+
+

पोखरा कसरी बन्यो ‘पानी रङ’को पाठशाला ?

कलाकारलाई कला देखाउने ठाउँकै चिन्ता

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ ७ गते ७:०९
दुर्गा बराल ‘वात्स्यायन’को फेसबुकबाट लिइएको चित्र

पोखरा । चित्रकारिताका अनेक आयाम र विधिमध्ये एउटा हो, पानी रङ । यो चित्रकला इतिहासको सबैभन्दा पुरानो तर, सबैभन्दा लोकपि्रय मानिन्छ । यसको साधारण विशेषता हो- पारदर्शी, शीतल र शान्त ।

पोखरा त्यही पानी रङको विद्यालय अर्थात् ‘स्कुल अफ वाटर कलर’का रूपमा परिचित छ । पोखरालाई पानी रङको विद्यालयका रूपमा चिनाउने श्रेय जान्छ, वरिष्ठ कलाकार एवं कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’लाई ।

पोखरा कसरी पानी रङको विद्यालयका रूपमा चिनियो त ? पृष्ठभूमिमा पुग्न तीसको दशकमा पुग्नुपर्छ । जतिबेला वात्स्यायनले पोखरामा पहिलो पटक ‘इगल आई’ नामक कला स्टुडियो खोले । त्यसपछि पोखरेली चित्रकलाले व्यावसायिक रूप मात्रै लिएन, एक फरक परिचय नै स्थापित गर्‍यो ।

‘त्योभन्दा पहिले पोखरामा चित्र बनाउने पनि थिएनन्, स्टुडियो हुने कुरै भएन । काठमाडौंबाट फर्किएर स्टुडियो खोलेपछि बल्ल केही चहलपहल सुरु भया,’ वरिष्ठ कलाकार वात्स्यायन सम्झन्छन्, ‘त्यतिबेला मैले पानी रङ प्रयोग गर्थें । टुरिस्टहरूले एकदमै मन पराउन थाले ।’

वात्स्यायन पोखराका कलाकारले पानी रङमा पनि आफ्नै मौलिकता झल्काउने हुँदा बाहिर आफ्नो कला प्रदर्शन गर्न जाँदा पनि टाढैबाट पोखराको कला प्रष्ट चिनिने अवस्था बनेको सुनाउँछन् । ‘कुनैबेला त काठमाडौंलगायत ठाउँमा हामीले चित्रकला प्रदर्शन गर्न गयौं भने टाढैबाट यो त पोखराको हो भनेर प्रष्टै चिनिन्थ्यो’, उनी सम्झन्छन् ।

बराल सानो ब्रसको प्रयोगले ‘बोल्ड एन्ड स्मल प्याच’मा चित्र बनाउँथे । पोखरामा चित्रकलाले व्यावसायिक रूप लिइनसकेकाले पनि तत्कालीन समयमा पानी रङमै चित्र बनाउनु एक प्रकारको बाध्यता थियो । वात्स्यायन सुनाउँछन्, ‘पानी रङका सामान सस्तो हुन्छन् । त्यतिबेला अरू सामान पाउन पनि सकिंदैनथ्यो । चित्र बनाउनले विद्यार्थीलाई चाहिन्छ भनेर पानी रङको सामान भने अलिअलि पाइन्थ्यो ।’

पर्यटकीय रूपमा चर्चामा आउँदै गरेको पोखरामा विदेशी पाहुनाले धमाधम पोखरेली कलाकारका कला मन पराउन थालेपछि पानी रङको चित्रकला विस्तारै व्यावसायिक बन्दैगयो । र, नयाँ-नयाँ कलाकार पनि यसतर्फ आकषिर्त हुनथाले ।

‘पछि कलाकारको संख्या बढ्दै गएपछि संघ-संस्था नै खुल्न थाले । उनीहरूले गाउँ-गाउँमा गएर चित्र बनाउन थाले’ वात्स्यायन भन्छन्, ‘एक ठाउँबाट अर्को ठाउँ र समूहमा काम गर्दागर्दै एकअर्काले जानेको सिक्ने क्रम पनि बढ्दैगयो ।’

दुर्गा बराल र बुद्धि गुरुङ ।

बराल पोखरामा पानी रङ सुरुआत गर्ने पहिलो पुस्ता थिए । दोस्रो पुस्ताका रूपमा बुद्धि गुरुङहरू उदाए । बुद्धि गुरुङले पोखरा रानीपौवामा बुद्धिज् एट्लिएर नामक स्टुडियो खोलेर पानी रङको प्रशिक्षण नै दिन थाले ।

सन् १९९० तिर कलाकारको एक जम्बो टोली चित्रकला प्रदर्शन गर्न काठमाडौं लाग्यो । कलाकार बुद्धि गुरुङले नेतृत्व लिएको उक्त समूहमा कलाकार पदम घले, राजदूर जोशी, महेन्द्रराज भण्डारी, विश्व श्रेष्ठ, यादवचन्द्र भुर्तेललगायतले काठमाडौंमा सामूहिक चित्रकला प्रदर्शन गरेका थिए ।

त्यतिबेला पोखराको पानी रङ चित्रकलाको खूबै तारिफ भएको सम्झन्छन्, कलाकार बुद्धि गुरुङ । ‘त्यतिबेला दुर्गा सर छुट्नुभएको थियो । टिमको नेतृत्व मैले गरेको थिएँ । हाम्रो चित्रकलाको एकदमै तारिफ भयो’ उनी सम्झन्छन्, ‘त्यसपछि नै पोखरा पानी रङको विद्यालयका रूपमा चिनिन थाल्यो ।’

गुरुङ वात्स्यायनले प्रयोग गरेको पानी रङ विधिलाई केही परिमार्जित गर्दै ठूलो ब्रस प्रयोग गरेर चित्र बनाउँथे । सोही समयका हरिराज जोजिजुले भने सानो ब्रसकै माध्यमबाट ‘फलो टेक्निक’ विधि अपनाए ।

चित्रकलामा प्रयोग हुने यो विधि पारदर्शी मात्रै हुँदैन, माटोको सुगन्ध अर्थात् आफ्नोपन देखाउन पनि सजिलो हुन्छ’ कलाकार हेमकान्ति गुरुङ भन्छिन्, ‘पोखराको सन्दर्भमा यहाँको भौगोलिक मौलिकता देखाउन पनि पानी रङले भूमिका खेलेको हो जस्तो लाग्छ ।’

पानी रङको माध्यमबाट देशका विभिन्न ठाउँमा गएर वाहवाही कमाएका यादवचन्द्र भुर्तेलले २०३४ सालमा फाइनआर्ट ग्यालरी खोलेका थिए । तर, त्योभन्दा अगाडि पोखराको चित्रकलालाई अगाडि बढाउन २०२७ सालमै तत्कालीन नेपाल ललितकला संस्थाको शाखा कार्यालय खुलिसकेको थियो । कतिपय कलाकार उक्त संस्था खुलिसकेपछि कलाकार र कलाक्षेत्रको विकासमा केही टेको पुगेको बताउँछन् ।

पोखरामा कलाकारको संख्या बढ्दै गएसँगै एकीकृत हुनथाले । पोखरेली सांस्कृतिक कलाकार समूह, सिर्जनशील कलाकार समूहलगायत समूह गठन गरेर कलाकारले सामूहिक चित्रकला प्रदर्शनी गर्न थालेको वात्स्याउन सुनाउँछन् ।

फाइल तस्वीर

कुनै बेला पानी रङको शहर, पाठशालाका रूपमा परिचित पोखरा अहिले मौलिकताभन्दा पर गइरहेकोमा कलाकार नै चिन्तित छन् । उनीहरू पोखराले विस्तारै आफ्नोपन गुमाउँदै गएको सुनाउँछन् ।

‘खास कलामा देखिनुपर्ने आफ्नै मौलिकता हो । अहिलेको चित्रमा वाटरकलर देखियो । तर, ओर्जिनालिटी देखिएन’ इन्टरनेसनल वाटर कलर सोसाइटीकी नेपाल प्रतिनिधिसमेत रहेकी कलाकार हेमकान्ति गुरुङ भन्छिन्, ‘अगाडि बढ्दै जाँदा हामीले आफ्नो विगत, इतिहास बिर्संदै गएका पो हौं कि !’

तर, यसमा वरिष्ठ कलाकार वात्स्यायनको फरक मत छ । उनी प्रविधि र परिस्थिति अनुसार कलाचेत पनि फरक हुँदै जाने भएकाले परिवर्तनलाई स्वीकार्नुपर्ने धारणा राख्छन् ।

‘परिस्थिति र प्रविधि अनुसार अहिलेका कलाकारको सीधै अन्तर्राष्ट्रियस्तरमा पहुँच पुगेको छ । अन्य देशमा कस्तो प्रयोग भइरहेको छ ? सहजै जान्न र सिक्न पाउँछन्’ वात्स्यायन भन्छन्, ‘नेट, इन्टरनेट पनि छ । अहिले संसारै सुगम भयो, साँघुरिइसक्यो नि !’

छैन कला देखाउने थलो

अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटीले शनिबार पोखरामा ‘नो गट्स, नो स्टेरीः द हिडन साउल’ नामक फेसन फ्युजन सामूहिक चित्रकला प्रदर्शनी तथा आर्ट क्याम्प गर्दैछ । तर, अन्तर्राष्ट्रियस्तरको उक्त कला क्याम्पमा कलाकारले कला देखाउने ठाउँ नहुँदा लेकसाइडको एउटा होटलमा गर्नुपर्ने बाध्यता छ ।

‘कलाकार नभएका होइनन्, छन् । तर, प्रत्येक पटक हामीले कला प्रदर्शनी गर्ने बेला होटल, पार्टी प्यालेस खोज्दै हिंड्नुपर्छ’ कलाकार गुरुङले गुनासो पोखिन्, ‘कलाकारलाई योभन्दा अर्को दुःखको कुरा के हुनसक्छ ?’

वरिष्ठ कलाकार वात्स्यायन आर्ट ग्यालरी र पुस्तकालय विनाको शहर मृत शहरका रूपमा विकसित हुने बताउँछन् । ‘ग्यालरी र पुस्तकालय शहरको आत्मा हो । ज्ञानको स्रोत नै ग्यालरी, पुस्तकालय र म्युजियम हुन्’ उनी भन्छन्, ‘यिनीहरू विना शहर मृत बन्छ । त्यहाँ कुनै जीवन हुँदैन ।’

पोखरा महानगरमा आर्ट ग्यालरी भने नबनेको होइन । पोखरा महेन्द्रपुलमा २०५६ सालमा बनेको आर्ट ग्यालरी थियो । तर, उक्त ग्यालरी समेत अन्यत्र सार्ने भन्दै महानगरले गत भदौ २३ गते डोजर चलाइसकेको छ । सयौं पटक चित्रकला प्रदर्शनी भएको उक्त ग्यालरी अहिले खण्डहरमा परिणत भएको छ । नजिकै रहेको पुस्तकालय समेत महानगरले भत्काइसकेको छ ।

अहिले महानगरले पोखराको पृथ्वीचोकस्थित साविक अस्थायी ट्राफिक चौकी रहेको ठाउँमा ‘पोखरा घर’ बनाउने योजना अगाडि सारेको छ । महानगरले बनाउने भनेको उक्त पोखरा घरको भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र माथिल्लो भागमा घन्टाघर राखिनेछ ।

उक्त योजनाका लागि महानगरले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । तर, उक्त योजना सुरु नहुँदै विवादमा परेको थियो । तत्कालीन समयमा पोखरा बसपार्कको टिकट घर बनाउने भन्दै जग्गा दान गरेका जग्गाधनीले प्रयोजन विपरीत काम हुन लागेको भन्दै विरोध जनाएका छन् ।

‘पहिले कति दुःख गरेर ग्यालरी बनाएका थियौं । त्यो भत्किंदा साह्रै दुःख लागेको छ । अहिले महानगरले नयाँ बनाइदिने भनेको छ । डीपीआर तयार भएको भनेको छ । त्यो पर्खिनुबाहेक हामीसँग अर्को उपाय छैन’ वात्स्यायन भन्छन्, ‘अब बन्ने ग्यालरी पहिलेको भन्दा राम्रो र भव्य बनोस्, हामीले भन्ने त्यत्ति त हो ।’

यो पनि पढ्नुस् –

निर्माण नहुँदै विवादमा पोखरा घर

बेवास्तामा पोखरा आर्ट ग्यालरी : प्रशस्तै कलाकार, देखाउने ठाउँ छैन

‘यो ग्यालरीमा होइन, हाम्रो मुटुमाथि डोजर चलेको हो’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?