+
+
विशेष रिपोर्ट :

बजारमा असामान्य उधारो : आर्थिक चक्र बिथोलिंदै

बजारमा बढेको असामान्य उधारोले व्यक्तिको जीवनदेखि मुलुकको बैंकिङ प्रणालीसम्म प्रभावित हुन पुगेको छ । व्यवसायीहरू उधारो चेकका मुठा बोकेर बसेका छन् भने यो वर्ष मात्रै २५ हजार ऋणीहरू कालोसूचीमा थपिएका छन् ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ माघ १६ गते २२:१२

१६ माघ, काठमाडौं । दुर्गाराज श्रेष्ठले बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने दैनिक प्रयोगका सौन्दर्य सामग्रीहरूको डिलरसिप लिएर नेपालमा व्यापार गरेको ३० वर्ष भयो । स्वदेशी तथा बाह्य उत्पादकसँग खरिद/आयात गर्ने र किराना पसल, सुपरमार्केट र होलसेलमा बिक्री गर्ने उनको व्यवसायको प्रकृति हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशका उपाध्यक्ष समेत रहेका श्रेष्ठसँग पछिल्लो एक वर्षमा सटही नभएका करिब ४०० वटा चेक दराजमा छन् । उनले बजारमा बिक्री गरेका सामान बापतको रकम उठाउन जाँदा किराना पसल, सुपर मार्केटलगायतबाट बैंक तथा सहकारीका चेक आएका छन् । तीमध्ये बैंकका कतिपय चेक साटिएका छन् तर सहकारीका अधिकांशजसो चेक साटिएका छैनन् ।

श्रेष्ठका अनुसार, सामान लगेका केही मानिस व्यवसायबाटै पलायन भइसकेका छन् तर व्यवसाय गरिरहेकाहरूबाट समेत उधारो उठेको छैन । ‘चेक नसाटिएर हैरानै खेपेको करिब एक वर्ष भयो । गएको मंसिरबाट झन् समस्या बढेकोले अहिले समस्या चरम उत्कर्षमा पुगेको छ’ श्रेष्ठले अनलाइनखबरसँग भने ‘व्यवसायी पनि पलायन भए, उनीहरूले दिएको चेक पनि साटिएको छैन ।’

ठूलो आकारमा आफ्नो व्यापार भएका कारण आफूले उधारो व्यवस्थापन गरिरहेको भए पनि यस्ता समस्या बजारमा विकराल बन्दै जाँदा व्यापारको चक्र नै बिग्रिएको उनले सुनाए ।

पाटन क्षेत्रमा साबुन, स्याम्पु, बिस्कुट, चाउचाउ लगायतको खाद्यान्न वितरणको व्यापार गर्ने सुमन पौडेल कुनै समयको आकर्षक जागिर छोडेर व्यवसायमा छिरेका थिए । आफ्नो एक दशकको व्यावसायिक यात्रामा यो वर्ष अत्यन्तै कष्ट भएको र यो वर्ष त उधारोको वर्ष भएको उनले सुनाए । बजारमा सामान दिएबापतको २ करोड रुपैयाँ हाराहारी रकम उठ्नुपर्ने भए पनि नउठेका कारण आफ्नै उठिबास लाग्ने अवस्था आएको उनले सुनाए ।

‘बैंकबाट ऋण गरेर सामान ल्याएर बजारमा वितरण भएको छ, तर बजारबाट उधारो उठ्दैन’ पौडेलले भने ‘बैंकले आफ्नो सम्पत्ति लिलामी गर्ने अवस्था आइसक्यो । बजारको पैसा उठेको दिन सबै छोडेर बरु जागिर खान्छु । यो देशमा व्यापार गर्न सकिएन ।’ उनका अनुसार उधारो राखेका पसल, स्टोर्स र मार्टहरूले उल्टै थप उधारोमा सामान मात्रै मागिरहेका छन् ।

वितरण व्यवसायमा स्थापित काठमाडौंका अर्का एकजना व्यवसायी यतिबेला दैनिकजसो उधारो उठाउने कानुनी प्रक्रियामा छन् । आफ्नोबाट ४० लाखको सामान लगेर बन्द रहेको एउटा मार्ट विरुद्ध उनले केही दिनअघि प्रहरीमा ठगीमा उजुरी गरेका छन् ।

