+

कस्तो हुन्छ हाम्रो पेट ?

२०७९ माघ  १० गते १७:०९ २०७९ माघ १० गते १७:०९
Shares
कस्तो हुन्छ हाम्रो पेट ?

पेट राम्रो हुनु र नहुनुले सम्पूर्ण शरीरको अवस्था निर्धारण गर्छ । पेट सफा भएमा पाचन प्रक्रिया सहज हुन्छ । शरीरमा पोषक तत्व भरिपूर्ण हुन्छ । शारीरिक मानसिक रुपमा मान्छे तन्दुरुस्त हुन्छ । तर पेट खराब भएमा ?

मान्छे रोगी हुन्छन्, कुपोषित हुन्छन् । यसले मान्छेलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउँछ ।

पेटको संरचना र यसको कार्य

पेट समग्र अंग्रेजी वर्णमालाको ‘जे’ आकारको अंग हो, जसलाई आमाशय भनेर बुझ्ने गर्छौं । पेट शब्द चलनचल्तीमा आएको शब्द हो । यसको बनावट तरकारी खाने बोडी जस्तै हुन्छ, जुन खानानली पछाडि रहेको हुन्छ । आमाशयपछि सानो आन्द्रा र त्यसपछि ठूलो आन्द्रा अवस्थित हुन्छ । पेटको आकार व्यक्तिपिच्छे फरक हुन्छ । पेट भरिएको बेला फैलिन्छ र खाली हुँदा खुम्चिन्छ । कति खानुभयो भन्ने आधारमा पेटको आकार फरक हुन सक्छ ।

आमाशयको मुख्य काम खाना पचाउने प्रक्रियामा लग्नु हो । पेटले खानेकुरालाई अस्थायी रूपमा भण्डार गर्छ । यसले इन्जाइमहरु र पाचन रस उत्पादन गर्छ । इन्जाइम र पाचन रसको यो मिश्रणले खानालाई मसिनो बनाएर सानो आन्द्रा त्यसपछि ठूलो आन्द्रा हुँदै अनावश्यक वस्तुहरु मलद्वारबाट बाहिर पठाउँछ ।

खानेकुरा पेटमा पुगेपछि के हुन्छ ?

पेटबाट नै पाचन पक्रियाको काम सुरु हुन्छ । मुखबाट चपाएको खानेकुरा निल्दै जिब्रोले खाना घाँटीतर्फ धकेलिन्छ । खानानलीको माध्यमबाट खाना पेटमा पुग्छ तब पेटले पाचन रस र इन्जाइमहरु उत्पादन गर्छन् ।

सानो आन्द्रामा खाली गर्न तयार नभएसम्म खाना रोकेर पनि राख्ने गर्छ । तयार भएपछि सानो आन्द्रामा खाना पुग्छ । त्यसको भित्ताले पोषकतत्व र तरल पदार्थ ग्रहण गर्छ । र, आवश्यक नभएको खानेकुरा ठूलो आन्द्रामा पठाउने गर्छ ।

ठूलो आन्द्राबाट आवश्यक नभएको तत्व दिसाको रुपमा मलाशयतर्फ धकेलिन्छ । मलाशय ठूलो आन्द्राको ठ्याक्कै तल्लो भागमा हुन्छ । यसबाट नै दिसा भण्डारण गर्छ र बाहिर पठाउने गर्छ ।

पेटमा जीवाणुहरु हुन्छन् ?

पेटमा दुई किसिमका जीवाणु हुन्छन् । राम्रो जीवाणु र नराम्रो जीवाणु । राम्रो जीवाणु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ, जुन ठूलो आन्द्राभित्र बसेको हुन्छ । ती जीवाणुहरुको मद्दतले खानेकुरा पच्न मद्दत गर्छ । त्यसमा शरीर बाहिरबाट आएको नयाँ जीवाणु पेटमा प्रवेश गरेपछि मात्र रोगहरु निम्तिन्छ । त्यसलाई नराम्रो जीवाणु भनिन्छ ।

पेटमा कस्तो खानेकुरा राम्ररी पच्छ ?

खानेकुरा आफैंमा खराब हुँदैन । व्यक्तिको शरीर अनुसारको माग हुन्छ । जसको तालमेल नमिल्दा वा भनौं सन्तुलित नहुँदा खानेकुरा शरीरले पचाउन सक्दैन । र, रोगहरु निम्तन सक्छ । फाइबरयुक्त खानेकुरा, दही जस्तो प्रोबायोटिक पाचनक्रियाका लागि सुपाच्य मानिन्छ । दहीमा हुने जीवाणुले पाचनतन्त्रलाई स्वस्थ राख्छ ।

त्यस्तै, गहुँजन्य खानेकुरा बढी खाँदा पच्न नसक्ने हुन्छ । त्यसबाहेक प्रोटिन र दूधजन्य पदार्थहरु अत्यधिक खाँदा नपच्न सक्छ । तर यी तत्व पनि शरीरलाई आवश्यक परेको हुँदा सीमित मात्रामा भने खान सकिन्छ ।

एसिडिटी कसरी हुन्छ ?

मुखमा एसिड आउँदा त्यसको स्वाद अनुभव हुन्छ । त्यसैगरी पेटमा पनि अम्लीयपन हुन्छ जुन बढ्दा मुखमा अमिलो पानी आएको अनुभव हुन्छ । मोटोपन, धुम्रपान गर्ने, अस्वस्थ र  अनियमित खानपानले एसिडिटी निम्त्याउँछ ।

अपच हुने गरी खानेकुरा एकैसाथ खाँदा, अमिलो, पिरो, तारेको, पोलेको खानेकुरा र दूधको चिया, कफी र वासी खानेकुरा पनि अम्लीयपन बढ्नुको कारण हुन सक्छन् ।

पेटलाई सफा राख्ने उपाय

– पर्याप्त मात्रामा पानी पिउने

– सन्तुलित भोजन गर्ने

– खानेकुरा राम्रोसँग चपाएर खाने

– खाली पेट धेरै समयसम्म नबस्ने

– नियमित व्यायाम गर्ने

– प्रशोधित खानाहरूको सेवन सीमित गर्ने

– मदिरापान र धुम्रपानको प्रयोग बन्द गर्ने

(डा. कश्यपले भारतको मणिपाल विश्वविद्यालयबाट मेडिसिनमा एमडी, एम्सबाट ग्याष्ट्रोइन्ट्रोलोजीमा फेलोसिप र न्याम्सबाट ग्याष्ट्रोइन्ट्रोलोजी डीएम गरेका छन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

पेट शरीर
डा. अखिलेश कश्यप
लेखक
डा. अखिलेश कश्यप
पेट तथा कलेजोरोग विषेशज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ४०६८ एमडी, डीएम हाल ग्रान्डी इन्टरनेसनल अस्पतालमा कन्सलटेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट तथा हेपाटोलोजिस्टको रुपमा कार्यरत, ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?