+

बालबालिकाले बिहानको नास्ता खानैपर्छ ?

२०७९ माघ  ३ गते १०:११ २०७९ माघ ३ गते १०:११
बालबालिकाले बिहानको नास्ता खानैपर्छ ?

काठमाडौं । जापानी उखान छ- बिहानको खाना आफूले खानु, दिउँसो साथीसँग बाँडेर खानु र रातिको खाना शत्रुलाई दिनु । यसले दैनिक खानाको तालिका कस्तो हुनुपर्छ भन्ने औंल्याउँछ । बिहान भरपेट खानुपर्छ, दिउँसो त्यसको आधा भाग भए पुग्छ र राति त नखाएकै बेस भन्ने गरिन्छ ।

तर खानपानको यो तालिका विपरीत छ हाम्रो खानपान शैली । हामी बिहान थोरै खान्छौं र क्रमशः त्यो मात्रा बढाउँदै राति अत्यधिक खाइदिन्छौं । जबकि शरीरलाई दिनभरका लागि आवश्यक ऊर्जाको स्रोत भनेको बिहानको नास्ता-खाना हो । त्यही नास्ता नै हामीले छुटाउन थालेको पोषणविद्हरु बताउँछन् ।

बिहानको नास्ताले शरीरको पचाउने यन्त्रलाई सक्रिय बनाउँछ र दिनभरको लागि ऊर्जा प्रदान गर्ने विभिन्न अध्ययनमा उल्लेख छ । बिहान उठेपछि मस्तिष्क र मांसपेशीलाई सक्रिय बनाउन पनि बिहानको नास्ता अनिवार्य हुनुपर्ने बताइएको छ । यसले खराब कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्छ भने हृदयरोग र मधुमेहको जोखिम पनि कम गर्ने बताइन्छ ।

राति खाना खाएर सुतेपछिको कम्तीमा ९-१० घण्टा हाम्रो पेट खाली हुन्छ । यसपछि गरिने नास्ताले शरीरको ऊर्जा र पोषक तत्वको भण्डारलाई भरपाइ गर्छ । खासगरी विद्यालय जाने उमेरका बालबालिकालाई बिहानको नास्ता एकदमै जरुरी हुन्छ ।

युरोपियन एसोसिएसन अफ टिचर्सका महासचिव जिन क्लाउड गोगोनसँग विद्यालयमा बालबालिका पढाएको लामो अनुभव छ । बिहानको नास्ता गरेका बालबच्चा कक्षाकोठामा बढी जागरुक, ऊर्जावान् र सतर्क रहेको उनको भनाइ छ ।

यस्तो विचार राख्नेमा उनी एक्ला छैनन् । विश्व स्वस्थ्य संगठन (डब्लुएचओ)का तर्फबाट एडिनबर्ग विश्वविद्यालयले सन् २००८ मा विद्यालयका बालबालिकाको स्वास्थ्य व्यवहारमाथि गरिएको एक अध्ययनमा पनि यो कुरा उल्लेख थियो ।

के खाने नास्तामा ?

बिहानको नास्तामा चना, उसिनेको अण्डा, सातु, रोटी, भुटेको मकै-भटमास, कोदोको सुप, झोल तरकारी एकदमै उपयोगी हुने पोषणविद्को सुझाव छ । यसैगरी अंकुराएको गेडागुडी, मौसमी फलफूल पनि नास्तामा सामेल गर्नु उपयुक्त हुन्छ । मौसम अनुसार प्रकृतिमा जे उत्पादन हुन्छ, त्यही खानेकुरालाई नास्ताको रुपमा खान सकिन्छ । जस्तो अहिले कन्दमूल पाइन्छ । सखरखण्ड, पिंडालु, तरुल आदि एकदमै राम्रो नास्ता हुन सक्छ ।

पोषणविद् आरेम कार्की भन्छन्, ‘घरकै उत्पादन वा आफ्नै भान्सामा पाकेको ताजा र पोषिलो खानेकुरा खानुपर्छ । बिस्कुट, चाउचाउ वा बजारका प्रशोधित खानेकुरा चाहिं नास्ताको रुपमा खानै हुन्न ।’

यसैगरी खाली पेटमा दही, केरा, बदाम खान राम्रो नहुने उनको भनाइ छ । कफी, दूधको चिया पनि खाली पेटमा खाँदा ग्यास्ट्रिकलगायत समस्या हुन सक्छ ।

हाम्रो खानपान तालिका र बिहानको नास्ता

बालबालिकाको हकमा बिहानको नास्ता महत्वपूर्ण भए पनि वयस्कका लागि त्यति अपरिहार्य नहुने पोषणविद् आरेम कार्की बताउँछन् । ‘हाम्रो खानपान तालिका नै फरक भएकाले बिहान अनिवार्य नास्ता गर्नुपर्छ भन्ने छैन,’ उनी भन्छन् ।

काम-व्यवहारका कारण हामी ८-९ बजे नै बिहानको खाना खाने गर्छौं । यो नै हाम्रो लागि बिहानको नास्ता जस्तै हो । ‘बिहान उठ्नासाथ नास्ता खाने, फेरि ८-९ बजे खाना खाने गरियो भने त्यति फाइदाजनक नहुन सक्छ,’ पोषणविद् कार्की भन्छन्, ‘त्यसैले बिहानको नास्ता गर्नैपर्छ भन्ने कुरालाई दैनिक खानाको तालिका के छ भन्ने कुराले निर्धारण गर्छ ।’

यद्यपि बिहानको खाना भरपेट खानुपर्नेमा उनको पनि जोड छ । त्यसपछिका खाना भने क्रमशः कम गर्दै लैजानुपर्छ । रातको खाना सकेसम्म चाँडै खानु लाभदायक हुने कार्की सुझाउँछन् । ‘राति हल्का खाना खानु उपयुक्त हुन्छ,’ उनी भन्छन् ।

खाजा ब्रेकफास्ट
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