कृषि उत्पादन, साना तथा मझौला उद्योगदेखि उत्पादनका खाद्य, सिमेन्ट, फलाम, इँटादेखि पेय पदार्थसम्मको कारोबारमा असामान्य उधारोका कारण उद्योग र व्यवसाय चौपट भएको उद्योगी–व्यवसायीहरूको भनाइ छ ।

ती व्यवसायीका अनुसार पैसा उठ्ने कुनै उपाय नभएपछि यसो गर्न बाध्य भएको हो । उनको मात्रै झण्डै एक करोड रुपैयाँ बराबर उधारो बजारबाट उठाउन बाँकी छ । ‘उधारोको बिल र नसाटिएका चेक कति छन् कति । उनीहरूको समस्या सुनेर बसेर मात्रै मेरो व्यवहार चल्दैन’ ती व्यवसायी आक्रोशित हुँदै भन्छन्, ‘बैंकको लिलामी निस्कने र बेइज्जत आफू मात्रै भोग्नु भन्दा मेरो उधारो नतिर्नेलाई पनि कानुनी प्रक्रिया सुरु नगरी सुखै भएन ।’

उनले अब उधारो बाँकी भएका र नतिरेका सबैलाई कानुनी दायरामा लैजान आफू बाध्य भएको बताए । उनले भने, ‘यही ठाउँमा व्यापार गर्ने हो, झगडा नगर भनेर साथीहरूले भनेका छन् । तर, मेरो आर्थिक व्यवहार बिग्रिएर घर नै बिग्रिने बेला साथीहरूको सल्लाहले मात्रै पनि नहुने रहेछ ।’

उधारो कारोबारका कारण व्यवसाय बिग्रिएको भनेर खुलेर बोल्दा बजारमा अविश्वास पैदा हुने र व्यवसायमै संकट आइलाग्ने भन्दै व्यवसायीहरू खुलेर बोल्न चाहँदैनन् । तर, हरेक क्षेत्रमा उधारोको संकट निकै जकडिएको र यसले भयावह दुर्घटनातर्फ व्यापार र यसको विश्वास चक्रलाई पुर्याएको व्यवसायीहरू बताउँछन् ।

कृषि उत्पादन, साना तथा मझौला उद्योगदेखि उत्पादनका खाद्य, सिमेन्ट, फलाम, इँटादेखि पेय पदार्थसम्मको कारोबारमा असामान्य उधारोका कारण उद्योग र व्यवसाय चौपट भएको उद्योगी–व्यवसायीहरूको भनाइ छ । आन्तरिक बजारमा उधारो भयावह हुँदै गरेको बेला उधारोमा चलिरहेको अन्तर्राष्ट्रिय व्यापार समेत अवरुद्ध गर्ने गरी राष्ट्र बैंकको नीति आएपछि विकृतिमा थप मलजल भएको उनीहरूको भनाइ छ ।

सबै व्यवसायमा समस्या

दाल, चामल, गेडागुडी, तेललगायतको व्यापार गर्ने व्यवसायको चेन नै उधारोको मारमा परेको व्यवसायी ओमप्रकाश वंशल बताउँछन् । ‘बजार यसरी बिग्रिएको छ कि के बोल्ने ? के नबोल्ने भन्ने अवस्थामा छौं । मान्छेले आफ्नो पेटका लागि खाएका खानेकुराको पैसा तिरेका छैनन्’ वंशल भन्छन्, ‘होलसेलको पैसा खुद्रा र मार्टले तिर्नुछ, मार्ट र खुद्रा पसलको पैसा जनताले तिर्न बाँकी छ ।’

व्यवसायी वंशल आफू एक दिन त व्यापार सुध्रिएला भनेर पर्खिएर बसेको बताउँछन् । सामान लगेका पसललाई उधारो तिर्न भन्दा उल्टै उनीहरूले ग्राहकको उधारोको फाइल देखाउने गरेको उनले बताए । ‘ग्राहकसँग पैसा नहुँदा साना पसल समस्यामा परे, उनीहरू समस्यामा पर्दा हामीहरू समस्यामा पर्यौं’ वंशल भन्छन्, ‘अहिले सबैथोक बिग्रिनु अघिको अन्तिम अवस्थामा छौं ।’

लत्ता–कपडा आयातको कारोबारमा रहेका न्युरोडका सागर घिमिरे यस क्षेत्रको व्यवसायमा पनि उधारोले पिरोलेको बताउँछन् । हाम्रो प्रश्नको सुरुमै उनले भने ‘ट्रेडिङको बजारमा उधारोको कारोबार घृणित छ ।’ घिमिरेका अनुसार यहाँको उधारो पनि स–साना पसलहरूबाट सुरु भएर व्यक्ति, होलसेल, सहकारी र बैंकसम्म पुगेको छ ।

घिमिरेका अनुसार कपडा व्यापारमा उधारो माग्ने र डुबाउने शैली अझ रोचक छ । सुरुमा स–सानो कारोबार गरेर होलसेललाई  विश्वास दिलाउने र ठूलो रकमको सामान लगेपछि सम्पर्कमै नआउने संस्कार व्यापक छ ।

‘पहिले एक लाख, दुई लाख रुपैयाँको सामान लैजाने, पटक–पटक इमानदार भएर पैसा पनि तिर्ने तर १०/१५ लाख भएपछि सम्पर्कमै आउँदैनन् ।’ घिमिरेका अनुसार बजार चेनको अन्तिम खास बिक्रेतामै यस्तो व्यापक समस्या आएपछि विस्तारै सबै कुरा बिग्रिंदै गएको छ ।

उपभोक्ताको घर र कोठाछेउमै दोकान गर्ने खुद्रा व्यापारीहरू पनि बजारमा उधारोको चक्र थेग्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । नेपाल खुद्रा व्यापार संघका अनुसार उपभोक्ताको उधारो व्यवहार, सहकारीको समस्या, लागतमा भएको वृद्धि र ठूला चेन व्यवसायका कारण अहिले साना खुद्रा पसलेहरू गम्भीर संकटमा परेका छन् ।

उधारो लगेका उपभोक्ता बस्ने ठाउँ नै छाडेर भाग्ने प्रवृत्ति व्यापक भएको संघका सहकोषाध्यक्ष ध्रुव अधिकारी बताउँछन् । उनका अनुसार खुद्रा पसलले खरिद गर्ने सामानको लागत दोब्बरले बढ्नु र नाफा निकै घट्नुले ग्राहकको उधारो कारोबार व्यवस्थापन गर्नै नसक्ने अवस्थामा आएको छ ।

यस्तै, पसलमा हुने स–सानो कारोबारबाट भएको नाफा सहकारीमा राखेको र सहकारीमा नगदको व्यापक समस्या आएपछि त्यसको मारमा किराना पसल पनि परेको उनी बताउँछन् ।

व्यवसायको चेन साना पसल नै अप्ठ्यारोमा परेपछि अहिले चेक दिने, लिने, नसाटिने र सापटी दिएको नगद नउठ्ने जस्ता समस्या बढेको र यसको उपचारका लागि कानुनी कारबाहीमा जाने क्रम तीव्र भएको अधिकारीले बताए । संघमा आबद्ध उपत्यकाका करिब १२ हजार खुद्रा पसलमध्ये धेरै अहिले उधारोकै कारण व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको उनको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय, काठमाडौंका अनुसार पछिल्लो दुई वर्षमा आर्थिक अपराध र विवाद सम्बन्धी उजुरीको चाङ नै लागेको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीका अनुसार अहिले केही जघन्य अपराध बाहेक अधिकांश उजुरी र विवाद आर्थिक घटनासँग सम्बन्धित छन् ।

‘यसअघि यस्तो हुँदैनथ्यो, अहिले आर्थिक अपराधको बाढी नै आएको छ’ प्रहरी उपरीक्षक मैनालीले भने, ‘पैसा नभएको चेक काटेको, कानुन विपरितका कागज गरेर नगद कारोबार गरेको, उधारो खाएको भने जस्ता अपराधको संख्या बढ्दो छ ।’

उनका अनुसार अपराधका घटनामा संलग्नहरूको बयान र अनुभवमा उनीहरू आर्थिक अज्ञानताका कारणले यस्तो घटनामा संलग्न भएको पाइएको छैन । मानिसहरूलाई ढाँट्ने, झुक्याउने र खाने प्रवृत्तिबाट धेरै अपराध भएको पाइन्छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल उधारो कारोबारले धेरै मान्छेलाई रुवाएको बताउँछन् । नगदमा किनेर ल्याएको वा ऋण गरेर उत्पादन गरेको वस्तु ६ महिनासम्म उधारोमा बिक्री गर्नुपर्दा व्यवसायी/उद्योगी सारै समस्यामा परेको उनले बताए ।

‘मार्ट’ र ‘सुपर मार्केट’को मार

नेपालमा पछिल्लो डेढ दशकमा उदाएका ठूला चेन मार्ट र शपिङ मलहरू उधारो कारोबारका कारण व्यापारी र उत्पादकका लागि टाउकोदुखाइ बनेका छन् । शक्ति र पहुँचका आधारमा अस्वाभाविक रूपमा बजारमा फैलिरहेका यस्ता मार्ट र शपिङ मलले आफू ग्राहकसँग नगदमा कारोबार गरेर पनि व्यापारी र उत्पादकलाई उधारोमा डुबाएको व्यवसायीहरू बताउँछन् । एक व्यवसायीका भनाइमा, उधारो धेरै समयलाई दिए मात्रै आफ्नो सामान यस्ता मार्टमा बिक्रीका लागि राख्न ठाउँ पाइन्छ ।

‘उपभोक्ताहरू भाटभटेनी र बिगमार्ट जस्ता ठूला स्टोरमा अधिक मात्रामा कारोबार गर्ने भए । आफूलाई पनि त्यहाँ सामान दिउँ जस्तो लाग्छ’ ती व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘२० दिनमा नगद दिन्छु भनेर ती मार्टले राखेको सामानको पैसाको चेक २०औं दिनमा १४ दिनपछि साटिने गरी दिने गरेका छन् । रकम दिने सहमति २० दिनमा थियो, चेक पनि पाइयो तर ३४ दिनपछि मात्रै साटिने गरी ।’

कृषि उत्पादक तथा व्यवसायीहरूका अनुसार धेरै कमिसन वा लामो समयसम्म उधारो दिने निश्चित नगरेसम्म यस्ता चेन मार्ट र शपिङ मलले वस्तुको प्रदर्शनी नै आफ्नो मार्टमा नगरिदिने समस्या छ । बुधबार आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्यले पनि आफूले उत्पादन गरेको वस्तुको बिक्री गर्न र नगद दिनमा यस्ता मार्ट तथा सुपर मार्केटले आलटाल गरेको खुलासा गरेका थिए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल उधारो कारोबारले धेरै मान्छेलाई रुवाएको बताउँछन् । नगदमा किनेर ल्याएको वा ऋण गरेर उत्पादन गरेको वस्तु ६ महिनासम्म उधारोमा बिक्री गर्नुपर्दा व्यवसायी/उद्योगी सारै समस्यामा परेको उनले बताए ।

‘एउटा दुःखान्त हामीले भोग्यौं, अब अति भयो’ अध्यक्ष मल्लले भने, ‘उधारोको जुनसुकै कारोबार अन्त्य गरौं ।’

चेनमार्ट व्यवसाय बिगमार्टले भने उधारो कारोबार गरिने तर दुई पक्षको सहमतिमा मात्रै यस्तो कारोबार हुने गरेको बताएको छ । बिगमार्टका प्रमुख कार्यकारी अधिकृत, विवेक अग्रवालका अनुसार अधिकतम ९० दिनसम्म उधारोमा सामान आफूहरूले पाउने गरेको बताए ।

‘उत्पादन वा सप्लायर्ससँगको समझदारीमा अधिकतम ९० दिनसम्मको उधारोमा हामीले कारोबार गर्छौं’ अग्रवालले भने, ‘कुनै सामान भने नगदमै किन्नुपर्छ । हामीले नगदमा मात्रै कारोबार गर्ने गरेको भने साँचो हो ।’

