+
+
कभर स्टोरी :

दुर्घटना कुरिरहेका सार्वजनिक पूर्वाधार

धेरै मानिस जम्मा हुने पूर्वाधारहरूको सुरक्षाका पक्षमा बेवास्ता गरियो भने कतिसम्म जोखिम हुन्छ भन्ने नमीठो उदाहरण २९ फागुन, २०४४ मा दशरथ रंगशालामा भएको दुर्घटना थियो । तर, ३५ वर्षपछि पनि हाम्रा सार्वजनिक पूर्वाधारहरू ‘नभइन्जेल केही हुन्न’ को अवस्थामा छन् ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ माघ २७ गते १९:४०
Photo Credit : कायाकैरन
चितवनको देवघाट मेलामा झोलुंगे पुलमा लागेको भीड ।

२७ माघ, काठमाडौं । १४ माघ २०७९ साँझ धनकुटा नगरपालिका-६ स्थित तल्लो टुँडिखेलमा एभोकाडो एवं पाँचौं धनकुटा महोत्सवमा गायक प्रमोद खरेल ‘कन्सर्ट’ गर्दैथिए । तर, कार्यक्रम स्थलमा भीड यति बढ्यो कि गेटबाट भित्र प्रवेश गर्न खोजेकाहरू एकापसमा ठेलमठेल गर्न थाले । एकाएक भीड अनियन्त्रित भएर भागदौड मच्चियो । एकै छिनमा भीडले कुल्चिएर ३० व्यक्ति घाइते भए ।

कसैले पनि ज्यान गुमाउनु परेन, तर अझै दुई जना उपचारकै क्रममा अस्पतालमा छन् । घटनाबारे प्रारम्भिक अनुसन्धान गरेको जिल्ला प्रशासन कार्यालय, धनकुटाले ‘प्रक्षेपण गरिएभन्दा बढी व्यक्ति कार्यक्रममा आएपछि समयमै गेट नखुल्दा घटना हुन पुगेको’ निष्कर्ष निकालेको छ ।

‘भीड ठूलो थियो, ठेलमठेल भएपछि घटना भयो, गेट अर्को पनि थियो, तर भित्र स्टलहरूका कारण खाली ठाउँ धेरै नभएकाले घटना हुन पुग्योे’ धनकुटाकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे भन्छिन्, ‘थप गेट र भित्र पर्याप्त स्पेस भएको भए घटना हुँदैनथ्यो ।’

धनकुटा महोत्सवमा भागदौड भएपछि छुटेका जुत्ताचप्पल

‘मान्छेको सुरक्षा भनेको प्रहरी र प्रशासनले मात्रै दिने हैन, भौतिक संरचना पनि सुरक्षामैत्री हुनुपर्छ’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, ‘यो घटनाबाट सार्वजनिक पूर्वाधारहरूको प्रयोगमा सुरक्षा पक्षको व्यवस्थापन र ठूला मेला तथा कार्यक्रमहरूको आयोजना गर्दा अपनाउनुपर्ने सजगतामा ध्यान दिनुपर्ने पक्ष सबैले सिक्नुपर्छ ।’

हेटौंडामा चलिरहेको राष्ट्रिय औद्योगिक व्यापार मेला पनि २१ माघ २०७९ मा प्रवेश गेटमा ठूलो भीडभाड भएपछि केही मानिस बेहोश भए । भीडका कारण मेला भर्न आएका बालबालिका भीडमा हराएको गुनासो आएपछि आयोजकले स्टल नै हटाएर अर्को निकास दिनुपर्‍यो ।

यस्ता मेला, महोत्सवमा आयोजकले टिकट नकाटेका व्यक्ति छिर्नसक्ने भन्दै अस्थायी रूपमा समेत जस्तापाता प्रयोग गरेर भए पनि बारहरू लगाउने गरेका छन् । कुनै अप्रत्यासित घटना भएमा वा भागदौड मच्चिएमा ठूलो संख्या एकसाथ कसरी बाहिर निस्किन्छ भन्ने ख्याल नगरिकन यस्ता मेला आयोजना भइरहेका छन् ।

संगीत बाहेक, मोफसलमा आयोजना हुने फूटबल र क्रिकेट प्रतियोगिताहरू पनि व्यवस्थापनको दृष्टिले अर्को जोखिमको क्षेत्र भइरहेका छन् । त्यहाँ पनि दर्शकको चाप अनुसार भौतिक पूर्वाधारको व्यवस्थापन नगरिंदा दुर्घटनाको जोखिम उच्च छ ।

आफ्नो टिम हार्दा/जित्दा उत्तेजित हुने भीडले मैदानमा ढुंगा र बोतल फाल्नु मोफसलका फुटबल प्रतियोगिताहरूका लागि सामान्य जस्तो भएका छन् । यी मैदानहरूमा सुरक्षित तवरले पूर्वाधार तयार नगर्दा यस्ता प्रतियोगितामा सुरक्षा दिनु प्रहरीका लागि पनि चुनौतीपूर्ण हुँदै गएको छ ।

अझ पैसाको लोभमा मैदान र पूर्वाधारको उच्चतम क्षमता समेत विचार नगरी टिकट काटेर प्रवेश दिने चलनले जोखिम बढाउँदै लगेको छ । त्यसमाथि भीडका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर पर्याप्त आकस्मिक गेटहरू खुला राख्न कसैले ध्यान नै दिने गरेका छैनन् ।

काठमाडौंसहित देशभर नै हुने धार्मिक मेला, पर्व र सांस्कृतिक जात्रामा हुने भीडभाडको फितलो व्यवस्थापनले फेरि पनि गम्भीर दुर्घटना हाम्रा अगाडि छ भन्ने देखाउँछ । जस्तै भक्तपुरकै सबैभन्दा लामो बिस्केट जात्रामा सालैपिच्छे ढुंगामुढा भइरहन्छ । त्यस्तो समयमा भीड नियन्त्रण प्रहरीका लागि पनि क्षमता बाहिरको काम बन्न पुग्छ

नेपाल स्ट्रक्चरल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसका डा.राजन सुवाल खेलकुद र सार्वजनिक कार्यक्रम हुने मैदान र रंगशालाहरूको सुरक्षा पक्ष कमजोर देख्छन् । कुनै पनि बेला झै-झगडा, कुटपिट, भागदौड हुनसक्ने सम्भावना हेरेर मापदण्ड अनुसारका मैदानमा पर्खाल, गेट र अन्य पूर्वाधार बनाउनुपर्ने उनी बताउँछन् ।

‘अग्ला पर्खाल बनाउन हुँदैन, गेटहरू बनाएर मात्रै हुँदैन, भीड भित्र भएका बेला गेटहरू खुला पनि रहनुपर्छ’ उनी भन्छन्, ‘हाम्रामा मान्छेभित्र पठाएपछि गेट बन्द गर्ने चलन छ, त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।’

शहरहरूमा बनेका सार्वजनिक पार्क, फनपार्क र वाटर पार्कहरूमा पनि उस्तै समस्या छ । ठूलो संख्यामा बालबालिका समेत जम्मा हुने यस्ता पार्कहरूमा शनिबार र सार्वजनिक विदाको दिन ठूलो भीड लाग्छ । तर, यस्ता पार्कहरूमा जति संख्यामा व्यक्ति आए पनि पैसाको लोभमा छिराइदिने प्रवृत्तिले मनोरञ्जन गर्न गएकाहरूले सास्ती भोग्ने गरेका छन् । पार्कको फितलो व्यवस्थापनले धनकुटाको जस्तै दुर्घटनाको जोखिम निम्त्याइरहेको हुन्छ ।

एकसाथ धेरै मान्छे जम्मा हुने सार्वजनिक प्रयोगका पूर्वाधारहरूको सुरक्षा पक्षमा बेवास्ता गरियो भने कतिसम्म जोखिम हुन्छ भन्ने नमीठो उदाहरण २९ फागुन, २०४४ मा दशरथ रंगशालामा भएको दुर्घटनाले दिएको थियो ।

रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तियोद्धाबीच त्रिभुवन च्यालेन्ज शिल्डको फाइनल फुटबल खेल चलिरहँदा हावाहुन्डरी र असिनापानी आएपछि भएको भागदौडमा ९३ जनाको ज्यान गएको थियो ।

बाहिर निस्किन खोज्दा पर्याप्त गेट नपाएपछि यस्तो दुःखद् दुर्घटना भएसँगै तत्कालीन शिक्षामन्त्री केशरबहादुर बिष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए । सार्वजनिक पूर्वाधार बनाउँदा र त्यसलाई सञ्चालन गर्दा सुरक्षाको पक्षमा पर्याप्त ध्यान दिइएन भने कस्ता विघ्नहरू आइपर्न सक्छन् भन्ने यस्ता घटनाले छर्लङ्ग पारेका छन् ।

तत्कालीन अवस्थामा राजीनामा दिएका बिष्ट दशरथ रंगशालाको कहालीलाग्दो घटनापछि केही पक्षहरूमा सुधार भए पनि अझै धेरै पक्षमा सुधार जरूरी देख्छन् । ‘मान्छे जम्मा भएका बेला कुनै पनि समस्या परेमा १० सेकेन्डभित्रै ती ठाउँ सहजै खाली गर्ने योजना चाहिन्छ भन्ने पाठ सो घटनाले सिकायो’ उनी भन्छन्, ‘कार्यक्रमका दौरान गेटहरूमा ताल्चा ठोकेर राख्ने चलन अझै छ ।’

दशरथ रंगशालाको खेल हेर्न पुग्दा त्यो कहालीलाग्दो घटनाको साक्षी रहेका पूर्वसचिव किशोर थापा नेपालमा फेरि पनि त्यस्ता घटना जतिबेला पनि दोहोरिन सक्ने देख्छन् । भीड व्यवस्थापन गर्ने, केही अप्ठेरो परेमा सुरक्षित रूपमा निस्किने प्रबन्ध गर्ने लगायत पक्षमा ठूला मेला, कार्यक्रम र सभा सम्मेलन गर्नेहरूले खासै विचार नपुर्‍याउने उनको बुझाइ छ ।

‘दशरथ रंगशालाको विध्वंसक घटनाको साक्षी भएको हिसाबले पनि म भन्न सक्छु, हाम्रा सार्वजनिक पूर्वाधारहरू अझै पनि सुरक्षित तवरले बन्न र सञ्चालन हुनसकेका छैनन्’ उनी भन्छन्, ‘नीति र नियमको कमी छैन, कार्यान्वयनको तहमा समस्या छ ।’

मेला पर्वमा पनि समस्या

विष्केट जात्राको खराब दृश्य ।

सार्वजनिक प्रयोगमा रहेका स्थानमा जम्मा हुने सर्वसाधारणको सुरक्षा हेलचेक्र्याइँ गर्नै नमिल्ने विषय हो । यो मूलतः राज्यको जिम्मेवारी भए पनि सम्बन्धित आयोजक/सञ्चालक/व्यवस्थापकहरू पनि यसमा जवाफदेही हुनुपर्छ । त्यसपछि यस्ता कार्यक्रमहरूमा पुग्ने व्यक्ति आफू पनि सजग हुनु जरूरी छ ।

काठमाडौंसहित देशभर नै हुने धार्मिक मेला, पर्व र सांस्कृतिक जात्रामा हुने भीडभाडको फितलो व्यवस्थापनले फेरि पनि गम्भीर दुर्घटना हाम्रा अगाडि छ भन्ने देखाउँछ । जस्तै भक्तपुरकै सबैभन्दा लामो बिस्केट जात्रामा सालैपिच्छे ढुंगामुढा भइरहन्छ । त्यस्तो समयमा भीड नियन्त्रण प्रहरीका लागि पनि क्षमता बाहिरको काम बन्न पुग्छ ।

२७ चैत, २०७२ मा जात्रामा हुलदंगा हुँदा ढुंगा हानाहान भयो, जसमा परेर स्थानीय ४५ वर्षीय लक्ष्मीप्रसाद त्यातको मृत्यु भएको थियो । ५ वैशाख २०७९ मा बिस्केट जात्रामै सूर्यविनायक नगरपालिका- ५ का ७१ वर्षका दुर्गामान कसपाललाई वंशगोपालतर्फ लैजाँदै गरेको रथले नासमाना चोकको एक घरको भित्तामा च्यापिदियो । उपचारका क्रममा भक्तपुर अस्पतालमा उनको ज्यान गयो ।

२८ जेठ २०७६ मा जाउलाखेलमा भोटो जात्रा हेर्ने क्रममा ३ जना व्यक्ति भीडमा चेपिएर बेहोश भएका थिए । यसरी जात्रा, मेला र पर्वहरूमा अनियन्त्रित रूपमा लाग्ने भीड र त्यसमा चेपिएर एकाध व्यक्तिहरू बेहोश हुनुलाई सामान्य मान्ने चलन नै भइसक्यो । विज्ञहरू भने यस्तो सोचले जहिलेसुकै समस्या ल्याउन सक्ने देख्छन् ।

धार्मिक तथा सांस्कृतिक कार्यहरूमा जम्मा हुने सर्वसाधारणलाई अपर्याप्त पूर्वाधार र फितलो व्यवस्थापनले पिरोल्ने गरेको छ । त्यसमाथि आकस्मिक रूपमा पर्न सक्ने समस्या सामना गर्ने योजनाको अभाव र धार्मिक स्थल तथा सम्पदाहरूको मर्मतसम्भारको अभावले पनि दुर्घटनाको जोखिम व्यक्ति आफैंले बोक्नु परिरहेको छ ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट काठमाडौंका दुई चर्चमा प्रार्थना गरिरहेका ७५ जनाको मृत्यु भएको घटनाले पनि यसलाई पुष्टि गर्छ । काठमाडौं महानगरपालिका-१५ सीतापाइलास्थित ठाडोभर्‍याङमा रहेको दर्शन मण्डली चर्चका ४८ जना र कपनको सरस्वतीनगरमा रहेको सुककोठ प्रार्थना भवनमा २७ जनाको मृत्यु भएको थियो । प्रार्थनाको समयमा भूकम्प आएपछि भागदौड हुँदा केही च्यापिएका थिए भने भवन ढल्दा थप व्यक्तिहरू हताहत हुन पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

अहिले पनि धार्मिक स्थल र भित्री शहरका असन इन्द्रचोक, महाबौद्ध जस्ता बजारहरूमा दर्शनार्थी तथा बटुवाहरू जम्मा हुँदा हुनसक्ने दुर्घटनालाई ध्यानमा राखेर पूर्वाधारहरू बनाउने र व्यवस्थापन गर्नेतर्फ ध्यान दिइएको छैन ।

पूर्वमन्त्री बिष्ट अहिलेसम्म ठूला धार्मिक कार्यक्रम, धेरै मान्छे जम्मा हुने मेला र बजारहरूमा ठूला दुर्घटना नहुनुलाई सौभाग्य मान्छन् । ‘भीड व्यवस्थापन गर्न गोली बोकेर बसेका प्रहरीले सुरक्षा दिएका छन् भन्ने भ्रम मात्रै हो’ उनी भन्छन्, ‘यदि कुनै भागदौडको अवस्था आयो भने अहिले पनि मान्छेलाई जोगिन गाह्रो छ ।’

जोखिममा पुल

सार्वजनिक पूर्वाधारहरू सुरक्षित तवरले निर्माण नगर्दा र त्यसमा लाग्ने भीडलाई क्षमता अनुसार व्यवस्थापन नगर्दाका परिणाम के हुन्छन् भन्ने दरिलो उदाहरण हो- १० पुस, २०६४ मा सुर्खेतको शुभघाट मेलामा भएको दुर्घटना ।

ठूलो भीडका कारण झोलुङ्गे पुल भाँचिंदा २५ जनाको ज्यान गएको थियो । मेला भर्न आएका कैयौं दर्शनार्थी पुलसँगै भेरीमा खसेका थिए ।

सरकारले यसबाट पाठ सिकेर जोखिम मूल्यांकन गरेर पूर्वाधार बनाउने र भीडलाई नियन्त्रणमा राख्ने पाठ अहिले पनि सिकेको छैन । यही प्रयास नगर्दा गत वर्ष महाशिवरात्रि मेलामा पशुपतिनाथमा बागमती नदीमाथिको साँघुरो पुलको बार भत्किंदा केही व्यक्ति नदीमा खसेका थिए ।

माघेसंक्रान्तिमा चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमाथि देवघाटको पुलमा लाग्ने भीडले यात्रु स्वयंलाई झस्काउँछ । भक्तपुरको सूर्यविनायकको साँगामा रहेको झोलुङ्गे पुलमा आजकल प्रत्येकजसो शनिबार लाग्ने भीडले स्थानीयहरूलाई तर्साउँछ । पुलमा थेगिनसक्नु भीड जम्मा हुँदा पुलको भारवहन क्षमताबारे कसैले चासो दिने गरेका छैनन् ।

