र जंकफुडको सेवन सकेसम्म कम गर्नुपर्छ ।

(पोषणविद् वर्षा भट्टराईसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

खानपान मिर्गौला प्रत्यारोपण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय