+
+
‘बडी सेमिङ :

के हुन्छ, जब अर्काको शारीरिक रुपरंगमाथि खिसिट्युरी गरिन्छ ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ फागुन ७ गते १४:५०

काठमाडौं । व्यक्तिको उचाइ, मोटाइ, सौन्दर्य, उमेर वा अन्य कुनै कुरामा गलत टिप्पणी गर्नुलाई ‘बडी सेमिङ’ भनिन्छ । यस्ता टिप्पणी व्यक्तिको उमेर, कपाल, कपडा र  आकर्षणको विषयमा पनि हुन सक्छ ।

यस्तो टिप्पणीले सम्बन्धित व्यक्तिलाई हीनतावोध गराउने त छँदैछ मनोवैज्ञानिक र अन्य भावनात्मक असर गर्ने चिकित्सक मनोविद् तृष्णा विष्ट बताउँछिन् । ‘कुनै पनि व्यक्तिको रूप हेरेर उसको बारेमा धारणा बनाउनु गलत हो । यसो गर्नाले नजानेर अरूको मन दुख्छ र मनोबल पनि कम हुन्छ,’ उनी भन्छिन्, ‘अझ बडी सेमिङको समस्या अधिकांश महिलाले कुनै न कुनै रुपमा सामना गरेकै हुन्छन् ।’

केही व्यक्तिले बडी सेमिङलाई सामान्य रूपमा लिन्छन् । आफ्नो  प्राकृतिक शरीर, रङ वा बनावटलाई स्वीकार गर्छन् । उनीहरूलाई आलोचनात्मक टिप्पणीले प्रभाव पर्दैन । तर कतिपयमा भने अरूले गरेका टिप्पणीका कारण व्यक्ति आफ्नो शरीरप्रति असन्तुष्ट हुन थाल्छन् । यसले मानिसमा आत्मविश्वासको कमी हुनुका साथै धेरै मानसिक समस्या पनि निम्त्याउन सक्ने विष्ट बताउँछिन् ।

‘लगातार बडी सेमिङको सिकार भएर मानिसको दिमागमा इन्फिरियोरिटी कम्प्लेक्स बस्छ । यस्ता व्यक्तिहरू डिप्रेसन, चिन्ता, तनाव र डिप्रेसनबाट ग्रसित हुन सक्छन्,’ उनी भन्छिन् ।

हरेक मानिसको शरीरको बनावट, अनुहारको बनावट र रंग फरकफरक हुन्छ । त्यसैले समाजमा वा कार्यस्थलमा कुनै पनि महिला वा पुरुषलाई उनीहरूको शरीरको बनावट, रंग वा शरीरको बाहिरी अंगका कारण गिज्याइन्छ भने त्यसको प्रत्यक्ष असर व्यक्तिको मानसिक स्वास्थ्यमा पर्ने विष्ट बताउँछिन् ।

‘सम्बन्धित व्यक्ति समाजबाट टाढिन पनि थाल्छन् । लगातार नकारात्मक टिप्पणीले व्यक्तिलाई यस बिन्दुमा चिन्तित बनाउन सक्छ कि उनीहरू सामाजिक कार्यहरूमा सामेल नहुने एक्लै बस्न रुचाउने हुन्छन्,’ उनी भन्छिन् ।

बडी सेमिङले पार्ने भावनात्मक असरको प्रभाव शारीरिक रूपमा पनि पर्न थाल्छ । विष्ट भन्छिन्, ‘यदि कुनै व्यक्ति मोटोपनको कारण ट्रोल हुन्छ भने उसले तौल घटाउन खानेकुरा त्याग्न थाल्छ । जसले गर्दा उसको शरीर कमजोर हुन थाल्छ ।’

बडी सेमिङले पर्ने सामाजिक असर

बडी सेमिङले सम्बन्धित व्यक्तिलाई मात्र असर गर्दैन, सेमिङ गर्नेलाई पनि नकारात्मक असर पार्छ । सेमिङ गर्ने व्यक्तिमा आक्रामक प्रवृत्ति र अरूको दु:खमा खुसी हुने प्रवृत्तिको विकास हुने क्लिनिकल मनोविद् डा. विष्ट बताउँछिन् ।

‘मानिसको रूप, पहिरन, रहनसहन र खानपिन फरकफरक हुन्छ । त्यसैले बडी सेमिङ गर्नु हुँदैन भन्ने कुरालाई बढावा दिनुपर्छ,’ उनी भन्छिन्, ‘बडी सेमिङको बारेमा भावीपुस्तालाई सचेत गराइएन भने भौतिक भिन्नताका आधारमा टिप्पणी भइरहन्छ र सकारात्मक अन्तरक्रिया वा टिमवर्कको सट्टा द्वन्द्व र विभेद बढ्छ ।’

कृत्रिम सुन्दरताको उपायलाई बढावा दिन्छ

बडी सेमिङ हुने चिन्ताले मानिस आफ्नो शारीरिक बनावट राम्रो बनाउन जे पनि गर्न तयार हुन्छ । जसको फाइदा कस्मेटिक उत्पादन र १५ दिनमा तौल घटाउँछौ भन्नेहरूले उठाइरहेको विष्ट बताउँछिन् । बुटोक्स गर्ने, कपाल रोप्ने, कस्मेटिक सर्जरी यसैको प्रभाव हुन् ।

आफूलाई स्वस्थ राख्नु त एकदमै राम्रो हो तर अरूले के भन्लान् भनेर आफ्नो प्राकृतिक रंग र बनावट नै परिवर्तन गर्नु भने राम्रो नभएको विष्ट बताउँछिन् ।

कसरी निरुत्साहित गर्ने यस्तो प्रवृत्ति ?

सबैभन्दा पहिले त घरमा आमाबाबुले आफ्ना छोराछोरीलाई कसैको शारीरिक कमी वा भिन्नतालाई मजाक बनाउनु हुँदैन भन्ने कुरा सिकाउनुपर्छ । अहिलेको युवापुस्ता हरेक व्यक्तिलाई उनीहरूको प्राकृतिक बनावट स्वीकार गर्नुपर्छ भन्ने कुरामा सचेत पनि भएको विष्ट बताउँछिन् ।

आफ्नो शरीरको आकार, रंग वा बनावटको बारेमा चिन्ता गर्नुको सट्टा, यसलाई स्वीकार गर्न सिक्नुपर्छ । यसलाई स्वीकार्न सके कसैको आलोचनात्मक टिप्पणीबाट प्रभावित नहुने विष्ट बताउँछिन् । ‘जसले गर्दा नकारात्मक टिप्पणी गर्ने व्यक्ति निरुत्साहित हुन्छन्, मैले गलत गरेछु भन्ने महसुस गर्छन्,’ उनी भन्छिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?