अझ कतिपय मोटर गुड्ने पुलहरू नै यस्तो सुरक्षा चुनौती भोगिरहेका छन् । बन्दाबन्दै गुणस्तरहीन ठहर भएपछि सडक विभागले टेकुमा विष्णुमती नदीमाथि बनाएको पुल प्रयोग गरेको छैन । ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले मापदण्ड र डिजाइन विपरीत पुल तयार गरेपछि सडक विभागले ठेकेदारबाट पुल बुझ्न मानेको छैन । अहिले पर्खाल लगाएर पुलमा सवारी आवतजावत रोकिएको मात्रै छ ।

तर, सोही पुलसँगैको अर्को पुरानो पुल जाम हुँदा थुप्रै सवारी साधन थेगेर बसेको छ । काठमाडौंमा सडक विस्तार पछि धेरै पुल यसैगरी ‘बोटल नेक’ बनेका छन् । जहाँ गाडीको लामो जाम हुन्छ । पुराना पुलहरूमा यसरी एकैपटक धेरै सवारी जम्मा हुँदा पनि जोखिम हुनसक्ने विज्ञहरू बताउँछन् । प्रा.डा.सुवाल एउटा तहको भारवहन क्षमता थेग्ने गरी बनेका पूर्वाधारमा त्योभन्दा बढी भार परिरहे भूकम्प जस्ता विपत्का बेला दुर्घटना हुनसक्ने ठान्छन् ।

देशभर नै घाट र धार्मिक स्थल वरपर बनेका पुलहरूमा कुनै कार्यक्रम र मेला विशेषमा मान्छे र सवारीको चाप उच्च हुने गर्छन् । तर, ती पुलको भारवहन क्षमता जाँच्न र त्यसअनुसार व्यवस्थापन गर्न चासो दिइएको छैन । २०७८ पुसमा एमालेको १०औं महाधिवेशन हुँदा नारायणगढको नारायणी नदीको पुलमाथि मानव सागर हिंडेपछि सार्वजनिक रूपमै चिन्ता व्यक्त भएको थियो ।

राजमार्गमा कैयौं जीर्ण र पुराना पुल छन् । सडक विभागले आवधिक रूपमा मर्मत गरेर काम चलाइरहेका पुलहरू ठूलो भूकम्प र बाढीको जोखिममा छन् । दैनिक हजारौं सवारी आवतजावत गर्ने पुल मात्रै हैन सार्वजनिक प्रयोगका राजमार्गदेखि सडकमार्गहरूसम्म असुरक्षित छन् ।

धेरै भीड हुने सरकारी कार्यालयहरूमा पनि घटना हुनासाथ भवन खाली गर्ने गरी पूर्वाधार तयार छैन । ठूलो भीड लाग्ने गुर्जुधारा, चाबहिल, सानोभर्‍याङलगायत यातायात कार्यालयहरू नै भाडा खोजेर आवासीय भवनमा बसेका छन्, जहाँ मान्छेको थेगिनसक्नु भीड हुन्छ ।

पूर्वसचिव थापाका अनुसार विपत्तिसँग जुध्ने योजना नहुँदा असुरक्षित पूर्वाधारमा बसेका विद्यालयदेखि कार्यालयहरूसम्म ‘नभइन्जेल केही हुन्न’ भन्ने मान्यताबाटै चलिरहेका छन् । ‘धेरै मान्छे जम्मा हुने आवासीय प्रयोजनका साँघुरा घरमा जतिबेला पनि समस्या पर्न सक्छ’, उनी भन्छन् ।

दुर्घटना कुरिरहेका गगनचुम्बी भवन र मल

समस्या सरकारले बनाउने र व्यवस्थापन गर्ने पूर्वाधारहरूमा मात्रै छैन।  निजी क्षेत्रबाट बन्ने गरेका सार्वजनिक प्रयोगमा आउने र ठूलो संख्यामा सर्वसाधारण जम्मा हुने भौतिक संरचनामा पनि छ । यसले एकैपटक धेरै मान्छेलाई समस्यामा पार्न सक्ने जोखिम छ ।

५ माघ, २०७७ मा काठमाडौंको रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टको ‘ए’ ब्लकमा आगलागीको घटनाले काठमाडौंका गगनचुम्बी र ठूला व्यावसायिक भवनहरूको सुरक्षा अवस्था र व्यवस्थालाई उदांगो पार्‍यो । आगलागी हुँदा पनि सो अपार्टमेन्टभित्र रहेका मान्छे बाहिर भाग्न सकेनन् ।

उद्धारकर्ता नै तलबाट आगो निभाउँदै अपार्टमेन्टहरू भित्र छिरेर २३ जनालाई अत्तालिएको अवस्थामा उद्धार गरेका थिए । कतिपय अपार्टमेन्टको फल्स सिलिङसम्म पनि आगो सल्किसकेको थियो, उद्धारकर्ता समयमै पुगेकाले ठूलो मानवीय क्षति हुन पाएन । तेस्रो तलाको ढोकासँगैको बिजुलीको वायरिङ सर्ट भएपछि चौधौं तलासम्मैको ढोकाहरूमा आगो सल्किएकाले कोही पनि मूल ढोका खोलेर नियमित भर्‍याङबाट तल र्झन सक्ने अवस्था थिएन ।

सोल्टी अपार्टमेन्टमा आकस्मिक रूपमा निस्कन मिल्ने द्वार र भर्‍याङ (फायर एक्जिट) भवनको भित्रैबाट मात्रै थियो । त्यसमाथि भित्रकै भर्‍याङमा पनि कतिपय ठाउँमा सामानहरू भएकाले निस्कन समस्या भएको निष्कर्ष प्रहरीले निकालेको थियो ।

नियम अनुसार ठूला भवनका हरेक तलामा ‘फायर होस’ -आगो निभाउन पानी आउने गरी तयार राखिएको पाइप) र मिति नगुजि्रएका फायर स्टिङविसर जस्ता अग्नि नियन्त्रक उपकरण राख्नैपर्छ । भित्रैबाट फायर एक्जिट (भर्‍याङ) र बाहिरबाट निस्कने अर्को आकस्मिक भर्‍याङ पनि हुनुपर्छ ।

त्यस्तो आकस्मिक अवस्थाका लागि केही समय दमकल नै नआए पनि अग्ला भवन, शपिङ मल र बिजनेस कम्प्लेक्सका ट्यांकीमा पर्याप्त मात्रामा पानी रहने सुनिश्चित गर्नुपर्ने हुन्छ । यस्ता ठूला भवनमा कुनै विपत्ति आइलागे सजिलै तल उत्रने विकल्प दिनुपर्छ ।

पूर्व सचिव किशोर थापा महानगर, उपमहानगर र नगरपालिकाहरूले नक्सापास गरेअनुसारको संरचना बने/नबनेको नहेर्दा सार्वजनिक प्रयोगमा रहेका पूर्वाधारमा जम्मा हुने मान्छेले सुरक्षा प्रत्याभूति गर्न नसकेको बताउँछन्

सधैं मान्छेको भीडभाड हुने भाटभटेनीदेखि सेल्सबेरीसम्मका शपिङ मलहरूमा पनि यस्ता सुरक्षा पक्षमा पर्याप्त ध्यान दिइएको छैन । अग्ला भवनहरूमा पनि थोरै क्षमताका लिफ्टहरू राखिएका छन् ।

अधिकांश शपिङ मलका विद्युतीय भर्‍याङहरूमा ‘अन्डर मेन्टिनेन्स’ राखिएको हुन्छ । अपार्टमेन्टदेखि मल र होटलहरूभित्रका साधारण भर्‍याङहरू पनि साँघुरा छन् । बाहिरबाट राखिएका फलामे भर्‍याङहरू पनि एकसाथ धेरै व्यक्तिको लोड धान्ने खालका छैनन् ।

प्रा.डा. सुवाल अग्ला भवनहरूमा समस्या पर्दा सजिलै र सबैतिरबाट एकै समयमा पुग्ने खालका भर्‍याङसहित पूर्वाधारहरू नराख्ने विकृति रहेको बताउँछन् । यस्तो बदमासी हुन नदिन सरकारी निकायहरू सचेत हुनुपर्ने उनको भनाइ छ ।

सुरक्षाका लागि बनेका मापदण्डहरू पालना नहुनु व्यावसायिक मर्यादाविपरीत हुने जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठ बताउँछन् । ‘भूकम्प, आगलागी सहित कुनै विपत्ति पर्दा मान्छेलाई ठूला भवनहरूबाट सहजै र सुरक्षित रूपमा बाहिर निस्कने व्यवस्था गर्नैपर्छ’ उनी भन्छन्, ‘सुरक्षा पक्षलाई बेवास्ता गरेर भवनहरू बनाइन्छ भने त्यसमा सरकारले ध्यान दिनुपर्छ ।’

शहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकहरू पनि काठमाडौंमा धेरैजसो अपार्टमेन्ट र मललगायत व्यावसायिक भवनहरूमा यस्ता विपत्ति आइलागेमा आकस्मिक ढोका र भर्‍याङबाट बाहिर आउन सक्ने अवस्था नरहेको बताउँछन् ।

‘काठमाडौंमा धेरै अपार्टमेन्टदेखि ठूला मलमा विपद्का बेला जोखिम छ’ विभागका एक इन्जिनियर भन्छन्, ‘विगतमा नक्सापास गर्दा, निर्माण सम्पन्न प्रमाणपत्र दिंदा भएका बदमासी र भवन निर्माणसंहिता खुकुलो बनाएर निर्माण गरिएका नीतिगत अनियमितताका कारण भविष्यमा ठूला भवनमा कति मान्छेको ज्यान जाने हो भन्न सकिन्न ।’

उनका अनुसार भूकम्पका बेलामा नै काठमाडौंमा रहेकामध्ये धेरैजसो अपार्टमेन्ट कति असुरक्षित छन् भन्ने देखिएको थियो । त्यसबेला पार्क होराइजन अपार्टमेन्ट बस्न अयोग्य हुने गरी क्षतिग्रस्त भएको थियो भने धेरैजसो अपार्टमेन्ट मर्मत गरेर मात्रै बस्न भनेर सरकारले पहेंलो स्टिकर टाँसेको थियो ।

‘भूकम्पलाई त धेरैले बिर्सिए, ठूला आगलागीका घटना हुने हो भने अरू धेरै ठूला र अग्ला भवन पनि मान्छे बस्न र व्यापार-व्यवसाय गर्न योग्य नरहेको प्रमाणित हुन्छन्’, ती इन्जिनियर भन्छन् । अझ अग्ला भवनहरू मापदण्डअनुसार नबनाएर त्यसले भूकम्पजस्ता विपत्तिमा वरपरको बस्तीमा नै ठूलो क्षति गराउने जोखिम उत्तिकै छ ।

शहरका रात्रि क्लबहरूमा पनि यही समस्या छ । धेरै व्यक्ति जम्मा हुने क्लब र डिस्कोहरूमा पस्ने ठाउँहरू फरक ‘डिजाइन’ का नाममा गल्लीजत्तिकै साँघुरो बनाइएको हुन्छ भने समस्या पर्दा निस्किने बाटो पनि उस्तै सानो हुन्छ । खुला ठाउँ नै नराखिएका यस्ता क्लबहरूमा आगलागी वा अन्य दुर्घटना भएमा धेरै व्यक्ति एकसाथ प्रभावित हुने जोखिम छ ।

सिनेमा हल र सभा हल पनि यस्तै छन् । पछिल्ला दिनमा मलहरूमा प्रयोजनविपरीत सिनेमा हलहरू तयार गरिंदैछ । सरकारी कार्यालयहरूमा पनि त्यसैगरी संरचना तोडमोड गरेर सभाहल तयार गर्ने गरिएको छ । यस्ता सभाहलहरू तयार गर्दा समस्या भएका बेला बाहिर निस्कने सुरक्षित ढोका र बाटोबारे ध्यान नै दिने गरिएको छैन ।

‘एउटा प्रयोजनका लागि भनेर निश्चित भारवहन क्षमताका आधारमा बनेको भवनमा मान्छेको ठूलो उपस्थिति हुने र विभिन्न गह्रुंगा समान राख्ने तथा भण्डारण गर्ने गर्दा भूकम्पका बेला भवनहरू जोगिन गाह्रो हुन्छ’ प्रा.डा. सुवालले भने, ‘पहिले निश्चित तला मात्रै बनाउने गरी जगसहित संरचना तयार गर्ने र पछि तला थप्दै जाने गर्दा पनि ठूला भवनमा जोखिम बढ्छ ।’

काठमाडौं महानगरले नै नियम परिवर्तन गरेर ५ तलाका भवनलाई ८ तलासम्म थप्न सक्ने गरी नियम बनाएको भन्दै उनले भविष्यमा त्यसले जोखिम बढाउने बताए । सार्वजनिक प्रयोगका भौतिक संरचनामा हुने यस्तो छेडखानी, बदमासी र हेलचेक्र्याइँ सर्वसाधारणलाई थाहा नै नहुने भन्दै मौलाउँदो लापरबाहीले जहिलेसुकै पनि ठूलो दुर्घटना हुनसक्ने डा.सुवालको चेतावनी छ ।

काठमाडौं महानगरका नक्सा तथा भवन इजाजत विभाग प्रमुख सुरज शाक्य २०६२ सालमा राष्ट्रिय भवन निर्माण संहिता जारी भएपछि ठूला भवनहरूमा ‘इभ्याकुएसन प्लान’ -आकस्मिक अवस्थामा भवन खाली गर्ने योजना) अनुसारको संरचनाहरू बनेको बताउँछन् । त्यसभन्दा अघि बनेका भवनहरूमा यस्तो पूर्वाधारको अभाव हुनसक्ने उनको भनाइ छ ।
नेपालमा २०४५ सालपछि ठूला भवनहरू बन्न थालेकाले पनि काठमाडौं उपत्यकाभित्रैका थुप्रै ठूला भवनमा अहिले पनि समस्या परे के गर्ने भन्ने प्रश्नको जवाफ छैन ।

‘तर, इभ्याकुएसन प्लानअनुसार एक्जिट हुने ठाउँ खुला, संकेत चिहृन र बोर्डहरू तथा त्यसलाई स्पष्ट र बुझिने गरी राख्ने मामिलामा समस्या छ’ उनी भन्छन्, ‘धेरै भवनमा भर्‍याङबाट झरेको मान्छे सीधै भूमिगत पार्किङमा पुगिसकेका हुन्छन्, कुन ग्राउन्ड फ्लोर हो भन्ने समेत स्पष्ट बुझिने गरी राखिएको पाइँदैन, यसमा सम्बन्धित पक्ष पनि जिम्मेवार हुुनुपर्छ ।’

पूर्व सचिव किशोर थापा महानगर, उपमहानगर र नगरपालिकाहरूले नक्सापास गरेअनुसारको संरचना बने/नबनेको नहेर्दा सार्वजनिक प्रयोगमा रहेका पूर्वाधारमा जम्मा हुने मान्छेले सुरक्षा प्रत्याभूति गर्न नसकेको बताउँछन् ।

‘नक्सामा हुँदै नभएको संरचना बनाउने, नक्सामा भएको संरचना पनि बनाउने कुरा निमिट्यान्न पार्न सके जोखिम कम हुँदै जान्थ्यो’ थापा भन्छन्, ‘अहिले ठूला र अग्ला भवनमा पनि नियम मिचेर संरचनाहरू बनेका छन्, जसले सर्वसाधारणमाथि सुरक्षा खतरा बढाएका छन् ।’

विद्यालयदेखि सरकारी भवनसम्ममा चुनौती

विद्यालयका भवन र पूर्वाधारहरू समेत सुरक्षाको प्रश्न बाहिर छैनन् । ३० असोज २०७६ मा धनुषाको जनकनन्दिनी-४ स्थित केएसएसबी उच्च माविको भवनको पर्खाल भत्किंदा च्यापिएर ७ वर्षकी संसना सदाको मृत्यु भएको थियो । घटनामा ६ वर्षका मोहम्मद समिर साफी घाइते भएका थिए ।

१७ असार २०७३ मा ललितपुरको टौखेलमा पुष्पाञ्जली सेकेन्डरी स्कुलमा पर्खाल भत्किंदा कक्षा ३ मा अध्ययनरत स्थानीय कृपा राई र गोदावरीकी अन्जना पुन मगरको ज्यान गएको थियो । घटनामा २० विद्यार्थी घाइते भएका थिए । विद्यालय भवन छेउमै प्लटिङका लागि लगाइएको वाल भत्किंदा विद्यार्थीको ज्यान गएको थियो ।

विद्यालयका पूर्वाधारहरू कति असुरक्षित छन् भन्ने उदाहरण १२ वैशाख २०७२ को भूकम्पले पनि दिएको थियो । संयोगवश शनिबार भएकाले सो दिन विद्यार्थी घरमै छुट्टी मनाइरहेका थिए । करिब २९ वटा जिल्लामा मात्रै ९ हजार ७२ वटा सरकारी विद्यालयका २१ हजार १६९ कक्षाकोठा पूर्ण रूपमा ध्वस्त हुँदा कति विद्यार्थी हताहत हुनसक्थे भन्ने अनुमान लगाउन समेत कठिन छ । सो भूकम्पमा थप १२ हजार ५२२ कक्षा कोठामा अधिक र २० हजार ८९३ वटामा आंशिक क्षति पुगेको थियो ।

यस्तो बेला विद्यालयमा भागदौडको सम्भावना पनि रहन्छ । त्यसलाई ध्यानमा राखेर विद्यालयका कोठाका ढोका र भर्‍याङहरू फराकिलो बनाउनेतर्फ अझै सोचिएको छैन । अझ अधिकांश निजी विद्यालय त आवासीय प्रयोजनमा बनेका घर भाडामा लिएर चलिरहेका छन्, जहाँ पर्याप्त खुला क्षेत्र समेत छैन ।

डा. सुवाल एउटा परिवारको भार थेग्ने गरी बनेका आवासीय घरमा बसेका विद्यालयले ठूलो सुरक्षा चुनौती थपेको बताउँछन् । ‘बढीमा नियमित रूपमा ५ जना बस्लान् भन्ने आधारमा बनेको घरमा कोठापिच्छे २०-४० जनासम्म विद्यार्थी राखेर पढाइँदैछ’ उनी भन्छन्, ‘प्रयोजन विपरीतको यस्तो प्रयोगले भूकम्प, आगलागी जस्ता विपत्तिका बेला अर्को दुर्घटना निम्त्याउने खतरा छ ।’

पूर्व शिक्षामन्त्री बिष्ट दशरथ रंगशालाको दुर्घटनालगत्तै आफूले विद्यालय भवनहरूको सुरक्षा विचार गर्न परिपत्र गरेको सम्झन्छन् । तर, अझै पनि यसमा लापरबाही भइरहेको भन्दै उनले बालबालिकाको जीवन रक्षा गर्ने पक्षमा सरकार उदासीन रहेको बताए ।

‘भूकम्पले पनि हामीलाई ठूलो पाठ पढायो, तर पनि आकस्मिक अवस्थामा विद्यार्थीलाई सकुशल सुरक्षित स्थानसम्म पुग्ने सुनिश्चित गर्न कसैले चासो दिएका छैनन्’ उनी भन्छन्, ‘स्थानीय तहहरू, जिल्ला शिक्षा समन्वय इकाइ र विद्यालय निरीक्षकहरू के हेरेर बसेका छन् ?’

तर्साउने असुरक्षित पर्खाल

सडकसँगै सुरक्षाका लागि बनाइएका अग्ला पर्खालले नै सार्वजनिक सुरक्षालाई चुनौती दिइरहेका छन् । संघीय राजधानी काठमाडौंमा देशको मुख्य प्रशासनिक अड्डा सिंहदरबार, सुरक्षा निकायमा क्याम्प र कार्यालयहरू, विश्वविद्यालय, अस्पताल, होटल, उद्योग र व्यावसायिक प्रतिष्ठानदेखि विदेशी दूतावास/कूटनीतिक नियोगसम्मले सडक र पेटीसँग जोडेर अग्ला पर्खाल बनाएका छन् ।

यी पर्खाल कति सुरक्षित छन् नियमित जाँच र मर्मतसम्भार हुँदैनन् । यीमध्ये धेरैजसो पर्खाल मापदण्ड विपरीतका छन् भने कति जीर्ण बनिसकेका छन् । यसले धेरै सवारी साधन र पैदल यात्रुलाई जोखिममा पारिरहेको छ ।

१ असोज २०६८ मा बेलायती दूतावासको पर्खाल ढलेर ३ जनाको ज्यान गएको घटना सबैजसोले बिर्सिसकेका छन् । चिनियाँ, अमेरिकी, जर्मन, रसियन, जापानिजलगायत दूतावासका पर्खालहरू पनि जोखिमयुक्त छन् ।

बेलैमा पाठ नसिक्दा १२ वैशाख २०७२ को महाभूकम्पमा पर्खालहरू ढलेर काठमाडौंमा दर्जनौंले ज्यान गुमाए । २९ वैशाखको परकम्पमा पनि नारायणहिटी दरबार, राष्ट्रिय नाचघर, दरबार हाईस्कुललगायत विभिन्न ठाउँका अग्ला पर्खाल ढल्दा १४ जनाको ज्यान गयो । महाभूकम्पमा असुरक्षित ठहरिएका यस्ता पर्खाल मर्मत गर्ने वा उचाइ घटाउनेतर्फ भने सरकारले ध्यान दिएन । न विदेशी नियोग, न त निजी व्यावसायिक भवन घरधनीहरूले नै यो विषयलाई महत्व दिए ।

त्यसपछि २७ असार २०७६ मा सिंहदरबारको पूर्वतर्फको पर्खाल भत्किंदा धन्न एकजना पैदलयात्रु घाइते मात्रै भए । त्यसपछि पनि सरकारले सिंहदरबारको पर्खालको उचाइ घटाउनेबारे सोचेन । बरु साधारण पर्खाल लगाइएको लैनचौरको समाज कल्याण परिषद भवनमा उपराष्ट्रपतिको कार्यालय राखिएपछि पर्खालको उचाइ थप आकाशिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा युनिटहरूले पनि पर्खाल अग्ल्याएका छन् ।

सुरक्षा र गोपनीयताका नाममा ठड्याइएका यस्ता पर्खाललाई दुर्घटना कुरिरहेको धराप देख्छन् उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारी । ‘हामीकहाँ पर्खाल हैन, ग्रेटवाल नै बनाउने चलन छ, त्यो पनि सडकको सेटब्याक समेत नछोडी’ उनी भन्छन्, ‘यस्ता पर्खालभित्र कार्यालय वा घर कति सुरक्षित छन् थाहा छैन, तर सडकमा हिंड्ने मान्छे र गुड्ने सवारीका लागि भने यी पर्खाल धराप बनेका छन् ।’

जोखिममा पैदलयात्री

काठमाडौंसहित विभिन्न शहरमा बनेका आकाशे पुलहरू पनि असुरक्षित छन् । कामचलाउ तरिकाले गरिएको मर्मतका कारण प्रयोगकर्तालाई समस्या मात्रै थपिएको छैन, सुरक्षाको प्रश्न पनि छ । काठमाडौं सुन्धारा चोक, न्युरोड जाने चोक, वीर अस्पताल र दरबार हाईस्कुल अघिका आकाशे पुलका भर्‍याङहरू जीर्ण भइसकेका छन् ।

ठेकेदार इनोभेटिभ कन्सेप्ट प्रालिले आकाशे पुलमुनि पसलहरू बनाएकाले बलियो सपोर्ट सिस्टम राखिएको छैन । इँटाको गारोले माथिबाट थोपरिएको नयाँ ढलान मात्रै हैन, पुलमा एकै पटक जम्मा हुने ठूलो संख्याका पैदल यात्रुलाई पनि थेगिरहेको छ । दरबार हाईस्कुल अगाडिको आकाशे पुल मर्मत गरिए पनि भर्‍याङ (ढलानको भाग) चर्किएको देखिन्छ ।
यस्ता आकाशे पुलमा व्यापार समेत हुँदा यात्रु मात्रै नभएर व्यापारी र ग्राहक पनि त्यहीं जम्मा हुने गरेका छन् । खुलामञ्च र

सैनिक मञ्चमा विशेष कार्यक्रम हुँदा ती आकाशे पुलमा रमितेहरू झुम्मिने गरेका छन् ।

काठमाडौंका कतिपय स्टिल स्ट्रक्चरका पुलका फलामे संरचना खिया लागेर जीर्ण भएका छन्, नटबोल्ट फुस्किएर फलामे पाता हल्लिरहेका छन् । जीर्ण अवस्थाका पुलहरूले सुरक्षा सवाल पनि पैदा गरेका छन् । अहिलेसम्म चाडपर्व, मेला-जात्रा र विशेष दिनहरूमा जम्मा हुने भीडलाई आकाशे पुलले थेग्न सक्ने/नसक्नेबारे महानगरपालिकाले कुनै अध्ययन गरेको छैन ।

नयाँबानेश्वर चोकमा स्टिल स्ट्रक्चरमा गत वर्ष बनेको आकाशे पुलका कतिपय भागका ‘प्लेट’मा नटबोल्ट नकसेको सार्वजनिक रूपमै आलोचना भएपछि सुधारिएको छ । पुरातत्व विभाग अगाडि बनेको नयाँ आकाशे पुल पनि असुरक्षित छ । सञ्चालन भएको महिनौंसम्म पुलको छेउबाट तारको गुजुल्टो लगिएको थियो ।

दुर्घटना हुनसक्ने भन्दै आलोचना भएपछि तार अहिले पुलभन्दा माथिबाट लगिएको छ, तर पुलमा हिंड्नेले समेत भेट्न सकिने बिजुलीको नांगो तार पुलकै माथि छ । कुनै बेला विद्युतीय दुर्घटना भए यो पुलमा हिंडिरहेका यात्रु जोगिने अवस्था छैन । काठमाडौंका अधिकांश आकाशे पुलमा बत्तीको व्यवस्था छैन । चितवनको रत्ननगरमा बनेको आकाशे पुलको माथि यात्रुले हातैले भेट्न सक्ने बिजुलीको नांगो तारले दुर्घटनालाई निम्तो दिइरहेको भान हुन्छ ।

पूर्वसचिव थापा सार्वजनिक पूर्वाधार बनाउँदा र त्यसलाई सञ्चालन गर्दा सुरक्षाको पक्ष ओझेलमा राख्ने गरिएको बताउँछन् । अझ निजी स्तरमा यस्ता संरचना बनाउँदा कम खर्च गर्ने र बढी लाभ लिने उद्देश्य राखिंदा समस्या थपिएको उनको भनाइ छ ।

‘भर्खरै गुजरातमा एउटा पुल चुँडिंदा १४० भन्दा बढी व्यक्तिले ज्यान गुमाएको घटना ताजै छ, हाम्रा पूर्वाधारहरू पनि यस्ता जोखिम कुरेर बसेका छन्’ उनी भन्छन्, ‘जतिबेला पनि हाम्रोमा त्यस्ता दुर्घटना हुनसक्छन्, सबै पक्ष सजग हुनैपर्छ ।’

प्रणालीमा मौलाएको भ्रष्टीकरणले पनि सार्वजनिक पूर्वाधारहरूमा सुरक्षा जोखिम बढाएको विज्ञहरूको भनाइ छ । प्रा.डा. सुवाल कम्बोडियामा एक नेपाली (निराकार पाण्डे)ले आगलागी भएको होटलको भवनबाट बाहिर आउन नसकेर हामफाल्दा ज्यान गुमाउनु परेको, यसै हप्ता टर्कीमा भूकम्प जाँदा अग्ला भवनहरू केहीछिनमै ध्वस्त भएको जस्ता घटनाहरूबाट शिक्षा लिएर सबै पक्षले आफ्नो भूमिका निभाउनुपर्ने बताउँछन् ।

योजना, डिजाइन, निर्माण, सञ्चालन र व्यवस्थापन पक्षमा पर्याप्त ध्यान नदिंदा सार्वजनिक पूर्वाधारहरू दुर्घटना कुरिरहेको अवस्थामा छन् । ‘सरकारी नियम र मापदण्ड हुबहु पालना हुन्थ्यो भने यस्तो जोखिम हुँदैनथ्यो’ उनी भन्छन्, ‘तर प्रणालीलाई छल्ने, नमान्ने, मिच्ने र त्यस्तो कार्य गर्नेलाई संरक्षण दिएर हुने बदमासीले सार्वजनिक पूर्वाधारहरूको सुरक्षा पक्षमा आश्वस्त हुनसक्ने ठाउँ नै रहेन ।’

कभर स्टोरी
लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?