+
+

राज्यसँग सन्दुक रुइतका दुई अपेक्षा

तिलगंगा आँखा प्रतिष्ठानलाई इन्टरनेशन अप्थाल्मिक (आँखा उपचार) इन्ष्टिच्युसनल हब बनाउने । अहिले भएको प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने आफ्नो इच्छा रहेको भन्दै उनले भने, ‘नाम छ, विज्ञ छ, स्रोत साधन छ । धेरै खर्च गर्नुपर्दैन, माथिबाट क्याप लगाइदिए पुग्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १९:१४

४ माघ, काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड आफ्नो जीवनको कमाइ भएको बताएका छन् । यसले नेपालीहरुको आत्मसमान र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा माथि लैजान मद्दत गर्ने उनको विश्वास छ ।

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नामबाट स्थापित अवार्ड मंगलबार रुइतलाई दिने घोषणा भएको हो । हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा काम गरेको व्यक्ति वा संस्थालाई प्रदान गरिने यो अवार्डको राशी १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँभन्दा बढी छ ।

अन्धोपन निवारणमार्फत गरेको मानव कल्याणका लागि रुइतलाई यो अवार्ड दिइएको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले जनाएको छ । वरिष्ठ नेत्र चिकित्सक रुइतले मोतिया विन्दुको उपचार गर्ने सरल विधि विकास गरेका थिए । इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका कारण विकासोन्मुख देशका लाखौं व्यक्तिले आँखाको ज्योति प्राप्त गरेका छन् ।

बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेत्र चिकित्सक रुइतले अवार्ड पाएपछि कसलाई भनौं, कसलाई भनौं जस्तो भएको सुनाए । ३५ वर्षदेखि नेत्र चिकित्सा क्षेत्रमा रहेका उनी यसलाई आफ्नो जीवनको कमाइ मान्छन् ।

इसा अवार्डका लागि १४५ व्यक्ति र संस्थाले आवेदन दिएका थिए, जसमध्ये १३९ वठा आवेदन स्वीकृत भएको थियो । ‘सर्टलिस्ट’मा अमेरिकी परोपकारी संस्था मर्सी सिप, बंगलादेशको फ्रेन्डसिप एनजीओ, कोलम्बियाको क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याको जाम्बी माटी र स्वीट्जरल्याण्डको विश्व स्वास्थ्य संगठन फाउण्डेसन छानिएको थियो ।

रुइतका अनुसार उनको नाम कसैले मनोनयन गरेको थिएन । तर निर्णयक आफैंले मनोनयनमा राखे र उनैले अवार्ड जिते । कोरोना महामारीको समयमा अन्धोपन हटाउन गरेको कामका लागि अवार्ड पाउनु आफैंमा गर्वको विषय भएको रुइतले सुनाए ।

अवार्डले अन्धोपन हटाउन नेपालीहरुले खेलेको भूमिकालाई स्थापित गरेको भन्दै उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमा नेपालको आत्मसमान र प्रतिष्ठा, जुन अहिले गिर्दो अवस्थामा छ, त्यसलाई धेरै ठूलो लिफ्ट दिएको छ जस्तो लाग्छ ।’

राज्यसँग गरेको आश

सन् १९८० को दशकदेखि नेत्र चिकित्सकको रुपमा कार्यरत रुइतले नेपालमा मात्र होइन, घाना, इथियोपिया, भुटान जस्ता देशमा पुगेर हजारौंको मोतिया विन्दुको उपचार गरेका छन् । सन् २००६ मै रामोन म्यागासेसे पुरस्कार पाएका उनलाई भारतले पद्मश्री र भुटानले नेशनल अर्डर अफ मेरिट अवार्ड दिइसकेको छ ।

अहिले अर्को प्रतिष्ठित अवार्ड पााएका उनी यसले नेपालको आत्मसमानलाई कति माथि लगेको भनेर राज्यले पनि बुझ्नुपर्ने बताउँछन् । भन्छन्, ‘म हेरिरहेको छु कि राज्यले मलाई कसरी रेस्पोन्स गर्छ ।’

राज्यसँग उनको दुई अपेक्षा छ ।

पहिलो, आँखाको लेन्स उत्पादन उद्योग खोल्न आर्थिक सहयोग । डा. रुइतले विकास गरेको लेन्स अहिले वर्षमा करिव ३ लाख वटा उत्पादन हुन्छ । यो लेन्स अन्तर्राष्ट्रिय स्तरको र सुलभ भएकाले अरु देशमा पनि निर्यात हुन्छ । रुइत चाहन्छन् कि यसलाई देशकै नमुना उत्पादन उद्योग बनाउने र वर्षमा १० देखि १५ लाख उत्पादन गरेर संसारभर निर्यात गर्ने ।

यसका लागि सरकारले सहयोग गरोस् भन्ने उनी चाहन्छन् । भन्छन्, ‘लास्ट टाइम सरकारलाई आग्रह गरेका थियौं, सरकारले हामीलाई २० प्रतिशत दिएको छ । यसले पुग्दैन ।’

दोस्रो, तिलगंगा आँखा प्रतिष्ठानलाई इन्टरनेशन अप्थाल्मिक (आँखा उपचार) इन्ष्टिच्युसनल हब बनाउने । अहिले भएको प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने आफ्नो इच्छा रहेको भन्दै उनले भने, ‘नाम छ, विज्ञ छ, स्रोत साधन छ । धेरै खर्च गर्नुपर्दैन, माथिबाट क्याप लगाइदिए पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?