+
+
ब्लग :

नेपालमा दुर्घटनाको नाममा हुने ‘हत्या’ कहिलेसम्म ?

‘दशा लागेपछि कसको के लाग्छ ? मान्छेको दिन आएपछि ओछ्यानबाट लडेर पनि मरिन्छ’ भन्दै दुर्घटनाका नाममा हुने हत्याप्रति आँखा चिम्लिनु झन् ठूलो अपराध हो। आफ्नो भाग्यलाई दोष दिएर वा सतीले सरापेको देश भनेर दुर्घटना न्यूनीकरण गर्ने नीतिनियम बनाएर कार्यान्वयन नगर्नेहरूको हातमा शासन–सत्ता सुम्पिनुहुँदैन।

सुमन बराल सुमन बराल
२०७९ माघ ४ गते ११:५८

म कक्षा ३ मा पढ्दै गर्दा सम्भवतः २०५४ सालमा हुनुपर्छ, हाम्रो घरमा टिभी ल्याइएको थियो। एउटा सामान्य किसान परिवारमा जन्मी–हुर्किएको र अरुको घरमा १०–१५ मिनेट हिंडेर जाने, कोचाकोच गर्दै महाभारत, रामायणलगायत कार्यक्रम हेर्ने एउटा बालकका लागि आफ्नै घरमा टिभी आउनु ठूलै खुसी थियो। तर त्यो खुसी धेरै दिन टिकेन, चिन्ता सँगै आयो। प्रत्येक दिन बेलुका बुबा–ममी समाचार हेर्ने गर्नुहुन्थ्यो, म पनि सँगै हेर्थें। लगभग प्रत्येक दिन दुर्घटना र यति जनाको मृत्यु भएको भन्ने समाचारमा हेर्नुपर्थ्यो। विशेषगरी क्षत–विक्षत भएको गाडी र लासको दृश्य, खोला छेउको नाम मात्रैको ‘पिचरोड-हाइवे’ र पहिरो गएका दृश्यहरू वास्तवमै एकदमै डरलाग्दो लाग्थ्यो मलाई।

दुर्घटनाको समाचार सुनेपछि म अत्यन्त चिन्तित हुने गर्थें। टाढा कतै जान्नँ र कुनै दिन झापादेखि काठमाडौं वा अलिक टाढा जानै पर्ने भयो भने पनि गाडीमा नभई जति दिन लागे पनि बरु हिंडेर जान्छु भन्ने सोच्ने गर्थें। परिस्थितिले गाडी, प्लेनलगायत सबै उपलब्ध साधन चढेर झापा, काठमाडौं हुँदै स्वीडेनसम्म पनि पुगियो। मलाई नेपालमा बस वा प्लेन चढेको बेला दुर्घटना नभई सुरक्षित गन्तव्यमा पुगियो भने एकदम खुसी लाग्छ, तर स्वीडेन वा युरोपका अन्य देशमा दुर्घटनाको ख्याल समेत आउँदैन। किन ?

नेपालमा वर्षेनि २ हजारभन्दा बढीले दुर्घटनामा परी ज्यान गुमाउने र हजारौं अंगभंग हुने कहालीलाग्दो अवस्था छ। पोखरामा आइतबार भएको हवाई दुर्घटनामा परी हालसम्म ७० जनाको ज्यान गइसकेको छ। २ जनाको स्थिति अज्ञात छ। यती एयरलाइन्सको एटीआर–७२ विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए। मन्त्रिपरिषदले १ दिन शोकको लागि छुट्टी दिने निर्णय गरेको छ। तथापि दुर्घटना भयो भनेर छुट्टी दिने नभई दुर्घटनाका कारकहरू पत्ता लगाएर त्यसलाई न्यूनीकरण गर्ने काम सरकारको हो।

गाडी दुर्घटनामा ज्यान गुमाउने परिवारका सदस्य बाहेक अन्यले ‘ए फेरि अर्को दुर्घटना भएछ, यति मरेछन्, उनीहरूको दिन आएको रहेछ’ भनेर अधिकांशले भन्ने गरेको पाइन्छ तर प्लेनको दुर्घटनामा चाहिं निकै ठूलो चर्चा हुने गर्छ। मिडिया र सामाजिक संजाल निकै दिन भरिन्छन्। सामाजिक संजालमा मानिस प्लेन दुर्घटनामा मात्रै बढी दुःखी भएको जस्तो किन देखिन्छ भन्ने मैले बुझ्न नै सकेको छैन।

गाडी वा प्लेन वा पानीजहाज वा जेसुकै सवारी साधन भए पनि दुर्घटना भनेको दुर्घटना नै हो, ज्यान जेमा गए पनि जान्छ वा घाइते होइन्छ। कृपया मलाई अन्यथा नसोचिदिनुहोला तर मेरो लागि प्लेन उडाउने चालक (पाइलट) र गाडी कुदाउने चालक समान हुन्, प्लेनको एयर होस्टेस र गाडीको सहचालक उस्तै हुन्। अलिकति सम्पन्नहरूले धेरै चढ्ने प्लेनका प्यासेन्जर र गाडीका प्यासेन्जर उस्तै हुन्। होला पाइलट र एयर होस्टेस बन्न मिहिनेत र लगानी अलि बढी लाग्ला।

मेरो बुझाइमा तुलनात्मक रूपमा गरिब परिवारका गाडी चालक र सहचालक पनि मानिस नै हुन्। सबैका आफन्त, परिवार र साथीभाइ छन्। मलाई गाडी र प्लेन दुर्घटना हुँदा समान दुःख लाग्छ।

सुमन बराल

संसारकै सबैभन्दा कम दुर्घटना हुने राष्ट्रको सूचीमा पर्छ स्वीडेन। यहाँ वार्षिक करिब २०० जनाले सडक/हवाई दुर्घटनाबाट ज्यान गुमाउँछन्। भविष्यमा अहिले बजारमा आउँदै गरेका स्वचालित गाडी भन्दा अझै परिष्कृत र अत्याधुनिक स्वचालित गाडी आएको खण्डमा मात्रै दुर्घटनाबाट हुने जनधन लगभग अन्त्य गर्न सकिएला। यदि राजनैतिक नेतृत्वमा अलिकति मात्रै इमानदारी र नैतिकता हुने हो भने नेपालमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। आज हामी अरुलाई हार्दिक श्रद्धाञ्जली लेख्दै छौं, भोलि कसैले हाम्रो लागि लेखिरहेको हुनसक्छ। तसर्थ, नेपालमा दुर्घटनाको नाममा हुँदै गरेको ‘हत्या’ रोक्न सबैले आवाज उठाउन आवश्यक छ।

धकेलेर स्टार्ट गर्नुपर्ने खराब गाडीहरू कसरी प्रहरीको नजरबाट जोगिएर यमदूत बनेर सडकमा निर्धक्क गुड्छन् ? किन नियमित मर्मत नगर्ने र अत्यन्त पुराना गाडीहरूको रुट पर्मिट खारेज गरिंदैन ? निश्चित समयमा गाडी चेकजाँच गर्नैपर्ने बाध्यात्मक नियम बनाएर कार्यान्वयन किन गरिंदैन ? माफिया र शक्तिकेन्द्रको दबाबले गर्दा सिन्डिकेट खारेज गर्न नसकिएको हो ? राजनैतिक दल, प्रशासन र यातायात व्यवसायीबीचमा आर्थिक मिलेमतो भएका कारण सिन्डिकेट कायम रहेको हो ? उडेर होस् वा गुडेर गन्तव्यमा पुगिएछ भने दर्शन गर्न आउनेछु भनेर देवी–देउतालाई भाकल गरेर हिंड्नुपर्ने अवस्था कहिलेसम्म जनताले सहेर बस्ने ? जनताले अब जवाफ माग्नुपर्छ।

गुड्ने अवस्थामा नभएका गाडीलाई प्रतिबन्ध लगाउनुपर्छ। अत्यन्त नाजुक अवस्था भएका बाटाहरू तत्काल मर्मत गर्नुपर्छ अनि बाटो गुणस्तरीय नबनाउने ठेकेदार र सम्बन्धित सबै निकायलाई कारबाही गर्नुपर्छ। जथाभावी मापदण्ड विपरीत सडक बनाउन दिनुहुँदैन।

अत्यन्त व्यस्त स्थानमा आकाशे पुल र जेब्रा क्रसिंग बनाउनुपर्छ। सवारी चालक अनुमति पत्र दिंदा हुने अनियमितता रोक्न सरकारी कर्मचारी, बिचौलिया र अनुमति पत्र लिने व्यक्तिलाई कडा सजायको व्यवस्था हुनुपर्दछ। लामो दूरीको यात्रामा दुई जना चालक अनिवार्य राख्नुपर्छ। दुर्घटनापछि छानबिनबाट गाडी नियमित चेकजाँच नगरिएको पाइएमा चालक र सवारी धनीलाई चर्को जरिवानाका साथै जेल सजाय हुनुपर्छ। कतिपय चालकले मदिरा खाए निद्रा नलाग्ने भन्ने गरेको पाइन्छ तर आफ्नो मात्र नभई हजारौंको ज्यानसँग खेलबाड गर्ने यस्ता चालकलाई हदैसम्मको सजाय दिनुपर्छ। अल्कोहल टेस्ट नगरेसम्म गाडी स्टार्ट नै गर्न नसक्ने प्रविधि पनि बजारमा छन्।

ट्राफिक जाम र प्रदूषण कम गर्न राज्यले आफ्नो लगानीमा वा निजी क्षेत्रलाई मर्यादित बनाएर सुरक्षित अनि सेवामूलक सार्वजनिक यातायातको व्यवस्था गर्नुपर्छ। सार्वजनिक यातायातको राम्रो सुविधा दिएर अनि धेरै राजस्व लिएर दुईचक्के मोटरबाइक र साना साधनको अत्यधिक प्रयोग रोक्नुपर्छ। अत्यधिक यात्रु र सामान हाल्न निरुत्साहित गर्न सार्वजनिक सवारी चालकहरूले कम्तीमा गुजारा चल्ने तलब पाउने सुनिश्चितता गर्नुपर्छ। राज्यले तोकेको नियम विपरीत जोखिम मोलेर यात्रा गर्ने यात्रुलाई पनि कारबाही गर्नुपर्छ तर उनीहरूलाई सुरक्षित गन्तव्यमा पुग्ने पर्याप्त सवारी साधनको व्यवस्था भने राज्यले गर्न सक्नुपर्छ। सरकारले गाडीहरू तोकिएकै समयमा र क्षमता अनुरूप मात्र यात्रु राख्नको निम्ति कडाइ गर्नुपर्छ। लामो दूरीका बसहरूमा यात्रुलाई पनि अनिवार्य सिट बेल्ट लगाउनुपर्ने र त्यही अनुसार नियम पालना नगर्ने यात्रु र चालक दुवैलाई कारबाही गर्नुपर्छ। दलहरूले यातायात व्यवसायलाई आफ्नो र आफ्ना कार्यकर्ताको मागिखाने भाँडो बनाउनुहुँदैन।

आफू पोख्त हुँदाहुँदै पनि अरुको गल्तीले दुर्घटना हुनसक्ने भएकाले सरकारले ६ महिनाको अवधि दिएर सवारी चालक अनुमति पत्र भएका सबैलाई फेरि लिखित र ट्रायल दिनुपर्ने घोषणा गर्नुपर्छ र त्यो निःशुल्क गर्नुपर्छ अनि अब फेरि पसलबाट चाउचाउ किनेझैं चालक अनुमति बेचबिखन गर्ने, गराउनेलाई कडा कारबाही गर्नुपर्छ। ट्रायल अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप लिनुपर्छ। समयमै उद्धार गर्नका लागि राज्यले विशेष सतर्कता अपनाउनुपर्छ। ट्राफिक बत्ती, ठाउँठाउँमा स्पिड मापन गर्ने क्यामेरा, यात्रु हिंड्ने सडकपेटी र साइकल लेन बनाउनुपर्छ किनकि ट्राफिक प्रहरीले सिट्ठी फुकेर मात्र दुर्घटना रोकिंदैन। दुर्घटनाको प्रकृति हेरी चर्को जरिवाना, जेल सजाय, सवारी चालक अनुमति पत्र रद्द अथवा केही महिना चलाउन बन्देजलगायतका सजाय लागू गर्नुपर्छ। अक्सर दुर्घटनाका कारण बन्ने सडकमा छाडा छाडिएका चौपायावस्तुको पनि उचित व्यवस्थापन गर्नुपर्छ। विडम्बना यस्ता सामान्य काम गर्न भ्रष्ट प्रशासन/सरकारलाई आणविक हतियार बनाउन भन्दा कठिन भएको छ।

विश्व चालकरहित विमान र गाडीको युगतर्फ लम्किंदैछ तर हामी भने ट्राफिक नियम पालना र कसरी बाटो काट्नेमा नै अल्झिरहन बाध्य भएका छौं। हामीलाई बिरालोले बाटो छेक्छ तर ट्राफिक नियमले कहिल्यै छेक्दैन।

सार्वजनिक यातायातलाई व्यवस्थित, सस्तो र सुलभ बनाउने कर्तव्य सरकारले पूरा गर्नुपर्छ, तर प्रत्येक सरकार सिन्डिकेट लाद्नेहरूसँग निरीह सावित भएका छन्। विदेशमा ठूला दुर्घटना हुँदा जिम्मेवार व्यक्तिले नैतिकताका आधारमा राजिनामा दिने प्रचलन हुन्छ तर नेपालको लोकतन्त्रको नाममा चलिरहेको लुटतन्त्रमा शासकहरूले नैतिकता बेचिसकेका छन्।

नेपालमा दुर्घटना अत्यधिक हुनुमा एकले अर्कोलाई दोषारोपण गर्ने गरेको पाइन्छ। निश्चित रूपमा सबैले आफ्नो हिस्साको जिम्मेवारी लिनुपर्दछ, तर उचित नीतिनियम बनाउन अनि कार्यान्वयन गर्न नसक्ने निकम्मा सरकार नै दुर्घटनाको मुख्य दोषी हो। इमानदारी र जवाफदेहीको अभावमा सार्वजनिक यातायात दयनीय अवस्थामा छ।

विश्वका अधिकांश देशमा जस्तै नेपालमा पनि १८ वर्ष पुगेका र तालिम लिएर पोक्त भएका चालकले गाडी चलाउन पाउनुपर्छ। निःसन्देह सार्वजनिक सवारी साधन चलाउन विशेष योग्यता प्राप्त गर्नुपर्ने व्यवस्था राख्नुपर्छ तर २१ वा २५ वर्ष उमेर हद बनाउनु समाधान नभई दुर्घटनाको मुख्य कारणलाई विषयान्तर गर्नु हो। साथै, चालकसँग ट्राफिक नियम पत्ता लगाउन अक्षर र अंकहरू चिन्ने योग्यता हुनुपर्छ तर प्रधानमन्त्री बन्न नचाहिने न्यूनतम शैक्षिक योग्यता लाइसेन्स निकाल्दा राखिनुहुँदैन। साँघुरा र खाल्डाखुल्डी भएको सडक, अपरिपक्व सवारी चालक, चालकले मदिरा सेवन गर्नु, ट्राफिक नियमको पर्याप्त ज्ञान नहुनु, क्षमता भन्दा धेरै यात्रु चढाउनु, सवारी साधनको नियमित चेकजाँच नगरिनु, अत्यन्त भीडभाड हुनु, यात्रुवाहक गाडीमा अत्यधिक मात्रामा सामान राखिनु आदि नेपालमा सवारी दुर्घटना हुनुका प्रमुख कारण हुन्।

दक्ष चालक र नियमित चेकजाँचका कारण नेपालमा पर्यटकलाई केन्द्रित गरिएका गाडीहरू दुर्घटनामा कम पर्ने गरेका छन्। मापदण्ड नपुगेका सडकका कारण मात्र दुर्घटना हुने भए नेपालमा प्रत्येक दिन हजारौंको ज्यान जाने थियो र राम्रो सडक पूर्वाधार भएको अमेरिकामा प्रत्येक वर्ष ३२ हजार भन्दा बढीले अकालमा ज्यान गुमाउने थिएनन्। तसर्थ कम्तीमा सवारी चालक अनुमति पत्र दिंदा हुने अनियमितता रोक्ने, सवारी साधनको नियमित चेकजाँच गराउने, मदिरा सेवन गरेर चलाउनेलाई जेल सजाय गर्ने, ट्राफिक नियमको पर्याप्त ज्ञान दिने, यात्रुवाहक र मालवाहक गाडी छुट्याउने र नियम पालना नगर्नेलाई हदैसम्मको दण्ड-जरिवाना गर्ने काम मात्र गर्न सकियो भने नेपालमा दुर्घटना स्वतः घटेर जान्छ।

विश्व चालकरहित विमान र गाडीको युगतर्फ लम्किंदैछ तर हामी भने ट्राफिक नियम पालना र कसरी बाटो काट्नेमा नै अल्झिरहन बाध्य भएका छौं। हामीलाई बिरालोले बाटो छेक्छ तर ट्राफिक नियमले कहिल्यै छेक्दैन। हामी हेल्मेट र सिट बेल्ट प्रहरीको लागि मात्र लगाइदिन्छौं। हामीलाई एकछिन कुरेर अर्को गाडीमा जानुको सट्टा जोखिम मोलेर भए पनि कोचिएर, उभिएर वा झुण्डिएर छिटो जानैपर्छ। हाम्रा राजमार्ग कालमार्गमा परिणत भएका छन्। ‘दशा लागेपछि कसको के लाग्छ ? मान्छेको दिन आएपछि ओछ्यानबाट लडेर पनि मरिन्छ’ भन्दै दुर्घटनाका नाममा हुने हत्याप्रति आँखा चिम्लिनु झन् ठूलो अपराध हो। आफ्नो भाग्यलाई दोष दिएर वा सतीले सरापेको देश भनेर दुर्घटना न्यूनीकरण गर्ने नीतिनियम बनाएर कार्यान्वयन नगर्नेहरूको हातमा शासन–सत्ता सुम्पिनुहुँदैन। अन्ततः निर्णय जनताकै हातमा हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?