
काठमाडौं । शिशुको कान चिलाएमा हामी अक्सर दुई तरिका अपनाउँछौं, इयर वर्डले कोट्याउने र कानमा तेल हाल्ने । यी दुवै तरिका गलत हो । जबकि शिशुमा कान चिलाउने समस्या अधिक हुन्छ । कतिको त कानमा संक्रमण नै हुन्छ । खासमा उनीहरुको कान किन चिलाउँछ ? कान चिलाएमा के गर्ने ?उनीहरुको कानको हेरचाह कसरी गर्ने ? कान सफा गर्नु जरुरी हुन्छ वा हुँदैन ?
शिशुहरुले कान चिलाएमा कानमा औंला लैजाने गर्छन् । बारम्बार औंला कानमा लगेपछि उनीहरुलाई कानमा समस्या भएको बुझ्छौं । सामान्यतः चार महिनाको भएपछि शिशुले कानको वरपर औंला लग्ने गर्छन् ।
शिशुको कान चिलाउने कारण के के हुन सक्छन् ?
शिशुको कान चिलाउने विभिन्न कारण हुन्छ । सबै बच्चामा अलिअलि कानेगुजी हुन्छ । उनीहरुको कानमा तेल हालिदिंदा कानमा भएको कानेगुजी फुल्छ र डम्ब हुन्छ । त्यसपछि कान चिलाउने हुन्छ । धेरै तेल हाल्दा कानमा ढुसी पर्ने पनि गर्छ । त्यस्तै नुहाउँदा कानभित्र पानी पर्यो भने पनि कानेगुजी फुलेर डम्ब हुन्छ । संक्रमण पनि एक कान चिलाउने प्रमुख कारण हो । तर संक्रमण भन्दा बढी कानमा तरल पदार्थ हाल्दा कान बढी चिलाउँछ । कहिलेकाहीं चिलाउनु सामान्य अवस्था हो । यदि बारम्बार कान चिलाइरहेको छ र बच्चा रोइरहेको छ भने अस्पतालमा परीक्षण गराउनुपर्छ ।
कान चिलाएमा एयरबडले सफा गरिदिने, कन्याइदिने तरिका जोखिमपूर्ण
कान चिलायो भनेर बुझ्ने बित्तिकै बजारमा पाउने एयरबड वा हेडपिनले कानेगुजी झिक्न प्रयोग गरिन्छ, जुन गलत हो । बजारमा पाउने एयर बडको आकार र हेडपिनको आकार कानको प्वालको भन्दा सानो छ । त्यसले कोट्याउँदा फोहोर झनै भित्र धकेलिन्छ । र, कान कोट्याउँदा झनै रगत बग्ने दुख्ने पनि हुन सक्छ ।
तर कानको वरपर भएको फोहोर एयरबड पानीमा भिजाएर त्यसको पानी सोसेर कानको प्वालको वरपर सफा गर्न सकिन्छ ।
कानमा तेल हाल्नु हुँदै हुँदैन
बच्चालाई आँखा, कान र नाकमा तेल नुहाएपछि हाल्दिने गरिन्छ । त्यो बच्चामाथि गरिदिएको अत्याचार हो । उनीहरु झनै त्यसपछि रुने कराउने गर्छन् ।
कानमा तेल पटक्कै हाल्नु हुँदैन । रीतिरिवाजमा माघेसंक्रान्तिमा तेल लगाउनुपर्छ भन्ने छ । त्यो छुट्टै कुरा हो । तर बारम्बार हाल्न हुँदैन । हामी अहिले जान्नेबुझ्ने भइसकेका छौं । बुझ्नेले कानमा तेल हाल्न र हाल्दिन छाडिसके । तर पनि अझै त्यो चलन छ । कानमा तेल हाल्दा कानेगुजी फुलेर डम्ब हुने र ढुसी पर्ने हुन्छ । जसकारण शिशुमा कान चिलाइरहने समस्या हुन्छ ।
कान सफा गर्ने विधि
कान सफा गरिराख्नु जरुरी नै छैन । हामी बोल्दा र खानेकुरा चपाउँदा कानको पछाडिको ज्याइन हलचल गर्छ । र, कानमा भएको फोहोर आफैं झरेर सफा हुन्छ । त्यसमा जान्ने भएर कानेकुजी कोट्याउँदै कानको बाटो बिग्रिन्छ तब बढी फोहोर हुने र संक्रमण हुन्छ । सयौंमध्ये एक जनामा फोहोर हुन सक्छ । कानको प्वालको बनावटमा समस्या भयो भने उनीहरुमा कानको जटिल समस्या हुन सक्छ । जसको लागि उपचार नै जरुरी हुन्छ ।
कानमा के कस्तो जटिलता ?
कान पाक्ने, संक्रमण हुने, कानको जाली फुट्नु, कानको हड्डी कुहिने समस्या कानको जटिल रोग हुन् । त्यसबाहेक बारम्बार कान पाक्न थाल्यो, बच्चाको सुन्ने शक्ति कम भयो, कान पाकेर गन्हाउने भयो भने अस्पताल लगिहाल्नुपर्छ । रुघा लागेर पनि कान पाक्ने हुन सक्छ । वर्षमा एकपटक रुघा लागेर कान पाक्यो भने सामान्य हो । तर पटक–पटक कान पाक्यो भने समस्या जटिल बन्न सक्छ ।
कान कसरी स्वस्थ राख्ने काइदा
कानलाई स्वस्थ राख्न कानमा तेल हाल्नुहुँदैन । यस्तै फोहोर पानीमा नुहाउने, एयरबडले कोट्याउने जस्ता कार्य गर्नुहुँदैन ।
शिशुलाई दूध खुवाउँदा ढल्काएर खुवाउनुपर्छ । ठाडो पारेर दूध खुवाइदिंदा नाकको पछाडिको भागबाट पनि कानमा संक्रमण हुन सक्छ । रुघा लागेमा तुरुन्त त्यसको उपचार गर्नुपर्छ । त्यसबाहेक शिशुको अगाडि चुरोट पिउने बानीले पनि कानको संक्रमण हुन सक्छ । डाक्टरको सल्लाहविना कुनै पनि तरल पदार्थ कानमा हाल्नुहुँदैन, यसले झनै समस्या जटिल बन्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4