+

रिसाहा र आक्रामक स्वभावका मान्छेलाई वास्तवमै मुटुको समस्या हुन्छ ?

२०७९ माघ  ६ गते १४:४२ २०७९ माघ ६ गते १४:४२
Shares
रिसाहा र आक्रामक स्वभावका मान्छेलाई वास्तवमै मुटुको समस्या हुन्छ ?

शारीरिक स्वास्थ्यका लागि स्वभावको भूमिका मुख्य हुन्छ । रोग निम्त्याउने एउटा जड मानिसको स्वभाव पनि हो भनिन्छ । विशेषतः हाम्रो स्वभाव अनुसार नै हाम्रो स्वास्थ्य स्वस्थ हुने र नहुने कुरामा भर पर्छ । मानिसको स्वभावलाई मुख्यतः दुई प्रकारले विभाजन गरिएको छ, एउटा टाइप ‘ए’ र अर्को टाइप ‘बी’ ।

हरेक कुरा भन्ने बित्तिकै चाहिने, रिसाहा, अस्वस्थ प्रतिस्पर्धा गर्न चाहने, आक्रोशित हुने, जता पनि छिटो पुग्नुपर्ने, बेचैन भइराख्ने, धैर्य नभएको, सामान्य कुरामा पनि जित्नुपर्ने, क्रोधी, बोल्दा तर्कसंगत कुरा नहुँदा पनि आफैं बोलेर जित्नुपर्ने स्वभाव हुन्छ । कमाण्ड गर्न खोज्ने तर तयारी नपुग्ने र हरबखत हतास र तनावमा रही रहने स्वभाव भएका व्यक्तिहरु टाइप ए पर्सनालिटी अन्तर्गत पर्छन् । ‘टाइप ए’ प्रकारको स्वभाव भएकालाई दीर्घरोगको जोखिम उच्च हुन्छ । जसमा मुटुरोग पनि एक हो । जसलाई वैज्ञानिकहरुले प्रमाणित नै गरिसकेका छन् ।

उनीहरुलाई रक्तचाप, उच्च कोलेस्टेरोल, केही मात्रामा मधुमेहको जोखिम हुँदै मुटुरोगको समेत जोखिम बढेर जान्छ । यो स्वभाव निरन्तर चलिरहेकालाई हृदयघातको समेत जोखिम हुने गर्छ ।

त्यस्तै स्वभाव शान्त, बोलीमा नम्रता भएका, धैर्यवान्, सबैकुरा योजनाबद्ध तरिकाले गर्ने बानी छ, हरेक काममा आशावादी, शारीरिक रुपमा सक्रिय व्यक्तिको जीवनशैली राम्रो हुन्छ । जीवनशैली राम्रो हुने बित्तिकै दीर्घरोग लाग्ने सम्भावना पनि न्यून हुन्छ । उनीहरुलाई ‘टाइप बी’को श्रेणीमा राखिएको छ ।

रिसाउँदा मुटुमा असर

स-सानो कुरामा रिससँगै आवेगमा आउने व्यक्ति रिसाउँदा आवेगात्मक स्नायु प्रणाली, मस्तिष्क र मुटुजस्ता अभिन्न अंगमा असर परिरहेको हुन्छ । उनीहरुको मुटुको चाल पनि तीव्र रुपले बढिरहेको हुन्छ । उनीहरु चर्को बोल्ने, रिस बढ्दै गएपछि के काम गरिरहेको हो थाहा नपाउने,  छिटोछिटो गर्ने, मुटुको धड्कन बढ्ने, रक्तसञ्चार बढ्ने, अनुहारमा रातोपन आउने हुँदै रक्तचाप तीव्र रुपमा बढ्नेदेखि  स्नायु प्रणाली अन्तर्गत हार्मोन र रसायन निस्कन्छ ।

स्ट्रेस हार्मोन बढेसँगै कोर्टिसोलको स्तर बढ्छ । धेरै आवेगमा आउनेहरुमा मधुमेहको लेभल बढ्नुका साथै हृदयघात र स्ट्रोकको जोखिम बढ्छ । विभिन्न अध्ययनले पनि रिसाहा व्यक्तिमा हृदयघात हुने सम्भावना प्रवल रहेको देखाएको छ ।

पारिवारिक पृष्ठभूमि उथलपुथल भएर हुर्किएकाहरुमा रिस र आवेग बढी हुने पाइएको छ । जो सानैदेखि रिसाहा र आक्रामक स्वभावका हुन्छन्, उनीहरुमा अत्यधिक दीर्घरोगको जोखिम हुन्छ । त्यस्तै, वंशाणुगत कारणले पनि व्यक्तिहरु रिसाहा हुन सक्छन् ।

मुटुरोगीमा रिस उठ्ने सम्भावना बढी

मुटुरोग लागेका व्यक्तिमा रिस उठ्ने सम्भावना बढी हुन्छ । एक त रोग लागिसकेपछि व्यक्ति स्वतः निराश हुने, तनावमा हुने हुन्छ । उसमा आत्मविश्वासको कमी हुने पनि देखिन्छ । साथै उनीहरुको मुटुको चालको क्षमता, रक्तचाप र मधुमेह नियन्त्रण औषधिले गरिरहेको हुन्छ ।

त्यसले मानिसको स्वभावमा  प्रभाव पारिरहेको हुन्छ । जसकारण कुनै कुराले उनीहरुमा अनियन्त्रित रिस उठ्ने र सानो कुरालाई पनि ठूलो बनाउने समस्या आउँछ ।

एकपटक हृदयघात भएको व्यक्तिलाई कुनै अप्रिय घटना वा खबरले पुनः हृदयघात भएर मृत्यु हुने समस्या हुन्छ । त्यसकारण एकपटक हृदयघात भइसकेका व्यक्तिहरु जब आवेगमा आउँछन् उनीहरुमा  आवेगात्मक स्नायु प्रणालीमा असर बढ्छ । त्यस अवस्थामा मुटुको चाप तीव्र रुपमा बढ्छ र मुटुमा अक्सिजनको माग पनि स्वतः बढेर जान्छ ।  त्यस्तो अवस्थामा हृदयघात हुने अत्यधिक सम्भावना हुन्छ ।

मुटुमैत्री जीवनशैली

जीवनशैलीलाई मुटुमैत्री बनाउनु आवश्यक छ । यसका लागि योग, ध्यान, शारीरिक व्यायाम गर्नुपर्छ । यस्तै धेरै नसोच्ने, धुम्रपान र मदिरा सेवनबाट टाढा रहनु राम्रो छ । यसले मानिसको स्वभावमा परिवर्तन ल्याउँछ । आफ्ना दैनिक गतिविधि र जीवनशैली परिवर्तन गर्न सकियो भने दीर्घरोगीमा औषधि नचाहिनेसम्मको सुधार हुन सक्छ ।

दीर्घरोग नलागेका तर स्वभाव ‘टाइप ए’ छ भने पनि बेलैमा जीवनशैली परिवर्तन गरेको खण्डमा मुटुरोगको जोखिम कम हुन्छ ।

मान्छेको मनोवृत्ति र मुटुबीच सम्बन्ध

मानिसको मनोवृत्ति र मुटुको सम्बन्ध अविछिन्न रहेको हुन्छ । सोचाइ र व्यवहार सकारात्मक छ भने मुटु र मस्तिष्कमा चाप कम हुन्छ, जसले शरीर स्वस्थ राख्न मद्दत गर्छ ।

हाम्रो शरीर एकदम सन्तुलनमा चलेको हुन्छ । शरीरलाई सन्तुलनमा राख्न हरेक तत्वको मात्रा ठिक्क हुनुपर्छ । सुगर, रक्तचाप, कोलेस्टेरोल, शरीरको वजन सबै सन्तुलन हुने समयसम्म शरीर स्वस्थ रहन्छ । यीबाहेक अत्यधिक लोभलालच, आवश्यकभन्दा बढी तृष्णा, अपेक्षा जस्ता तत्व पनि शरीरका लागि हानिकारक हुन्छन् । जुन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शरीरसँग जोडिएको हुन्छ । यी कुराहरुको तालमेल नमिल्दा मुटुमा असर गर्छ । मुटुलाई स्वस्थ राख्न मन र तन दुवैमा आवश्यकभन्दा बढी कुरा हाबी हुनुहुँदैन । आफूलाई माया गर्ने तरिका जान्नुपर्छ । मन, मुटु र शरीर आफ्नै नियन्त्रणमा राख्न सक्नुपर्छ । जस्तै, अरुले केही भन्दा आफूले त्यो कुरालाई लिएर बढी सोच्ने र त्यसकै प्रभाव परिरहन्छ भने त्यो व्यक्ति दुःखी हुन्छ र निराशावादी हुन्छ । त्यससँगै यावत् कुराले उसको दैनिकीमा असर गर्छ र स्वास्थ्यमा हानि पुर्‍याइरहेको हुन्छ ।

मुटुलाई स्वस्थ राख्ने उपाय

मुटुलाई स्वस्थ राख्नको लागि रिसलाई नियन्त्रण गर्ने उपाय अपनाउनुपर्छ । यसका लागि शान्त रहने प्रयास गर्ने, आफ्नो लागि समय मिलाउने र आफूलाई माया गर्ने प्रयास गर्नुपर्छ ।

अरुबाट नियन्त्रित नहुने, सामाजिक सञ्जालको प्रभाव आफूलाई पर्न नदिने, शारीरिक व्यायाम गर्ने, तनाव व्यवस्थापनको लागि ध्यान, योग गर्ने, खानपानमा क्यालोरी कम र फाइबरयुक्त खानेकुरा बढी खाने गर्नुपर्छ ।

मधुमेह भएकाहरुले बेलाबेलामा मधुमेह जाँच गराउने र नियन्त्रणमा ध्यान दिने, कोलेस्ट्रोल बढ्न नदिने र मद्यपान तथा धुम्रपान नगर्ने जस्ता कार्य गरे मुटु स्वस्थ राख्न सकिन्छ ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्सालसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. कमल लम्साल मुटुरोग
डा. कमल शर्मा लम्साल
लेखक
डा. कमल शर्मा लम्साल
वरिष्ठ मुटुरोग विशेषज्ञ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल हाल काठमाडौं चावहिलस्थित ओम अस्पतालर र नयाँ बानेश्वरस्थित एभरेष्टअस्पतालमा कार्यरत छन् । उनले इन्टरनल मेडिसिनमा एमडी र कार्डियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३३३८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा