+
+
विशेष रिपोर्ट :

आन्तरिक विमानस्थल : बन्छन्, चल्दैनन्

नेपालमा ५३ वटा विमानस्थल निर्माण भइसके पनि ३३ वटा मात्रै नियमित सञ्चालनमा छन् । यात्रु र वायुसेवा कम्पनीलाई आकर्षित गर्नुपर्ने व्यावसायिक चुनौती रहेका बेला राजनीतिक बलमा पूर्वाधार बनाउने प्रतिस्पर्धा भने कायमै छ ।

अच्युत पुरी अच्युत पुरी
२०७९ पुष २६ गते १८:४०
सोलुखुम्बुको स्याङबोचे विमानस्थल

आइतबार गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरको जहाज अवतरण भयो । रेसुंगा नगरपालिकाले नियमित सेवा नै अवरुद्ध हुने गरी तामझामका साथ स्वागत गर्‍यो । विमानस्थलमा तारा एयरले गरेको उडानसँगै गुल्मीवासीमा उत्साह त छँदैछ, सँगै थपिएको छ- नियमित नचल्ने आशंका ।

नेकपा एकीकृत समाजवादीकी सचिव तथा नेतृ रामकुमारी झाँक्रीलाई पनि यही आशंका छ । उनी भन्छिन्, ‘यहाँ नियमित उडानका लागि जहाज चाहिन्छ, हामीसँग साना जहाजको संख्या थोरै छ ।’ उनको यो आशंका विगतमा निर्माण सम्पन्न भएर धुमधामसँग सञ्चालनमा आएका अरू कतिपय विमानस्थलको नियतिसँग मेल खान्छ ।

२०७८ फागुनमा इलामको फाल्गुनन्द विमानस्थलमा यसैगरी धुमधामका साथ परीक्षण उडान भएको थियो । नेपाल वायुसेवा निगमका वर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको गृह जिल्ला समेत हो, इलाम । अधिकारीसँग इलाम मात्रै होइन देशभरका आन्तरिक विमानस्थलमा नियमित सेवा दिने जिम्मेवारी र अधिकार छ ।

परीक्षण उडान भएका र नभएका थुप्रै विमानस्थल सञ्चालनको प्रतीक्षामा छन् । २०७४ सालमा बाग्लुङमा विमानस्थल कालोपत्रे गरियो । केही समय सञ्चालनमा पनि आएको यो विमानस्थल अहिले थन्किएर बसेको छ । मनाङमा पनि विमानस्थल कालोपत्रे भएको छ, सञ्चालनमा आउन सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिसचन्द्र लाल सुमन विमानस्थल आयोजनाको सञ्चालन अवस्थालाई दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘विमानस्थल चल्ने–नचल्ने विषय यात्रु छन् वा छैनन् भन्नेसँग जोडिन्छ, बनाइसकेका आयोजनामा यात्रु कसरी आकर्षित गर्ने, त्यता ध्यान दिइएको छैन ।’ उनका अनुसार यात्रु र वायुसेवा कम्पनीलाई विमानस्थलसम्म आकर्षित नगरेसम्म पूर्वाधार बनाएर मात्र विमानस्थल चल्दैनन् ।

यात्रुको क्रयशक्ति वृद्धि, जहाज चढ्ने वातावरण, सस्तो भाडादर र वायुसेवा कम्पनीलाई मुनाफा सुनिश्चित भएमा यी विमानस्थल सहजै चल्ने उनको भनाइ छ । ‘हिजो भद्रपुर, जनकपुर, राजविराज, सिमरा, भरतपुर सबै विमानस्थल एक चरण बन्द भएका होइनन् र ?’ उनी प्रतिप्रश्न गर्छन्, ‘ती विमानस्थल आज कसरी पुनः नाफामा चले त ? यसको मतलब विमानस्थलले यात्रु पाउन थाले ।’

हुन पनि नेपालमा अहिले ५३ वटा विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३३ वटा विमानस्थल मात्रै नियमित सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् ।

यसैगरी नेपालगञ्ज, विराटनगर, चन्द्रगढी, भरतपुर, जनकपुर, लुक्ला, सिमरा, सुर्खेत, धनगढी, जोमसोम, सिमकोट, तुम्लिङटार, जुम्ला, डोल्पा, बाजुरा, रामेछाप, भोजपुर, फाप्लु, रारा, रुकुम सल्ले, रुम्जाटार, ताप्लेजुङ, खानीडाँडा, राजविराज, साँफेबगर, दाङ, थामखर्क, बझाङ, डोटी र बैतडी मात्रै सञ्चालनमा छन् ।

