+
+

५ लाख सुपारी दिएर छोरा र ज्वाइँले गरे धनुकधारीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १८:३४

२० पुस, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ का धनुकधारी दासको हत्या आफ्नै छोरा र ज्वाइँले सुपारी दिएर गरेको खुलेको छ । ५ लाख रुपैयाँ सुपारी दिएर सुटरबाट धनुकधारीको हत्या गराएको आरोपमा किरियामा बसेका उनका छोरा २१ वर्षीय प्रदीप दाससहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मलेन गरी घटनामा संलग्न अभियुक्तसहितलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा उनका ज्वाइँ महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवा बस्ने ३४ वर्षीय उदय दास र सुटर धनुषा नगराईन नगरपालिका वडा नं. २ जटही बस्ने २१ वर्षीय रंजीत कुमार यादव छन् । ज्वाइँ घुरण नेपाल प्रहरीको हवल्दार हुन् । उनी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा प्राविधिक शाखामा कार्यरत रहेको धनुषाका प्रहरी उपरीक्षक श्विराज खड्काले जानकारी दिए ।

एसपी खड्काका अनुसार घटना पारिवारिक कलहको कारण भएको छ । मृतक धनुकधारीका दुई श्रीमती छन् । घरमा भइरहने विवादको कारण जेठी श्रीमती तर्फका छोरा प्रदीप र ज्वाइँले योजनावद्ध तरिकाले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए ।

धनुकधारीको हत्या गत पुस ९ गते बेलुकी सवा ७ बजे उनकै घरमा बिग्रिएको दमकलको मर्मत गरिरहेका बेला गोली प्रहारबाट भएको थियो । उनी मोटर मिस्त्री थिए ।

उनलाई नम्बर नखुलेको २२० सीसीको पल्सर मोटर साइकलमा आएका २ जनाले कोखमा गोली प्रहार गरी भागेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका धनुकधारीको प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

एसपी खड्काका अनुसार धनुकधारीलाई हत्या गर्न छोरा प्रदीपले पहिलादेखि नै योजना बुनेका थिए । दुईतीन महिना अगाडि सुटर रञ्जितसँग सम्पर्क गरी आफ्नो बुवा धनुकधारीको हत्या गर्न भनेका थिए । बाबुको हत्या गरे वापत ५ लाख रुपैयाँ दिने सहमति भएको प्रहरीलाई प्रदीपले बयान दिएका छन् ।

एक महिनाअघि प्रदीले सुटर रञ्जितलाई एक लाख रुपैयाँ एडभान्स दिएका थिए । जसबाट भारतबाट कटुवा पेस्तोल नाल १, सोमा लाग्ने गोली राउण्ड २, अटोमेटिक पेस्तोल नाल १, सोको म्याग्जिन थान २, गोली राउण्ड ८ समेत ल्याएर कोठामा राखेका थिए ।

घटनाको दिन धनुकधारीको पसलबाट ओर्लेर रञ्जितले मोटसाइकलबाट ओर्लेर उसको नजिक गइ आफ्नो दमकल बिग्रिएकोले बनाउनुछ भनी कुराकानी गरेका थिए । सोही क्रममा धनुकधारीसँग सुर्तीसमेत मागेर खाएका थिए । सो क्रममा कटुवा पेस्तोल निकालेर धनुकधारी दासको बायाँपट्टीको कोखा टाँसेर गोली प्रहार गरी भागेका थिए ।

घटना पश्चात ज्वाइँ उदयले सुटरलाई पटक–पटक गरि जम्मा २ लाख १० हजार दिएको र बाँकी रकम डेढ महिना भित्र दिने बताएका थिए ।

प्रहरीले दासलाई गोली प्रहार गरी हत्या गर्न प्रयोग गरेको कटुवा पेस्तोल नाल र सोमा कटुवा पेस्तोलमा लाग्ने गोलीको खोका बरामद गरेको छ । त्यस्तै रञ्जितको खनतलासीको क्रममा एकथान अटोमेटिक पेस्तोलमा लाग्ने म्याग्जिन थान १, अटोमेटिक पेस्तोलको गोली राउण्ड १ समेत फेला परेको एसपी खड्काले बताए । उनले घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास गरिरहेको जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?