+

हर्निया भएको कसरी थाहा पाउने ?

२०७९ माघ  २५ गते १४:२४ २०७९ माघ २५ गते १४:२४
हर्निया भएको कसरी थाहा पाउने ?

पेटभित्रका अंग फुलेर बाहिर गाँठोजस्तो देखिएमा त्यसलाई हर्निया भएको भनिन्छ । पेटभित्र झिल्ली, छाला, बोसो र मांसपेशी हुन्छन् । तीमध्ये मांसपेशी कमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ । त्यो प्वालबाट पेटभित्रको बोसो आन्द्रा बाहिर सुन्निएर आउँछ, जुन हेर्दा गाँठो जस्तो देखिन्छ ।

हर्निया शरीरको विभिन्न भागमा धेरै किसिमको देखिन सक्छ । हेर्दा सामान्य गाँठो हर्नियाको उपचारमा ढिलाइ गर्दा विस्तारै आन्द्रा नै कुहिने समेतको जोखिम हुन सक्छ ।

हर्निया पेटको बाहिरी र भित्री भागमा हुन्छ । तिघ्राभन्दा माथिको भाग सुन्निएको छ भने त्यसलाई  इङ्गुइनल हर्निया, तल्लो पेटमुनिको भाग र जाँघको माथि भाग सुन्निएर उठेको जस्तो देखिनेलाई फेमोरल हर्निया, शल्यक्रिया गरेर टाका लगाएको ठाउँमा हर्निया देखिन सक्छ, जसलाई इनसिजनल हर्निया भनिन्छ ।

नाइटोमा सुन्निएर आउनेलाई अमबिलिकल हर्निया, नाइटो वरपर देखिनेलाई पाराअम्बिकल, पेटमाथि सुन्निएर देखिनेलाई इपिग्यास्ट्रिक हर्निया हो । त्यस्तै, पेट भित्री भागमा पनि हर्निया हुन सक्छ, जसलाई इन्टरनल हर्निया भनिन्छ ।

हर्नियाको कारण

मोटोपन, अत्यधिक भारी तौल उठाउँदा मांसपेशी तन्किएर कमजोर हुन्छ । जसकारण हर्निया हुने सम्भावना अधिक हुन्छ । धुम्रपान गर्नेहरुको मांसपेशी कमजोर हुँदै जाने, शल्यक्रियापछि टाँका लगाएको ठाउँमा मांसपेशी काटियो भने टुक्रा भएर बस्दा पनि हर्निया हुन सक्छ । कसैमा हर्निया जन्मजात नै हुन सक्छ । जन्मिंदा नाइटो बन्द गर्नुपर्छ । त्यो पूरा बन्द नभएको खण्डमा कनजेनिटल डायफ्रामाटिक हर्निया हुन सक्छ ।

त्यसबाहेक वृद्धहरुमा प्रोस्टेटको समस्याका कारण पिसाब गर्दा बल गर्नुपर्छ । बल गर्दा पेटभित्रको प्रेसर बढेर आउँदा हर्निया हुने सम्भावना हुन्छ । कब्जियत भइराख्ने बिरामीमा  पनि हर्निया हुन्छ किनभने दिसा गर्न बलको प्रयोग गर्नुपर्छ, जसकारण मांसपेशी कमजोर हुन्छ । दमको बिरामी जसलाई अत्यधिक खोकी आउँछ उनीहरुमा पनि हर्निया हुने सम्भावना हुन्छ । हर्निया जुनसुकै उमेरमा हुन सक्छ । यद्यपि उमेर बढ्दै जाँदा मांसपेशी कमजोर हुँदै जाने भएकाले सबैभन्दा बढी जोखिम वृद्धहरुलाई हुन सक्छ ।

डा. सुरेन्द्र शाह

हर्निया हुनुमा खानपानको परोक्ष भूमिका हुन्छ । बाहिरको खानेकुरा धेरै खाने, फाइबर कम भएको खानेकुरा खाने र धेरै मात्रामा खाने व्यक्ति मोटोपनको सिकार हुने गर्छन् । मोटोपन हर्निया हुनुको एक कारण हो ।

हर्नियाका लक्षण

हर्नियाको लक्षण यसको प्रकार र स्थानमा निर्भर हुन्छ । गह्रौं काम गर्दा वा बसेर उठ्दा प्रभावित भएको ठाउँमा गाँठोको अनुभव गर्नुपर्छ । यदि कसैलाई इङ्गुइनल हर्निया छ भने जाघकोे हड्डीको दुवै छेउमा गाँठो हुन्छ । हर्निया भएमा उभिंदा वा भारी वस्तु उठाउँदा दुखाइ बढ्छ । सुत्दा गाँठो हराउने तर अरुबेला छाम्दा गाँठो देखिन्छ । उभिंदा, केही काम गर्दा, झुक्दा वा खोक्दा दुखाइ महसुस हुन सक्छ । कहिलेकाहीं हर्नियाका लक्षण बुझिंदैनन् । त्यतिबेला धेरैपटक हर्निया भएको पनि थाहा हुँदैन ।