 बैंकमा देखियो बजारको समस्या

बजारमा देखिएको समस्या र प्रहरीमा बढेको आर्थिक अपराधको तथ्यांकलाई कर्जा सूचना केन्द्रको विवरणले थप भयावह देखाउँछ । बैंकबाट ऋण लिनेहरूको अभिलेख राख्ने निकाय कर्जा सूचना केन्द्रका अनुसार, ९ माघ २०७९ सम्म ५५ हजार २१३ मानिस कर्जा अपचलन गरेको आरोपमा कालोसूचीमा परेका छन् । २०७६ असार मसान्तसम्म १३ हजार ६७५ रहेको यो संख्या २०७७ असार मसान्तमा पुग्दा ४ हजार ६३४ ले बढेर १८ हजार ३०९ पुगेको थियो ।

तर, २०७७ असारयताको १८ महिनामा ११ हजार ९५४ ले बढेर २०७८ पुस मसान्तमा कालोसूचीमा पर्नेको संख्या ३० हजार २६३ पुगेको थियो । तर, २०७८ पुस मसान्तयताको एक वर्ष ९ दिनमा मात्रै २४ हजार ९५० जना व्यक्ति कालोसूचीमा थपिएका छन् ।

बजारमा उधारो कारोबारले आर्थिक व्यवहार बिग्रिरहेका बेला चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूमा पनि खराब कर्जा वृद्धि भएको छ । २१ वाणिज्य बैंकले दोस्रो त्रैमाससम्म १५ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ खराब कर्जा व्यवस्थापनका लागि छुट्याएको छ । जबकि गत वर्ष यस्तो कर्जा नोक्सानीको लागि ४ अर्ब ६ करोड ६० लाख रुपैयाँ मात्रै छुट्याइएको थियो ।

बैंकरहरूका अनुसार अर्थतन्त्रमा देखिएको समस्याको असर बैंकिङ क्षेत्रमा पनि देखिन सुरु भएको छ । निष्क्रिय कर्जा बढ्दै जाँदा बैंकहरू आगामी दिनमा कर्जा विस्तार गर्न समेत नसक्ने जोखिममा देखिएको उनीहरू बताउँछन् । नेपाल राष्ट्र बैंकले पनि पछिल्लो समय बैंकहरूको निष्क्रिय कर्जा बढेको सूचना पाएको बताएको छ ।

कालोसूचीमा पर्ने ऋणीको संख्यामा अस्वाभाविक वृद्धि देखिनु र बैंकहरूमा निष्क्रिय कर्जा बढ्नु बीच केही न केही समस्या रहेको जानकारहरू बताउँछन् । ‘कारण यही हो भनेर अध्ययन भइनसकेकोले औपचारिक रूपमा बोल्न मिलेन’ राष्ट्र बैंकका एकजना अधिकारीले भने, ‘तर व्यवसायी, बैंकका कुरा र तथ्याङ्कहरूले कहीं न कहीं समस्या रहेको देखाउँछ ।’

आर्थिक चक्र प्रभावित, भत्किंदै व्यवसाय 

पुरानो बानेश्वरको एक सहकारीले बत्तीसपुतली चोकमा फलफूल पसल गर्ने एक व्यापारीलाई गत जेठमा २० लाख रुपैयाँ ऋण लगानी गरेको थियो ।

१० वर्षदेखि चोकमा फलफूल पसल चलाएका ती व्यापारीले ऊबेलैदेखि सहकारीमा पैसा जम्मा गर्थे । सहकारी सञ्चालकका अनुसार आफ्नो हरेक दिनको कमाइको लाखौं रुपैयाँ आफ्नोमा जम्मा गरिरहेका मानिसका लागि २० लाख रुपैयाँ ऋण दिन सहकारीलाई अप्ठ्यारो पनि थिएन । दैनिक कमाइ गरेर ऋण तिर्दै गर्छन् भन्ने सोचेर सहकारी र व्यवसायी चलेका थिए ।

एक दशकदेखि सहकारीसँगको नगद कारोबार गरिरहेको त्यो पसलमा गएको भदौमा महानगरको डोजर आयो । फलफूल पसलमा डोजर चल्यो, सञ्चालकले सकेको जति सामान सारे, बाँकी नष्ट भयो ।

‘पसल उठेपछि व्यवसायीले सहकारीसँग दूरी बढाउँदै लगे । नयाँ ठाउँ खोज्दैछु पसल गर्छु भन्दैथिए’ सहकारी सञ्चालक भन्छन्, ‘अहिले फोन गर्दा गौरमा छु भन्छन् । म सकेसम्म पैसा तिर्छु दाइ भन्छन् तर अहिलेसम्म तिरेका छैनन् । यस्ता व्यवसायी काठमाडौंमा धेरै छन् । अब त हामी नै संकटमा पर्न थाल्यौं ।’

कारोबार गर्ने अन्तिम स्थान खुद्रा पसल डुब्दाको परिणाम सहकारीमा ठोकिएका प्रशस्तै उदाहरण न्यूरोड क्षेत्रमा छन् । न्यूरोडको व्यापार चक्र बुझेका एक व्यवसायीका अनुसार यस क्षेत्रका हजारौंको संख्याका फुटपाथ एक वर्षको बीचमा विस्थापित भएका छन् ।

ती फुटपाथको प्रत्यक्ष चेन सम्बन्ध होलसेल पसल र सहकारीहरूसँग थियो । सामान्यतया नेपालको बजारमा वस्तुको बिक्री चेन उत्पादक/आयातकर्ता, वितरक, होलसेल, खुद्रा र उपभोक्ता गरी पाँच तहमा छ । यस्तै उनीहरूको आर्थिक चक्र पनि व्यवसाय अनुसारको छ । जस्तै खुद्राको सम्बन्ध सहकारीसँग छ, होलसेल व्यवसायको सम्बन्ध धेरै सहकारी थोरै मात्रामा बैंकसँग छ । यस्तै वितरक/आयातकर्ता र उत्पादकको आर्थिक सम्बन्ध बैंकसँग छ ।

न्यूरोडलगायत क्षेत्रका होलसेल पसलले पनि आफूले चिनेको सहकारीमा रकम जम्मा गर्ने गरी फूटपाथलाई सामान उपलब्ध गराउँथे । तर, एकै पटक हजारौं फूटपाथ व्यापार महानगरले विस्थापित गरिदिएपछि सहकारीको निक्षेप र होलसेलको व्यापारमा समस्या देखिएको छ ।

सहकारीसँग जोडिएका होलसेल पनि फूटपाथ उठेपछि बक्यौता नउठ्ने समस्यामा परे । होलसेलको समस्याले वितरक र उत्पादकले पनि बजार पाएनन् । बजारमा पठाएको सामान पनि उधारोमै सीमित भयो ।

यही बीचमा सहकारी संस्थाहरू टाट पल्टिएको घटनाका कारण आफूहरूको आर्थिक व्यवस्थापन नै ध्वस्त भएको व्यवसायी दुर्गाराज श्रेष्ठ बताउँछन् । ‘सहकारी डुब्ने भन्दै निक्षेप झिक्न हानथाप भयो, व्यवसाय गुमेकाहरू पनि आफ्नो दुई पैसा लिन सहकारीको ढोकामा पुगे’ श्रेष्ठ भन्छन्, ‘एकै पटक व्यवसाय गुमाएका मान्छे बढ्दा सहकारीहरू पनि समस्यामा परे । चक्र बिग्रिंदै सापटी सम्बन्ध बिग्रिनेदेखि बैंकको ऋण नै नउठ्ने अवस्थासम्म पुग्यो ।’

उधारो र आर्थिक सम्बन्धमा देखिएको यो समस्या देशभर नै व्याप्त रहेको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार यसको अर्को मुख्य कारण नेपाल राष्ट्र बैंकको मौद्रिक नीति पनि हो । राष्ट्र बैंकले गत वर्ष कार्यान्वनयमा ल्याएको शेयर बजारमा ४/१२ को क्याप बजारमा पैसाको सर्कुलेसन घटाउने र मानिसको आम्दानी घटाउने एउटा कारण बनेको व्यवसायी सुमन पौडेल बताउँछन् ।

यस्तै, व्यवसायी दुर्गा श्रेष्ठ राष्ट्र बैंकले २०७८ पुसमा जारी गरेको आयातमा नगद मार्जिनको व्यवस्थाबाट बजारमा चरम मात्रामा नगदको अभाव सृजना भएको दाबी गर्छन् । ‘ठूला व्यापारीलाई पोस्ने, साना र मध्यमलाई डस्ने राज्यको नीतिले व्यापारको चक्र नै यहींबाट बिग्रिंदै गयो’ श्रेष्ठ भन्छन्, ‘व्यापारको उधारोको चेन बिग्रिए पनि बैंकको ऋणका कारण व्यवसाय टिक्ने अवस्था हुन्थ्यो तर चालु पूँजी कर्जामार्फत अर्को समस्या सृजना गरिदिएपछि सबै क्षेत्र चौपट भयो ।’

व्यवसायी सागर घिमिरेका अनुसार, समग्र देशको व्यापार, उपभोग र उत्पादनको चक्र बिग्रिनुमा राष्ट्र बैंक पनि दोषी छ । उनका अनुसार अहिले भइरहेको बजारको समस्याको जड राष्ट्र बैंकको वित्तीय नीतिका असर हुन् ।

‘आन्तरिक बजारमा मानिसले रोजगारी गुमाएको, व्यवसाय गुमाएको अवस्थामा पनि केही व्यवसायीले विदेशबाट आफ्नो सम्बन्ध र विश्वासका आधारमा (उधारोमा) वस्तु आयात र बजारमा खपत गरिरहेकै थिए’ घिमिरे भन्छन्, ‘विदेशबाट नै उधारोमा ल्याएर बिक्री गर्दा उधारो लामो भएकै कारण ठूला व्यवसायी आत्तिनुपर्ने पनि थिएन तर केन्द्रीय बैंकलाई हामीले विश्वासमा चलाएको बजारमा पनि टाउको दुख्यो र त्यो प्रणाली नै बन्द गरिदियो ।

उनका अनुसार, डीएपी, टीटी वा एलसी जेमा सामान आयात गरे पनि रकम भुक्तानीको पाटोमा राष्ट्र बैंकले स्वदेशी बजारको संरचना नहेरी डण्डा चलाउँदा समग्र व्यवस्थामा असर परेको हो । चीन, भारत तथा तेस्रो मुलुकबाट उधारोमा सामान ल्याएर नेपालमा बिक्री गरेर मात्रै उनीहरूलाई पैसा तिर्न पाइने अवस्थालाई राष्ट्र बैंकले भताभुंग बनाउँदा बजार नै दुर्घटनाको अवस्थामा गयो ।

उधारो कारोबारले व्यवसाय, उपभोक्ता र राज्यलाई नै समस्यामा परेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । नेपालमा सामान्य अवस्थामा अधिकतम तीन महिनासम्म उधारो कारोबार हुने गरेकोमा अहिले मनपरी भएको उनले बताए ।

‘उधारो, सापटीको कुनै सीमा नै भएन, मनपरी भयो, वर्षदिनसम्म उधारो राखेपछि व्यवसायीलाई नाफा कति, राज्यलाई कर कति ? उपभोक्तालाई सहुलियत कति ?’ मल्लले भने ‘उधारो नदिई व्यवसायमा कारोबार भयो भने त २ प्रतिशत नाफामै व्यवसायी बस्न सक्छन् । यसले उपभोक्तालाई पनि ठूलो राहत मिल्छ ।’

विकसित मुलुकमा बिल र नगद कारोबारका कारण अर्थतन्त्रमा ठूलो सुधार देखिएको भन्दै उनले नगद कारोबारले राज्यको कर पनि बढ्ने बताए । उनी भन्छन्, ‘उधारो कारोबारले विकराल बनेको आर्थिक समस्या समाधान गर्न अब उधारो सम्बन्धी स्पष्ट कानुन चाहियो ।’

कभर स्टोरी
लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?