सुमन भन्छन्, ‘यात्रु र वायुसेवा कम्पनीलाई आकर्षित गर्ने खालको वातावरण बनाउनुपर्छ । बाँकी विमानस्थल पनि सञ्चालनमा आउनेछन् ।’

तर विगतमा राम्ररी चलेका कतिपय विमानस्थल यतिबेला सडक यातायातको पहुँच विस्तारसँगै अस्तित्व नै मेटिने अवस्थामा पुगेका छन् । चितवनको मेघौली, कैलालीको टीकापुर, सोलुखुम्बुको स्याङ्बोचे, दोलखाको जिरी, बाग्लुङको ढोरपाटन र गोरखासहितका विमानस्थलको अस्तित्व संकटमा पर्ने अवस्था छ ।

नजिकैको भरतपुर विमानस्थल ठूला जहाजका लागि पूर्वाधार बनेपछि मेघौली विमानस्थल संकटमा पर्नु स्वाभाविक थियो । तीन घण्टा सडक यातायातबाट पुगिने पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि बाग्लुङको बलेवा विमानस्थल अब सहजै सञ्चालनमा आउने सम्भावना कम छ । त्यसमा पनि पोखरा–बाग्लुङ सडक यातायातको स्तरमा सुधार आएसँगै यो सम्भावना झन् बलियो भएको छ । त्यस्तै दोलखाको जिरी विमानस्थल संचालनमा आउन नसक्नुमा नजिकैको लुक्ला विमानस्थल हो ।

पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि चलाउन नसकिएको विमानस्थल हो, मनाङ । होटल पूर्वाधारको अभाव, न्यून जनसंख्या र पर्यटन प्रवर्धनको अभावले मनाङमा आवतजावत कम हुँदा सो विमानस्थल सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ । जबकि छिमेकी जिल्ला मुस्ताङमा रहेको जोमसोम विमानस्थल भने पर्यटनकै कारण राम्रैसँग चलिरहेको छ । इलाम र गुल्मीको रेसुंगा विमानस्थल भने नयाँ विमानस्थल हुन् । यी विमानस्थलको भविष्य के हुन्छ हेर्न बाँकी नै छ ।

राजनीतिक लाभमा विमानस्थल

गुल्मीमा २०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए । पर्यटन मन्त्रालय आफ्नो जिम्मेवारीमा रहेको अवसरमा ज्ञवालीले अगाडि बढाएको यो आयोजना व्यावसायिक सम्भाव्यताका आधारमा अगाडि बढेको होइन ।

उनी स्वयं यो विषय स्वीकार गर्छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्— ‘राज्यले पूर्वाधारका क्षेत्रमा गरिने लगानीलाई नाफा–नोक्सानको व्यापारी आँखाले मात्र हेर्नुहुँदैन, आखिर पहाडी क्षेत्रमा सडकलगायत पूर्वाधारमा गरिएको लगानीमा पनि त नाफा नोक्सान हेरिंदैन नि !’

तर यसले उठाउने एउटा गम्भीर प्रश्न के हो भने विमानस्थलले सञ्चालन खर्च समेत नधान्ने अवस्थामा नयाँ–नयाँ विमानस्थल बनाइरहने हो भने त्यसको दिगोपन माथि प्रश्न उठिरहनेछ । यस्तो अवस्थामा नागरिक सेवा पनि हुने र सञ्चालन खर्च पनि धान्ने सन्तुलित अवस्था निर्माण गर्न नसक्ने हो भने भावनात्मक रूपमा मात्रै विमानस्थल सञ्चालनमा ल्याउन कठिन हुने देखिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी समेत नेपालमा राजनीतिक लाभमा बन्ने विमानस्थलमा व्यावसायिक सम्भावना हेर्ने प्रचलन नरहेको बताउँछन् । उनी भन्छन्, ‘राजनीतिक दबावमा आयोजना अगाडि बढ्यो भने त्यहाँ जहाजको उडान/अवतरण हुन सक्छ वा सक्दैन त्यो हेरिन्छ, व्यापारको हिसाबै हुँदैन ।’