जटिल हर्निया छ भने आन्द्रा बेरिएर गाँठो पर्न सक्छ । जसकारण सुन्निएको ठाउँमा दुख्ने, वाकवाकी लाग्ने, पेट फुलेर आउने सम्भावना हुन्छ । हर्नियाको सुरुवाती चरणमा गाँठो नदेखिने तर दुख्ने पनि हुन सक्छ, जुन पहिचान गर्न कठिन हुन सक्छ ।

बिरामीलाई सुन्निएको ठाउँमा दुख्छ, गह्रौं काम गर्दा नाइटो फुल्ने र सुन्निने हुन्छ तब तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

पहिचान र उपचार

लक्षण हेरेर धेरैजसो हर्नियाको पत्ता लाग्छ । तर पहिचान हुन गाह्रो भएमा अल्ट्रासाउण्ड  गर्न सकिन्छ । त्यसबाट पनि सम्भव नभए एमआरआई गरेर हेरिन्छ । कुनै हर्निया अण्डकोषसम्म फुलेर जाँदा हाइड्रोसिलको शंका पनि हुन जान्छ । जाँच गरेर के हो भनेर छुट्याउन सकिन्छ ।

हर्नियाको उपचार शल्यक्रिया र लाप्रोस्कोपिक प्रविधिबाट मात्र सम्भव छ । यी दुवै विधिको उपचार सेवा नेपालमा उपलब्ध छ ।  विना चिरफार गरिने विधि भएकाले लाप्रोस्कोपिक प्रविधि धेरैको रोजाइमा छ । अप्रेसन गरेर बल्झिने र दुवैतर्फ हर्निया छ भने लाप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्न चिकित्सकले सुझाउँछन् ।

दमको समस्या र मुटुको समस्या भएका व्यक्तिमा शल्यक्रिया नै उपयुक्त हुन्छ । उपचारपछि पुनः ठीक हुन्छ । तर शल्यक्रिया गरेर ६ सातासम्मा भारी काम गर्दा, धुम्रपान गर्नेमा भने पुनः बल्झिन सक्छ । प्रोस्टेटको समस्याका कारण हर्निया भएको व्यक्तिमा त्यसको उपचारसँगै हर्नियाको उपचार गर्नुपर्छ । दम र कब्जियत भएकाहरुले पनि पहिला त्यसलाई कम गरेर शल्यक्रिया गर्दा पुनः हर्निया देखिने सम्भावना कम हुन्छ ।

त्यस्तै, मधुमेहका बिरामीको शल्यक्रियापछि संक्रमणको जोखिम सामान्य व्यक्तिको भन्दा बढी हुन्छ । उनीहरुमा मधुमेहको मात्रा रगतमा बढी हुने कारण प्रतिरोध क्षमतालाई दबाउँछ । जसकारण एन्टीबायोटिक औषधि चलाएर मधुमेहलाई नियन्त्रण गरेमा मात्र शल्यक्रिया गर्नुपर्छ ।

तर हर्नियाकको उपचार जति ढिला उपचार गर्‍यो उति शल्यक्रिया जटिल हुन्छ । यसले आन्द्रा कुहिएर फुट्ने र बोसो कुहिने सम्भावना बढ्छ । जसकारण आन्द्रा काटेर फाल्ने र पुनः रुपमा जोड्नेजस्ता समस्या देखिन्छ । उपचारमा ढिलाइ गर्दा आन्द्रा फुटेर दिसा पेटभित्र पुगेर ज्यानै जोखिममा पर्न सक्छ ।

धुम्रपान नगर्ने, कब्जियत हुन नदिने, प्रोस्टेट छ भने समयमै उपचार गर्ने, भारी काम नगर्ने, सन्तुलित खानपान गर्ने, दमको समस्या भएमा नियन्त्रण गर्ने, व्यायाम आवश्यकता भन्दा बढी नगर्दा यसबाट केही हदसम्म हर्निया हुनबाट जोगिन सकिन्छ ।

(ग्यास्ट्रोइनटेस्टिनल एण्ड ल्याप्रोस्कोपिक सर्जन डा. शाह पाटन र वयोधा अस्पतालमा कार्यरत छन् । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट जेनेरल सर्जरीमा एमएस र चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट ग्यास्ट्रोइनटेस्टिनल तथा एचपीबीमा  एमसीएच गरेका छन् । साथै टाटामेमोरियल अस्पताल, मुम्बईबाट ग्यास्ट्रोइनटेस्टिनल र एचबीपी क्यान्सर सर्जरीमा तालिम समेत लिएका छन् ।)

डा. सुरेन्द्र शाह हर्निया
डा. सुरेन्द्र शाह
लेखक
डा. सुरेन्द्र शाह
ग्यास्ट्रोइन्टेस्टिनल लेजर एण्ड ल्याप्रोस्कोपिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४८९३ अध्ययन : एमबीबीएस, जनरल सर्जरीमा एमएस, ग्यास्ट्रोइन्टेस्टेनियल, हेपाटोबिलोरी र प्यानक्रिएटिक सर्जरी ल्याप्रोस्कोपिक सर्जरी, लेजर थेरापीमा तालिम हाल ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय