+
+

अलमलको दलदलमा माधव नेपाल

प्रचण्ड प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादी र अध्यक्ष माधवकुमार नेपाल एकपछि अर्को अलमलमा देखिन्छन् । एमाले समेतका दलको बलमा प्रधानमन्त्री बनेका प्रचण्डलाई साथ दिने वा विपक्षी दलको हैसियतमा बस्ने भन्ने द्विविधा तोड्न सकेको देखिंदैन ।

सइन्द्र राई सइन्द्र राई
२०७९ माघ १७ गते २२:३५

१७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नोटबन्दी गर्नुपर्ने मागसहित २० बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सचिवालय सदस्य घनश्याम भूसालसहितका नेताहरु लिएर अध्यक्ष माधवकुमार नेपाल आफैं बालुवाटार पुगेका थिए ।

ज्ञापनपत्र बुझाउँदा अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई विपक्षी दल भनेर चिनाएका छन् । ज्ञापनपत्रमा भनिएको छ, ‘देशको आर्थिक संकट समाधानका लागि सरकारले तत्काल चाल्नुपर्ने कदम र अपनाउनुपर्ने आर्थिक रणनीतिको बारेमा प्रतिपक्षी दलको हिसाबले गम्भीर जिम्मेवारीको बोध गर्दै यो ज्ञापनपत्र प्रस्तुत गरेका छौं ।’

जबकि २६ पुसमा एकीकृत समाजवादीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएकै कारण संसदको सबैभन्दा ठूलो शक्ति, नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत माग गर्नुपर्ने अवस्था खेपिरहेको छ । एकीकृत समाजवादीसँग पनि विपक्षी दल भएको दाबी गर्ने नैतिक आधार कमजोर छ ।

उपमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडा भने कांग्रेस नेताहरुकै जस्तो तर्क गर्छन् । ‘राष्ट्रपतिको कार्यालयमा जानु र विश्वासको मत दिनु एउटै कुरा होइन, विश्वासको मत दिएकै आधारमा हामी विपक्षी दल बनेनौ भन्न मिल्दैन’ प्रवक्ता खतिवडा भन्छन् ।

एकीकृत समाजवादीले यस्तो संकट खेप्नुको कारण भने १० पुसमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किनु हो । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटे पनि पहिले को प्रधानमन्त्री हुने भन्नेमा शेरबहादुर देउवा र प्रचण्डबीच कुरा मिल्न सकेन । दुवैले अडान नछोडेको अवसर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाए । ओलीको पहलकदमी र समर्थनमै प्रचण्ड गठबन्धन बदल्दै प्रधानमन्त्री बने ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादी र अध्यक्ष नेपाल भने एकपछि अर्को अलमलमा देखिन्छन् । एकीकृत समाजवादीका एक पदाधिकारी, पार्टीले प्रष्ट लाइन समात्न नसकेको स्वीकार्छन् । ‘हाम्रो पक्षमा जनमत नआएपछि जनताको बीचमा जाने प्रष्ट निर्णयसहित अगाडि बढ्नुपर्ने हो, तर केही अलमल देखिएको छ’, ती पदाधिकारी भन्छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले समेतका दलको बलमा प्रधानमन्त्री बनेका प्रचण्डलाई साथ दिने वा विपक्षी दलको हैसियतमा बस्ने भन्ने द्विविधा तोड्न सकेको देखिंदैन । प्रचण्डसँग सम्बन्ध तोड्न नसक्नु र सत्तारुढ दल भन्न पनि नसक्ने संकट भने निकट विगतको राजनीतिक उतारचढावको कारण सिर्जना भएको बुझ्न सकिन्छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मतभेद हुँदा प्रचण्डसँग माधव नेपाल निकट हुन पुगेका थिए । त्यही सम्बन्ध बलियो हुँदा पार्टीभित्र तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अल्पमतमा परे । अल्पमतबाट जोगिन ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटनको निर्णय गरे । त्यो निर्णयपछि नेकपा विभाजित भयो ।

विभाजित नेकपाको एकता प्रक्रिया समेत सर्वोच्च अदालतको विवादित फैसलाबाट भंग भयो । एमाले र माओवादी केन्द्र पुनस्र्थापित हुँदा पनि माधवले प्रचण्डलाई बढी विश्वास गरे । ओलीसँग एउटै पार्टीमा बस्न नसकिने निष्कर्षसहित २ भदौ २०७८ मा एमालेबाट अलग हुँदै एकीकृत समाजवादी गठन गरे । कांग्रेस नेतृत्वको गठबन्धनमा रहेर तीन तहको चुनावमा भाग लिए ।

तर माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन बदलेपछि माधव नेपाल र एकीकृत समाजवादी अप्ठ्यारोमा परेको छ । त्यो अप्ठ्यारो बुझ्न प्रचण्ड प्रधानमन्त्री बनेयता एकीकृत समाजवादीले गरेको निर्णय र गतिविधि पर्याप्त छ । सरकार निर्माण प्रक्रियामै सामेल नभएको एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दियो । जबकि १० सिट भएको एकीकृत समाजवादीले विश्वासको मत दिनु र नदिनुले ठूलो असर नराख्ने प्रष्ट थियो ।

विश्वासको मत दिए पनि सरकारमा सहभागी भएन । बरू, प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेसको पक्षमा उभियो । पार्टीभित्र प्रष्ट निर्णय लिन नसक्दा नै यस्तो विरोधाभास देखिएको थियो । ११ देखि १८ पुससम्म जिल्ला नेतृत्व, गैरभौगोलिक कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र सचिवालय बैठक बसे पनि एकीकृत समाजवादी कुनै निर्णयमा पुग्न सकेन ।

असंगत निर्णय

संघीय सरकारबारे प्रष्ट नहुनुको असर प्रदेशहरुमा पनि देखियो । एमाले उम्मेदवार हुँदा विपक्षमा मतदान गर्ने नीति लिएको एकीकृत समाजवादीले लुम्बिनीमा एमालेकै लीला गिरीलाई विश्वासको मत दियो । यहाँ सभामुख र उपसभामुखमा पनि सत्तारुढलाई साथ दियो ।

तर प्रदेश–१, गण्डकी र सुदूरपश्चिमको मुख्यमन्त्री एमाले नियुक्त हुँदा एकीकृत समाजवादी विपक्षी दलको भूमिकामा देखियाे । माओवादी मुख्यमन्त्री बनेको बागमती र कर्णालीमा विश्वासको मत दियो । तर बागमतीका मुख्यमन्त्रीमा माओवादीका शालिकराम जम्कट्टेललाई विश्वासको मत दिए पनि सभामुख र उपसभामुखको चुनावमा तटस्थ बस्यो ।

प्रदेश–१, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिमको सभामुख र उपसभामुखमा एकीकृत समाजवादी कांग्रेससँग उभियाे । मधेश प्रदेशको उपसभामुखमा एकीकृत समाजवादीले आफ्नै सांसद बेची लुंगेलीलाई उम्मेदवार बनाएको थियो । तर एकीकृत समाजवादीको समर्थनले कतै पनि चुनाव जित्ने वा हार्ने परिस्थिति थिएन । यसलाई एकीकृत समाजवादीका नेताहरुले पार्टी हितको पक्षमा अनुकूल निर्णय गरेको बताउँछन् ।

संघ र प्रदेश सरकार निर्माणमा एकीकृत समाजवादीले लिएको निर्णय प्रवृत्ति हेर्दा माओवादीभन्दा बढी प्राथमिकता कांग्रेसलाई दिएको लुक्दैन । एमालेलाई भने सकेसम्म पन्छाउनै खोजिएको छ । तर पार्टी निर्माणको संभावना र सहकार्य भने कांग्रेस नभएर एकीकृत समाजवादीको रोजाइमा माओवादी नै छ ।

तीन वर्षदेखि नजिकको सम्बन्धमा रहेको माओवादी नेताहरुसँग अहिले पनि वार्ता गरिरहेको छ । गत ७ माघमा मात्रै एकीकृत समाजवादीका महाचिव डा. वेदुराम भुसाल नेतृत्वको वार्ता टोलीले माओवादी नेताहरुसँग पार्टी एकताबारे छलफल गरेका थिए । ‘माओवादीसँग एकता वा मोर्चाबन्दी गर्ने उद्देश्यले नै वार्ता भइरहेको छ, छलफल सकारात्मक पनि छ’, वार्ता टोलीका एक सदस्य भन्छन् ।

एकीकृत समाजवादीले माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तसँग एकताको पहल गरिरहेको छ । अर्को दल जनता समाजवादी पार्टी (जसपा) सँग कार्यगत एकताको पहल गरिरहेको छ । त्यसका लागि जसपासँग पनि वार्ता गरिरहेको छ । जबकि मधेश प्रदेशमा जसपा नेतृत्वको सत्तारुढ समीकरणलाई एकीकृत समाजवादीले साथ दिइरहेको छैन ।

महासचिव डा. भुसाल भने राष्ट्रिय राजनीति र पार्टी निर्माण दुवैमा अलमल नरहेको तर्क गर्छन् । ‘पहिलो प्राथमिकतामा त पार्टी निर्माण नै हो । सँगै, वाम आन्दोलन अगाडि बढाउने प्रगतिशील कम्युनिष्ट शक्तिहरुबीच एकता पनि हो’, भुसाल भन्छन् । तर एमालेसहितको वाम एकता तत्काल सम्भव नरहेको पनि भुसाल बताउँछन् । जबकि एमालेकै समर्थनमा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ ।

कांग्रेससँग सामीप्य रहेर त्यसैअनुसार गतिविधि गर्ने, अनि माओवादीसँग एकताको पहल गरिरहेको एकीकृत समाजवादीले पार्टी निर्माणमा जोड दिने भन्न समेत छोडेको छैन । गत ११ माघमा मात्रै अन्तर संगठन निर्देशन–३ जारी गर्दै केन्द्रीय कमिटी बैठक बोलाउनेदेखि विभिन्न कमिटीको अधिवेशन गर्ने सूची जारी गरेको छ । पार्टी निर्माणमै जोड दिन भन्दै एमाले परित्याग गरेका घनश्याम भूसाललाई महासचिव बनाउने तयारी छ ।

आगामी २१–२२ माघमा बस्ने केन्द्रीय कमिटी बैठकबाटै भूसाललाई महासचिव बनाउने निर्णय गर्ने तयारी रहेको एक पदाधिकारी बताउँछन् । छुट्टै पार्टी बनाएका वामदेव गौतम र एमाले नेता भीम रावललाई पनि पार्टीमा तान्ने प्रयत्नमा अध्यक्ष नेपाल आफैं लागिपरेका छन् । तर नेतृत्वमा देखिएको असंगतिकै कारण कार्यकर्तामा उत्साह देखिन्न । पार्टी निर्माणको आधार मानिने युवा र विद्यार्थीकै नेताहरु अन्य दलका नेतृत्वसँग एकताको पहल लिइदिन आग्रह गर्ने परिस्थिति देखिएको छ ।

एकीकृत समाजवादीमा यति विघ्न भयंकर अलमल देखिनुमा भने आमचुनावको नतिजा आफ्नो प्रतिकूल हुनु नै हो । स्थानीय चुनावमा समेत अपेक्षित नतिजा ल्याउन नसकेको एकीकृत समाजवादीले संघ र प्रदेशसभामा भएकै शक्ति जोगाउन सकेन । एमालेबाट अलग हुँदा राष्ट्रियसभाका ८, प्रतिनिधिसभाका २४ र प्रदेशसभाका ५३ संसद एकीकृत समाजवादीतिर उभिएका थिए ।

तर प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाएर एकीकृत समाजवादी राष्ट्रिय दल समेत बन्न सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले अप्रत्यासित मत ल्याउँदा दुई/दुई पूर्वप्रधानमन्त्री रहेको एकीकृत समाजवादीले २.८२ प्रतिशत अर्थात् २ लाख ९८ हजार ३९१ मत मात्रै पायो । प्रदेशसभातर्फ सात प्रदेश गरी २४ जना मात्रै सांसद भए ।

तर, सार्वजनिक दाबी बमोजिम एमाले सत्ता साफ नभएर कांग्रेसकै हाराहारीको शक्ति बन्यो । यस्तो चुनावी प्रतिकूलकै बीच प्रचण्ड एमालेसँग सहकार्य गर्न पुग्दा एकीकृत समाजवादी थप संकटमा पर्यो । महासचिव भुसाल भने प्रतिकूलता चिरेरै कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको तर्क गर्छन् । ‘हामी आत्तिएर वा हतास भएर कुनै निर्णय लिदैनौं, कम्युनिष्टको मियो बनेर अगाडि बढ्छौं’, उनी भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?