नेपालमा पछिल्लो समय अगाडि बढाइएका अधिकांश आन्तरिक विमानस्थल आयोजना व्यावसायिक रूपमा दिगो हुन्छ, हुन्न भन्ने अध्ययन नगरी राजनीतिक लाभका लागि नेताको जोडबलमा बनेका हुन् ।

इलाममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जोडबलमा विमानस्थल आयोजना अगाडि बढेको हो । पूर्व पर्यटनमन्त्री प्रेम आलेले प्राधिकरणको बजेटमा गत वर्ष महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलमा बजेट राखी शिलान्यास समेत गरेका थिए । जसको नजिकै अहिले पनि धनगढीमा ठूलो विमानस्थल चलिरहेको छ ।

अघिल्लो सरकारले डडेलधुरामा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न भनेर बजेट छु्ट्याएको थियो । यो निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्म जिल्ला तेह्रथुमको चुहानडाँडामा विमानस्थल आयोजनाका लागि अहिले वातावरणीय प्रभाव मूल्यांकनको चरणमा पुगेको छ ।

अघिल्लो सरकारले काभ्रेमा आन्तरिक विमानस्थल बनाउन निकै ठूलो जोडबल गरेको थियो । यहाँ एमाले नेता गोकुल बास्कोटाले विमानस्थल आयोजना लैजान प्रयास गरिरहेका छन् । तर, यहाँ पनि व्यावसायिक रूपमा विमानस्थल संचालनको सम्भावना छ/छैन भन्ने भरपर्दो अध्ययन भएकै छैन ।

उदयपुरमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइसकिएको छ । निवर्तमान परराष्ट्रमन्त्री डा. नारायण खड्काको गृह जिल्ला हो, यो । सिन्धुलीमा समेत विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । सिन्धुलीको कमलामाई नगरपालिकामा विमानस्थल बनाइँदैछ । उता, अर्घाखाँचीमा पनि विमानस्थल बनिरहेको छ ।

छोटो धावनमार्ग, साना जहाजको अभाव

नेपालमा विमानस्थल सञ्चालनमा आउन नसक्नुमा विभिन्न कारण छन् । विमानस्थल सञ्चालन खर्च महँगो पर्छ । साना जहाज थोरै यात्रुका भरमा विमानस्थल संचालन खर्च धान्न सकिन्न । जबकि ठूलो जहाज र साना जहाज पुग्ने ठाउँमा चाहिने जनशक्ति, पूर्वाधार र सञ्चालन खर्च करिब करिब उस्तै लाग्छ ।

यस्तै छोटा धावनमार्गमा उपयुक्त हुने खालका साना जहाजको पनि कमी छ । नेपालमा अहिले वायुसेवा कम्पनीबीच ठूला जहाज ल्याउने होडबाजी छ । यसले वायुसेवा कम्पनीलाई सञ्चालन खर्च सस्तो पर्छ । यसैले उनीहरू ठूला जहाज किन्न प्रतिस्पर्धा गरिरहेका छन् ।

यसले वायुसेवा कम्पनीले छोटो धावनमार्ग भएका साना विमानस्थलमा माग हुँदा पनि जहाज पुर्‍याउन सकिरहेका छैनन् । नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानमा अहिले दुई वटा मात्रै जहाज छन् । यी दुई जहाजबाट हरेक साता एक जहाजले पूर्व र अर्कोले पश्चिम भेगमा उडान गरिरहेका छन् ।

तर, प्राविधिक कारणले जहाज रोकिनु पर्‍यो भने कैयौं दिनसम्म सेवा अवरुद्ध हुन्छ । निजी क्षेत्रतर्फ तारा, समिट र सीता एयरको जहाज मात्रै दुर्गम भेगका साना विमानस्थलमा उड्न सक्छन् । यसको संख्या पनि थोरै छ ।

अर्कोतर्फ लुक्ला र सिमकोटमा वायुसेवा कम्पनीले डलर फेयरमा यात्रु उडाउँछन् । सोही कारण पर्यटकीय सिजनमा साना जहाजहरू ती विमानस्थलमा बढी केन्द्रित हुने गर्छन् । यसले अन्य हिमाली र पहाडी भेगका विमानस्थलमा जहाजको अभाव हुन्छ ।

नेपाल एयरलाइन्स निकम्मा, निजीलाई प्रोत्साहन अभाव

नेपाल वायुसेवा निगमसँग अहिले उडिरहेका ट्वीनअटर जहाजको आयु ४० वर्षभन्दा पुरानो भइसकेको छ । यी जहाजलाई विस्थापित गर्दै नेपालको आन्तरिक उडानमा प्रभावशाली उपस्थिति गराउने उद्देश्यले निगमले २०६८ सालबाट साना जहाज खरीद प्रक्रिया अगाडि बढाएको थियो ।

सोही अनुसार १४ वैशाख २०७१ मा पहिलो एमए ६० जहाज काठमाडौंमा अवतरण गर्‍यो । कुल ६ वटा जहाजमध्ये पछिल्लो पटक १ फागुन २०७४ मा एकै दिन दुई चिनियाँ जहाज काठमाडौं अवतरण गरे । तर, यी जहाज पछिल्लो दुई वर्षयता त्रिभुवन विमानस्थलमा थन्किएर बसेका छन् ।

निगमले यी जहाज उडाउन नसक्ने भन्दै सरकारलाई विकल्प खोज्न भनेको थियो । तर, सरकारले यसको स्वामित्व लिएन । फलस्वरुप जहाज कवाडी बनेर थन्किएका छन् । अर्कोतर्फ निगमको आन्तरिक उडान ४० वर्ष पुराना जहाजमै निर्भर बन्न पुगेको छ । निगम निकम्मा बन्दा आन्तरिक उडानमा यात्रुले चाहेर पनि सेवा पाउन नसकेका हुन् ।

अर्कोतर्फ निजी वायुसेवा कम्पनीहरू नाफामूलक हुन्छन् । उनीहरूले घाटामा व्यापार गर्दैनन् । उनीहरूलाई यी विमानस्थलसम्म तान्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आकर्षक प्रोत्साहन प्याकेज पनि छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, दुर्गम क्षेत्रका विमानस्थलमा उडान गर्ने कम्पनीहरूलाई आर्थिक राहत पुर्‍याउने उद्देश्यले त्यस्ता विमानस्थलमा लिइँदै आएको अतिरिक्त समय सञ्चालन शुल्क खारेज गरिएको छ ।

त्यस्तै दुर्गम क्षेत्रमा वायुसेवा कम्पनीले नियमित रूपमा सहुलियत भाडादरमा सेवा सञ्चालन गर्दा हुन आउने सञ्चालन घाटा पूर्ति गर्न व्यवस्था गरिएको ‘दुर्गम क्षेत्र हवाई कोष’ को सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तर्जुमाको चरणमा रहेको उनको भनाइ छ ।

नयाँ विमानस्थल निर्माण अगाडि पर्याप्त व्यावसायिक सम्भाव्यता अध्ययन अनिवार्य भइसकेको छ । यसले मात्रै राजनीतिक आडमा विमानस्थल निर्माण गर्दै हिंड्ने क्रम रोकिनेछ । लगानी भइसकेका विमानस्थललाई सञ्चालनमा ल्याउन त्यसको सम्भावना माथि थप अध्ययन जरूरी छ । पर्यटकको सम्भावना भएको, यात्रु संख्या बढाउन सक्नेमा सोही बमोजिम र वैकल्पिक गतिविधिमार्फत चलाउन सकिनेमा साहसिक गतिविधि र प्रशिक्षण उडान गरेर यिनको उपयोग गर्न सकिन्छ ।

तर, विना व्यावसायिक योजना विमानस्थल निर्माण गर्ने र सञ्चालनको दिगो बाटो अवलम्बन नगर्ने हो भने यस्ता धेरै विमानस्थल गौचरनमा परिणत हुनसक्छन् । बैतडीको पाटन विमानस्थल यसको उदाहरण हो । तसर्थ अब अल्पकालीन र दीर्घकालीन योजना बनाएर राज्यले यात्रु आकर्षित गर्ने, वायुसेवा कम्पनीलाई प्रोत्साहन वा बाध्यकारी बनाउने जिम्मेवारी वहन गर्नुपर्छ । यसमा प्रदेश र स्थानीय सरकारको पनि सहयोग लिन सकिन्छ । तब मात्र विमानस्थल पूर्वाधारमा गरेको लगानी न्यायसंगत हुन पुग्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?